२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा मेरो धारणाः मधु आचार्य


१५३६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष १३, शुक्रबार मा प्रकाशित ७ महिना अघि
  • मन्त्रीहरुको कार्यसम्पादन

    “समुदायसँग नेपाली कांग्रेस” लिएर हामी जनताकहाँ त जाने तर के भन्न जाने ? जनताका बीच जाने कुरा जति सकारात्मक छन, उनीहरु बीच पस्किने सन्देश सकारात्मक बनाउनेतर्फ हाम्रो गंभीरता खोई ? सरकारमा गएका साथीहरुले जनताको मन जित्ने के काम गरे ? कमसेकम महिनाको एउटाको दरले नै सही जनताको भात–भान्सालाई सहयोग पुग्नेगरी के गरियो, जानकारी चाहियो।

    राष्ट्रिय सभामा उम्मेदवारी
    जनताकहाँ जाँदा राष्ट्रिय सभाको निर्वाचनमा हामीले कुनै दाग नलागेका, पार्टीमा लामो योगदान गरेर कहिल्यै कुनै अवसर नपाएका, विभिन्न पेशा ब्यवसायमा रहेर पनि लोकतान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका खेलेका, राष्ट्रिय सभाको गरिमा उच्च गर्नसक्ने युवा प्रतिभाहरु पठायौं भनेर सगौरव सुनाउन पाउने कि नपाउने ?

    महासमिति बैठक र पार्टी रुपान्तरण
    महासमिति बैठकबाट अब साँच्चै पार्टीलाई जनता, मतदाता र भूँई सदस्यहरुले चाहेजस्तो रुपान्तरण गर्दैछौं भनेर ढुक्कसँग भन्न पाइने कि नपाइने ? यो बैठकले गर्ने निर्णय र लगत्तै चालिने कदमहरुबाट यसको सकारात्मक जवाफ आउनुपर्छ।

    किशुनजीको जन्मशताब्दी
    वर्तमान महामहिम राष्ट्रपतिको नेतृत्वमा वीपी कोइराला र गणेशमान सिंहको जन्मशताब्दी मनाउँदै गर्दा विगतमा “वीपी विचारयात्रा” र “गणेशमान वलिदान अभियान” जस्ता सशक्त कार्यक्रम वर्तमान राष्ट्रपति ज्यूको नेतृत्वमा सम्पन्न भएको कुरा स्मरण गराउँछु र किशुनजीको यस वर्ष परेको जन्मशताब्दीलाई समेत विशेष उत्सवको रुपमा बर्षैभरी मनाउने “ट्यांका, छाता र सुराहीः नैतिक राजनीतिलाई बधाई” कार्यक्रम तय गर्न नेतृत्व तहलाई विशेष आग्रह गर्दछु।

    नेतृत्व मर्यादाक्रम
    पार्टी भित्र मर्यादाक्रमको विषय केही दिनयता झन पेचिलो बन्दै गएको छ। जिल्ला–जिल्लामा आसन र भाषणकै कारण साथीहरुलाई कार्यक्रम राख्न र संचालन गर्न समस्या परिरहेको छ। शिघ्र यसको निर्धारण गरौं र सार्वजनिक गरौं। केही त्रुटी देखिए परिमार्जन गर्दै जाऔंला।

    प्रदेशको सशक्तिकरण
    जनताले सोध्ने संघीयता सम्वन्धी जिज्ञासामा हामी के बोल्ने ? संघीयता पक्षधर हौं भने किन हाम्रै प्रदेश समिति र प्रदेश सरकारका आग्रह प्रति ध्यान दिइरहेका छैनौं ? यी दुबैलाई साधन, श्रोत, अधिकार र आवश्यक कानूनले सम्पन्न बनाऔं।

    भातृ संस्थामा प्रत्यक्ष निर्वाचन
    अन्तमा, बेलैमा सकारात्मक पहल नगर्ने हो भने भातृ शुभेच्छु संस्थाहरु असान्दर्भिक बन्ने खतरा बढ्दै गएको छ। यही बैठकबाट यीनको अधिवेशनको निश्चित मिति निर्धारण गरौं, देशव्यापी सदस्यता वितरणको जिम्मेवारी तोकौं र सबै सदस्य मतदाता रहनेगरी प्रत्यक्ष निर्वाचनमार्फत तहगत नेतृत्व चयन गरौं। यो अभ्यास र अनुभव भोली पार्टी अधिवेशनका लागि पनि फलदायी हुन्छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार