२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

आस्था झुकेको त्यो दिन


३९२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • विजय सापकोटा
    अन्ततः यो घ्याङमा आएर मेरो आस्थाले घुँडा टेक्यो । बाहिर निस्कँदा मन शान्त र चङ्गा थियो । आस्था गुमाएर हो अथवा पाएको जिम्मेवारी सम्पन्न गरेकोमा त्यतिखेर विश्लेषण गरिबस्ने इच्छा थिएन मनभित्र । म ओशोले भनेझैँ खुसी नभएर आनन्दित थिएँ ।

    तर म ओशोभक्त थिइन, न त कुनै धार्मिक सत्तालाई विश्वास गरिहिँड्थेँ । आस्तिकतालाई नकार्नु मेरो आस्था थियो । चाडपर्व, कर्मकाण्ड र अरुका धार्मिक आस्थालाई कटाक्ष गर्नु मेरो स्वभाव जस्तै थियो । यो त्यो बेला थियो जुनबेला म १८, १९ वर्षे जोशमा उग्रक्रान्तिकारी बन्ने आवेगले धप्प बलेको थिएँ । आफू हुर्किएको परिवेश, कम्युनिष्ट साहित्य र त्यसको बाटो देखाउने अग्रज दाजुहरुलाई पनि जितेर म बेग्लै बाटो हिँड्न उद्यत भइसकेको थिएँ । यद्यपि यसको छायामा कलिलो उमेरमा केही भावनाहरु पराजित हुनुको कारण पनि छँदै थियो ।

    कम्युनिष्ट बन्नकै लागि आफूले त्योे उमेरमा लेखेका ठेलीका ठेली कविता, कथा र उपन्यास समेत जलाएर म आफ्नै दृष्टिमा खारिने तरखरमा थिएँ र सानैदेखि आदर्श मानिएका व्यक्तित्वहरुको चाहना विपरीत बाटो हिँड्न बलियो मानसिकताका साथ तयार भइसकेको थिएँ । यो बाटोमा अग्रसर हुँदै आफूलाई माया गर्नेहरु, साथीहरु र घरपरिवार समेतलाई मैले चिढ्याइसकेको थिएँ । सबैसित दूरी बढाएर पनि म नयाँ सम्बन्धहरु गाँस्न लालयित थिएँ ।
    तर मेरा स्वभावगत केही भावुकता थिए । मलाई कविता मनपथ्र्यो, संगीत मनपथ्र्यो । बनजंगल, पहाड, हिमाल, नदीहरु मन पर्थे । तर मेरो स्वभावलाई मेरा क्रान्तिकारी साथीहरु ‘निम्नपूँजीवादी भावुकता’ भनेर आलोचना गर्ने गर्थे । कतिले त मलाई ‘उपभोक्तावादी चिन्तनले ग्रसित’ को आरोप पनि लगाउँथे र निनु चापागाईँ अनि चैतन्यहरुका सौन्दर्यचिन्तनसम्बन्धी किताबहरु पढ्न सुझाउँथे । मैले माक्र्स, लेनिन, माओ, स्टालिन घोटिएरै पढेँ । नेपाली र हिन्दीमा उपलब्ध रसियन र चिनीयाँ साहित्य भेटेसम्म पढेँ ।

    पार्टी नेताहरुका लामा न लामा अस्पष्ट अनि तर्कविहीन लेखहरुलाई समेत चिनु लगाई लगाई पनि पढेँ । तर खै कसैगरी पनि साथीहरुले भनेजस्तो कडा क्रान्तिकारी बन्न सकिनँ । म उनीहरुले तयार गरेको क्रान्तिकारिताको मापदण्डमा उनीहरुलाई नै तौलिएर हेर्दा उनीहरुमा एउटा पनि त्यो गुण देख्दिनथेँ । तैपनि असली कम्युनिष्ट बन्ने मोह यति धेरै थियो कि म आफैँलाई कम्युनिष्ट साँचोमा ढाल्ने हरसम्भव प्रयत्न गरिरहेको थिएँ ।
    एकदिन मलाई गोसाइँकुण्ड घुम्न जान मन लाग्यो । एक्लै जाने कुरा आएन, साथीहरुलाई प्रस्ताव गरेँ । मलाई गोसाइँकुण्ड कुनै पुण्य प्राप्तिका लागि जानु थिएन । हिमाली भेगतिर कहिल्यै नगएकोले सबैभन्दा नजिकको गन्तव्य छानेको थिएँ मैले । तर त्यसले ठूलै बवण्डर सिर्जना ग¥यो । साथीहरुले मान्ने कुरै थिएन, उल्टो म अब निम्नपूँजीवादीबाट सामन्तवादतिर प्रतिगमन हुने खतरालाई पो बढायो ।

    तैपनि मलाई त्यहाँसम्म पुग्न मनथियो । गाउँकै बुढापाका र केही दाइहरुसित जनैपूर्णिमाको समय पारेर मैले त्यहाँको यात्रा तय गरेँ । यद्यपि आफ्नो विचारभिन्न मानिसहरुसित लामो यात्रा हिँड्नु मेरा निम्ति कठिन थियो, यात्रा बोझिलो बन्दै पनि थियो । वास्तवमा म आफ्नो विचारप्रति अति इमान्दार बन्ने प्रयास गरिरहेको थिएँ । ममा आफूले राखेको आस्थामा टिकिरहने छु भन्नेमा आत्मविश्वास मात्रै थिएन, त्यसलाई जीवनशैली बनाउन पनि हरसम्भव प्रयत्न गरिरहेको थिएँ । त्यसैले मलाई आफूले राखेको विचारप्रति बलियो आस्था थियो ।

    तर यति दुःख गरी बोकेको मेरो आस्थाको जग मैले सोचेजस्तो बलियो रहेनछ । त्यो त यति कमजोर रहेछ कि कसैको आँसुका केही थोपाले नै त्यसलाई बगाएर हुत्याउनसक्ने रहेछन् । त्यो मैले गोसाइँकुण्डको यात्रामा थाहा पाएँ । सायद त्यो ५५ सालतिरको कुरा थियो । रातको खाना खाइसकेपछि म यसो बाहिर सडकतिर टहलिन निस्किएको थिएँ एक्लै । सिमसिम पानी परिरहेको थियो । अलि माथि पुगेर फर्किइसकेपछि म होटेलकै पिँडीको चिसो बेन्चमा थचक्क बसेको थिएँ । होटेलको दुईवटा भाग थिए । एउटामा किराना पसल थियो शायद, त्यो बन्द भइसकेको थियो । यता खाना खुवाउनेपट्टि साहुनी पैसा गनिररहेकी थिइन् ।

    अकस्मात् मैले सुँक्क सुँक्क गरेको आवाज सुनेँ । त्यो होटेलको छेउको जुठेल्नीतिरबाट आइरहेको थियो । पहिले त मैले वास्ता गरिनँ । तर धेरै बेर चूप बस्न पनि सकिनँ । जाँदा त अघि हामीलाइृ भात पस्किने हँसिली केटी भाँडा मस्काउँदै थिइन् । अघिसम्म ग्राहकहरुसँग हँसिमजाक गरिरहेकी केटी अहिले रोइरहेको देख्दा म अचम्भित भएको थिएँ । त्यही कौतूहलताले मैले उनलाई सोधेको थिएँ –‘दिदी के भयो किन रुनु भएको ?’

    भर्खर म स्नातक तहमा पढ्दै थिएँ । मैले उनलाई दिदी संबोधन गरेको उनको उमेरको भेउ पाएर भने थिएन । शायद ती पनि मेरै उमेरको हाराहारीमा थिइन् । तर सिकुटे मभन्दा ह्ष्टपुष्ट ज्यानकी उनी ठूलै देखिन्थिन् । पहिले त उनले मलाई बेवास्ता गरिन् । तर फेरि त्यही प्रश्न दोहो¥याएपछि भने उनले फर्किएर हेरेकी थिइन् । यहीँबाट हाम्रो कुराकानी सुरु भएको थियो । उनले भाँडामाझुन्जेल उनले मसित मनको बह पोखेकी थिइन् । खै के विश्वास अथवा भावुकताले उनले मलाई आफ्नो कथा भनिन्, त्यो अहिले पनि मलाई अनौठो लाग्छ । शायद, संयोगहरुको क्षण तत्काल निर्माण भएका परिस्थितिहरुको दास हुन्छ मान्छे ।

    सानैमा आमा मरेकी । बाबुले ल्याउँछन् सौतेनी आमा । लामो समय बाहिरतिर कता कता काम गरेका बाबुले होटल पसल खोल्छन् । रक्स्याहा बाबुलाई टुहुरी छोरीप्रति कुनै माया छैन । सौतेनी आमा छोरीको वैँशको पसल थाप्छिन् । सबैका लागि होइन, कोही भिआइपीहरुका लागि । ५ कक्षाभन्दा मास्तिर पढ्न पनि पाइन उसले । बाहिरी संसार देखेकी पनि छैन, तल त्रिशुली बजारदेखि परको । बैँशमा एउटा केटासँग मायाप्रीति गाँसेकी थिई, ऊ पनि पहिले अलि अलि पैसा कमाउँछु भनेर फुत्त निस्केर गएको, ६ वर्ष भइसक्यो फर्किएर आएको छैन । न त कुनै खबर नै गरेको छ । न त उसलाई कसैले भेटेको खबर नै पाएकी छे उसले ।

    भाँडा माझ्दा उनले सुरु गरेको कथा उनले कुचो लगाएर टेबुलहरु सफा गरुन्जेलसम्म सकिएको थिएन । आमा सुत्न गइसकेको हुनाले शायद उनले आफूलाई अलिक स्वतन्त्र महसुस गरिरहेकी थिइन् र खुलेर कुरा गरिरहेकी थिइन् । स्टोभ बालेरै उनले मलाई कालो चिया पनि पिलाइन् । बाउले छोरीको जिउको पसल थाप्छ, दलाली गर्छ र आमा खनखनी पैसा गन्छे र सुनको दाँत हाल्छे । यस्तो फिलिममा मात्रै हो कि साँच्चिकै पनि हुन्छ ? रगतको सम्बन्ध पनि यति घिनलाग्दो वृत्तिमा उद्यत रहन्छ ? मलाई पटक पटक विश्वास गर्नु कि नगर्नु भइरहेको थियो ।

    मेरो जिउँदोजाग्दो क्रान्तिकारिता त्यतिखेर यथार्थमा प्रकट हुनुपर्ने हो । मैले बोकेको विश्वासअनुसार उसलाई विद्रोहका लागि तयार गर्नुपर्ने हो । आफूमाथिको अन्यायलाई प्रतिकार गर्न जागरुक गराउनुपर्ने हो । अथवा त्यति गर्न नसके आफैँले तदारुकता देखाएर उसलाई त्यो नरकबाट मुक्त गराउन पहल गर्नुपर्ने हो । तर म… म त बिजुलीको पहेँलो प्रकाशमा उसको अनुहारको दुःख देख्नु नपरोस् भने झैँ सीधा हेर्न नसकेर छेलिएको थिएँ । मनभित्र उसको आँसुले बनाइदिएको सानोतिनो दहमा पौडिएर खोजिरहेको थिएँ उसका वैँशालु सपना । असरल्ल छरिएका सपनाहरू टिपिदिने भावुकताले उद्वेलिन्थ्यो मन कहिले कहिले त । फेरि डरलाग्थ्यो र नजानिँदो गरी काँप्थेँ म ।

    उनले आत्महत्या गर्ने कुरा पनि सोचेकी रहिछिन् बारम्बार । तर सकिनन् रे । त्यसको कारण उनले भन्दा मेरा आँखाबाट आँसु झरेका थिए । कारण थियो ‘उनले माया गरेको मान्छे जसको नाम ग्याल्जेन थियो, ऊ पनि उनीजस्तै टुहुरो थियो ।’ उनको विश्वास थियो ‘उनलाई जस्तै उसलाई पनि माया गर्ने अर्को मान्छे छैन, के थाहा त्यो टुहुरो मान्छे भोलि आफ्नो माया खोज्दै खोज्दै आइपुग्यो भने ?’

    म एकैसाथ छक्क परेँ । दुःखी भएँ । भावुक हुनु उसै पनि मेरो स्वभाव थियो । मेरो मनमा अनेक किसिमका भावनाहरु उर्लिएर आए एकैपटक । ‘उसले माया गरेको ग्याल्जेन फर्किएर आउला त ? भारी बोक्दै गर्दा कतै हिउँ पहिरोमा पुरियो कि ? अथवा सहरतिर गर्तमा कतै भासियो र उम्किनै सकेन । अथवा कतै नयाँ जीवन पो सुरु गर्यो कि ?’

    तर उनको मनमा ऊप्रति नराम्रो शंका अलिकति पनि छैन । बरु ऊ कतै दुःखमा फसिरहेको पो छकि भन्ने डर मात्रै छ । मलाई चाहिँ ग्याल्जेन फर्किएर आउँछ जस्तै लाग्दैन, तैपनि उनलाई ऊ चाँडै फर्किएर आउने विश्वास दिलाउन खोज्छु । तर मनमा उनीहरुको पुनर्मिलनको क्षण अति भयावह हुनेछ जस्तो मात्रै लागिरहन्छ । ग्याल्जेन फर्किएरै आए पनि यो अवस्था बाँचिरहेकी यिनलाई त्यो लोग्नेमान्छेले कहिल्यै स्वीकार्ला त ? मेरो मनमा आशंका जन्मिएको थियो ।
    तर उनैले उत्तर दिएकी थिइन् – ‘म आफैँ पनि त जाँदिन नि उसँग । म उसको लागि लायककी कहाँ भएँ र । …तर उसलाई एकपटक हेर्ने रहर छ । त्यसपछि … … …।’ उनको त्यसपछिको अर्थ मैले बुझेको छु । तर म केही बोल्न नसक्ने भएको छु । आफ्नै पिन्चे स्वभावले थिचेको छ यतिखेर मलाई । तर उनले दिएको जवाफले म छक्क पर्छु । यो सुन्दा फिल्मीजस्तो पटक्कै लागेन मलाई –‘तर म मर्दिन । मलाई ग्याल्जेनको घरबार बसेर छोराछोरी जन्मेको देख्ने रहर छ ।’

    आस्था होस् त यति बलियो ! आफ्नो प्रेमप्रति यति अग्लो विश्वास भएको मान्छे शायद मैले आजन्म देख्न नपाउँला । मन जस्तै धमिलो परिवेशमा पनि संग्लो बाँच्न सक्दोरहेछ । आस्थाको चुरो मान्छेले जस्तै प्रलयमा पनि बचाइराख्न सक्दोरहेछ, आँट्यो भने । संघर्षमय जीवनकोे त्यो डरलाग्दो आँधीमा आफ्नो आस्था जोगाउन सक्ने त्यो मान्छेलाई सलाम गर्ने आँट भने ममा पटक्कै आएन ।

    अहो मेरो बनावटी आस्थाभन्दा त्यो प्राकृतिक आस्था कति बलियो र अविचल थियो !
    मैले आफ्नो वास्तविक आँट, साहस र वैचारिकताको जग त्यो दिन नियालेँ । उनीसितको केही घण्टाको बसाइले मेरो दिमागीे क्रान्तिकारिताको रातो रंग सबै पखालेर लगिसकेको थियो । म त्यसै त्यसै उमेरजन्य भावुक कोमलताको हावामा सुस्तरी लहराइरहेको थिएँ ।

    ‘माथि घ्याङमा ग्याल्जेनको लागि बत्ती बालिदिनुस् है भाइ ?’ –आखिरीमा उनले आग्रह गरिन् । कुनै पनि किसिमको इश्वरीय सत्तालाई मैले बुझ्ने भएदेखि नै लरकारेको छु । धूपबत्तीको त के कुरा । तर उनको त्यो आग्रहलाई मैले कुनै जवाफ फर्काउनै सकिनँ । त्यसैले ममाथि त्यो चुनौती पनि थियो । त्यतिबेला मैले यो पनि भन्न सकिनँ ‘गुम्बामा बत्ती बालेर पनि केही हुन्छ त ¤ गर संघर्ष र जीत आफ्नो जीवन । आफ्नो जीवन आफैँ जीत’
    अनि हारेर म नीलो भएँ । मुन्टो हल्लियो पराजित र यान्त्रिक । मेरो भौतिकवाद गल्र्यामगुर्लुम ढलिसकेको थियोे । मसँग त्यतिखेर आफ्नो पहिचान केही बाँकी थिएन । म शून्यमा त थिइनँ तर त्यसबाहेक अरू विषय सोच्न सकिरहेको पनि थिइन । उसको मप्रतिको विश्वास मेरो आफूप्रतिको विश्वासभन्दा बढी थियो । आखिरीमा सत्र ठाउँ पट्याइएको पचासको नोट मतिर बढ्यो–गुम्बामा चढाइ मागेर ।

    ‘पर्दैन, मसँग छ नि ।’ मैले त्यो रुपियाँ लिन चाहिनँ, तर उनले फिर्ता पनि लिइनन् । त्यो नोट समाउँदा मेरा हात अनौठोसित कामिरहेका थिए । मलाई आफैँप्रति विश्वास र अविश्वासको दोधारमा थिएँ –‘के मैले यो नोट उनले भनेकै काममा लगाउँछु होला त ?’
    थाकेको भए पनि राती म राम्रोसित निदाउन पनि सकिनँ । भोलिपल्ट छ बजे उठेर तयार भई तल आउँदा उनी पसलमा बसिसकेकी थिइन् । चिया पिएर हिँड्ने बेलामा उनले भुटेको चनाको एउटा सानो प्याकेट मेरो हातमा राखिदिइन् र सँगसँगै एउटा खादा पनि । त्यतिबेला मैले उनका आँखामा यति चहकिलो विश्वास देखेको थिएँ कि अहिले लाग्छ, त्यसरी एउटा अपरिचितलाई पूर्णत् विश्वास गर्नसक्नु उनको आफैँप्रतिको अग्लो विश्वास थियो । हिँड्ने बेलामा उनले भनिन् ‘भाइ फर्किँदा पस्नु ल ।’

    भुइँकुइरोको लहंगा बेरेर नाँच्ने तयारीमा थिए चिसा पहाड । कन्जुस घाम तिनकै पोल्टामा पुल्टुङबाजी खेल्नमा मस्त थियो । चिसो हावा ज्यानमा थापेर म उक्लिँदै थिएँ । अलिकति माथि पुग्नासाथ फेरि निम्छरो आकाश चुइँकिन थालिहाल्यो । अब पहाडमा कुइरोबाहेक अरू केही छैन जस्तो आकाशै त्यहीँ आएर थ्याच्च बसिदिएजस्तो वातावरण तयार भइसकेको थियो । मभित्रको बोझ त्योभन्दा गह्रौँ थियो । ‘वर्गसंघर्ष’ त्यतिबेला मन्त्रजस्तै जपिने शब्द थियो । अहिले म आफैँभित्र वर्गसंघर्ष यति डरलाग्दोसित चलिरहेको थियो कि बाटोमा पार गरेका झरना, खोलानदी, भीरपाखा, पहाड, बादल कुहिरो केहीले पनि मलाई छुँदै छोएनन् ।

    आखिरमा उनको आस्थाका अगाडि मेरो आस्थाले घुुँडा टेक्यो । तीव्र द्वन्द्वको सामना गरेर आफूले आफैँलाई हराएर भएपनि उनको विश्वासलाई जिताउने काम गरेँ मैँले । ग्याल्जेन हिँडिसकेपछिको उनका लागि पहिलो मान्छे सायद मैँ भएँ जसले केही क्षणको लागि आफूलाई बाहिरै राखेर देवप्रतिमामुनि बत्ती बाल्यो । बत्ती बाल्दा मेरा हात कामिरहेका थिए… भावुकताले आँखा रसाइरहेका थिए ।
    घ्याङबाहिर निस्किँदा भने मन शान्त र हलुको थियो । आस्था गुमाएर हलुको भएको थियो अथवा परित्यक्त मनलाई सहानुभूतिका आँखाले सुम्सुम्याउन पाएकोमा … पत्तो भएन । गोसाइँकुण्डबाट फर्किँदा म उनको होटलमा निस्केको थिएँ, तर भेट हुन सकेन । उनकी आमालाई मैले गुम्बामा बत्ती बालिदिएँ भनेर खबर छोड्दा ती आइमाई मलाई हेरेको हेरेइ भएकी थिइन् । अहिले १६ वर्षभन्दा बढी भयो, थाहा छैन मेरो आस्थालाई घुँडा टेकाउन सक्ने उसको आस्थाको जीत भयो कि भएन । तर मेरो जीवनमा ठूलो शिक्षा दिने त्यो घटना र त्यससित जोडिएकी तिनको अनुहार अनुहार मैले अझै बिर्सन सकेको छैन । थाहा छैन ग्याल्जेनलाई फर्किएर आयो कि आएन, न उनले त्यतै लेकतिर आफूलाई उत्सर्जन गन्रि अथवा एउटा कुनै ड्र«ाइभरको पछि लागेर नयाँ सपना रोप्न हिँडिन् ।

    अथवा, मैले सोचेजस्तै कुनै आफ्नो जीवनको कालो हटाउन आफैँ लड्न अग्रसर भइन् । किनभने त्यो समय ‘जनयुद्ध’ त्यतातिर पनि सर्दै जान सुरु गरिसकेको थियो शायद । मेरो लागि यो कौतूहलता त छँदैछ । तर मनमा एउटा प्रश्नचाहिँ अझै अनुत्तरित नै छ – उनलार्ई त्यो नारकीय अवस्थाबाट जोगाउन केही सहयोग गर्न सक्थेँ कि सक्दिनथेँ ? अनि सँगसँगै मेरो गोसाइँकुण्ड यात्रालाई कम्युनिष्ट विरोधी बनाउने क्रान्तिकारी साथीहरुका ठेक्दारी र कमिशनमोहलाई देख्छु – मनमा शान्तिको महसुस हुन्छ । लाग्छ, म एकदम ठीक रहेछु त्यतिबेला पनि । किनकि अहिले पनि म मान्छेलाई माया गर्छु । कविता र संगीतलाई प्रेम गर्छु । पहाड, नदी, जंगल, चरा, फूल मलाई अझै पनि मन पर्छन् । अनि यस्तो लाग्छ, नक्कली कम्युनिष्ट बन्नुभन्दा त संवेदनशील मान्छे बन्नु कति असल कार्य रहेछ । मैले दोस्रो बाटो रोजेँ, सन्तोष लाग्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार