२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

अस्ताएका रवीन्द्र, भरतमोहन – अलमलिएका युवा नेतृत्व


२८५२ पाठक संख्या

केशव थापा १. एघार वर्षको कलिलो वयमा नै अखिलको राजनीतिबाट उदाई नेपाली वाम आकाशमा एकपछि

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन २२, बुधबार मा प्रकाशित ५ साल अघि
  • केशव थापा
    १. एघार वर्षको कलिलो वयमा नै अखिलको राजनीतिबाट उदाई नेपाली वाम आकाशमा एकपछि अर्को गर्दै चम्कँदै गएका होनाहार युवा राजनीतिज्ञ रवीन्द्र अधिकारको हेलिकोप्टर दूर्घटनामा हालै निधन भएको छ । समृद्ध नेपालको सपना साँच्ने सारा नेपालीहरु उनको महाप्रस्थानले मर्माहत बनेका छन् । रवीन्द्रको शब्दमा “इञ्जिनियरका पनि इञ्जिनियर” काभ्रेली सपूत ध्रुव भोछिभोयलाई पनि उनीसँगै गुमाउनु परेको पीडाले हामी काभ्रेलीहरु थप आहात भएका छौं । दशकौंको मिहिनेत, अभ्यास र संघर्षले खारिएका अमूल्य मानवीय संसाधनको एकाएक विलयको पीडा मुलुकले लामो समयसम्म अनुभूत गरिरहने छ । यी सपूतहरुले आफूले सकेजति देश र जनताको लागि गरेर गए । यिनीहरुको लागि केही गर्नुपर्ने दायित्व अब बाँचेकाहरुको हो । केही समय पर्खेर हेरौं, यी सपूतप्रति मुलुकले न्याय गर्दाे रहेछ कि रहनेछ । यसबाट अनुमान लगाउन सकिने छ–हामी कृतज्ञताको संस्कृति नै अवलम्बन गरिरहेका छौं कि वैश्यप्रवृत्ति अगाँल्दै कृतध्नतातर्फ उन्मुख भैरहेका छौं ।

    २. अप्रत्याशित नभए पनि क.भरतमोहन अधिकारीको निधन पनि नेपाली वामपन्थी र देशका जेष्ठ नागरिकहरुका निमित्त अपूरणीय क्षति हो । पचासको दशकसम्म पनि टुट्न बाहेक जुट्न नजान्ने र भारी जनमत वामपन्थीको पक्षमा हुँदाहुँदै पनि सरकार बनाउने हैसियतमा कहिल्यै नपुग्ने र अमिलो मन लिएर प्रतिपक्षमा तड्पीरहने नियति बोकेका नेपाली वामपन्थीहरुलाई क.मनमोहन अधिकारी र क. मदन भण्डारीको अगुवाइमा एकीकृत पार्टी बनाउन र त्यसपछि पनि पटकपटक विभाजनको खड्कोबाट जोगाउन क.भरतमोहन अधिकारी जतिको कष्ट सायद अरु कसैले उठायो होला ? तसर्थ, कम्युनिष्ट एकताका सुदृढ कडी हुन भरतमोहन अधिकारी । पुरानो अर्थशास्त्र पढेको, कानुनमा जस्तो दख्खल अर्थशास्त्रमा नभएको आदिआदि अनेक फतुर लगाएर अर्थमन्त्री हुनबाट रोक्ने अनेक षड्यन्त्र हुँदाहुँदै पनि एमालेको अल्पमतको नौमहिने सरकारमा अर्थमन्त्री बन्न सफल क.भरतमोहन अधिकारीले विश्वभर छाएको उदार, खुला र निजीकरणको राप, ताप र चापले थिलथिलो पार्दै लगेको नेपाली अर्थतन्त्रलाई कम्युनिष्ट मूल्य मान्यता प्रतिकूल नहुने गरी विरोधीहरुले पनि कोकोहोलो गर्न नपाउँने गरी सुझबुझका साथ तङ्ग्र्याउने काम गरे । अर्थतन्त्र र विकासको पहिलो हकदार नेपाली गरिब जनता हुन भन्दै आफ्नो गाउँ आफै बनाऔं भन्ने उद्घोषका साथ विकासलाई जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी उनीहरुको घरदैलोसम्म पु¥याए । अल्पमतको भए पनि कम्युनिष्टको सरकार बन्यो अब बुढाबुढीका बाँच्ने दिन सकिए भन्ने स्याल हुँइयाका विरुद्ध बृद्धभत्ताको व्यवस्था गरेर विरोधीहरुको भ्रमलाई असल काममार्फत सहजै चिरे क. भरतमोहनले । बुढाबुढीका बीच कम्युनिष्ट पार्टीलाई यति धेरै लोकप्रिय तुल्याउन भरतमोहन अधिकारीको ठूलो हात रहेको छ । नेपालको गरिबी बेचेर आफू सम्पन्न भएका अर्थशास्त्रीहरुलाई हिस्स पार्दै पचासको दशकको प्रारम्भमा नै समाजवाद उन्मुख अर्थतन्त्रको बलियो र लोकप्रिय आधारशीला निर्माण गर्दै आफू जनताप्रति उत्तरदायी सच्चा कम्युनिष्ट भएको चिनारी दिई परिपक्व राजनीतिज्ञको छाप बनाई सकेका थिए क.भरतमोहनले ।

    ३. नेपालको वर्तमान संविधानको धारा ५० (३) ले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासामार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक बृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धीहरुको न्यायोचित वितरण गरी आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धीहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुने छ भनी एकातर्फ सुस्पष्ट संवैधानिक प्रावधान छ भने अर्कातर्फ स्थानीय तह, प्रदेश तथा संघमा समाजवाद तथा साम्यवादमा विश्वास गर्ने दलको भारी वहुमत रहेको अनुकूल अवस्था छ । बौद्धिक विलास जे जस्तो भए पनि जनताले प्रत्यक्ष अनुभूत गर्न सक्ने गरी समाजवाद उन्मुख अर्थतन्त्रको मार्गचित्र अहिलेसम्म सार्वजनिक भैसकेको अवस्था छैन । यस्तोबेला मुलुकलाई क.भरतमोहन अधिकारीको व्यवहारिक अनुभवसहितको अभिभावकत्वको आवश्यकता थियो । तर, कालले वहाँलाई पनि अड्न दिएन । अब वहाँका समकक्षी तथा निकटमा रहेर कार्य गर्नेहरुको काँधमा यो जिम्मेवारी आएको छ । नेपाली अर्थतन्त्रलाई समाजवादी लिकमा नहिडाइकन क.भरतमोहन अधिकारीप्रति सच्चा श्रद्धाञ्जली व्यक्त हुन सक्दैन ।

    ४. जननेता मदन भण्डारीले भन्नु भएझै संक्रमणकालीन अर्थव्यवस्थाको आधारभूत चरित्रलाई निकटबाट गम्भीरतापूर्वक अध्ययन विश्लेषण गर्ने, आर्थिक भूमण्डलीकरणलाई स्वभाविक परिघटनाको रुपमा नभई यसलाई समाजवादी अर्थतन्त्र निर्माणको प्रमुख वाधाको रुपमा ग्रहण गरी यसका सकारात्मक र नकारात्मक पाटाहरुको सूक्ष्मढंगले अध्ययन विश्लेषण गर्ने, राष्ट्रिय हितलाई सर्वोपरी मानेर मात्र वैदेशिक पुँजी र प्रविधि आमन्त्रण गर्ने, देशीय आवश्यकतालाई संबोधन गर्न सक्ने क्रान्तिकारी भूमिसुधार कार्यक्रम कार्यान्वयन गर्ने, उन्नत खेतीको विकास आदिको उपायबाट मात्र समाजवादको आधारहरु निर्माण गर्दै जान सकिन्छ । यसका लागि स्थनीय तह–संघ र संघ–स्थानीय तहको आर्थिक नीति एउटै ताल र लयमा अगाडि बढाउने कोशिस गर्नुपर्छ । अबको समाजवादोन्मुख आर्थिक नीतिले स्वदेशभित्र नै आय आर्जन र रोजगारी सिर्जना, संभाव्य पूर्वाधारहरुको शीघ्र विकासलाई पर्याप्त मात्रामा ध्यानमा राख्नुपर्छ । वाह्य विश्वमा नेपालको लुकाउनु पर्ने खासै सामरिक स्वार्थ नभएकोले वाह्य संबन्धलाई पनि आर्थिक कुटनीतिमार्फत समाजवादोन्मुख मैत्री बनाउने नीति लिनु श्रेयष्कर हुन्छ । अब समाजवाद एउटा दल विशेषको मात्र कार्यक्रम नरहेकोले यसका लागि आपसी अन्तक्र्रिया, छलफल र वादविवाद गरी साझा राष्ट्रिय समझदारी बनाउन सके समाजवादी कार्यक्रम कहिले प्रेसरकुकर र कहिले ताप्के हुने नियतिबाट बच्ने थियो ।

    ५. नेपालका राजनीतिक दलका वर्तमान शीर्ष नेतृत्व अपवादलाई छाड्दा विभिन्न कालखण्डमा समयलाई आफूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक नै निर्वाह गरेर आएको सफल नेतृत्व हो । निश्चय नै वहाँहरु तत्कालीन परिवेशले बनाएका गुणदोष सहितको नेतागण हुनुहुन्छ । राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त, दशवर्षे जनयुद्ध र राजतन्त्रको अन्तसँगै संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका आन्दोलनहरु तिनै नेताहरुको प्रत्यक्ष नेतृत्व र सक्रियतामा सम्पन्न भएका हुन । यस मानेमा वहाँहरु साधुवादको पात्र हुनु हुन्छ । एउटा निश्चित उमेर र ल्याकत बोकेको देहधारी एउटै मानिसबाट सबै आंकक्षाहरु परिपूर्तिको चाहना राख्नु भनेको नेताप्रति अन्याय गर्नु पनि हो । अतः निराशालाई फिटिक्कै ढिम्कन नदिई समय पहिलेभन्दा धेरै बदलिई सकेको, शीर्ष नेतृत्वमा शारीरिक मानसिक शिथिलताले घर गरी सकेकोले वर्तमान समयका सारथी र आशाका किरण भनेका हामी नै हौं भावना युवा नेताहरुमा हुनुपर्छ । अहिलेको नेतृत्वले इतिहासमा जे चमत्कार वा साहसिक कार्य गरेको थियो, त्यो बेला वहाँहरु पनि युवा नै हुनु हुन्थ्यो । तसर्थ, अब देशको लागि गर्ने पालो हाम्रो हो भनेर दलमा क्रियाशील युवा नेताहरुले गुटउपगुटको चक्रव्यूह र दास मानसिकताबाट जोगिदै सांगठानिक मूल्य मान्यताभित्र रहेर सामूहिक पहल र प्रयत्नमा भावी नेपालको कुशल नेता बन्ने सपना साँची समृद्धिको अभियन्ता बन्ने अठोट गर्नुपर्छ । यसैमा नेपाल र नेपालीको कल्याण छ ।
    (अर्थशास्त्र एवं मानवीय संसाधन विषयमा विशेषरुची राख्ने श्री थापा हाल काभ्रे सेवा समाजका वर्तमान अध्यक्ष हुन ।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार