२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

सडक तथा सडक पेटीमा अबरोध पुर्याउनेलाई कारवाही गछौं, पाँचखाल नगरले निःशुल्क रुपमा फोहो संकलन गरेको छ


३५३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ आश्विन १८, बिहिबार मा प्रकाशित ५ साल अघि
  • सुन्दर तामाङ
    वडा अध्यक्ष
    पाँचखाल नगरपालिका वडा नं ४

    साबिक होक्से गाबिस वडा नं ६ को रमणिय साथै ताजा तरकारी खेतीको लागि चर्चित स्थानको रुपमा परिचित (५२ किलो) चाखोला हाल पाँचखाल नगरपालीका वडा नं ८ मा पिता बिष्णु वहादुर तमाङ तथा माता बिष्णु मायाँ तमाङको कोखबाट २०४० साल फाल्गुण १७ गते तीन छोरा मध्य कान्छो छोराको रुपमा जन्मनु भएका सुन्दर तमाङ वाल्यकालबाटै सामाजिक कार्यमा रुचि राख्ने स्वभावको हुनुहुन्थ्यो ।

    साविक पाँचखाल वडा नं ६ हालको पाँचखाल वडा नं ४ मा रहेको समाज कल्याण प्राथमिक विद्यालयबाट कखरा सुरु गर्नुभएका तामाङले उच्च शिक्षा सर्वमंगला बाट हासिल गर्नु भएको थियो । २०६४ सालमा पाँचखाल तरुण ईकाई सभापतिको जिम्मेवारी सम्हाल्दै सक्रिय राजनीतिको सुरुवात गर्नुभएका तामाङले तरुणको क्षेत्रिय सदस्य समेतको जिम्मेवारी सम्हाल्दै आउने क्रममा स्थानिय तहको निर्वाचनमा पाँचखाल नगरपालिका वडा नं ४ मा वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो । राजनीतिको साथमा व्यवसाय गर्दै अगाडी बढ्नु भएका वडाध्यक्ष तामाङले हाल फर्नीचर व्यवसाय संचालन गरी रहनु भएको छ । व्यवसायबाट भएको आम्दानीले पारीवारीक खर्च पुग्ने हुंदा राजनीति गर्न सहज साथै नगरवासिहरुको हितको लागि कार्यको लागि थप टेवा मिल्ने हुंदा व्यवसायलाई समेत निरन्तर रुपमा आगनाडि बढाउने सोचका साथ अगाडी वढ्दै आउनु भएका वडाध्यक्ष तामाङसंग ईश्वरी राजकुमार मैनाली (आइ.आर.के मैनाली) ले गरेको कुराकानी अंश…

    पाँचखाल नगरकै केन्द्रविन्दुमा रहेको वडा नं ४ को वडाध्यक्ष भएको नाताले तपाईको वडामा बिकासकोे अवस्था कस्तो रहेको छ ?

    पाँचखाल नगरको मुटु मानिने साथै पाँचखाल र आसपासको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको पाँचखाल नगरपालिका वडा नं ४ को अवस्थामा भन्नुपर्दा, हाम्रो पहिलो प्राथमिकता भनेको सम्पुर्ण वडावासिले सहज ढंगबाट पानी खान पाउनु पर्छ भन्ने हो र सोही बिषयलाई पहिलो प्राथमिकता दिएका छौं । त्यसैगरी शिक्षा, स्वास्थ्य, वजार व्यवस्थापन, सडक साथै सफाईको बिषयमा केन्द्रित भएर अगाडी बढेका छौं । पाँचखाल नगर कृषि शहर भन्ने नाराका साथमा नगर अगाडि बढेकोले कृषिको माध्यमबाट कृषकको जिवन स्तर उकास्ने बिषयलाई समेत जोड दिएका छौं । सोही अनुसार सिंचाईको दिर्घकालिन व्यवस्था र तात्कालिन व्यवस्था गर्ने बिषयमा सोच अगाडि बढाएका छौं । तत्कालिन व्यवस्थाको लागि हालको पानीको स्रोतलाई व्यवस्थापन गर्दै झिगुखोलामा ठाउंठाउंमा बाँध निर्माण गर्ने, कुलोको संरक्षण गर्ने र दिर्घकालिन रुपको लागि ईन्दावतिको पानी लिप्mट गरी ल्याउने ठुलो योजना रहेको छ सो योजनाको लागि नगरपालिकाले कार्यलाई अगाडी वढाउंदै डिपिआर गर्ने तयारी गरेको छ । पिउने पानीको लागि हालको स्रोतलाई परिचालन गर्दै अवको दुइ महिना भित्र ९५ प्रतिशत घर धुरिमा एक घर एक धाराको व्यवस्था सक्ने लक्षका साथ अगाडी बढेको छ ।

    तपाइको वडा प्रमुख व्यापारिक केन्द्रको रुपमा चिनिन्छ तर सडकको साँघुरो अवस्थाले गर्दा समस्या आएको छ भन्ने जनगुनासो आएको छ, यो समस्यालाई कसरी समाधान गर्ने सोचमा हुनुहुन्छ ?

    वडा नं ४ मा अरनिको राजमार्ग धेरै पर्छ , व्यापारीक केन्द्र भएकोले जनघनत्व धेरै छ, वाटो साँघुरो र सडक पेटी नहुदा पैदल यात्रीले सास्ति खेप्नु परेको यथार्थ हो । विगत लामो समयदेखि सडक विभागले सडक वढाउने धेरै प्रयास गर्दा पनि सफल हुन नसकेकै हो । स्थानिय तहको निर्वाचन पश्चात महेश खरेलको नेतृत्वमा निर्वाचित जनप्रतीनिधिहरुले पहिलो काम प्रमुख व्यापारीक केन्द्रको व्यवस्थित जसको लागि सडक बिस्तारलाई प्राथमिकता दिदै झिगु खोलाको पुल देखि प्रहरी चौकि पाँचखाल सम्म सडकको दायाँ वादा १५ । १५ मिटर खालि गर्ने निर्णय गरी कार्य अगाडी बढाउन सफल भएको छ । जसको कारण सडक विस्तार कार्य साथै पैदल यात्रीका लागि पेटी निर्माण हुने कार्य तिब्र गतिले अगाडी बढेको छ । राज्यले २५ मिटर हटाउनु पर्ने भन्दै गर्दापनि तत्कालको लागि १५ मिटरले पुग्ने भएकोले १५ मिटर मात्र वढाएका छौं । १५ मिटर मात्रै लिंदा सडक छेउमा वसोवास गर्नेहरु विस्थापित हुनबाट जोगीएको छ ।

    नगरको कार्यपालिकाको निर्णय अनुसार हाललाई १५ मिटर वढाउने ढंगले अगाडी बढाएको कार्य अनुसार केही सडक र सडक पेटी वनि सकेको अवस्था छ , तर सो बनेको सडक सवारी साधन गुड्नको लागि प्रयोग नभई सवारी पार्किङ्ग गर्ने पार्कको रुपमा र सडक पेटी व्यापारीको सामान प्रदर्शण गर्ने स्थानको रुपमा परिणत भएको छ यसको बिषयमा वडाको ध्यान किन पुग्न सकेन ?

    नगरको प्रमुख व्यापारकि केन्द्रको रुपमा रहेको पाँचखालमा हालको सवभन्दा ठुलो समस्या भनेको पार्किङ्ग हो । टाडाबाट कोही पाँचखाल आउंदा पार्किङ्गग गर्ने निर्धारित ठाउं नहुंदा खालिठाउंको रुपमा हाल बनेको सडकलाई प्रयोग गरेको पाईन्छ । आगामी दिनमा नगरपालिकाले पार्किङ्ग गर्ने ठाउंको व्यवस्था गर्दै सडकमा पार्किङ्ग गर्नु नपाईने व्यवस्था गर्न जरुरी छ । सडकमा पार्किङ्ग गर्न र सडक पेटिमा व्यापारीक सामाग्री राख्न नपाईने भन्ने नियम नगरले वनाई सडक तथा पेटी जुन प्रयोजनको लागि बनेको हो सोही प्रयोजनमानै ल्याउनु पर्छ ।

    नगरपालीकाको तर्फबाट सडकमा सवारी साधन पार्किङ्गगरी सवारी साधन र पैदल यात्रीलाई आवागमनमा बाधा पुग्न दिन नहुने भन्ने बिषयमा कुनै निर्णय भएको छैन ?

    नगरवासिको तर्फबाट र अन्य वडाहरुको तर्फबाट पनि सडकमा सवारी साधन पार्किङ्ग र सडक पेटिमा व्यापारीक सामान राखेको बिषयमा व्यापक गुनासो आएपछि नगरको कार्यपालिकाको वैठकमा म आफैले समस्याको बिषयमा कुरा उठाएको छु । सोही समस्याको बिषयमा सडक तथा पेटीमा अवरोध गर्न नदिने भन्ने निर्णय हालै मात्र भएको छ । निर्णयलाई कार्यान्वयन गर्नको लागि नगरले तत्कालै पाँचखाल प्रहरी चौकीलाई छलफलको लागि बोलाउंदै छ । प्रहरीसंग छलफल भएपछि केही दिनबाटै सडक तथा सडक पेटीमा हाल भएको अवरोध पुर्ण रुपले हट्छ । नगरको तर्फबाट सडक तथा पेटीमा अवरोध गर्न नपाउने सुचना जारी गर्दैछ । सुचनालाई उलंघन गरेमा सडक तथा सडक पेटीमा अबरोध पुर्याएको सामान नगरले उठाएर ल्याउछ । सम्बनिधत व्यक्ति आफ्नो सामानको लागि आउंदा नगरको नीति नियम अनुसार कारवाही वा जरिवाना गर्ने छ ।

    पाँचखाल नगरमा रहेका सुकुम्वासि मध्य सवैभन्दा वढी तपाईकै वडामा रहेको पाईन्छ, उनीहरुको व्यवस्थाको लागि कस्तो योजना ल्याउनु भएको छ ?

    तपाईले सारै राम्रो र मेरो मनमा लागेको बिषयको उठान गरिदिनु भएकोमा आभार व्यक्त गर्छु । वास्तवमा यो नगरमा हामी निर्वाचित भएर आएपछि कार्यपालिकाको पहिलो बैठकमा सुकुम्वासिको हितको समस्याको बिषयलाई लिएर कुरो उठाउने म नै हुं । समस्या समाधानको लागि ठुलो बहस भयो । कार्यपालिका बैठकवाट सवैको सल्लाह अनुसार नगरमा रहेका सवै सुकुमवासिको तथ्याङ्क संकलन गरेर बुझाउने र सोही तथ्याङ्कको आधारमा वाटो पानी लगायतको सवै प्रकारको सुबिधा दिदै एकिकृत सुकुम्वासि बस्ति बनाउने बिषयमा कुरा अघि बढ्को छ । निर्वाचनको समयमा हामी उम्मेदवारहरुले सुकुम्वासिको समस्या समाधान गर्छौ भनेका छौं र पुरा गछौं । हाल सम्म पुरा नभएकोले नगरको तर्फबाट छिटै समस्या समाधान गर्नुे बिषयमा भुमिका निर्वाह गर्नु पर्छ ।

    भूकम्प पिडितले पाउने सेवा सुबिधाको लागि नगरको तर्फबाट सुकुम्वासिहरुलाई कसरी व्यवस्थापन गरेको छ ?

    भुकुम्प पिडितको सुचिमा परेको तर जग्गा नभएको सुकुम्वासिलाई उपलब्ध गराउने भनेको २ लाख राज्यको नीति नियममा रहेर प्रकृया पुर्याउनेहरुलाई वडा मार्फत सम्झौता गर्ने गरेका छौं । धेरै समस्या छन्, एकैचोटी सवै समस्या समाधान नभएपनि क्रमस सवै समस्याहरु एक पछि अर्को गर्दै समाधान गरेरै छाड्ने छौं ।

    तपाईको वडामा व्यापारीक केन्द्र रहेको र सो वजारबाट निस्किएको फोहोर र ढलको कारण झिगुखोला प्रदुषण भएको जसको कारण सो खोलाको पानी खेतीमा प्रयोग गर्दा खेतीनै विग्रीएको भन्ने गुनासो छ, समस्या समाधानको लागि के योजना ल्याउनु भएको छ ?

    पाँचखाल वडा नं ४ बाट वगेर जाने ढल झिगु खोलामा जान्छ, त्यसले गर्दा समस्या आएको छ । तर समस्या समाधान गर्दै व्यवस्थापन कसरि गर्ने भन्ने बिषयमा सोचेका छौं । खोला प्रदुषणको बिषयलाई लिएर नगरवासिहरुले नगरमा ज्ञापन पत्र बुझाउने कार्य समेत गरेका छन् । डलको कारणले गर्दा समस्या आएको भन्ने जन गुनासोको बिषयमा कार्यपालिकाको बैठकमा छलफल भएको छ । छलफलबाट हाल खोलामा मिसिएको ढललाई प्रसोधनको माध्यबाट मात्रै खोलामा पठाउने जसको कारण खोला प्रदुषण नहुने र सिंचाईको लागि सहज हुने ढंगको कार्यलाई अगाडि बढाउने योजनालाई अघि सारेका छौं । धुलिखेल नगरले प्रयोग गरेको डम्पिङ साईडले गर्दा पनि झिगुखोला प्रदुषण भएको छ । बर्षातको समयमा छुलिखेलले फालेको फोहोर वगाएर पाँचखालको खती योग्य जमिनमा फोहोरको ढंगुर लाग्ने साथै खोला प्रदुषित हुने गरेको छ त्यसको बिषयमा नगरले पटक पटक पत्र काटेको छ । धुलिखेलले समस्याको समाधान गर्ने पहल गरेको जानकारी प्राप्त भएको छ ।

    तपाईको वडामा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने बिषयमा वडा तहबाट के कस्तो भुमिका निर्वाह गर्दै नगरलाई सुझाव दिनु भएको छ ?

    यो सार्वजनिक सम्पक्तिको संरक्षण गर्ने कार्य आम नागरिकको सरोकारको बिषय हो । यस्तो जटिल बिषयलाई चनाखो हुनु हामी जनप्रतीनिधिको दायितव हो । म वडामा चुनिनु अगाडि पनि सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु पर्छ भन्ने बिषयमा अगाडि बढ्दै आएको थिए । मेरो वडामा रहेको सार्वजनिक जग्गा मध्य लामिडाँडामा केही जग्गा सुिकुम्वासिहरुले विगत लामो समयदेखि प्रयोग गर्दै आएका छन् । उनीहरुको सामुहिक व्यवस्था गर्ने तयारीमा नगर रहेको छ, व्यवस्था नभएसम्म सार्वजनिक जग्गाबाट हटाउनु मानविय धर्म होईन तर व्यवस्था हुनासाथ सार्वजनि जग्गाको संरक्षण गर्ने पक्षमा योजना बनाउने तयारीमा छौं । नगरमा रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने बिषयमा नगरले अभियाननै चलाउंदैछ । हाल नगरमा रहेको २ जना अमिन पुनरनिर्माणको काममा व्यस्त रहेकोले सार्वजनिक जग्गाको संरक्षण गर्ने अभियान चलाउन केही समस्या भएको छ । नगरले सवैवडाबाट संभाव्यत अध्ययन गरेर रिपोर्ट दिन भनिसकेको छ, वडाहरुले प्रतिवेदन दिने कार्य जारी छ । अमिनलाई फुर्सद हुनासाथ अभियान चलाउने तयारीमा रहेका छौं ।

    सिंगै नगरको साथै तपाईको वडाको फोहोर मैला व्यवस्थापनको बिषयमा जनप्रतीनिधिहरुको चासो कम भयो भन्ने गुनासो छ, के चासो नदिएकै हो त ?

    फोहोरको कुरा गर्दा अन्य नगरले जस्तो फोहोर संकलन गरेवापत रकम पाँचखाल नगरले लिएको छैन । हाल सम्म हप्ताको एक दिन फोहोर संकलन गर्ने कार्य निःशुल्क रुपमा गरेको छ । हप्ताको एक दिन संकलन गर्दा समस्या आएको छैन , हप्तामा एक दिन संकलन गर्दा समस्या आयो भने कुनै संथालाई जिम्मा दिएर दैनिक रुपमा संकलन गर्ने व्यवस्था मिलाउने छौं । नगरले गर्ने कार्य कुनैपनि तात्कालिन मात्रै नभएर दिर्घकालिन ढंगबाट गर्ने योजना बनाएकोले फोहोरबाट मोहोर (पैसा) कमाउने योजना बनाएको छ । दिर्घकालिन रुपमा डम्पिङ्साईडको व्यवस्था गर्ने, संकलित फोहोरलाई कुहिने र नकुहिनेमा छुट्याउने र सो फोहोरलाई प्रसोधन गर्ने र नगरको आम्दानिको स्रोत बनाउने बिषयमा अगाडि बढेको छ ।

    दिर्घकालीन रुपमा पाँचखालमा खाने पानी व्यवस्थापनको लागि सुनकोशिको पानी पाँचखालमा ल्याउने तयारी भएको छ , सो योजनालाई तपाई र तपाईको वडावासिको तर्फबाट के कस्तो साथ सहयोग गर्ने तयारीमा हुनुहुन्छ ?

    पाँचखाल नगरपालिकाको प्रमुख समस्या भनेको खाने पानी हो, हालको योजना भनेको जवसम्म सुनकोशी रहन्छ तव सम्म पानी खान पाउने ढंगको योजना हो । यसभन्दा अगाडिको योजना भनेको तात्कालिन समस्या समाधान गर्ने ढंगको हो । पौरानिक मुल सुक्दै गएपछि विकल्पको रुपमा डिप वोरिङ्ग गर्ने कार्य गर्दै सोहि मार्फत पानीको व्यवस्था गरिदै आएको छ । ति स्रोतहरुपनि बार्षिक रुपमा कमजोर हुंदै गएको छ, यदि दिर्घकालिन रुपमा भरपर्दो स्रोतबाट पानी ल्याउन नसके ठुलो समस्या आउने भएकोले हालको सुनकोशी पाँचखाल खानेपानी योजनाको लागि पुर्ण रुपमा सहयोग गर्ने छौं । योजना सफल गराउने बिषयमा म र वडा सदस्यहरु वडावासिहरुको घरघरमा गएर योजनाको बिषयमा जानकारी गराउंदै सहभागि गराउने छु । योजना सफल गराउंदा आगामी पुस्ताले पाँचखालमा पानीको समस्या भोग्नु पर्दैन ।

    तपाईले वडाको नेतृत्व सम्हाल्नु भएको दुई बर्ष भयो, अघिल्लो आर्थिक बर्षको विकास निर्माणको काम सकिएको छ , सो सम्पन्न बिकास निर्माणको कार्यसंग कत्तिको सन्तुस्ट हुनुहुन्छ ?

    केही हदमा सन्तुष्ट छु केही असन्तुस्ट, सन्तुस्ट के कारणले छु भने जनताले जननिर्वाचित भैसकेपछि हाम्रो सम्पुर्ण समस्या एकै पटक समाधान हुन्छ भन्ने आशा राख्नुभएको थियो सम्पुर्ण पुरा गर्न नसकेपनि पुरा गर्ने सुरुवात गरेका छौं । जनतासंग जे जति बोलेको छ त्यो पुरा गरेरै छाड्छु तर समय लाग्छ । हामीले जे जति बोलेका थियौ त्यो एक बर्षमा पुरा गर्नको लागि नभई ५ बर्षमा पुरा गर्नको लागि बोलेका हौं ।

    पाँचखाल नगरलाई कृषिको माध्यकबाट कसरी अगाडी बढाउने लक्ष लिनु भएको छ ?

    पाँचखाल नगर कृषि शहर भन्ने नारा छ , त्यसलाई नारामा मात्र सिमित नरहेर पाँचखालमा उत्पादन भएको सामाग्रीहरुको उचित व्यवस्था गर्नु पर्छ । आवस्यकताको आधारमा तरकारी संकलन गर्ने । सिंचाईको लागि डिपिआर गरेर डम तयार गर्ने । बर्षातको पानी सो ड्याम संकल हुने हुंदा हिउदोमा पनि सिंचाईको लागि केही सहज हुन्छ । पाँचखालको प्रमुख उत्पादन भनेको आलु, गोलभेडा लगाएतको तरकारी साथै खाद्यान्नमा धान मकै नै हो । पाँचखालमा आलु खेतिको लागि प्रख्यात भएकोले आधुनिक तरिकाले खेती गराएर उत्पादन बृद्धि गर्ने बिषयमा नगर अगाडि बढ्दै छ । कृषकको हितको लागि कार्य गर्ने बिषयमा नगरले दिर्घकालिन योजना ल्याएको छ । जुन योजनाले कृषकहरु निर्धक्कसंग आत्मनिर्भर बन्न सक्छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार