२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’


५१७४ पाठक संख्या

–गिता नेपाल , हाँस्यकलाकार ‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’ –गिता

  • नवसंकेत अनलाईन
  • २०७४ जेष्ठ ३०, मंगलबार मा प्रकाशित ७ साल अघि
  • –गिता नेपाल , हाँस्यकलाकार

    ‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’‘राज्यले कलाकारहरुको पनि पारिश्रमिक तोक्नु पर्छ’ –गिता नेपाल , हाँस्यकलाकार  हिजोआज कलाक्षेत्रमा धेरै नै प्रतिश्पर्धा छ । कोहि रहरले त कोहि बाध्यताले पनि यसमा आउनेहरु छन् । यस्तै मध्ये विगत ३ वर्ष देखि कलाकारिता गर्दै आउनु भएकी प्रतिभाको नाम हो गिता नेपाल । काभ्रेको मण्डनदेउपुर नगरपालिका ९ स्थायी घर भएर राजधानीलाई कर्मक्षेत्र बनाउदै आउनु भएकी गिता हिजोआज हाँस्यश्रृंखला हाक्का हाक्कीमा निकै नै दमदार अभिनय दिदैं आउनु भएको छ । उनै कलाकार नेपालसँग यसपटक मध्यमार्गका विशेष संवाददाता ज्ञानमणि नेपाल कालोटोपीले रमाइलो कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको सम्पादित अंशः
    यहाँको परिचय दिनुस न ,
    नाम गिता नेपाल । मण्डनदेउपुर नगरपालिका ९, काभ्रे

    कलाक्षेत्रमा कहिले देखि लाग्नु भयो ?
    ०५८ साल देखि फिल्म क्षेत्रमा लागेको हुँ । तर आफ्नो कला चैं खासै देखाउन पाएको थिएन । अहिले ३ वर्ष यता चाहिं अभिनय पनि गर्दै छु ।

    कसको प्रेरणाले कला क्षेत्र रोज्नु भएको हो ? 
    सानै देखि यो क्षेत्र मन पथ्र्यो । कसैको प्रेरणाले भन्दा पनि आफ्नै रुचीले हो । दिपक राज गिरी र दिपाश्रीको कार्यक्रम रेडियो नेपालमा धनियाँ र रामविलास भनेर आउँथ्यो । मलाई पनि यस्तै बन्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । पछि एक जना धर्मेन्द्र चौधरी भन्ने साथीको सहयोगले यो क्षेत्रमा लागेकी हुँ ।

    अहिले सम्म के–के मा अभिनय गर्नु भयो ?
    अहिले सम्म ४ वटा टेलिफिल्ममा अभिनय गरें ।  डिठ्ठा साब, विष, हाक्का हाक्की, लगायत मदनकृष्ण र हरिवंश दाईहरुको सिरियलहरुमा पनि अभिनय गरेकी छु । ठूलो पर्दाको फिल्म झोला, मशान, इकु २ मा पनि काम गरिसकें ।  अब कालेदाईमा पनि अभिनय गर्दैछु ।

    कलाक्षेत्रमा सजिलो के पाउनु भयो ? 
    कला क्षेत्रमा सजिलो त छैन । काममा अप्ठ्यारो नै कलाक्षेत्र हो । समयमा खान र पाईंदैन, सुत्न पाईंदैन । गाह्रै छ नि ।

    कला के हो जस्तो लाग्छ ?
    दर्शकलाई हँसाउने, रुवाउने , भावुक बनाउने र मायाप्रेम लगायतका विषयमा अभिनयका माध्यमबाट व्यक्त गरिने प्रस्तुती नै कला हो झैं लाग्छ । देशको गहना पनि कला नै हो । यसले धेरैलाई चिनाउने पनि गर्छ । लुकेका विषयहरुलाई सबै सामु देखाउँछ ।

    कला क्षेत्रको प्रतिश्पर्धामा प्रवेश गर्दा नयाँ कलाकारले कतिको चुनौती खेप्नु पर्छ ?
    अहिलेको परिवेशमा नयाँ कलाकारहरुले धेरै नै प्रतिश्पर्धा गर्नुपर्छ । अहिले कि पैसा चाहियो कि पावर । यी दुई चिज छ भने अभिनय नजाने पनि यसक्षेत्रमा लाग्न सकिन्छ । तर यो राम्रो भने होइन, यसले अभिनय गर्न सक्ने क्षमतावान प्रतिभाहरु ओझेल पर्छन् ।

    पछिल्ला दिनहरुमा कलाक्षेत्र भित्र धेरै विकृतिहरु पनि भित्रिएको आरोप छ नि, केहि भेट्नु भयो यहाँले ?
    पक्कै पनि , तपाईंले भन्नु भएझैं केहि विकृतिहरु देखिएका छन् । ज्योति मगर जस्ता कलाकारहरुले समाजमा नपच्ने अभिनय गरेर यो क्षेत्रको बदनाम नै गरेको सबैलाई थाहा छ । यस्ता मान्छेलाई प्रवेश हुन नदिने हो भने कलाक्षेत्रले नसोचेको सफलता पाउन सक्छ ।

    कलाक्षेत्रलाई माथी उकास्न कलाकार र राज्यले के गर्नु पर्छ जस्तो लाग्छ ? 
    राज्यले भन्दा पनि कलाकारहरुले नै गर्नु पर्छ । विकृति र विसंगतीलाई अन्त्य गर्नु पर्छ । राम्रो काम गर्न सके राज्यलाई पनि अधिकारका कुरा गरेर विभिन्न माग राख्न सकिन्छ । तर अहिले ज्योति मगर जस्ता कलाकारले समग्र कलाक्षेत्रलाई समस्या पारिरहेका छन् । यो राम्रो होइन । कलाकारहरुले राम्रो पनि गरेका छन् । धुर्मुस र सुन्तलीका कामलाई पनि हामीले मुल्यांकन गर्नै पर्छ ।
    त्यस्तै काम गर्ने कलाकारहरुलाई पारिश्रमिकको तह निर्धारण गर्न पनि जरुरी छ । मान्छेहरुले सित्तैमा पनि काम गरिरहेका छन् । कम पारिश्रमिकमा पनि काम गरिरहेका छन् । कसैले सोचेको भन्दा धेरै पैसा पनि लिएका छन् । यसले गर्दा सबैमा समानता छैन । राज्यले यो विषयमा सोच्न जरुरी छ जस्तो लाग्छ ।

    तपाईंको भविष्यको लक्ष्य नै यहि हो कि अरु केहि रोज्नु भएको छ ? 
    मेरो भविष्यको लक्ष्य नै यहि हो । म प्रायः यसमै व्यस्त छु । कलाकारिता नै गरिरहेको छु । सन्तुष्ट पनि छु । मेरा २ जना छोरीहरु छन् । उनीहरुलाई पनि यसमै लाग्ने वातावरण बनाउने सोच छ ।

    एउटा कलाकारको नाताले भन्नु पर्दा देशको वर्तमान अवस्थालाई यहाँले कसरी लिनु भएको छ ? 
    म त कुनै राजनितीक दलको मान्छे त होइन । तर नेताहरुले जुन काम गरिरहेका छन् , त्यो राम्रो लाग्दैन । बरु कलाकारहरुले देश निर्माणको काम गरिरहेका छन् । नेताहरु रमिते बनेका छन् । जनमतको कदर सम्म गर्न नजान्नेले के राजनिती गर्नु र ?

    कुराकानीका लागि समय दिनुभयो , यहाँलाई धेरै–धेरै धन्यवाद । 
    मलाई पनि मेरो विचारहरु राख्ने अवसर दिनु भएकोमा तपाईं र तपाईंको संचार माध्यमलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु ।

    ज्ञानमणि नेपाल कालोटोपी

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार