मण्डनदेउपुर नगरपालिकाको नवौं नगरसभामा प्रस्तुत आ.व. २०७८/०७९ को नीति  तथा कार्यक्रम र बजेट

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

 १. यस नगरपालिकाको नवौं नगरसभामा उपस्थित आदरणीय नगरसभाका सदस्यज्यूहरु, नगर सल्लाहकार ज्य, संचारकर्मी मित्रहरु, सुरक्षाकर्मी साथी, राष्ट्रसेवक कर्मचारीज्यूहरु र उपस्थित सम्पूर्ण महानुभावहरुमा नगरपालिकातथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहान्छु।

२ नेपाली जनताले विभिन्न समयमा गरेका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, मधेश आन्दोलन लगायतकासंघर्षहरुमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापनार्थ गरेको त्याग र बलिदानलाई स्मरण गर्दै सो क्रममा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति सम्मान र हार्दिक श्रद्धान्जली अर्पण गर्दछु।

३ कोरोना भाइरसको दोस्रो लहरले सृजना गरेको यस मानवीय, आर्थिक र मनोवैज्ञानिक त्रास सहितको संकटपूर्ण घडीमा यस महामारी नियन्त्रण तथा रोकथामका क्रममा ज्यान गुमाउनु भएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि, संचारकर्मी लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्नुका साथै उपचाररत सम्पूर्ण नागरिकहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु।

४ विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण सिर्जित विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का कारण जनजीवनमा परेको प्रतिकूल असरका बाबजुद कोभिड-१९ (कोरोना भाइरस) नियन्त्रण र रोकथामका लागि नगरद्वारा चालिएका कदमहरुमा साथ र सहयोग पुयाउनुहुने सम्पूर्ण नगरबासीमा धन्यवाद व्यक्त गर्दछु। साथै यस महामारीमा अग्रपङ्तिमा रही रोकथाम, नियन्त्रण, व्यस्थापन तथा उपचारमा अहोरात्र खटेका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, कर्मचारी, जनप्रतिनिधि लगायत जिम्मेवार नागरिकको रुपमा सहयोग गर्नुहुने सबैमा हार्दिक धन्यवाद सहित कृतज्ञता ज्ञापन गर्न चाहान्छु।

५ कोभिड-१९ (कोरोना भाइरस) रोकथाम नियन्त्रण तथा उपचार कोषमा जिन्सी तथा नगद सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, सरकारी, गैर सरकारी संस्था एवम् दाताहरु, प्रदेश तथा संघीय सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम र नियन्त्रण गर्न मण्डनदेउपुर नगरपालिका सदैव प्रतिवद्ध रहेको छ।

६ कोभिड-१९ का कारण उत्पन्न स्वास्थ्य संकटको यस विषम परिस्थितिजन्य चुनौती सामना गर्नका लागि उत्थानशिल र सर्वाङ्गिण विकासमार्फत नगरलाई समृद्धिको बाटोमा लैजाने विश्वासका साथ यो नीति तथा कार्यक्रम र बजेट तयार गरेको छु।

७ कोरोना भाइरसका कारण प्रभावित आर्थिक क्रियाकलपाहरुको श्रृंखला र विकास एवं समृद्धिका मूर्छित सपनाहरुलाई पूनः जागृत गराइ आर्थिक पुनरूत्थान, नागरिकको जिवन रक्षा साथै जनताको दैनिकिमा प्रत्यक्ष असर पार्ने भौतिक पूर्वाधारमा लगानी गरी नागरिकको जीवन निर्वाहमा सहयोग पुयाउने उत्पादनशिल क्षेत्रमा आगामी आर्थिक वर्षको अधिकांश लगानी केन्द्रित रही योजना संचालन गर्नुपर्ने अवस्थामा यो नगरपालिका रहेको छ।

८ योजना छनौटका आधारहरुः

सुखि, समृद्ध र सबल नगरबासीको लक्ष्य प्राप्तीका लागि आ.व. २०७८/०७९ का लागि योजना छनौटका आधारहरु तपसिल बमोजिमका छन्:

  • स्वास्थ्य पूर्वाधार विकास साथै सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह।

  • उत्थानशील पूर्वाधारहरुको निर्माण र विद्यमान पूर्वाधारहरुको संरक्षण र सबलिकरण।

  • जिवनपयोगी एवं सिपयुक्त शिक्षाको सुनिश्चितता।

  • दीगो कृषि प्रणाली प्रबर्द्धन, उत्पादन र उत्पादकत्वमा वृद्धि, उत्पादनमा विशिष्टिकरण, उपभोगमा विविधिकरण साथै खाद्य सुरक्षाको प्रत्याभुति।

  • सामाजिक सांस्कृतिक पहिचानमा आधारित पर्या-पर्यटनको विकास। > स्वच्छ तथा सफा खानेपानी र सरसफाईको व्यवस्थापन।

  • गरिबी निवारण, सामाजिक-आर्थिक समानता र सामाजिक सुरक्षा सहितको न्यायपूर्ण समाज निर्माण तीव्र दीगो र रोजगारमूलक आर्थिक विकास।

  • वातावरण संरक्षण, विपद् व्यवस्थापन र दीगो विकास।

  • स्थानीय तथा आन्तरिक स्रोत, साधन र क्षमताको उच्चतम परिचालन , उपयोग, संरक्षण तथा उत्थानशिलताको विकास।

  • उत्तरदायी शासकीय व्यवस्था, सुशासनको प्रत्याभूति तथा सहज र सुलभ सेवा प्रवाह ।

  • नगरवासीको अपेक्षा, सुझाव र माग साथै संचालित आयोजनाहरु।

चुनौती तथा अवसर

अधिकांश भू-भाग ग्रामिण क्षेत्र रहेको यस मण्डनदेउपुर नगरपालिकामा कम लागतमा विकास निर्माणको कार्य सञ्चालन एवं सम्पन्न गर्नु, निजी, सहकारी एवं सरकारी लगानीमा उपलब्ध स्रोत साधनलाई बहुपक्षीय उपयोगमा ल्याउनु, खेती योग्य भूमीमा अधिकतम प्रतिफल दिने कृषि कार्य गरी उत्पादन एवं उत्पादकत्व वृद्धि गर्नु, उत्पादनको विशिष्टीकरण एवं विविधीकरण र उचित बजारीकरण तथा मूल्य स्थापित गर्नु साथै आइपर्न सक्ने सम्भाव्य विपद् व्यवस्थापन मार्फत जनधनको सुरक्षा गर्नु चुनौतीको रुपमा रहेको छ ।

सम्भावना बोकेका आर्थिक स्रोतको पहिचान गरि अधिकतम परिचालन मार्फत नगरवासीको अपेक्षा अनुसारको उचित सम्बोधन मार्फत उत्तरदायी शासकीय व्यवस्था, सुशासन, समतामूलक विकास र गुणस्तरीय सेवा प्रवाह गर्न समयमै योजना तथा कार्यक्रम संचालन गरी कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोत जस्ता आर्थिक विकासका सूचकका रुपमा रहेका विभिन्न पक्षहरुको सही उपयोग गरी तिव्र विकास मार्फत नगरवासीको विकास र समृद्धिको अपेक्षा पुरा गर्ने अवसर रहेको छ। कोरोना भाईरसका कारण समयमै योजना तथा विकास कार्यक्रम संचालन र निर्दिष्ट लक्ष्यहरु हासिल गर्नु चुनौतीपूर्ण रहेतापनि यसलाई स्वास्थ्य क्षेत्र, विपद् व्यवस्थापन, वैकल्पिक शिक्षण सिकाइका लागि पूर्वाधार विकास तथा सूचना प्रविधिको प्रयोग गरी विपद्को अवस्थामा पनि सेवा प्रवाह गर्ने अवसरको रुपमा समेत लिन सकिन्छ।

१० सोच, लक्ष्य र उद्देश्यः

समृद्ध, सुखी र सबल नगरपालिका निर्माणको लागि आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटले निम्न सोच लक्ष्य र उदेश्य लिएको छ।

सोचः

‘देउपुर र मण्डनः कृषि र पर्यटन’ भन्ने नारामा आधारित सबल, सक्षम र समृद्ध नगर ।

लक्ष्यः

समृद्ध र सुखी नगरपालिका स्थापनाका लागि भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय पक्षहरुको दीगो, गुणात्मक र समष्टिगत विकास प्रद्धत कार्यक्रम संचालन र सहकार्य ।

उद्देश्यः

  • कोरोना लगायतका स्वास्थ्य एवं अन्य विपद्बाट नगरबासीको जनधनको सुरक्षा।

  • दीगो भौतिक पूर्वाधार निर्माण तथा समावेशी, सुरक्षित र उत्थानशील संरचना। जैविक विविधता तथा वातावरणीय सन्तुलन र संरक्षण।

  • उपलब्ध स्रोत, साधन र क्षमताको दिगो तथा समुचित प्रयोग र लाभको समतामूलक वितरण।

  • उत्पादनमा विशिष्टीकरण र उपभोगमा विविधीकरण सहितको कृषि प्रणाली र औद्योकीकरण मार्फत कृषि व्यवसायलाई मर्यादित पेशाका रुपमा प्रबर्द्धन।

  • पर्या-पर्यटन र सामाजिक सांस्कृतिक पर्यटनको विकास।

  • उत्पादनमूलक साना तथा मझौला उद्योगको विस्तार। सबल, निष्पक्ष र जवाफदेही सार्वजनिक सेवा र सरकारी खर्चको कुशल, मितव्ययी र नतिजामुखी व्यवस्थापन।

  • सामाजिक आर्थिक रुपान्तरण तथा नागरिकलाई मर्यादित र परिष्कृत जीवनयापनको अनुभूति।

  • सार्वजनिक सेवामा सबैको समतामूलक पहुँच तथा सेवा प्रवाहमा सुदृढिकरण।

समृद्ध नगर स्थापना गर्न नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, मानवीय तथा सांस्कृतिक विकासका लागि समष्टिगत तथा क्षेत्रगत लक्ष्यहरु निर्धारण गरी उक्त लक्ष्यहरु हासिल गर्नु नगरको मुख्य उदेश्य हुनेछ।

यस नगरपालिकाले उल्लेखित उद्देश्यहरु हासिल गर्न आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गर्दा स्वास्थ्य, सडक, खानेपानी, शिक्षा, कृषि, पर्यटन, वातावरण र लक्षित वर्गलाई प्राथमिकिकरण गरी योजना तर्जुमा गरिएको छ। योजनाहरु संचालनका क्रममा जनमुखी नीति तथा दीगो, वातावरण मैत्री, उत्पादनमुखी साथै परिणाममुखी कार्यान्वयनमा विशेष ध्यान दिइनेछ । अव म आगामी आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा लिईएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शनका वारेमा जानकारी गराउँन चाहान्छु ।

  • नेपालको संविधानले निर्देश गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्वन्धी विषय तथा प्राथमिकताहरु।

  • संघीय र प्रादेशिक नीति, कानून तथा मापदण्डहरु।

  • वडाहरुबाट संकलन गरेका सुझाव तथा कार्यक्रमहरु।

  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु।

  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथमिकताका आधारहरु।

  • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्था।

  • स्थानीय तहको वार्षिक योजना तथा वजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको आधारहरु ।

  • संघीय सरकार र प्रदेश तहबाट प्राप्त अन्य मार्गदर्शन एवं निर्देशन तथा सुझावहरु।

  • दिगो विकासका लक्ष्यहरु साथै पन्ध्रौ आवधिक योजनाले निर्दिष्ट गरेका लक्ष्य एवं उद्देश्यहरु।

  • नगरपालिकाको दिर्घकालिन सोच।

  • नगरपालिकाको समग्र अवस्था।

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

११. अब म चालु आ.व २०७७/०७८ सम्ममा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रमहरुको संक्षिप्त समिक्षा प्रस्तुत गर्न गईरहेको छु।

१२. चालु आ.व मा मात्रै कृषि क्षेत्रको यान्त्रीकरणका लागि नगरभित्र १५५ वटा हाते ट्याक्टर वितरण गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको छ। साथै १०४ वटा प्लाष्टिक टनेल, माटो परिक्षण सेवा शुरु भएको छ।

१३. यस नगरपालिकामा हालसम्म एक घर एक धारा कार्यक्रम अन्तरगत वडा नं. १ मा ४८६ वटा, वडा नं. २ मा२५ वटा, वडा नं. ३ मा ४६८ वटा, वडा नं. ४ मा ३०१ वटा, वडा नं. ५ मा ३६० वटा, वडा नं. ६ मा ४७० वटा, वडा नं. ७ मा ३४५ वटा, वडा नं. ८ मा ७५ वटा, वडा नं. ९ मा २६१, वडा नं. १० मा १०७५ वटा, वडा नं. ११ मा ५४६ वटा, वडा नं. १२ मा ५३६ वटा धारा र अन्य संघ संस्था तथा सार्वजनिक निकायसँगको साझेदारीमा निर्माण भएका गरी करिब ५२०० वटा धारा जडान गरिएको छ जसमध्ये आ.व. २०७७/७८ मा ६२५ वटा धारा जडान गरिएको छ।

१४. २०६३० मिटर पाईप बिछ्याइएको, १९ वटा इन्टेक, ७ वटा PVC पानी ट्याङ्की र १० वटा ट्याङ्की निर्माणगरिएको, २ वटा डिप बोरिङ्ग निर्माण, १० वटा पम्प खरिद गरिएको, ६ वटा इनार र कुवा निर्माण गरिएको, पम्प हाउस ४ वटा तयार गरिएको, भल्भ च्याम्बर ९ वटा, RVT ट्याङ्की १० वटा र २२४ थान तारवार तथा ग्याविन भरि पानीका मुहान संरक्षण गरिएको छ।

१५. नगरपालिका अन्तरगत हिगुवापाटी देउपुर सडक र कुन्ता नयाँगाँउ नगरकोट सडक खण्ड गरी ४१०० मिटरसडक कालोपत्रे भइसकेको र २६५० मिटर सडकको कालोपत्रे कार्य सम्पन्न हुनेछ । साथै नगर क्षेत्र भित्र हालसम्म मापदण्ड बमोजिम १४५.०५ कि.मि. सडक चौडा पारिएको छ।

१६ २२८३ मि रिटेनिङ्ग वाल तयार पारिएको, ४९३७ मि. पक्की नाली निर्माण गरिएको, ६१ कि.मि कच्ची नाली निर्माण गरिएको, ८ वटा कल्भर्ट, ५ वटा कज वे निर्माण गरिएको, वर्षात पछि १३६ कि.मि. सडकको मर्मत संभार तथा ४५ कि.मि ग्रावेल र ३० कि.मि नयाँ ट्रयाक सम्पन्न भएको छ।

१७. साथै नगरपालिकामा १९२ मिटर सडक आर सि सि ढलान, २९७ थान ह्युम पाईप व्यवस्थापन गरि सडकको स्तरोन्नती गरिएको, १९८ मिटर ढुङ्गाको सोलिङ्ग गरेको, ७२७ थान ग्यावीन जाली प्रयोग भएको छ।

१८. चालु आ.व.मा सिंचाइ तर्फ हालसम्म ५०९ मि. बाँध निर्माण, ६५२.१७ घ.मि. आरसिसि ढलान, ११६४ मि. आर.सि.सि. कुलो निर्माण, १८ वटा भल्व बक्स च्याम्बर निर्माण, , ३०० मि. जि आई पाईप खरिद, ३ वटा आर सि सि ट्याङ्की निर्माण र ६०८७ मि. एच. डि. पि. पाईप बिछ्याइएको छ।

१९. नगरपालिका क्षेत्र भित्र नगरकोटमा सोलार बत्ती १६ वटा र कुन्तावेशीमा सोलार बत्ती १२ वटा गरी जम्मा २८वटा सोलार बत्तीको व्यवस्था गरिएको छ।

२०. हालसम्म नगरपालिकाले अपाङ्गता भएका ८३ जनालाई रातो कार्ड, १८८ जनालाई नीलो कार्ड, १०२ जनालाई पहेंलो कार्ड र ६१ जनालाई सेतो कार्ड गरी जम्मा ४३४ जनालाई परिचयपत्र वितरण गरिएको छ।

२१. यस नगरपालिकाबाट हालसम्म ५२१ जना महिला, ४७७ जना पुरुष गरी जम्मा ९९८ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।

२२. हालसम्म यस नगरपालिकामा ७८ वटा टोल विकास संस्था तथा उपभोक्ता समिति दर्ता, १८० वटा व्यवसाय पसल दर्ता, ६४ वटा सहकारी सूचीकृत, २४ वटा संघ संस्था सूचीकृत र १६२ वटा कृषि समूह, फर्म, वन समूह दर्ता भएका छन्।

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

२३. अब म हालसम्म नगरपालिकाले हासिल गरेका उल्लेखनीय कार्यहरुको संक्षिप्त विवरण पेश गर्न गइरहेको छु ।

  • खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको।

  • पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको।

  • नगर सभाले ५७ वटा ऐन, नियमावली तथा कार्यविधि निर्माण गरि लागु गरिएको।

  • शिक्षा क्षेत्रमा दरबन्दी मिलान तथा विद्यालय समायोजन गरिएको।

  • वडा वडा मा शिविर संचालन गरी अपांगता परिक्षण तथा परिचय पत्र वितरण गरिएको।

  • नगरस्तरीय सडकहरु मापदण्डका आधारमा सिमांकन गरिएको।

  • स्वेच्छिक अवकास लिने शिक्षकहरुलाई रु. १ लाख नगद सहित सम्मान गरिएको।

  • दरबन्दी कम भएका ११ वटा विद्यालयलाई अनुदान उपलब्ध गराइएको।

  • ECD कक्षालाई Play Group सहित २ तहको बनाइएको।

  • विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्प्युटर ल्याव, प्रोजेक्टर, घेराबार जस्ता कार्यक्रमहरु संचालन गरिएको।

  • विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको।

  • नगर भित्रका माध्यामिक तह, निम्न माध्यामिक तह, प्राथमिक तह र बाल विकास गरी ४ वटा

    विद्यालयलाई नमूना विद्यालय घोषणा गरिएको।

  • मातृभाषा तथा स्थानीय पाठ्यक्रमको निर्माण गरीएको।

  • नगरपालिका अन्तरगतका विद्यालयहरुमा इन्टरनेट जडान र मल्टीमिडिया सामग्रीहरु वितरणको कार्य अधि

    बढाइएको ।

  • एकिकृत सम्पति कर संकलन तथा व्यवस्थापन प्रत्येक वडा कार्यालयबाटै सूचारु गर्न सफ्टवेयर खरिद

    गरीएको।

  • विभिन्न कम्प्युटर सफ्टवेयरहरुको प्रयोग गरी नगरपालिकाले दिने सेवाहरु छिटो छरीतो रुपमा सम्पादन

    गरिएको।

  • नगरकार्यपालिकाको भवन, नगरकोट, कुन्तावेशी चोक, ढाडखोलामा डिजिटल नोटीस बोड (विद्युतीय सूचना

    पाटी) र सि.सि.टि.भि. जडान गरिएको ।

  • नगरपालिका तथा नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरुको सम्पूर्ण कार्यगत विवरणहरु नगरपालिकाको सर्भरमा एकीकृत गर्ने व्यवस्था मिलाइएको।

  • कोरोना अस्थायी अस्पताल तथा नगर आइसोलेसन केन्द्र स्थापना गरिएको।

  • नगरपालिका प्रशासकीय भवन निर्माण कार्य अघि बढाइएको।

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

अब म गत आर्थिक वर्ष २०७६/०७७ र चालु २०७७/७८ मा विनियोजित बजेट र प्रगतीको संक्षिप्त समिक्षा गर्न चाहन्छु।

आ.व. २०७६/०७७ को यथार्थ आय तथा व्ययको विवरण

१. यस नगरपालिकाको आर्थिक वर्ष २०७६/०७७ मा अल्या मार्फत रु. १७ करोड २९ लाख ७५ हजार ५५, आन्तरिक राजस्व बाट रु. ९ करोड ९० लाख २२ हजार ६९८, संघीय सरकार शशर्त अनुदान २० करोड ४० लाख ७५ हजार, संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान रु ११ करोड ५९ लाख, प्रदेश शर्शत अनुदान रु. ३ करोड ३२ लाख ८८ हजार, प्रदेश समानिकरण अनुदान रु. १ करोड १ लाख ५६ हजार, संघीय समपूरक अनुदान ३ करोड २० लाख, प्रदेश समपुरक अनुदान रु १ करोड ९९ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट प्राप्त मूल्य अभिवृद्धि कर रु ६ करोड २३ लाख ८ हजार ५१८, राजस्व बाँडफाँडबाट प्राप्त हुने सवारी साधन कर रु. २ करोड ७७ लाख ८४ हजार ३७५, प्रदेश विशेष अनुदान ४९ लाख ९६ हजार र अन्य आय १ करोड १६ लाख ८० हजार ५०३ गरी कुल ७८ करोड २५ लाख ६४८ मात्र आय रहेको र कुल खर्च ५६ करोड ५३ लाख ८५ हजार ६४४ रहेको थियो।

चालु आ.व. २०७७/७८ को संशोधित अनुमान

२. चालु आ.व. २०७७/७८ मा आय तर्फ तथ वर्षको अल्या रु १८ करोड अनुमान गरिएकोमा १८ करोड ४० लाख ७ हजार ६०१ अल्या भएको, अनुमानित आन्तरिक आय रु १३ करोड ८३ लाख ८९ हजार ७०९ गरिएकोमा संशोधित अनुमान रु ९ करोड ४४ लाख ४ हजार १०२, अनुमानित संघीय राजस्व बाँडफाँड रु ७ करोड ७८ लाख ६१ हजार ९६० गरिएकोमा संशोधित अनुमानित रु. ५ करोड ७७ लाख ७२ हजार २९४, अनुमानित प्रदेश राजस्व बाँडफाँड १ करोड ९१ लाख २८ हजार गरिएकोमा संशोधित अनुमान रु २ करोड १८ लाख ५६ हजार ३४४, संघीय शशर्त अनुदान रु २२ करोड ९० लाख अनुमान गरिएकोमा संशोधित अनुमान रु २२ करोड ९० लाख भएको, प्रदेश शशर्त अनुदान रु ९ करोड ६७ हजार अनुमान गरिएकोमा संशोधित अनुमान रु ९ करोड ६७ हजार भएको र संघ तथा प्रदेशको वित्तिय समानिकरण अनुदान क्रमशः ११ करोड ४८ लाख र १ करोड १ लाख ३८ हजार अनुमान गरिएकोमा यथावत हुने अनुमान गरिएको छ। प्रदेश तथा संघ सरकारबाट समपुरक तथा विशेष अनुदान बजेट लगायत अन्तरसरकारी अख्तियारी बजेट हस्तान्तरण भई कुल संशोधित बजेट रु. ८६ करोड २९ लाख १ हजार ५०७ अनुमान गरिएको छ। यस आ.व. मा कोरोना रोग संक्रमणका कारण बन्दाबन्दी समयावधी परेकाले विकास निर्माणका कार्यमा केहि अवरोध सृजना हुँदा आ.व. को अन्त्य सम्ममा चालु खर्च ६५ प्रतिशत र पूँजीगत ५० प्रतिशत मात्र हुन सक्ने गरिएको छ।

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

मण्डनदेउपुर नगरपालिकाको “देउपुर र मण्डन – कृषि र पर्यटन” भन्ने नारालाई आत्मसात गर्दै सुखी, समृद्ध सबल नगरपालिकाको निर्माण गर्न सहभागितामुलक योजना तर्जुमा पद्वतिबाट तयार पारिएको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

३ स्थानीय सरकार सञ्चालन ऐन, २०७४, यस नगरका ऐन, नियमावली, निर्देशिका तथा कार्यविधि र प्रदेश तथा संघीय अर्थ मन्त्रालयबाट प्राप्त वजेट सिलिङको अधिनमा रहि यस नगरपालिकाको आ.व. २०७८/०७९ को वार्षिक योजना नगरले लिएको मुल नीति र विकासका मुख्य क्षेत्रहरुलाई प्राथमिकता दिँदै वडाका बस्ती-स्तरबाट आम नागरिकको सक्रिय सहभागिता गराउँदै वडा भेलाको प्रस्तावलाई वडा समितिको बैठक राखी नगरपालिकामा सिफारिस भै-आए पश्चात विषयगत समितिमा छलफल गराई बजेट तथा कार्यक्रम तर्जुमा समितिले तय गरे बमोजिम प्राथमिकिकरण गरी योजनाहरु प्रस्तुत गरिएको छ ।

पूर्वाधार विकास तर्फ

४. सडक पूर्वाधारको सबलिकरणका लागि यस नगरपालिका क्षेत्र भित्रका सडकहरुलाई नगरपालिकाको मापदण्डबमोजिम ८ मीटर तथा ९ मीटर चौडा पार्दै लाने नीतिलाई निरन्तरता दिइनेछ।

५. नगरपालिकाका प्रत्येक वडाहरुमा कम्तिमा एउटा रणनैतिक सडक निर्माण गर्ने नीति लिइनेछ।

६. नगरपालिकाद्वारा व्यवस्था गरिएका एक्साभेटर प्रयोग गरी नगर क्षेत्र भित्र निर्माण भएका सडकहरुलाई बर्षैभरि संचालनयोग्य बनाई सहज र सरल पहुँच र आवतजावत सुनिश्चित गर्न कच्ची नाली निर्माण गर्ने, ग्रावेल गर्ने, साथै पक्की नालि निर्माण गर्ने, रिटेनिङ्ग वाल जस्ता संरचना तयार गर्ने र आवश्यक स्थानमा ढलान समेत गर्ने कार्यलाई निरन्तरता दिइनेछ । सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइनेछ।

७. वडा नं. ७ स्थित मनमति डाँडामा चालु आ व मा ठेक्का सम्झौता भई नगरपालिकाको प्रशासकीय भवन निर्माण, प्रवेश मार्ग तथा खानेपानी योजनाको कार्य संचालन भइरहेकोमा सो निर्माण कार्य सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको छु।

८. वडा नं. १, ६, ८, ९ र १० मा वडा कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाइनेछ जसमध्ये वडा नं. १ र ६ को वडा कार्यालय भवन निर्माणको बोलपत्र आह्वान भइसकेको छ।

९. संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा नगरपालिका अन्तरगत संचालनमा रहेका गौरवका तथा ठूला पूर्वाधारका आयोजनाहरु निर्माण कार्य अघि बढाइने नीति लिइनेछ ।

१०. यस आ.व. २०७८/०७९ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अनतर्गत यस नगरपालिका अन्तरगत सूचीकृत भएका बेरोजगार जनशक्ति परिचालन गर्न न्यूनतम १०० दिनको रोजगारी सृजना गरी नगरक्षेत्रमा संचालन हुने विकास निर्माणको योजनाहरुमा सहभागी गराइनेछ ।

आर्थिक विकास तर्फ

११. कृषिलाई उत्पादनशिल बनाउँदै लगिनेछ र औद्योगीकरण मार्फत रोजगारीको सिर्जना गरी आय आर्जनको विश्वासिलो माध्यमको रुपमा विकास गरिनेछ। कृषि क्षेत्रमा नविनतम प्रविधिको प्रयोगका साथै कृषि क्षेत्रमा आधुनिकिकरण, व्यवसायीकरण र विविधिकरण मार्फत प्रतिस्पर्धात्मक बनाई मर्यादित पेशाको रुपमा स्थापित गराउने नीति अवलम्वन गरिनेछ।

१२. कृषिमा उत्पादन तथा उपादकत्व वृद्धि गरी कृषि पेशामा आबद्ध कृषकहरुको आय आर्जन वृद्धिका लागि पकेटक्षेत्रका आधारमा बेमौषमी तरकारी खेतीलाई प्रोत्साहन गरिनेछ। कृषि उत्पादनका लागि आवश्यक सिंचाई पूर्वाधारको विस्तार गरिनेछ ।

१३. कृषि क्षेत्रका लागि अत्यावश्यक मलखाद, विषादी, चुन तथा तरकारी, अन्नबाली तथा फलफूलको विउ वेर्ना, इत्यादी को व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

१४. कृषि उपजहरुको उत्पादन पश्चात संकलन तथा बजारिकरण कार्यका लागि नगरपालिकामा कृषि उपज संकलन तथा बजार केन्द्र र कोल्ड स्टोरको निर्माण गरिनेछ। साथै आवश्यकता अनुसार माटो परिक्षणका लागि माटो परिक्षण शिविर तथा बालीमा लाग्ने सम्भाव्य रोगहरुको परिक्षणका लागि रोग परीक्षण ल्यावको व्यवस्था मिलाइनेछ।

१५. कृषिमा आइपर्ने जोखिम न्यूनिकरण गरी कृषकलाई राहत प्रदान गर्न र कृषि बालीमा पर्न सक्ने सम्भाव्य क्षतिको न्यूनिकरणका लागि कृषि वाली बीमाको कार्यक्रमलाई निरन्तरता दिइनेछ।

१६. कृषि पेशालाई परम्परागत र जीवन निर्वाहमूखी बाट व्यवसायीकरण तर्फ उन्मुख गर्न नगरपालिका क्षेत्र भित्र ५०:५० प्रतिशत लागत साझेदारीमा नगर प्रमुख कृषि नवप्रवर्तनकारी कार्यक्रम संचालन गर्ने नीति लिइनेछ।

१७. नगरपालिका क्षेत्र भित्रका कृषकहरुको पहिचान, वर्गिकरण, तथ्याङ्क व्यवस्थापनका गर्न नीतिगत व्यवस्था गरी बजेट समेत व्यवस्था गरिनेछ।

१८. विभिन्न रोगहरुबाट हुनसक्ने सम्भाव्य पशुधन क्षती न्यूनीकरणका लागि पशु बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ। साथै नगरभित्र पशुपालनलाई व्यवसायीकरण गरी मासु तथा दुग्ध उत्पादनमा बृद्धि गर्ने नीति लिइनेछ। नगर क्षेत्र भित्र थप दुग्ध संकलन तथा चिस्यान केन्द्र स्थापना गर्ने नीति लिइनेछ।

१९. नगरपालिका अन्तर्गतका सबै वडाहरुमा पशु सेवा प्राविधिक मार्फत सेवा उपलब्ध गराइनेछ । पशु स्वास्थ्य जाँच घुम्ति शिविर सञ्चालन गरि गोबर तथा रगत जाँच गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै आवश्यक औषधी तथासामग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ।

२०. कृत्रिम गर्भाधानको लागि बिज सेक्स सेलेक्ट सिमन तथा नाइट्रोजनको आपूर्तीको सुनिश्चितता गरी नश्ल सुधार, बोका वितरण कार्यक्रम र महामारी बिरुद्ध खोप कार्यक्रम संचालनलाई निरन्तरता दिनइनेछ।

२१. नगरपालिका अन्तरगत लघु, साना तथा मझौला उद्योग/व्यवसायलाई प्रबर्द्धन गर्नका लागि प्राविधिक सिप विकास तालिम तथा मौजुदा उद्यमीहरुको स्तरोन्नतीका लागि तालिमका साथ साथै प्रविधि हस्तान्तरण गर्ने नीति लिइनेछ।

पर्यटन

२२. नगर क्षेत्रभित्र पहिचान भएका पर्यटकीय गन्तब्यहरुमा निर्माण भएका पर्यटकिय पूर्वाधारहरुको मर्मत तथा संरक्षण गरिनेछ।

२३ नगर भित्र रहेका विभिन्न जातजाती, भाषाभाषी तथा सांस्कृतिक समुदायहरुको जातीय, भाषिक तथा धार्मिक सांस्कृतिक सम्पदाहरुको पहिचान गरी प्रवर्द्धन गर्ने नीति अंगिकार गरिनेछ।

२४ नगरपालिकाको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न तथा पर्यटन प्रबर्द्धन गर्न मुख्य मुख्य पर्यटकिय स्थानहरुको प्रचार प्रसार गरिनेछ।

२५. आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नगर भित्रका नगरकोट, ठुलीचौर, थामीडाँडा, बुद्धपार्क, लगायतका प्रमुख पर्यटकीय गन्तब्यहरुको पूर्वाधार विकास गर्ने नीति लिइनेछ।

२६. नगरकोट स्थित क्रमागत रुपमा निर्माण भइरहेको खोराङ्ग उन्काई पदमार्गलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनको लागि नगर क्षेत्र भित्र थप पर्यटकीय पदमार्गहरु निर्माण गरिनेछ।

२७. ठुलोचौर तथा थामीडाँडामा निर्माणाधिन भ्यू टावरहरु निर्माणको कार्य आगामि आ.व.मा सम्पन्न गरिनेछ। साथै आ.व. २०७८/०७९ मा नगरकोट क्षेत्रमा पर्यटकहरुलाई थप आकर्षित गर्न हिमालयन साइक्लिङ्ग रुट को निर्माण कार्य अघि बढाईनेछ।

२८. नगरपालिकाको प्रमुख पर्यटकिय गन्तब्यको रुपमा रहेको नगरकोट क्षेत्रलाई Nagarkot: The King of Hills को नामबाट परिचित गराउन पर्यटकिय पूर्वाधारको विस्तार तथा प्रचारप्रसार गरिनेछ । साथै आगामि आ.व. २०७८/०७९ मा नगरकोट क्षेत्रमा नगरकोट बृहत इको पर्यटन पार्क निर्माण गरिनेछ।

सामाजिक विकास तर्फ

खानेपानी

२९. यस नगरपालिकालाई एक घर एक धारायुक्त बनाउने नीति बमोजिम हालसम्म करिब ५२०० घरधुरीमा एक घर एक धारा निर्माण सम्पन्न भएकोमा आगामी आर्थिक वर्षमा कुल ७५०० घरधुरीलाई एक घर एक धारायुक्त बनाइनेछ।

३०. सबै नागरिकहरुलाई स्वच्छ तथा सफा खानेपानीको पहुँच सुनिश्चतताका लागि संचालनमा रहेको मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयनमा जोड दिइनेछ।

स्वास्थ्य

३१ कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम र उपचारकाका लागि एक डाक्टर र दुई स्टाफ नर्स सहित स्थापना गरिएको ५ शैयाको कोरोना अस्थायी अस्पताललाई निरन्तरता दिइनेछ। अक्सिजन सहितको ७५ शैया क्षमता भएको आइसोलेसन केन्द्र समेतलाई महामारीको सयमभरी निरन्तरता दिइनेछ।

३२ शीर मेमोरियल अस्पताल, बनेपालाई भेन्टीलेटर सहयोग गरी अति जटिल कोरोना बिरामी तथा अन्य विरामी समेत सहज भेन्टिलेटर स्वास्थ्य सेवा प्रदान गरिनेछ।

३३ कोरोना भाइरस संक्रमणबाट नगरबासीहरुलाई सुरक्षित बनाउन कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम संचालन गरिनेछ। संघीय सरकारबाट खोप वितरण हुन नसकी खोप खरिदको अनुमति प्रदान गरेमा नगरपालिका स्वयंले खोप खरिद गरी खोप अभियान संचालन गरिनेछ।

३४ चालु आ.व. मा निर्माण सम्पन्न हुने ५ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ८ वटा खोप केन्द्र र १ वटा सहरी क्लिनिकहरुमा पूर्णरुपमा जनशक्ति र उपकरणको व्यवस्था गरी आ.व. २०७८/०७९ मा संचालनमा ल्याइनेछ।

३५ आ.व. २०७८/०७९ मा नगरस्तरीय अस्पतालको निर्माण कार्य पूर्ण रुपमा सम्पन्न गरी सेवा सुचारु गर्ने र १० बेड क्षमता थप गरी नगरस्तरीय अस्पतालको स्तरोन्नतीको प्रक्रिया अगाडी बढाइनेछ।

३६ स्वस्थ नगर, स्वस्थ नगरबासी, स्वस्थ जीवन र स्वस्थ समाजका लागि स्वस्थ उत्पादन र स्वस्थ उपभोगमा जोड दिइनेछ।

३७ स्वास्थ्य संस्थाहरूको पूर्वाधार र जनशक्ति विकासमा जोड दिई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। आधारभूत र आकस्मिक स्वास्थ्य सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्दै लगिनेछ।

३८ यस नगरपालिकाले नगर भित्रका मुटु रोग, क्यान्सर तथा मृगौला रोग सम्बन्धी शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई शल्यक्रिया गर्ने समयमा एक पटकको लागि प्रदान गर्दै आएको आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ।

३९ यस नगरपालिकाले संचालन गर्दै आएको खोप तथा गर्भ जाँच सेवालाई थप सुरक्षित र व्यवस्थित गरी प्रत्येक वडामा सेवा विस्तार गरिनेछ।

४० गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाको भौतिक सुधार तथा थपहुने संस्थाहरुको भौतिक पूर्वाधारहरुको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

४१ महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान स्वरुप प्रदान गरिदै आएको प्रोत्साहन भत्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ। सूचीकृत स्वास्थ्य संस्थामा प्रसुति सेवा लिने दलित तथा सीमान्तकृत महिलाहरुलाई थप प्रोत्साहन भत्तादिने व्यवस्थालाई निरन्तरता दिइनेछ।

४२ निशुल्क वितरण गरिने औषधि अभाव हुन नदिन पर्याप्त बजेटको व्यवस्था मिलाई सहज उपलब्धताको सुनिश्चितता गरिनेछ।

४३ नगरपालिका भित्र कार्यारत गैर सरकारी सस्थाहरुसँग समन्वय गरी स्वास्थ्य सम्वन्धी कार्यक्रमहरु तथा स्वास्थ्य शिविरहरु संचालन गरिने छ।

खेलकुद

४४ नगरस्तरीय खेल ग्राम निर्माण कार्य संघीय तथा प्रदेश सरकारसँगको साझेदारीमा आ.व. २०७८/०७९ मा अगाडी बढाइनेछ।

४५ यस नगर अन्तर्गतका विद्यालय तथा क्लबहरु बीच खेलकुद प्रतियोगिता संचालन गर्ने, नगर बाहिर हुने खेलकुद प्रतियोगितामा नगरको प्रतिनिधित्व हुने गरी प्रतियोगिताहरुमा सहभागी हुने व्यवस्था मिलाइने तथा क्लवहरुलाई खेलकुद सामग्री उपलब्ध गराइने छ ।

४६ स्वस्थ जीवनका लागि खेलकुद भन्ने नारा सहित खेलकुद प्रवर्द्धनका लागि मेयर खेलकुद कार्यक्रम संचालन गर्नका लागि आवश्यक बजेट विनियोजन गरिनेछ।

शिक्षा

४७ परिष्कृत एवं मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको महत्वपूर्ण माध्यमका रुपमा रहेको शिक्षा क्षेत्रलाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमूलक तथा रोजगारमूलक बनाउन गुणस्तरीय शिक्षामा जोड दिइ जिवनपयोगी, सिपयुक्त र प्रविधियुक्त सिकाइ प्रक्रिया लागु गर्दै लगिनेछ ।

४८ जहा विद्यार्थी त्यँहा शिक्षक भन्ने कार्यक्रमका साथ शिक्षक व्यवस्थापन, दरबन्दी मिलान, विद्यालय समायोजन तथा एकीकरणको कार्य लाई कार्यलाई निरन्तरता दिइनेछ।

४९ कोरोना भाईरसको कारण शिक्षा क्षेत्रमा परेको असर न्यूनिकरणका लागि बैकल्पिक शिक्षाका कार्यक्रमहरु संचालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।

५० सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थालाई निरन्तरता गरिनेछ।

५१ नगरपालिकाको सामुदायिक विद्यालयहरुमा बालकक्षा देखी अंग्रेजी माध्यममा अध्यापन गराउने नीति अनुरुप अंग्रेजी पाठ्यपुस्तक उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

५२ नगरपालिका भित्रका विद्यालयहरुको कक्षा ३, ५, ८ र १० को परीक्षामा एकरुपता कायम गर्न उक्त कक्षाहरुको परीक्षा नगरपालिकाबाट संचालन गर्ने व्यवस्थालाई निरन्तरता दिँदै कक्षा ४, ६, ७ र ९ को वार्षिक परीक्षा पनि नगरपालिकाबाट संचालन गरिनेछ।

५३ नगरपालिका भित्रका विद्यालयहरुको संचालनमा एकरुपता ल्याउन शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ । सामुदायिक विद्यालयका प्रत्येक शिक्षकको हातमा शिक्षक डायरी र विद्यार्थीको हातमा गृहकार्य डायरीको व्यवस्था गरिनेछ।

५४ नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयहरुमा हप्तामा पालो पालो गरी विभिन्न विद्यालयमा गई शिक्षक तथा विद्यार्थीहरुलाई तालिम दिने व्यवस्था मिलाइने छ । साथै विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालनमा जोड दिइनेछ।

५५ नगरपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी छनौट गरी नगरस्तरीय छात्रवृति प्रदान गरिनेछ।

५६ नगरपालिका क्षेत्र भित्र कम्तिमा माध्यामिक तहमा १, निम्न माध्यामिक तहमा १, प्राथमिक तहमा १ र बालबिकास १ गरी तहगत नमूना विद्यालयलाई घोषणा तथा विकास गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

५७ विद्यालयमा नयाँ जनशक्ति भित्र्याउने उद्देश्यले आगामी आर्थिक वर्षमा पनि २० वर्ष स्थायी सेवा अवधि पुरा गरी ५० वर्ष उमेर नाघेको र अनिवार्य अवकाश हुन १ वर्ष वाँकी रहको शिक्षकले अवकाश लिन चाहेमा शिक्षकलाई रु १ लाख नगद र प्रशंसापत्र सहित सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

५८ विद्यालयमा कार्यरत विद्यालय सहयोगी, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको समय सापेक्ष न्यूनतम पारिश्रमिक पुग्ने गरी वृद्धि गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

५९ सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्ति गरी नगरपालिकासँग सेवा करारको आधारमा प्रधानाध्यापक भत्तामा पनि वृद्धि गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

६० सामुदायिक विद्यालय मा.वि. र नि.मा.वि. मा शिक्षा नियमावलीले तोके बमोजिम न्यूनतम शिक्षक दरबन्दीको व्यवस्थापन गरिनेछ।

६१ आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरी मातृ भाषाको माध्यमबाट आ.व. २०७८/०७९ देखि पठनपाठन कार्य कार्यान्वयन गरिनेछ।

६२ विद्यालयको पठनपाठलाई वैकल्पिक पद्धती र विधिमार्फत संचालन गरिनेछ।

६३ उत्कृष्ट विद्यालय, शिक्षक तथा विद्यालय व्वयवस्थापन समितिका पदाधिकारीलाई सम्मान गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।

६४ यस नगरपालिका भित्र उच्च शिक्षा अध्ययन गर्न चाहने महिलाहरुको लागि छोरी बुहारी शिक्षा कार्यक्रम मार्फत छात्रवृत्ति प्रदान गरिनेछ।

वातावरण तथा विपद् व्यवस्थापन तर्फ

६५ नगरपालिकाका विभिन्न वडाहरुमा रहेका प्रमुख कृषि बाली हुने आँशीखोला, कुन्ताफाँट, ढाइटारफाँट, चाखोलाफाँट, ढाईटार, सिपाघाट, जोगीटार, ज्वानेटार, हल्देटार, कामीटार, आँपघारी, रायोबारी, राम्चेवेशी, गैह्रीखेत, डुंडे, बोक्से, माझीटार, मजुवा भिमटार, सान्डी, ठुल्डी, जैसिथोक लगायत तीन बाली लाग्ने फाँटमा ईटा उद्योग स्थापना गर्न नदिने नीतिलाई निरन्तरता दिइनेछ।

६६ नगरपालिका भित्र उत्सर्जन हुने फोहोर व्यवस्थापनको लागि कुहिने फोहोर उत्सर्जन स्थलमा नै व्यवस्थापन गर्न जनचेतना अभिवृद्धि गरी कम्पोस्ट मल बनाउने तरिकाका लागि र नकुहिने फोहोर व्यवस्थापन गर्न ल्याण्डफिल साइट निर्माणको प्रक्रिया अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिनेछ।

६७ नगरकार्यपालिकाको कार्यालय अन्तरगतको वातावरण तथा विपद् व्यवस्थापन शाखा मार्फत वातावरण सम्बन्धि कार्यहरुको संयोजन गरिनेछ।

६८  सुख्या याममा नगरपालिका क्षेत्र भित्र आगजनी सँग सम्बन्धित विपद् न्यूनिकरणका लागि यस नगरपालिकालाई आवश्यक दमकल लगायतका अग्नी नियन्त्रणका उपकरणहरु संघीय सरकार सँग माग गरी व्यवस्थापन प्रक्रिया अघि बढाइनेछ।

६९ नगरपालिकाको भौगोलिक अवस्थिति अनुरुपको विपद्का प्रकृतिका आधारमा संकटासन्न धरधुरी एवं क्षेत्रहरु पहिचान गरि नगरस्तरीय हेजार्ड म्यापिङ्ग गरिनेछ।

७०  विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना सहितको नगरपालिकाको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजना अध्यावधिक गरिनेछ । साथै स्थानीय विपद् जोखिम न्यूनीकरण रणनैतिक कार्ययोजना तर्जुमा समेत गरिनेछ।

७१ नगरपालिका क्षेत्र अन्तरगत विपद्को सम्भाव्य जोखिम क्षेत्रमा भू-क्षय तथा पहिरो नियन्त्रणका लागि वृक्षारोपण तथा विपद् सम्बन्धि अभिमूखीकरण कार्यक्रम संचालन गरिनेछ।

राजस्व परिचालन तर्फ

७२ करको दर वृद्धि गर्नु भन्दा आवश्यकताको आधारमा करका दायरालाई फराकिलो बनाइनेछ ।

७३ करदाताको कर सचेतना अभिवृद्धि मार्फत कर संकलन बढाउन सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ । कर प्रशासनलाई मितव्ययी र चुस्त बनाइनेछ। एकिकृत सम्पत्ति कर संकलन वडा कार्यालयबाट नै आरम्भ गरिएकोमा नगरपालिकाले लगाउने सबै खाले करहरु वडा तहबाट संकलन गर्ने व्यवस्था मिलाइनेछ ।

७४ नगरपालिका भित्र संचालनमा रहेका उद्योग, व्यवसाय र होटलहरुलाई अनिवार्य रुपमा दर्ता/सूचीकृत गराई करको दायरामा ल्याउने कार्यलाई निरन्तरता दिइनेछ।

आदरणीय नगरसभाका सदस्यज्यूहरु,

७५ लैंगिक समानता र महिला सशक्तिकरणको लागि लैंगिक विभेदको अन्त्य गरी समान हक स्थापना गर्ने र लैंगिक क्षमता, श्रम, सीप र श्रृजनालाई विकासमा मूलप्रवाहिकरण गरी सामाजिक समानता सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ।

७६ लैंगिक समानता र सामाजिक समावेशीकरण सुनिश्चितता गर्न लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति तर्जमा गरिनेछ । लैङ्गिक हिसां निवारण सम्बन्धि कार्यक्रम संचालन र कोषमा आवश्यक रकम विनियोजन गरिएको छ।

७७ बालबालिका संरक्षण, बालविकास र बाल सहभागिता मार्फत बालबालिका विरुद्ध हुने सबै प्रकारका विभेद शोषण दुर्व्यवहार र हिंसाको अन्त्य गरी बालबालिकाको सर्वाण विकासका लागि बाल मैत्री परिमाणात्मक लक्ष्यको नीति लिइनेछ।

७८ बालमैत्री नगरपालिका स्थापनाका लागि नगर अन्तरगतका बाल क्लबहरुको आवश्यकता अनुसार गठन, स्तरोन्नती, सुदृढीकरण साथै मूलप्रवाहीकरण गरिनेछ। बालश्रम, बालबिवाह लगायतका सामाजिक कुरीति र कुप्रथाका लागि सचेतीकरण कार्यक्रम संचालन गरिनेछ।

७९ जेष्ठ नागरिकको जीवन सहज, सुरक्षित र संरक्षित बनाइ सामाजिक संरक्षण र सुरक्षाको प्रत्याभूती गर्न सामाजिक न्यायको नीति अबलम्बन गरिनेछ।

८० नगरपालिका अन्तरगतका महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र यौनिक तथा लैंगिक अल्पसंख्यकहरु तथ्याङ्क संकलन र अधावधिक गर्ने व्यवस्था मिलाइएको छ।

८१ अपाङ्गता भएका व्यक्तिहरुको सबै खाले अधिकारको प्रत्याभूत गर्दै समष्टिगत विकासका लागि सहभागितामूलक नीति र अपाङ्ग मैत्री भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ। नगरस्तरीय अपाङ्गता भएका व्यक्तिहरुको सामाजिक पुनःस्थापनाका लागि आवश्यक बजेट विनियोजना गरी कार्यक्रम संचालन गरिनेछ।

८२ सामाजिक सुरक्षा व्यवस्थापन तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई प्रविधिमैत्री र सरल बनाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा संचालित अनलाइन प्रणालीलाई निरन्तरता दिनइनेछ। सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।

८३ हरेक वडाबाट मृत्युदर्ता लगायतका पञ्जीकरण विवरण प्रत्येक महिना नगरपालिकाको सामाजिक विकास शाखामा पठाउनुपर्ने व्यवस्था र प्रत्येक वडाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरु र मृत्यु भएमा व्यक्तिहरुको नामावली सार्वजनिक गर्नु पर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।

८४ नगरपालिका भित्रको धार्मिक तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति र सांस्कृतिक पक्षहरुको संरक्षण र सम्बर्द्धन गरिनेछ।

८५ नगरपालिकाद्धारा संचालन गरिएका कार्यक्रम तथा योजनाको संचालनमा पारदर्शिता कायम गर्न वडा तथा नगर तहमा सार्वजनिक सुनुवाइ, खर्च सार्वजनीकरण तथा सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिइनेछ। साथै नगरपालिका अन्तरगत प्राप्त हुने गुनासोहरुको व्यवस्थापनका लागि गुनासो व्यवस्थापन कार्यविधिको तर्जुमा गरिनेछ।

८६ प्रत्येक वडामा टोल विकास संस्थाहरुको गठन गरी टोल विकास संस्था मार्फत विकास निर्माणका कार्यहरु संचालन गर्ने नितिलाई निरन्तरता दिइनेछ।

८७ नगरपालिका भित्र संचालन हुने योजनाहरुमा दोहोरोपना आउन दिइने छैन। योजना संचालन गर्दा ४ प्रतिशत कन्टेन्जेन्सी र ५ प्रतिशत मर्मत सम्भार कोष कट्टिको व्यवस्था गरिनेछ।

८८ नगर, वडा तथा स्वास्थ्य संस्थाका उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा राम्रो काम गर्ने टोल विकास संस्था र उपभोक्ता समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

८९ यस नगरपालिका भित्र कार्यरत तथा कार्यक्रम संचालनको लागि स्विकृति माग गर्न आउने विभिन्न गैर सरकारी संस्था, सहकारी, निजी तथा अन्य संघसंस्थाको कार्यक्रमलाई निर्धारित मापदण्डको आधारमा प्रारम्भिक छलफल पश्चात स्विकृती प्रदान गरी कार्यक्रम संचालन गर्न दिने तथा त्यस्ता संघ संस्थासँग विकासका काममा सहकार्य गर्ने नीति लिइनेछ। यस्ता संघ संस्थाहरुले यस नगरपालिका भित्र संचालन गर्ने वार्षिक कार्यक्रमहरु अनिवार्य रुपमा यस नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउनु पर्ने नीति लिइनेछ। गैह्र सरकारी संस्थाहरुको कार्यक्रम संचालनलाई नियमित गराउन गैह्र सरकारी संस्था नियमन तथा व्यवस्थापन कार्यविधिको तर्जुमा गरिनेछ।

९० मुस्कान सहितको सेवा भन्ने भावलाई आत्मसात गरी नगरपालिका तथा अन्तरगतका कार्यालयहरु मार्फत सार्वजनिक सेवा प्रवाह गरिनेछ।

९१ नगरपालिका अन्तरगतका कर्मचारीहरुका लागि सूचना-प्रविधि तथा क्षमता अभिवृद्धि कार्यक्रम संचालन व्यवस्था गरिनेछ।

आदरणीय नगर सभाका सदस्यज्यूहरु,

९२  अब म नगरपालिकाको सोच, लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रम कार्यान्वनका लागि आर्थिक वर्ष २०७८/७९ को आय, व्यय, बजेट विनियोजन र स्रोतको व्यवस्थाको योजना प्रस्तुत गर्दछु।

९३ आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न रु. ९९ करोड ५ लाख ९२ हजार १४२ विनियोजन गरेको छु। कूल विनियोजित बजेट मध्ये चालू तर्फ रु. ५४ करोड २० लाख ९७ हजार १४२ (५४.७२ प्रतिशत) र पूँजीगत तर्फ रु. ४४ करोड ८४ लाख ९५ हजार (४५.२८ प्रतिशत) रहेको छ।

९४ आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये संघीय समानीकरण अनुदानबाट रु. ११ करोड ७८ लाख, प्रदेश समानीकरण अनुदानबाट रु. ९७ लाख ५७ हजार, संघीय सर्शत अनुदानबाट रु. २४ करोड ६५ लाख, प्रदेश सशर्त अनुदानबाट रु. २ करोड ६१ लाख ३३ हजार, संघीय समपूरक अनुदानबाट रु. ४ करोड १५ लाख, प्रदेश समपूरकबाट २ करोड ९९ लाख ७२ हजार, संघीय विशेष अनुदानबाट रु. २ करोड ४१ लाख, प्रदेश विशेष अनुदान ६० लाख, आन्तरिक राजश्व अनुमान रु. १३ करोड १० लाख, जिल्ला राजश्व बाँडफाँड अन्तरगत घर जग्गा रजिष्ट्रेशन शुल्क रु. १ करोड, संघीय विभाज्य कोषबाट राजश्व बाँडफाँड अन्तरगत प्राप्त हुने रु. ७ करोड ८५ लाख ११ हजार तथा आर्थिक वर्ष २०७७/७८ बाट हुन जाने नगद मौज्दात रु १४ करोड ९८ लाख रहेको छ।

९५ आ.व. २०७८/७९ को लागि अनुमानित आम्दानी, चालू तथा पूँजीगत खर्चबाट विनियोजित खर्च, कार्यक्रम तथायोजनाहरुलाई अनुसूचीमा राखी सोहि बमोजिम स्विकृत गर्न प्रस्ताव गरेको छु।

आदरणीय नगर सभाका सदस्यज्यूहरु,

९६ नगरपालिका अन्तरगत प्रत्येक वडाहरुमा पूर्वाधार विकास कार्यक्रमका लागि रु. ४० लाखका दरले रु ४ करोड ८० लाख विनियोजन गरेको छ।

९७ नगर क्षेत्र भित्र रणनैतिक महत्वका सडक पहिचान गरी उक्त सडकहरु निर्माण तथा स्तरोन्नतीका लागि रु. १ करोड रुपैयाँ विनियोजन गरेको छु।

९८ नगरपालिकाको फेदी देखि सिपाघाट सम्मको बजार क्षेत्रमा सम्भाव्य सवारी दुर्घटना न्यूनीकरणका लागि उक्त सडक खण्डमा स्पिड ब्रेकर राख्नका लागि आवश्यक रकम विनियोजन गरेको छु। साथै सडक बत्ती समेतको व्यवस्थापनका लागि रु ३० लाख रकम विनियोजन गरेको छु।

९९ सिपाघाट तीनकुने क्षेत्रमा कालोपत्रे कार्य सम्पन्न गर्न, हिगुवापाटी फेदी बैकल्पिक सडक स्तरोन्नती, मकैबारी ट्याङ्कीडाँडा सडक कालोपत्रे तथा नगरपालिका पहुँच सडक निर्माण सम्पन्न गर्नका लागि रु. २ करोड ६० लाख विनियोजन गरेको छु।

१०० नयाँगाँउ नगरकोट सडक कालोपत्रे कार्यका लागि ८ करोड ३० लाख रुपैया विनियोजन गरेको छु। साथै रोहिणी नयाँगाँउ सडक कालोपत्रे योजनाको लागि ३ करोड र सिपाघाट हिगुवापाटी ढाइटार फेदी बैकल्पिक सडकका लागि ३ करोड रुपैंया विनियोजन गरेको छु।

१०१ वडा नं. १ अन्तरगतको नन्दज्योती प्रा.वि. भवन निर्माणका लागि ६० लाख रुपैंया व्यवस्था गरेको छु।

१०२ चालु आ.व. २०७७/०७८ मा निर्माण सम्झौता भई नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य संचालन भइरहेकोले उक्त निर्माण कार्यका लागि रु २ करोड विनियोजन गरेको छु। साथै वडा नं. १, ६, ८, ९, १० र १२ मा वडा कार्यालय निर्माण कार्य संचालन गर्न रु. १ करोड विनियोजन गरेको छु।

१०३ नगरपालिकाको वडा नं. २ अन्तरगत दुवागाँउ खानेपानी योजना र वडा नं. ८ को डेडीदेवी खानेपानी योजनाका लागि रु. २ करोड ४१ लाख रुपैंया व्यवस्था गरेको छ।

१०४ नगरकोट क्षेत्रमा रहेको खानेपानीको अपर्याप्तता अन्त्य गर्नका लागि संचालनमा रहेको नगरकोट नाल्दुम बृहत खानेपानी आयोजनालाई क्रमागत बजेट विनियोजन गर्दै आएकोमा आगामि आ.व. २०७८/०७९ मा रु. २५ लाख विनियोजन गरेको छु।

१०५ नगरपालिकाको वडा नं. ७ मा निर्माणाधिन नगरस्तरीय अस्पताल निर्माण सम्पन्न गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु। साथै उक्त अस्पतालको १० शैया स्तरोन्नतीका लागि प्रक्रिया अगाडी बढाउन समेत बजेट व्यवस्था गरेको छु।

१०६ नगरपालिकाको पर्यटकिय क्षेत्र नगरकोटमा नगरकोट बृहत इको पर्यटन पार्क निर्माण तथा नगर क्षेत्रमा पर्यटन पूर्वाधार विकास योजनाका लागि ७६ लाख रुपैया विनियोजन गरेको छु।

१०७ नगरपालिकाको वडा नं. ७ स्थित कुन्तावेशी चोक पार्क निर्माणका लागि रु २० लाख रकम विनियोजन गरेको छु ।

१०८ नगरपालिकाको आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रमा उन्नत वीउको उपयोग, कृषिऔजार वितरण, बाली विमा तथा कृषि विकास कार्यक्रमका लागि १ करोड १६ लाख रुपैंया विनियोजन गरेको छु ।

१०९ पशुसेवा तर्फ पशु आहार, कृत्रिम गर्भाधान, उत्पादनका आधारमा अनुदान कार्यक्रम, चिलिङ्ग सेन्टर स्थापना र पकेट क्षेत्र विकास कार्यक्रमका लागि १ करोड ५५ लाख रकम विनियोजन गरेको छु।

११० नगर क्षेत्र भित्र रहेका बेरोजगार यूवाहरुका लागि नगरपालिका अन्तरगत रहेको रोजगार सेवा केन्द्र मार्फत  न्यूनतम १०० दिनको रोजगारी दिने कार्यकम्र संचालनका लागि १ करोड रुपैंया विनियोजन गरेको छु।

१११ बालबालिकाको सर्वाङ्गिण विकासका लागि आवश्यक शिक्षाको शैक्षिक गुणस्तर बृद्धि, विद्यालय संचालन र व्यवस्थापन, बैकल्पिक शिक्षण कार्यक्रम तथा स्थानीय पाठ्यक्रम निर्माण र मातृभाषामा पठनपाठनका साथै विद्यालयको भौतिक विकास र नमूना विद्यालय विकास गर्नका ललागि संघीय सशर्त अनुदानबाट प्राप्त रकममा नगरपालिकाको तर्फबाट रु ३ करोड २० लाख रुपैंया थप विनियोजन गरेको छु।

११२ लागत साझेदारीमा सामाजिक पूर्वाधार विकासका लागि रु ५० लाख र धार्मिक सांस्कृतिक सम्पदा संरक्षणकालागि रु ६५ लाख विनियोजन गरेको छ।

११३ नगरपालिकामा सहज तथा सर्वसुलभ सार्वजनिक सेवा प्रवाह, कार्यालय संचालन, संस्थागत क्षमता विकास, कार्यारत कर्मचारीहरुको तलब भत्ता लगायतका कार्यक्रमहरुका लागि १४ करोड ७८ लाख रुपैंया विनियोजन गरेको छ। नगरपालिका अन्तरगत कार्यरत कर्मचारीहरुको तलब मासिक  २ हजारका दरले वृद्धि गरिएको छ। सातौ नगरसभाबाट पारित आन्तरिक दरबन्दी यथावत गरेको छु।

११४ संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा बाँझो जमिनमा व्यवसायीक कृषि तथा पशुपालन कार्यक्रम संचालन गर्ने र वनको संरक्षण गरी वन पैदावर उपज र वन पर्यटन प्रबर्द्धन गरी वृहत्तर रोजगारी सृजनाका लागि नगर प्रमुख नवप्रवर्तनकारी कार्यक्रमका लागि बजेट व्यवस्था गरेको छु।

११५ कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि रु. ८० लाख, वातावरण तथा विपद् व्यवस्थापनका लागि रु २५ लाख विनियोजन गरेको छु।

११६ इन्द्रावती नदी नियन्त्रणका लागि रु. ५० लाख र चाखोला नदी नियन्त्रणका लागि रु २० लाख रकम विनियोजनगरेको छु।

११७ सडक किनारमा रहेका विद्युत तथा टेलिफोनका पोल स्थानान्तरणका लागि रु २० लाख विनियोजन गरेको छु।

११८ नगरस्तरीय न्यायीक समिति संचालनका लागि रु. २० लाख साथै सुशासन तथा सेवा प्रवाहका लागि रु ६५ लाख रकम विनियोजन गरेको छु ।

११९ महिला, बालबालिका, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, अल्पसंख्यक नागरिक लगायतका लक्षित वर्गको कार्यक्रम संचालनका लागि रु. ५० लाख विनियोजन गरेको छु ।

१२० राजश्व वाँडफाँड तथा कर दायित्व मा रु ३ करोड, समपूरक कोषमा रु १ करोड रकम विनियोजन गरेको छु ।

आदरणीय नगर सभाका सदस्यज्यूहरु,

१२१ नगरपालिकाको आ.व. २०७८/७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर, शुल्क, दस्तुर र महशुल संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनीक व्यवस्था गर्न नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभा समक्ष आर्थिक ऐनको मस्यौदा  र सो को अनुसूचीहरु स्विकृतिका लागि पेश गरेको छु।

१२२ मण्डनदेउपुर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को सेवा र कार्यहरुको लागि संचीत कोषबाट केही रकम  खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभा समक्ष विनियोजन ऐनको मस्यौदा र सो को अनुसूची स्विकृतिका लागि  पेश गरेको छ।

१२३ आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम र बजेटको अभिन्न अंगको रुपमा रहेको आय व्यय, राजस्व  तथा अनुदान प्राप्तिको अनुमान, कार्यक्षेत्रगत व्यय अनुमान, बार्षिक विकास कार्यक्रम, सशर्त अनुदानको कार्यक्रम, वार्षिक कार्यक्रम कार्यान्वयन योजनालाई अनुसूचीमा राखी पेश गरेको छु।