आदरणीय अध्यक्ष महोदय तथा गाउँपालिका सदस्य ज्यूहरु,

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय तह गरी ३ तहको हुने तथा राज्य शक्तिको प्रयोग तीनै तहले संविधान र कानुन बमोजिम गर्ने व्यवस्था गरेको छ । संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको आर्थिक अधिकार सम्बन्धी बिषयमा कानुन बनाउने, बार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, ०७४ ले गाउँपालिकाले आफ्नो क्षेत्राधिकार भित्रको विषयमा स्थानीयस्तरको विकासको लागि आवधिक, वार्षिक, रणनीतिक र बिषय क्षेत्रगत मध्यमकालिन तथा दिर्घकालिन योजना बनाई लागू गर्नु पर्ने व्यवस्था रहेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन ०७४ ले सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने, मध्यमकालिन खर्च संरचना तयार गर्ने, आवश्यक्ताको प्रक्षेपण गर्ने, गाउँपालिकाको आर्थिक, सामाजिक, शासकीय व्यवस्थामा प्रभावकारिता ल्याउन नीतिगत मार्ग दर्शन गर्ने, लगानीको माध्यमबाट विकासका आयामहरु थप फराकिलो बनाई आर्थिक विकासमा टेवा पुर्याउने कडीको रुपमा बार्षिक वजेटलाई लिइएको हुन्छ । हामीलाई थाहा छ, साधन र श्रोत अत्यन्त सिमित छन् तर हाम्रा ईच्छा र आकांक्षाहरु श्रोत र साधनको क्षमता भन्दा निक्कै ठूलो छ । तथापि श्रोतसाधन र आवश्यकताहरुको बीचमा तालमेल गराई कार्यक्रमलाई प्रभावकारी, पारदर्शी, अर्थपूर्ण बनाउनु आजको आवश्यकता हो । यस कार्यमा सम्पूर्ण सदस्यज्यूहरुको सहयोग र समर्थनको आशा गरिएको छ।

आदरणीय अध्यक्ष महोदय,

रोशी गाउँ सभाको आठौं अधिबेशनबाट कुल रु. ६५ करोड ८८ लाख ४३ हजार को आय स्विकृत गरीएकोमा हालसम्म ५९ करोड ६८ लाख ५७ हजार आय भएको र आ.ब को अन्त्य सम्ममा ६७ करोड ०९ लाख ६९ हजार बराबरको आय हुने अनुमान गरिएको छ । त्यसै गरी कुल रु. ६५ करोड ८८ लाख ४३ हजार बराबरको ब्यय अनुमान गरिएकोमा हालसम्म ४६ करोड ४२ लाख २५ हजार खर्च भएको र आ.ब.को अन्त्य सम्ममा ६२ करोड ४८ लाख ब्यय हुने अनुमान गरिएको छ। यसरि बजेट बिनियोजन गरी कार्यान्वन गरेकोमा देहायअनुसारका मुख्य मुख्य प्रगति रहेका छन्।

  • तामाङ समुदायको पहिचानसँग प्रत्यक्ष जोडिएको रोशी गाउँपालिकको गौरवको आयोजनाकोरुपमा रहेको डम्फू जीवन्त सङ्ग्राहलय द्रुत गतिमा निर्माण भैरहेको छ ।
  • प्रदेश सरकार सँगको समन्वयमा ३ नं. वडामा सिँचाइ विस्तार भएको, ६ नं. वडाको सिपालीजाने बाटोको स्तरोन्नती भएको तथा १२ नं. वडाको मुख्य बाटो माम्ति हर्कपुर सडककोस्तरोन्नती उल्लेख्य मात्रामा गरिएको छ।
  • गाउँपालिकाको प्रशासकीय भवनको सम्झौता भइ निर्माण कार्य भैरहेको छ। गाउँपालिका के गौरव र चर्चाको शिखरमा रहेको तिनधारे झरना संरक्षण कार्यको लागि ठेक्का आह्वान भै सम्झौताको चरणमा रहेको छ।
  • वडा नं. १,२,६,९,११ र १२ का कार्यालय भवनहरु निर्माण सम्पन्न (एक चरणका) भैसकेका छन् भने बाँकी भवनहरु समेत यही आ.व. को ६ महिना भित्र सम्पन्न गर्ने अठोट लिइएको छ ।
  • विपतको समयमा तत्काल राहातका कार्यक्रम संचालन गरिएको छ।
  • वडा नं. ६ र ९ मा २ वटा तथा बाँकी सबै वडामा एक एक वटा हे.पो. हरु स्थापना गरिएको छ ।
  • सबै सामाजिक सुरक्षा भत्ता लाई बैङ्कीङ् प्रणाली मार्फत मात्र भुक्तानी गर्ने प्रबन्ध गरिएको छ ।
  • सबै वडामा सडक सौर्य बत्ती जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ।
  • गाउँपालिकाको रकमको साझेदारीबाट प्रधानमन्त्री रोजगार कार्यक्रमबाट उल्लेख्य नतिजा दिन सकिएको छ।
  • One Heart Nepal को साझेदारीमा सिपाली स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण गरिएको छ ।
  • शान्ति जन आदर्श सेवा केन्द्र सँगको साझेदारीमा विभिन्न खानेपानी आयोजनाहरु सम्पन्न गरिएको छ।
  • वडा नं १ को ताङलिङमा खेल मैदान निर्माण गर्ने कार्य भैरहेको छ । वडास्तरमा संचालन भएका आयोजनाहरुले जनताका दैनिक समस्याको समाधान गर्ने खानेपानी, बाटो, सरसफाइ, घाटेपाटी निर्माण, गुम्बा मन्दिर मर्मत सुधारका कार्यहरु भएका छन् ।
  • व्यावसायिक ढंगले अगाडी बढ्न उत्सुकहरुका लागि मल विउ तथा संरचना निर्माणमा अनुदान सहयोग भएको छ। महिला दलित तथा अपाङ्गहरुको निम्ति विभिन्न सिपमुलक तालिमहरु संचालन भएको छ।
  • गाउँपालिकामा सबै स्थानमा उद्योगहरु संचालन गर्न सकयोस भन्ने हेतुले केन्द्र सरकार सँगको साझेदारीमा थालनी गरिएको औद्यौगिक ग्राम निर्माणाधिन रहेको छ।
  • कोभिड १९ बाट प्रभावित बालबालिकाहरुलाई पुनःसिकाइमा जोड्नका लागि रोशी गाउँपालिका अन्तर्गत संचालित विद्यालयहरुका बाल विकास देखी कक्षा ३ सम्मका करिब २४०० बालबालिकाहरुलाई अभिभावकको सहयोगमा घरमै गराउन सकिने सिकाइ क्रियाकलापहरु सम्बन्धी सिकाइ सामग्री छपाइ गरी वितरण गरिएको छ।
  • रेडियो रोशीबाट कक्षा १ देखी १० सम्मका विद्यार्थीका लागि ९० सेशन बराबरको रेडीयो शिक्षा कार्यक्रम संचालन गरिएको छ।
  • कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको लागि अंग्रेजी र लेखा विषयको रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ।
  • गाउँपालिका अन्तर्गत संचालित विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गराउन करिब २० हजार माक्स तथा १३५ लिटर सेनिटाइजर स्वस्थ्य सामग्री वितरण गरिएको छ।
  • एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर कार्यक्रम अन्तर्गत एक गाउँ एक अधिकृतका लागि रोशी – १२ र एक गाउँ एक इन्जिनियरका लागि रोशी ११ का २ युवाहरुलाई प्रोत्साहन गरिएको छ।
  • रोशी गाउँपालिका अन्तर्गत कक्षा १२ र स्नातक उतिर्ण गरेका ७० जना युवालाई सार्वजनिक सेवा तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएको छ।
  • कोभिड १९ को सन्त्रासलाई न्युनिकरण गर्न राष्ट्रिय ख्यातिप्राप्त मनोविद् बाट रोशी गाउँपालिका अन्तर्गतका विद्यालयका प्र.अ, शिक्षक र विद्यार्थीहरु सहित ९१ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको छ।
  • HRDC बनेपाको प्राविधिक सहयोगमा अपांगता भएकाहरुको लागि मंगलटार स्वास्थ्य चौकीमा शिविर सम्पन्न गरिएको छ । ६५ जना तेमाल तथा रोशी गा. पा का सेवाग्राही लाभान्वित भएका छन्।
  • क्वारेन्टाइन व्यवस्थापन तथा विदेशवाट आएका रोशी गा.पा का नागरिकहरुको पीसीआर जाँच, संक्रमितको उचित व्यवस्थापन तथा कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य गरिएको छ । विदेशबाट फर्कने रोशीका नागरिकहरु १०२ जनालाई १४ दिनको दरले होम क्वारेन्टाइनमा राखि व्यवस्थापन गरिएकोछ।
  • कोभिड १९ सम्वन्धी जनचेतना अभिबृद्धी कार्यक्रम सञ्चालन गरिएको छ। » ५ बेडको कोभिड अस्थायी अस्पताल स्थापना गरिएको छ ।
  • १० बेडको अस्पतालको स्थापनाको लागि प्रक्रिया शुरु गरिएको छ।
  • वान हार्ट वर्ल्डवाइडको सहयोगमा शिखर आम्बोटे स्वास्थ्य चौकीमा ग्रामिण भिडियो एक्सरे सेवा शुभारम्भ गरिएको छ।
  • शान्ति जनआदर्श सेवा केन्द्र तथा वान हार्ट वर्ल्डवाइडको सहयोगमा वर्थिङ सेन्टरहरुमा स्वास्थ्य सामाग्री व्यवस्थापन गरिएको छ। वान हार्ट वर्ल्डवाइडको सहयोगमा वर्थिङ सेन्टरहरुमा स्वास्थ्य अनसाइट कोचिङ कार्यक्रम सम्पन्न गरिएको छ।
  • स्वास्थ्य संस्थाबाट गुणस्तरीय सेवा प्रदान न्युनतम सेवा मापदण्ड कार्यक्रम शुरुवात गरिएको छ।
  • वालवालिकाहरुलाई लगाइने खोपको भण्डारण तथा वितरण सेवाशुरु गरिएको छ।स्वास्थ्य संस्थाहरुको प्रतिवेदन अनलाइन प्रवृष्टी कार्य शुरु गरिएको छ।
  • पोक्रा मा.वि. र पञ्चकन्या मा. वि. मा एक विद्यालय एक नर्स कार्यक्रम शुरु गरिएको छ ।
  • सुत्केरी आमा पोषिलो खाना कार्यक्रम निरन्तर। १८८ जनालाई वितरण गरिएको छ ।
  • रोशी ६ सिन्कीलेकमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा ल्याइएको छ।
  • ९० जना महिला स्वास्थ्य स्वयम सेविकालाई प्रोत्साहन स्वरुप माशिक रु.१००० को दरलेउपलब्ध गराइएको छ। रोशी ३ मा स्वास्थ्य संस्था नभएकोमा हाल कोभिड महामारीका कारण निषेध आदेशको समयमा सञ्चालनमा ल्याइएको छ।
  • रोशी गाउँपालिका र नमोवुद्ध नगरपालिकाको संयुक्त प्रयासमा जनक मा.वि भकुण्डेवेशीमा आइसोलेसन स्थापना गरिएको छ । हालसम्म रोशी गाउँपालिकाको १८ जनाको उपचार भएको छ।
  • कोभिड दोश्रो लहरमा रोशी गाउँपालिकाबाट ६२८ जनाको स्वाव कलेक्सन गरि पीसीआर तथा एन्टिजेन परिक्षण गरिएको छ जसमा २३७ जनामा कोरोना संक्रमण देखिएको छ, त्यसमध्ये ६ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये सिकिस्तको संस्थागत आइसोलेसन तथा अस्पतालमा उपचार गरिएको र वाँकीको होम आइसोलेसनमा नै उपचार गराइएको छ । होम आइसोलेसनमा रोग प्रतिरोधात्मक औषधी तथा सुक्षा मापदण्डका सामाग्री उपलब्ध गराइएको छ।

यति हुदाँ हुदै पनि धुले सडकलाई नै विकासको सम्पूर्ण आधार ठान्ने र भौतिक पूर्वाधार तर्फ साना साना आयोजनहरु तर्फको अधिक मोहका कारण अधिकांश आयोजनाहरु तदर्थ आयोजनाका रुपमा संचालन हुदाँ उल्लेख्य नतिजा हाँसिल गर्न सकिएको छैन् । सन्तुलित विकासको अवधारणा अनुसार आर्थिक, सामाजिक, भौतिक, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत तर्फ आनुपातिक ढंगले रकम बाँडफाँड गर्ने पद्धति तथा सोचको विकास हुन सकेको छैन ।

केन्द्र र प्रदेश सरकारबाट गाउँपालिकासँग साझेदारीमा संचालन गर्ने गरि प्रस्ताव गरिएका ठूला आयोजनाहरु हाम्रो साना आयोजना संचालन गर्ने सोचका सामु फिक्का ठहरिएका छन् यसका निम्ति तपाई हामी सबै नै जिम्मेवार छौं । कानुनले तोके अनुरुपका त्रिबर्षिय खर्च संरचना जस्ता कुराहरु तयार गर्न नसक्दा मेरै वडाको फलानो योजना उच्च प्रथमिक्ताको हो भन्ने लाग्छ र तेसैमा विवाद हुने गर्दछ । आवधिक योजनाले लिएका लक्ष्यहरु, मध्यमकालिन खर्च संरचनाले गरेका व्यवस्थाहरुलाई श्रोत साधनसँग तालमेल गरी प्राथमिकताका साथ श्रोतको विनियोजन गर्ने काम गर्ने हो भने वार्षिक विकास योजनामा न्यून विवाद र कामयावी हुने कुरामा विमती छैन।

उपस्थित महानुभावहरु,

आगामी आ.ब मा केन्द्र तथा प्रदेश सरकार एवं गाउँपालिकाको आन्तरिक श्रोतबाट प्राप्त भई कुल रु. ६४ करोड ४३ लाख ३१ हजार आय र सोहि अनुसारको व्यय हुने गरि प्रस्ताव गरिएको छ । जस मध्ये आन्तरिक स्रोत बाट ४ करोड ४ लाख १० हजार , संघिय राजश्व बाँडफाँड बाट ८ करोड ४५ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँड बाट २ करोड ७९ लाख ३५ हजार, संघीय सरकार समानीकरण बाट १० करोड ८७ लाख , शसर्त अनुदान संघ २८ करोड १७ हजार विशेष/समपुरक अनुदान संघ २ करोड ८३ लाख, प्रदेश सरकार समानीकरण ८९ लाख ६९ हजार, सशर्त अनुदान प्रदेश २ करोड ९ लाख ६० हजार, समपुरक/विशेष अनुदान संघ ३ करोड ५३ लाख ४५ हजार रहेको छ । आगामी वर्षको लागि प्राप्त हुने विभिन्न क्षेत्रको अनुमानित आय तथा व्ययलाई अनुसूचिमा समाबेश गरिएको छ । जसको सारांसको रुपमा देहायनुसार प्रस्तुत गर्ने अनुमति चाहन्छु।

१. रोशी गाउँपालिकाका सवै वडाहरुलाई सुत्रमा आधारीत भई बजेट बिनियोजन गर्ने कार्यलाई निरन्तरता दिईएको छ । जसले गर्दा वडाहरु बिच राजश्व प्राप्तिमा स्वस्थ प्रतिस्पर्धात्मक वातावरणको विकास हुने अपेक्षा गरेको छु ।

२. गाउँपालिका लामो समयदेखि भाडाको घरमा संचालन हुँदै आएकोमा २ वर्ष भित्र स्थायी भवन सम्पन्न गर्ने ब्यबस्था मिलाइएको छ । जसका लागि गाउँपालिकाको अतिरिक्त केन्द्र सरकार सँग समपुरक बजेटको प्रबन्ध मिलाईएको छ।

३. केन्द्र सरकारले आफ्ना कर्मचारिहरुको लागि तलब स्केलमा बृद्धि गरेको सन्दर्भमा सोहि अनुरुप यस गाउँपालिकामा कार्यरत कर्मचारीहरुको पनि रकम रु २०००/- तलब बृद्धि गरिएको छ ।

४. विश्व माहामारीका रुपमा फैलिरहेको कोभिड-१९ रोगको रोकथाम र उपचारात्मक कार्यका लागि
आवश्यक बजेटको व्यवस्था गरिएको छ।

५. “मैले तिरेको कर, फर्की आउछ मेरै घर”, भन्ने नारालाई स्थापित गर्न एक वर्ष भित्र सवैभन्दा बढी कर तिर्ने करदाताको फोटो सहितको बिबरण गाउँपालिकामा अभिलेखिकरण गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ।

६. “सुसंस्कार हाम्रो पहिचान जेष्ठ नागरिकलाई सम्मान” भन्ने नारालाई स्थापित गर्न जेष्ठ नागरिक बुबा आमाको संरक्षण नगर्ने छोराछोरी प्रति गाउँपालिकाले कडाइका साथ निगरानी राखीनेछ र गाउँपालिकाद्धारा प्रदान गरिने सेवामा कडाइ गरिनेछ र आफ्नो बाबु आमालाई राम्रो पालन पोषण गर्ने प्रत्येक वडाबाट कम्तीमा २ जनालाई प्रति ब्यक्ति रु. ५००० नगद र कदर पत्र सहित श्रवण कुमार पुरष्कारबाट सम्मानित गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

७. विन्दवासिनी कृषि सहकारी संस्था सँग कृषकहरुका लागि ५ प्रतिशत ब्याज अनुदान कार्यलाई निरन्तरता दिइएको छ।

८. बाली संरक्षण कार्य अन्तर्गत कृषि घुम्ति प्लान्ट क्लिनिक संचालन कार्यका लागि आवश्यक
बजेट व्यवस्था गरिएको छ।

९. व्यवसायिक/कृषि बाली विमा अनुदान कार्यक्रमलाई आवश्यक बजेट व्यवस्था गरिएको छ।

१०. गाउँपालिकाभित्रका प्रत्येक नागरिकलाई सूचनाको हक दिलाउन रेडियो र साप्ताहिक पत्रिका
मार्फत सूचना प्रवाह गर्न रकम बिनियोजन गरिएको छ।

११. पशुमा लाग्ने रोगको पहिचान तथा उपचारको लागि रोग निदान तथा डिस्पेन्सरी कार्यक्रम सञ्चालन गर्न बजेट ब्यबस्था गरिएको छ।

१२. पशुपालनलाई आय आर्जनको आधारको रुपमा स्थापित गरिनेछ । जसका लागि नश्ल सुधार, कृतिम गर्भधारण गर्न बजेट ब्यबस्था गरिएको छ।

१३. नेपाल सरकाले तोकेको न्युनतम पारिश्रमिक व्यवस्था गरी बाल शिक्षक तथा कर्मचारिलाई मनोबल उच्च राख्न रु एक करोड नब्बे लाख गाउँपालिकाको तर्फबाट थप बजेट विनियोजन गरिएको छ।

१४. माध्यमिक विद्यालयलाई गणित तथा विज्ञान प्रदर्शनी कार्यक्रम का लागि आवश्यक बजेटको व्यवस्था गरिएको छ।

१५. विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय सरकार र प्रधानाध्यपक वीच, प्रधानाध्यापक र शिक्षकहरु वीच आवधिक कार्यसम्पादन करार गर्न आवश्यक प्रबन्ध गरिएको छ।

१६. बालविकास कक्षाहरुमा बालबालिकाको चाहना, उमेर, क्षमता, सिकाइस्तरका आधारमा सिक्ने
र सिकाउने व्यवस्थाका लागि प्रारम्भिक साक्षरता र गणित कार्यक्रमलाई निरन्तरता दिइएको छ।

१७. प्रधानमन्त्रि रोजगार कार्यक्रम द्वारा बेरोजगारि घटाउने अपेक्षा सहित कार्यक्रमलाई निरन्तरता दिइएको छ।

१८. लघु उद्यम का कार्यक्रम द्वारा रोशी गाउँपालिका क्षेत्रभित्र उद्यमशिलता विकासमा जोड दिन
कार्यक्रम राखिएको छ।

१९. मातृ तथा शिशु मृत्युदर घटाउनको लागि सुत्केरी आमा पोषिलो खाना कार्यक्रमका अतिरिक्त
बालबचाउ कार्यक्रम लाई निरन्तरता दिन आवश्यक बजेट बिनियोजन गरिएको छ।

२०. एक घर एक ईन्जिनियर र एक घर एक अधिकृत को अबधारणालाई सार्थक पार्न आवश्यक बजेट बिनियोजन गरिएको छ।

२१. आयुर्वेद सेवालाई बैकल्पिक चिकित्साको रुपमा विकास गर्न चाहिने आवश्यक बजेट ब्यबस्था
गरिएको छ।

२२. सडक मानव मुक्त अभियानलाई निरन्तरता दिदै आवश्यक बजेटको व्यवस्था गरिएको छ।

२३. करका प्रशासनिक प्रक्रियालाई सरलीकृत गरिनेछ । उठ्नुपर्ने सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क र जरिवानाहरु एवं मालपोत जस्ता स्थानीय आम्दानीका व्यापक स्रोतहरुको सूक्ष्म अभिलेख राख्ने काम पारदर्शी र जवाफदेहीपूर्ण बनाउन र कर छली र चुहावट रोक्न आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गरिनेछ।

उपस्थित महानुभावहरु,

मैले गाउँपालिकाको आगामी आर्थिक वर्षको लागि प्रस्ताव गरेको बजेट तथा कार्यक्रम यस सम्मानित सभा समक्ष प्रस्तुत गरेको छु । वडा तथा वस्तीस्तरीय भेलामा अधिकांश जनताको सहभागितामा छनौट र प्राथमिकीकरण भएका योजनाहरु प्राथमिकतामा पर्दापर्दै पनि पालिकाको सिमित श्रोतका कारणले योजनाहरु समावेश गर्न नसकिएको व्यहोरा विनम्रतापूर्वक अनुरोध गर्दछु । त्यसरी प्राथमिकतामा नपरेका योजनाहरुलाई योजना बैंकमा समावेश गरी अन्य दातृ निकायहरुसँग समन्वय गर्दै श्रोतको व्यवस्था मिलाई संचालन गर्न प्राथमिकतामा राखिने तथा आगामी आ.व.हरुमा समेत क्रमशः कार्यान्वयन गर्दै लगिने व्यहोरा समेत अनुरोध गर्दछु ।

आदरणीय उपस्थित महानुभावहरु,

कुल बजेट ६४ करोड ४३ लाख ३१ हजार मा गाउँपालिका को आन्तरिक स्रोत ४ करोड ४ लाख जुन कुल वजेटको ७.४१८ प्रतिशत हुन आउँछ । अन्य सबै स्रोत केन्द्र तथा प्रदेश सरकारमा निर्भर हुनु परेको अवस्था छ । आन्तरिक श्रोत तर्फका लक्ष्य हरुमा समेत माहामारी तथा खानीजन्य समस्याहरुले अपेक्षाकृत लक्ष्य हासिल हुनेमा अन्यौल देखिएको छ । करिब ९२ प्रतिशत भन्दा बढी निर्भर भएको केन्द्र तथा प्रदेश सरकारका शर्त एवं सूचक हरु पुरा नहुदाँ केन्द्र तथा प्रदेश बाट वाँडफाँड भइ आउने श्रोतमा समेत अपेक्षित लक्ष्य पुरा नहुन सक्ने अवस्था विद्यमान छ । जसका कारण हामिले पालना गर्नुपर्ने कानुनी दायित्व तथा सम्पादन गर्नु पर्ने सेवाका सूचकहरुको प्रकियामा हुने कमजोरि ले समेत अनुदान प्रवाहित हुने हुदाँ कार्यान्वयनमा सजकता अपनाउन अनुरोध गर्दछु ।

उल्लेखित बजेट एवं योजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक क्षमता विकास, संस्थागत, नीतिगत र कार्यविधिगत सुधारका कार्यहरु गर्ने साथै आवश्यकताअनुसार सरकारी, गैर सरकारी संघसंस्था, निजीक्षेत्र, नागरिक समाज, सहकारी र उपभोक्ता समेतको संयुक्त सहभागितात्मक सूचकमा आधारित अनुगमन एवं मूल्याङ्कनको आवश्यक व्यवस्था मिलाईनेछ । जसबाट बजेटको कार्यान्वयनको सुनिश्चितता एवं पारदर्शिता र उत्तरदायित्वको थप प्रबर्द्धन हुने विश्वास गरिएको छ।

बजेट तथा कार्यक्रम तर्जुमा गर्ने क्रममा गाउँपालिकाका सबै पदाधिकारी ज्यूहरुको सक्रिय सहभागिता र पृष्ठपोषण हाम्रा लागि महत्वपूर्ण रह्यो । विकासप्रतिको एकता, संवेदनशीलता, क्षेत्रगत सूचनाको जानकारी सरोकारवाला निकायबीच रहेको उच्चस्तरीय समन्वय र समझदारी हाम्रा लागि कार्य सफलताको कडी बन्यो । यस प्रति हामी सदैव कृतज्ञ छौ। यसखालका उदाहरणीय सहयोगको लागि रोशी गाउँपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।

अन्त्यमा,
हाम्रो निमन्त्रणालाई स्वीकार गरी कोभिड १९ को जोखिमका बाबजुद सुरक्षाका मापदण्ड अपनाई यस कार्यक्रममा पाल्नु भएका गाउँपालिकाका सदस्यज्यूहरु, कर्मचारीहरु, सरोकारवालासवैमा हामी आभारी छौं । गाउँपालिकाकोबजेट तथा कार्यक्रम तर्जुमाका क्रममा सहभागितामूलक योजना तर्जुमा प्रकृयाका सबै चरणहरुमा सहभागी हुनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । साथै यस कार्यलाई सफल र प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सम्बद्ध सबै पक्षबाट सदाझै निरन्तर सल्लाह, सहयोग र सुझावको अपेक्षा गर्दै वार्षिक योजना तर्जुमा कार्यमा सक्रिय एवं रचनात्मक सहयोग पुर्याउन हुने सबै पदाधिकारी ज्यूहरु, विषयगत निकाय, गाउँपालिकाको कार्यालयमा कार्यरतसम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाद दिन चाहन्छु । साथै गरिमामय यस सभामा उपस्थित सबै विशिष्ट महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा भएका कमी कमजोरी प्रति क्षमायाचना माग्दै स्वच्छ सफा हराभरा सुशासन युक्त रोशीको अनुभूति सवैक्षेत्रबाट हुने आशाका साथ रोशी गाउँपालिकाको नवौ गाउँ सभामा बजेट तथा कार्यक्रमको प्रस्तुति यही अन्त्य गर्दछु ।

धन्यवाद।
लक्ष्मी कुमारी वौला उप्रेती

उपाध्यक्ष आषाढ, २०७८