२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

आ.व. २०७६।०७७ मा तेमाल गाउँपालिकाको बजेट


४७३९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • तेमाल गाउँपालिको पाँचौ सम्मानित गाउँसभामा गाउँपालिका उपाध्यक्ष श्री दुर्गा माया तामाङ बाट प्रस्तुत गरिएको  आर्थिक वर्ष २०७६/७७ को बजेट वक्तव्य :-

    तेमालको शान्ति र संवृद्धिको आधार, पर्यटन, संस्कृति, दिगो विकास र पूर्वाधार

    तेमाल गाउँपलिकाको पाँचौ गाउँसभाका सम्मानित सभाध्यक्ष ज्यू, सभाका सदस्यज्यूहरू, संचारकर्मीहरू, राष्ट्रसेवक कर्मचारी ज्यूहरु र उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार फ्याफुल्जी अभिवादन टक्र्याउँन चाहन्छु ।
    1. सर्वप्रथम मुलुकप्रति जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु । साथै संघर्षका क्रममा घाइते हुनु भएका, बेपत्ता पारिएका नागरिकहरू प्रति सम्मान व्यक्त गर्दछु । त्यसै गरी राष्ट्रियता, लोकतन्त्र, स्वाधिनता, सामाजिक न्याय, समानता र सम्वृद्धिका लागि संघर्ष गर्नु हुने महान नेपाली नागरिक र त्यसको सबल नेतृत्व गर्नु हुने नेपाली राजनीतिक शिखर व्यक्तित्वहरू प्रति उच्च सम्मान व्यक्त गर्न चाहान्छु । यस गरिमामय सभामा गाउँपालिकाको उपाध्यक्षको हैसियतले गाउँपालिकाको समग्र विकासको लागि मार्गदर्शनको रूपमा रहने आगामी आर्थिक वर्ष २०७६।०७७ को बजेट प्रस्तुत गर्न पाउँदा मैंले आफूलाई गौरवाञ्वित महसुस गरेको छु । यसै अवसरमा हाम्रा अथक प्रयासहरुमा हरदम सहयोग प्रदान गर्नुहुने वडाध्यक्ष ज्यूहरु, राजनैतिक दल, सरोकारवाला विकास साझेदारहरू, समाजसेवी एवम् गाउँबासी सम्पूर्ण आदरणीय दाजुभाइ दिदीबहिनीहरु तथा विकास अभियन्ताका रुपमा रहेका सरकारी कार्यालय तथा गैरसरकारी संस्थाहरुको भूमिका प्रति गाउँपालिकाको तर्फबाट कृतज्ञता व्यक्त गर्दछु । योजना तर्जुमाको क्रममा विभिन्न वडास्तरीय रूपमा छानिएका योजनाहरूलाई प्राथमिकिकरणका आधारमा बजेटको सीमामा रहेर रकम बिनियोजन गरेको छु । गाउँक्षेत्रको विकासको लागि स्रोतहरुको पहिचान, विनियोजन र विकासको  प्रतिफलको सन्तुलित तथा समान वितरणमा सामाजिक समानता ल्याउने प्रयास गरेको छु । योजनाहरूको छनौट, तर्जुमा र सञ्चालन गर्न आवश्यक जिम्मेवारी र अधिकार स्थानीय वासिन्दाहरुमा नै प्रदान गरी स्थानीय नागरिकहरुलाई विकास एवम् सामाजिक सुव्यवस्था कायम गर्ने कार्यमा गाउँपालिकाको मुख्य सहयात्रीको रुपमा आत्मसाथ गर्ने प्रयास गरेको छु ।
    2. नेपालको संविधानले परिकल्पना गरेको संघीय शासन प्रणाली अनुरुप तीनै तहको निर्वाचन सम्‍पन्‍न भई लोकतान्त्रिक शासन प्रणाली संस्थागत भइसकेको छ भने स्थानीय निर्वाचन पश्‍चात नयाँ शासन प्रणालीको अभ्यासको क्रममा तेमाल गाउँपालिकाले २ वर्षे कार्यकाल पनि पूरा गरेको छ । यस क्रममा हामीलाई प्राप्त भएको यस महान उपलब्धीको जगेर्ना तथा तेमालवासी द्वारा हामीलाई सुम्पिएको विश्‍वासको कदर गर्दै राज्यको स्रोत र सामर्थ्यको सदुपयोग गरी तेमाल गाउँपालिकाको विकास र समृद्धिको यात्रामा अविचलित रुपमा अघि बढ्न ठूलो प्रेरणा मिलेको छ ।
    3. स्थानीयवासीको इच्छा, आकांक्षा र आवश्यकतालाई संवोधन गर्न स्थानीय सरकारको आभाष तेमालवासीमा गराउनको लागि सामाजिक आर्थिक विकासको ढाँचामा तेमाल सरकार अघि बढिरहेको छ । यसको प्रस्थान बिन्दुको रुपमा सबल भौतिक पुर्वाधार, स्तरीय सडक सञ्जाल, गुणस्तरिय शिक्षाको उपलब्धता, कृषिमा व्यवसायिकरण, आधारभुत स्वास्थ्य उपचारमा पहुँच, स्वच्छ खानेपानी र सुरक्षित आवास, पर्यटन प्रवर्द्धन, बोधि चित्तमालाको उचित बजारीकरण जस्ता अत्यावश्यक सेवाहरुको परिपूर्तिलाई लिएको छु ।
    4. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, स्थानीय सरकार सञ्‍चालन ऐन २०७४, आर्थिक विधेयक २०७६, विनियोजन विधेयक २०७६ को सिद्धान्त र प्रथमिकता, बजेट तर्जुमा दिग्दर्शन २०७४,  तेमाल गाउँपालिकाको नीति तथा कार्यक्रम, चालू आवधिक योजना, दिगो विकास लक्ष्यलाई मार्गदर्शनको रुपमा लिएको छु । बजेट तर्जुमाका क्रममा सभाका सदस्यज्यूहरु, विभिन्‍न राजनितिक दल, संघ, संस्था , विद्वत वर्ग र आम तेमालवासी महानुभावहरु  द्वारा प्राप्त रचनात्मक सुझावहरुलाई समेत ध्यान दिएकोछु ।
    सम्मानित गाउँसभाका अध्यक्ष ज्यू,
    • अब म आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटका उद्देश्य तथा प्राथमिकता प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
    • “तेमाल गाउँपालिकाको पुर्वाधारहरुको विकास, यसले तेमालबासीको जीवनस्तरमा ल्याउँछ सकारात्मक सुधारको निकास” भन्ने आदर्श वाक्यलाई व्यवहारमा अनुशरण गर्दै सबल तथा दिगो आर्थिक विकासको आधार निर्माणका साथ सुदृढ अर्थतन्त्रको निर्माण गर्ने ।
    • “टोल टोलमा सडक सञ्जालको विस्तार, तेमालबासीको जीवनस्तर सुधारको मुख्य आधार” भन्ने मुल नारालाई मनन गरी सडक स्तरोन्नतीलाई प्राथमिकतामा राख्ने ।
    • “कृषिको आधुनिक व्यावसायिकरण, जीवन निर्वाहका लागि लिनु पर्दैन अरुको शरण” भन्ने भनाइलाई मुर्त रुप दिंदै खाद्यान्‍न तथा पशु जन्य पदार्थ उत्पादनमा आत्मनिर्भर स्थानिय बजारको निर्माण गर्ने ।
    • शैक्षिक उन्‍नयन तथा समावेशी विकासबाट सामाजिक पूर्वाधारहरुको सुदृढीकरण गरी सामाजिक क्षमतालाई संस्थागत गर्ने ।
    • आधारभुत स्वास्थ्य, शिक्षा, स्रोत तथा अवसरमा सबैको पहुँच स्थापित गर्दै सामाजिक न्यायको अनुभुति गराउने ।
    • “तेमालको धन, गतिशिल पर्यटन” भन्ने मुल नारालाइ सकार रूप दिनका लागि तेमाललाई पर्यटकको आकर्षणको केन्द्र बनाउँने ।
    • “तेमालको सम्वृद्धि, बोधि चित्त मालाको उत्पादनमा बृद्धि” भन्ने आदर्श वाक्यलाई मनन गरी बोधिचित्त माला उत्पादनमा आधुनिकीकरण गरी बजारको उचित र सहज व्यवस्थापनमा जोड दिने ।
    • “सबैले पाउन् स्वच्छ पिउने पानी” भन्ने उक्तिलाई व्यवहार योग्य बनाई तेमालबासीलाई स्वच्छ पिउने पानीको प्रबन्ध मिलाउन प्रयास गर्ने रणनीति अबलम्बन गर्ने ।
    • आर्थिक वर्ष २०७६/७७ को बजेटका प्राथमिकताहरु निम्‍न अनुसार प्रस्तुत गरेकोछु :-
    • गुणस्तरीय शिक्षामा सबैको पहुँच ।
    • कृषिमा व्यावसायीकरण तथा पशुजन्य वस्तुहरुमा आत्मनिर्भरता ।
    • शुद्ध खानेपानी तथा सिंचाई सुबिधामा पहँच ।
    • आधारभूत स्वास्थ्य सेवाको सुदृढीकरण ।
    • पर्यटन पुर्वाधारहरुको विकास र प्रवर्धन ।
    • सबल भौतिक पूर्वाधारहरुको निर्माण । आन्तरिक र रणनैतिक सडक सञ्जालको निर्माण र विकास ।
    • सार्वजनिक सेवा प्रवाहको गुणस्तर अभिवृद्धि र सुशासनको अनुभुति ।
    • वन , वातावरण तथा जलाधार संरक्षण ।
    • मठ, मन्दिर, गुम्बाको संरक्षण तथा सम्बर्द्धन ।
    अब म आगामी आर्थिक वर्षमा गाउँपालिका बाट प्राथमिकतामा परेका विषयगत  कार्यक्रमहरुको विवरण प्रस्तुत गर्दछु।
    • आगामी आ. व.मा शिक्षाको गुणस्तर सुधारको लागि शैक्षिक उन्नयन कार्यक्रम अन्तर्गत, शैक्षिक गुणस्तर सुधार, बाल विकास केन्द्र सुदृढीकरण, प्रविधिमैत्री कक्षा शिक्षणमा जोड, तेमालको अभियान प्रतिभा पहिचान,तेमाल प्रतिभाशाली छात्रवृत्ति, अभिभावक परिचालन, माध्यमिक तहको शिक्षण सुधार कार्यक्रम, बाल विकास केन्द्रमा कार्यरत शिक्षकहरूका लागि प्रोत्साहन, विद्यालय सहयोगी र कर्मचारीहरूका लागि प्रोत्साहन, शिक्षकका लागि स्व:उत्प्रेरणा कार्यक्रम, शिक्षक व्यवस्थापन, दलित छात्रवृत्ति कार्यक्रम, परीक्षा व्यवस्थापन, साक्षर गाउँपालिका घोषणा लगायतका कार्यक्रमहरूलाई प्राथमिकतामा राखी शिक्षा तर्फ रकम विनियोजन गरिएको छ ।
    • आगामी आ. व. मा आधारभूत स्वास्थ्यमा सबैको समान पहुँच तथा गुणस्तर स्वास्थ्य सेवा प्रवाहको लागी स्वास्थ्य कार्यक्रम अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा आधारभूत प्रयोगशाला (ल्याब) व्यवस्थापन, बर्थिङ सेन्टर व्यवस्थापन, स्वास्थ्य चौकीहरुको व्यवस्थापन ,ऐन द्वारा निशुल्क गरिएका औषधिहरुमा सबैको सहज पहुँच, खोप कार्यक्रम, गर्भवती र शिशुलाई पोषण प्रोत्साहन, विद्यालय तहका छात्राहरूलाई स्यानेटरी प्याड वितरण, सबै तहका विद्यालयका विद्यार्थीहरूका आँखा, कान, नाक र मुखको जाँच शिविर सञ्चालन जस्ता कार्यक्रम मार्फत गुणस्तर स्वास्थ्य सेवा प्रवाहको लागि आवश्यक रकम विनियोजन गरिएको छ ।
    • कृषिको व्यवसायिकरण, गुणस्तरीय पशुपालनको व्यवस्था, पर्यटन पूर्वाधारहरूको उचित व्यवस्था, सहकारी प्रवर्द्धन जस्ता क्षेत्रको विकासका लागि उचित बजेटको व्यवस्था गरेको छु।
    • सबै वडाहरूमा बसोबास गर्ने वडाबासीहरूका लागि पिउने पानीको सहज पहुँचका लागि खानेपानी निर्माण, मर्मत सम्भारका लागि बजेट विनियोजन गरेको छु ।
    • तेमालको संस्कृति बचाउ अभियान अन्तर्गत मठ, मन्दिर, गुम्बा, चौतारा, सत्तल निर्माण, मर्मत जस्ता कार्यका लागि समेत बजेटको विनियोजन गरेको छु ।
    • तेमालबासीको टोल टोलमा सडक सञ्जाल पुर्याउँने उद्देश्यले सडक निर्माण, मर्मत तथा स्तरोन्नतीका लागि वडागत रूपमा र राष्ट्रिय सडक सञ्जाल तथा पालिकाको केन्द्रसँग जोड्ने रणनैतिक सडकका लागि आवश्यक बजेटको विनियोजन गरेको छु ।
    • वडागत रुपमा आवश्यक ठानिएका स्थानहरुमा सिंचाई व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छु ।
    • सबै वडाहरूको संस्थागत विकासका लागि आवश्यक रकम विनियोजन गरेको छु ।
      सम्मानित गाउँसभाका अध्यक्ष ज्यू
    ५. आगामी आर्थिक वर्षको लागी विनियोजित बजेट गाउँपालिकाले अवलम्बन गरेका नीति तथा कार्यक्रम अन्तर्गत रहेर सहभागितामुलक योजना तर्जुमा पद्धति बमोजिम निर्माण गरिएको छ । आगामी आ. व. को लागि गाउँपालिकाले तय गरेको नीति अनुरुप योजनाहरुको सञ्‍चालन द्वारा गाउँपालिकाले तय गरेका लक्ष्यहरु अवश्य नै प्राप्त गर्न सकिने विश्‍वास लिएको छु ।
    ६.मलाई विश्‍वास छ बस्ती बस्तीबाट संकलन भई आएका योजनाहरुको प्रभावकारी कार्यान्वयनबाट आम तेमालवासीले परिवर्तनको अनुभव गर्नु हुनेछ । नेपालको संविधानमा उल्लेखित सामाजिक न्याय तथा समतामुलक समाजको निर्माण तर्फ तेस्रो प्रयास स्वरुप तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गरिएको छ । म आशावादी छु, आमजनताको जीवनमा यसले आमुल परिवर्तन को शुरुवात गर्नेछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रतिपादन गरेको समाजवाद प्रती प्रतिबद्ध राज्य निर्माण तर्फ हाम्रो सानो प्रयासले पक्‍कै पनि ठुलो टेवा पुग्‍नेछ ।
    राज्यले सुम्पेको जिम्मेवारी, तेमालवासी प्रतिको जवाफदेहिता तथा संविधान कार्यान्वयनको यस महत्वपूर्ण क्षणमा निश्‍चय नै हामी सामू ठूला चुनौतिहरु छन । भनिन्छ लामो र महान यात्राको शुरुवात एक पाईला बाट नै हुन्छ , हाम्रो त तेस्रो पाईला अघि बढिसकेको छ । हामी सबै मिली चुनौतिहरुको सामना गर्दै तेमाल गाउँपलिकाले लिएको लक्ष्यहरुको प्राप्तिको लागि प्रतिबद्ध, कटिबद्ध र एकिकृत बनौ । तेमालको उज्ज्वल भविष्य निर्माणको जुन अभिभारा हामी माथि छ त्यसलाई सफल बनाएर  इतिहासले हामीलाई सुम्पेको दायित्वलाई आत्मसात गरौ 
    सम्मानित गाउँसभाका अध्यक्षज्यू,
    अब म तेमाल गाउँपालिकाको आर्थिक बर्ष ०७६।७७ को वित्तिय व्यवस्थापन तथा बजेट प्रस्तुत गर्न गैरहेको छु । आगामी आर्थिक बर्षमा नेपाल सरकार संघिय सरकारबाट बित्तिय समानीकरण अनुदानमा जम्मा रु ९ करोड ९ लाख प्राप्त भएको छ । त्यस्तै गरी संघिय सरकारबाट शशर्त अनुदान अन्तर्गत शिक्षा स्वास्थ्य उर्जा खेलकुद लगायतको शिर्षकमा एकमुष्ट रु १४ करोड ३९ लाख प्राप्त भएको छ तथा सामाजिक सुरक्षा भत्ता बृद्धि सँग सामाजिक सुरक्षा भत्ता रकम रु ६ करोड ५० लाख राखेको छु । साथै प्रदेश सरकार ३ नम्बर प्रदेशबाट बित्तिय समानिकरण अनुदानमा रु ९९ लाख ३६ हजार तथा शर्शत अनुदान तर्फ रु १८ लाख ४३ हजार बजेट प्राप्त भएको छ । तेमाल गाउँपालिकामा रहेको श्रोतको पहिचान गरी आगामी आर्थिक बर्षमा ३ करोड १० हजार १ सय ७७ रुपैया अनुमान गरेको छु । चालु आर्थिक बर्षमा बिनियोजन भएको तर काम सञ्चालन नभएका करिब रु ५ करोड ५० लाख बराबरको योजनाहरुलाई आगामी आर्थिक बर्षमा सारेको छु । यसरी तेमाल गाउँपालिकाको कुल आय ४८ करोड ९ लाख ५६ हजार १ सय ७७ कायम गरिएको छ ।
    सम्मानित गाउँसभाका अध्यक्षज्यू,
    अव म आगामी आर्थिक बर्षको व्ययको संक्षिप्त जानकारी गराउन चाहान्छु। आगामी आर्थिक बर्षमा आर्थिक बिकास क्षेत्रमा रु २ करोड १७ लाख ४१ हजार २ सय त्रिचालिस रुपैया बिनियोजन गरेको छु जसमध्ये कृषिमा ४९ लाख ७१ हजार ८ सय ३२, उद्योग तथा बाणिज्यमा ६९ हजार ४ सय ११, पर्यटनमा १ करोड २१ लाख ५० हजार ।
    त्यस्तै गरी सामाजिक विकास क्षेत्र अन्तर्गत रु ५ करोड ७९ लाख ३९ हजार ३ सय ४७ रुपैया बिनियोजन गरेको छु । जस अन्तगर्त शिक्षामा रु १ करोड १ लाख १९ हजार २ सय १७ रुपैया,स्वास्थ्यमा ८४ लाख १० हजार २ सय १०, खानेपानी तथा सरसफाईमा २ करोड ३४ लाख ४० हजार ८ सय ५९ , संस्कृति प्रबर्धनमा १ करोड ९१ हजार ८ सय ५६, खेलकुद तथा मनोरञ्जनमा ८ लाख ९६ हजार ९ सय ७५ तथा लैंगिक समानता तथा सामाजिक समाबेशिकरणमा ४९ लाख ८० हजार २ सय ३० रुपैया बिनियोजन गरेको छु।
    आदरणीय गाउँसभाको अध्यक्षज्यू,
    आगामी आर्थिक बर्षमा पुर्वाधार विकास क्षेत्रमा रणनीतिक ठुला योजनाहरुलाई प्राथमिकतामा राखेको छौ । पुर्वाधार विकास क्षेत्र अन्तर्गत रु १२ करोड ५० लाख ७० हजार ५ सय ८७ बिनियोजन गरेको छु । जसअन्तर्गत स्थानीय सडकको लागी रु ७ करोड १७ लाख १२ हजार ८ सय ९३, सिंचाईको लागी रु २० लाख ६ हजार ४ सय ४, भवन तथा सहरी विकासमा रु ५ करोड ८३ लाख ६० हजार २ सय ९० तथा उर्जा बिद्युत शिर्षकमा रु ३० लाख बिनियोजन गरेको छु । त्यस्तै गरी वातावरण तथा बिपद व्यवस्थापनशिर्षकमा रु ५२ लाख ५० हजार बिनियोजन गरेको छु। संस्थागत विकास सेवा प्रवाह र सुशासन मा ५० लाख, गाउँपालिकाको चालु खर्चमा ४ करोड ५२ लाख ३० हजार, संघको शशर्त अनुदान तर्फ १४ करोड ३९ लाख तथा प्रदेशको शशर्त अनुदान तर्फ १८ लाख ४३ हजार तथा सामाजिक सुरक्षा भत्ता तर्फ ६ करोड ५० लाख गरी कुल जम्मा खर्च रु ४८ करोड ९ लाख ५६ हजार १ सय ७७ नै अनुमान गरेको छु ।
          अन्त्यमा, प्रस्तुत बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष तथा परोक्ष क्रममा सहयोग पुर्याउँनु हुने सम्पूर्ण तेमालबासीहरूमा धन्यबाद दिन चाहन्छु । यो बजेट तर्जुमाका रूपमा हरबखत अमूल्य सुझावका साथ सहयोग दिनु हुने गाउँपालिका स्थित वडा अध्यक्षज्यूहरू, वडासदस्यज्यूहरू, राजनैतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था, गाउँपालिकाका कर्मचारीहरू, विषयगत समितिमा रहेर योगदान पुर्याउँनु हुने सम्पूर्ण सदस्य महानुभावहरू, व्यवसायी, उद्ममी, समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मी लगायत सबै प्रति हार्दिक धन्यवाद दिंदै प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले यस गाउँपालिकाको कार्य प्रकृयालाई छिटो, छरितो, पारदर्शी तथा नियमसंगत रूपमा पथप्रदर्शन गर्ने कुरामा विश्वास राख्दै तेमाल गाउँपालिकाको तर्फबाट सम्पूर्ण उपस्थित महानुभावहरू प्रति हार्दिक कृतज्ञता प्रकट गर्दै पुन सबैमा धन्यवाद सहित बिदा हुन्छु । नमस्कार ।
    धन्यवाद ।
    दुर्गा माया तामाङ
    उपाध्यक्ष, तेमाल गाउँपालिका
     
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार