२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

सुबिधा सम्पन्न भवनबाट गुणस्तरीय आधुनिक शिक्षा दिन्छौं, अन्य नीजिको तुलनामा सस्तोमा गुणस्तरीय शिक्षा


४०२३ पाठक संख्या

सरोज न्यौपाने प्रिन्सिपल नवप्रतिभा माध्यमिक विद्यालय साविक पाँचखाल गाविस वडा नं ९ हाल पाँचखाल नगरपालिका

  • नवसंकेत अनलाईन
  • २०७५ मंसिर १२, बुधबार मा प्रकाशित ५ साल अघि
  • सरोज न्यौपाने
    प्रिन्सिपल
    नवप्रतिभा माध्यमिक विद्यालय

    साविक पाँचखाल गाविस वडा नं ९ हाल पाँचखाल नगरपालिका वडा नं ६ को रमणिय स्थलको रुपमा रहेको ढुंगानाबेसीमा पिता हरिशरण न्यौपाने तथा माता भिमकुमारी न्यौपानेको कोखबाट ३ भाई छोरा मध्य माईलोे सन्तानको रुपमा २०४० साल माघ १६ गते जन्मनु भएका सरोज न्यौपाने वाल्यकालबाटै गुणस्तरीय शिक्षाको पक्षधर हुनुहुन्थ्यो । साविक पाँचखाल गाविस ८ तिनपिप्लेमा रहेको जोरपाटी माध्यमिक विद्यालयबाट कखरा सिक्दै साविक देवभूमि बालुवामा रहेको आजाद माध्यमिक विद्यालयबाट एस एलसि उतिर्ण गरी उच्च शिक्षाको लागि शहर पस्नु भएका न्यौपानेले उच्च शिक्षा हासिल गर्दै गर्दा समेत काठमाडौको कोटेश्वरमा एक नीजि विद्यालयमा अध्यापन गराउनु भएको थियो ।
    २०५९ साल बाट शिक्षण पेसा सुरु गर्नु भएका न्यौपानेले आफ्नै जम्मथलोमा आधुनिक शिक्षा प्रदान गर्ने जमर्को गर्दै २०६० साल जेष्ठ १२ गते गाउंकै नवप्रतितभा माध्यमिक विद्यालयमा विज्ञान तथा गणित शिक्षकको रुपमा प्रवेश गर्नु भएका न्यौपानेले २०६५ साल मंसिर १२ गतेबाट विद्यालयको जिम्मेवारी सम्हाल्दै प्रिन्सिपलको भुमिका निर्वाह गर्दै आउनु भएको छ । आर्थिक कमाईलाई भन्दा विद्यार्थीहरुलाई गुणस्तरीय आधुनिक शिक्षा प्रदान गर्नुनै आफ्नो ठुलो कमाई हो भन्दै विद्यालय आसपासका विद्यार्थीहरुलाई सहुलियतमा आधुनिक गुणस्तरीय शिक्षाको व्यवस्था गर्ने भुमिका निर्वाह गर्दै आउनु भएको छ । आफ्नो जन्मस्थलोमै रहेर विद्यार्थीहरुको सेवा गर्दै गुणस्तरीय शिक्षा प्रदानको साथै दाताहरुको साथ र सहयोगमा आधुनिक सुबिधा सम्पन्न भवनको समेत व्यवस्था गर्न पाएकोमा खुसि व्यक्त गर्दै शुलभमा पाँचखाल र आसपासको स्थानमा आधुनिक गुणस्तरीय शिक्षा उपलब्ध गराउनु पर्छ भन्ने बिषयमा निरन्तर रुपमा अगाडी बढ्दै आउनु भएका सरोज न्यौपानेसंग ईश्वरी राजकुमार मैनालीले गरेको कुरा कानी अंश ……।

    तपाई काभे्रकै पहिलो सार्वजनिक गुठी विद्यालयमा जिम्मेवारी सम्हाली रहनु भएको छ , सो विद्यालयले कस्तो खालको शिक्षा दिदै आएको छ ?

    म हाल काभे्र जिल्लाकै पहिलो सार्वजनिक गुठी अन्तर्गत पाँचखाल नगरपालिका वडा नं ६ ढुंगानाबेशिमा संञ्चालन हुदै आएको नवप्रतिभा माध्यमिक विद्यालयमा प्रिन्सिपलको जिम्मेवारी सम्हाल्दै आएको छु । यस विद्यालय स्थापना हुनुको प्रमुख उद्देस्य स्थानियको चाहना हो, साविक पाँचखाल र आसपासका गाविसमा बसोवास गर्ने शिक्षा पे्रमिहरुले आधुनिक गुणस्तरीय शिक्षा (अंग्रेजि माध्यम) आवस्यक महसुस गरी संचालनमा ल्याएको थियो । स्थापनाको समयमा स्थानियको जुन उद्देस्यका साथ संञ्चालनमा आएको थियो सोही उद्देस्यका साथ विद्यालयले शिक्षा प्रदान गरी रहेको छ ।

    स्थापना कहीले र कुन ढंगबाट भयो ? के तेतीखेर पाँचखालमा नीजि विद्यालयहरु थिएनन् ?

    विद्यालयको स्थापना विधिवत रुपमा २०४४ साल पौष २३ गतेबाट संञ्चालन भयो । पाँचखाल र आसपासको स्थानको पहिलो विकास भनेको आधुनिक शिक्षा हो र सो ढंगको शिक्षा प्रदान गर्ने जमर्को गर्दै जाँदा कुनै भरपर्दो आर्थिक स्रोत नहुंदा २०४४ सालको तिहारमा सो समयको पाँचखालका प्रधानपञ्च दिनानाथ ढुंगाना, शिक्षाप्रेमी रुद्रवहादुर वानिया, समाजसेवी स्व.रामवहादुर थापा, रामहरी आचार्य, रामशरण आचार्य, ध्रुव प्रसाद ढुंगाना लवगायतको स्थानियहरुको अगुवाईमा देउसी भैलो खेली संकलन भएको रकमबाट विद्यालय खोल्ने तयारी भयो ।
    जुन समयमा नवप्रतिभा माध्यमिक विद्यालय संञ्चालनमा आयो सो समयमा पाँचखाल र आसपासमा कुनै नीजि विद्यालय थिएन । नवप्रतिभा संचालन भएको १ बर्ष पछि पाँचखालको काफ्लेडिहीमा संञ्चालन गर्ने गरी नीजि विद्यालयको रुपमा सरस्वती शिक्षा गृह संचालननमा आयो , तर नियमित रुपमा संचालन हुन नसकि केही समय बन्द हुन पुग्यो र २०४९ सालबाट तामाघाट बोहोरे दोभान चोकमा संञ्चालन भयो । नवप्रतिभा संचालनमा आएपछि सोही विद्यालयको मार्ग पहिल्याउंदै अन्य नीजि विद्यायलहरुपनि संचालनमा आए । हाल पाँचखालमा धेरै नीजि विद्यालयहरु रहेका छन् जसको कारण गुणस्तरयि शिक्षाको लागि शहर धाउनु पर्ने अवस्था छैन तर सार्वजनिक शैक्षिक गुठी विद्यालय हाल सम्म पनि पाँचखालमा नवप्रतिभा भन्दा अरु कुनै छैन ।

    शार्वजनीक शैक्षिक गुठी विद्यालय र नीजिमा के भिन्नता छ ? दुवैले आधुनिक गुणस्तरीय शिक्षा दिने हैन र ?

    शिक्षण बिधित एउटै हो तर तुलनात्मक रुपमा धेरै ठुलो भिन्नता छ , सार्वजनीक शैक्षिक गुठीबाट संञ्चालन भएको विद्यालय र नीजि विद्यालयले आधुनिक गुणस्तरीय शिक्षानै दिने हो । एउटै पाठ्यक्रमबाट पठन पाठन गराईन्छ दुई प्रकारको विद्यालय बिच सहकार्य गर्दै परिक्षा पद्धती साथै प्रस्नपत्र एउटै तयार गरीन्छ । तरपनि भिन्नता भने छ , जुन हो शैक्षिक गुठी मार्फत संञ्चालन भएको विद्यालयको सम्पुर्ण अधिकार राज्यको हुन्छ (स्थानिय तहको हुन्छ) विद्यालय संञ्चालनको क्रममा जे जति आर्जेको (भौतिक संरचना, शैक्षिक सामाग्री, आर्थिक) छ त्यसको पुर्ण अधिकार राज्यको हुन्छ । तर नीजिबाट संञ्चालन हुने बिद्यालयको सम्पुर्ण अधिकार संचालकमा निहित हुन्छ । त्यसैले विद्यालय संचालनको क्रममा नीजिमा व्यक्तिले लगानी गरेको हुन्छ, शार्वजनिक शैक्षिक गुठिमा समुदायले चन्दा सहयोग गरेको हुन्छ ।
    त्यसैगरी गुठिबाट संचालन भएको विद्यालयको सम्रक्षण स्थानिय साथै राज्यले गर्छ , बिभिन्न संघ संस्थाले सहयोग गर्छ । तर नीजिलाई संञ्चालले मात्रै साथ सहयोग दिने हुन्छ । त्यसैले नीजि विद्यालयको तुलनामा शैक्षिक गुठीले सरल र सस्तोमा गुणस्तरीय शिक्षा दिन सक्छ, दिएको हुन्छ । त्यसैगरी राज्यले विद्यार्थीहरुको उच्च शिक्षामा दिने सुबिधामा सरकारी विद्यालयमा सरह सुबिधा दिने गर्छ ।

    के अन्य नीजि विद्यालयको तुलनामा तपाईहरुले सस्तोमा गुणस्तरयि शिक्षा दिनु भएको छ ?

    दिएका छौं, दिनै पर्छ किनकि शैक्षिक गुठिबाट संञ्चालन भएको विद्यायलमा संञ्चालक (लगानी कर्ता) हुदैनन् । भवन बिभिन्न संघसंस्थाले निर्माणमा सघाएको हुन्छ , जमिन स्थानिय तहले उपलब्ध गराएको हुन्छ । व्यक्तिगत लगानी नभएपछि व्याज पर्दैन जस्को कारण खर्च कम आउंछ त्यसैले सस्तोमा शिक्षा दिन सकिन्छ । तर नीजिमा लगानि कर्ता हुन्छन, भवन निर्माण तथा जग्गा खरिद वा भाडामा लिदा खर्च भएको हुन्छ । लगानी कर्ताले गरेको लगानीको प्रतिफल तथा भवन तथा जग्गामा गरेको लगानिको व्याजले गर्दा शैक्षिक गुठिको तुलनामा बडी खर्च हुन्छ त्यसैले शैक्षिक गुठिबाट संञ्चालन भएको विद्यालय भन्दा नीजिमा महंगो हुनु स्वभाविकै हो ।

    नवप्रतिभा माध्यमिक विद्यालयको भवन निर्माणमा कुन कुन संघ संस्थाले लगानि गरेको छ ? भवनको साथै अन्य सुबिधा कस्तो अवस्थामा रहेको छ ?

    जिल्लाकै पहिलो शैक्षिक गुठी विद्यालय साथै पाँचखालमा आधुनिक शिक्षा दिने पहिलो विद्यालयको भवन पनि भुकम्प प्रतिरोधि साथै आधुनिक रहेको छ । समग्रमा भन्नुपर्दा विद्यालयको भवन पनि अन्य नीजि विद्यालयहरुको तुलनामा पहिलो नै छ । विद्यार्थीहरुले सहज ढंगबाट शिक्षा हासिल गर्नको लागि भवनको ठुलो भूमिका रहन्छ । सोही अनुसार नवप्रतिभा माध्यमिक विद्यालयको भवन रहेको छ । ३२ रोपनि क्षेत्रफलमा फैलीएको विद्यालयको जग्गामा हाल २१ कोठे सुबिधा सम्पन्न भूकम्प प्रतिरोधि भवन रहेको छ । स्थापनाको समयमा स्थानिय कच्चा पदार्थबाट निर्माण गरेको भवन समेत हाल सम्म रहेको छ । तर पछिल्लो समयमा आएर सो भवन प्रयोगमा ल्याईएको छैन ।

    भवन निर्माणमा सहयोगको कुरा उठाउनु भयो पाँचखाल र आसपासको क्षेत्रमा बिगत २७ बर्षदेखी पाँचखाललाई हरीयाली वनाउने, वातावरण संम्रक्षण गर्ने साथै विद्यालयहरुमा सुबिधा सम्पन्न भवन निर्माण गर्ने कार्य गर्दै आएका लवग्रीन नेपाल नामक संस्थाको पहलमा लायन्स क्लव अफ जापानको आर्थिक सहयोगमा ७० प्रतिशत लगानि र स्थानियको ३० प्रतिशत लगानिमा २०६२, २०६७ र २०७२ मा गरी सुबिधा सम्पन्न १४ कोठे भवन निर्माण भयो । त्यसैगरी नेपालमा २०७२ बैशाख १२ मा गएको बिनासकारी महाँभूकम्प पश्चात इमरजेन्सी आर्किटेक फाउन्डेसन फ्रान्सको पुर्ण सहयोगमा १ करोड ६० लाखको लागतमा पुर्णरुपमा भूकम्प प्रतिरोधि ७ कोठे सुबिधा सम्पन्न भवन निर्माण भएको छ । जुन समेत २१ कोठे सुबिधा सम्पन्न आधुनिक भवन रहेको छ ।

    आधुनिक भवन त भयो निर्धक्कका साथ विद्यार्थीहरुले पठन पाठन त गर्न पाउने भए तर समयको माग अनुसार मल्टिमिडिया ढंगको कक्षा साथै कम्प्युटर शिक्षा र विज्ञान प्रयोगशालाको अवस्था कस्तो छ ?

    अंग्रेजी माध्यम मात्रै आधुनिक शिक्षाको पुर्णता होईन, अंगे्रजी माध्यमको साथमा कम्प्युटर शिक्षा विज्ञान प्रयोगशाला, मल्टि मिडिया, कम्प्युटर प्रयोगशाला साथै ईन्टरनेट समेतको सुबिधामा विद्यार्थीहरुले अध्ययन गर्न पाउनु नै आधुनिक शिक्षा हो । हामीले सोहि अनुसार सवै पक्षलाई पुर्ण व्यवस्था गरी आधुनिक गुणस्तरीय शिक्षा दिएका छौं । विद्यालयले आवस्यक सवै प्रकारको सामाग्री व्यवस्था गरेको थियो । सोही अवस्थामा विद्यालयका पुर्ब व्यवस्थापन समितिका अध्यक्ष एवं रोटरीयन प्रल्हाद प्रसाद पराजुलीको पहलमा रोटरी क्लब अफ धुलिखेलको सहयोगमा कम्प्युटर , प्रिन्टर, प्रोजेक्टर लगायतको सामाग्री उपलब्ध गराएको थियो जसको कारण यतिखेर पर्याप्त भएको छ ।

    आधुनिक गुणस्तरीय शिक्षाको अलावा विद्यार्थीहरुलाई अरु कुनै शिक्षा दिने गर्नु भएको छ ?

    नवप्रतिभा माध्यमिक विद्यालय अन्य विद्यालयको तुलनामा विद्यार्थीहरुलाई फरक पन दिने विद्यालय भएको कुरा अगाडिनै वताई सके । पुन म के थप्दछु भने अन्य नीजि विद्यालयको भन्दा केही फरक दिन नसके स्थानियको त्यति ठुलो त्यागको के महत्व रहन्छ ? त्यसैले अन्य विद्यालयमा भन्दा यस विद्यालयको फरक पन भनेको विद्यार्थीहरुलाई उनीहरुको व्यवहारमा सहजता ल्याउने ढंगको काउन्सिलिङ्ग शिक्षा साथै नैतिक शिक्षा अन्तर्गत अनुशासन शिक्षा प्रदान गर्ने गरेका छौं । हामीले समय समयमा विद्यार्थीहरुलाई राखेर नैतिक शिक्षा सिकाउंछौं, जसका कारण अनुसाशन हिन विद्यार्थी हाम्रो विद्यालयमा छैन । सानासाना बालबालबालिका भनेको काँचो माटो हो त्यसलाई कसरी वनाउने भन्ने जिम्मा शिक्षकमा हुनुपर्छ, जसरी कुमालेले काचो माटोलाई आफ्नो इक्छा अनुसारमा परिवर्तन गर्छ हामीले पनि विद्यार्थीहरुलाई समाजको एउटा असल मान्छे बनाउने गरेका छौं ।

    सवैकुरामात हामी पहिलो भन्नुभयो शैक्षिक गुणस्तरमा चाही कस्तो छ ?

    त्यसमा पनि हामी पहिलै भएका छौं, शिक्षाको गुणस्तर मापन गर्ने समय भनेको एस.एल.सि र एस.इइ हो त्यसमा कयौं पटक काभे्र जिल्ला प्रथम भएका छौ । दितिय र त्रितिय पनि भएका छौं । अर्को चुरो कुरो भनेको यस विद्यालयबाट पास आउट भएर अन्यत्र अध्ययनमा गएका विद्यार्थीहरुले राम्रो नतिजा हासिल गर्नाको साथै अनुशासित विद्यार्थीमा गनीने गरेको धेरै उदाहरणहरु रहेको तपाई पत्रकारहरुलाई पनि जानकारीनै होला भन्ने लाग्छ ।

    अन्तमा कही भन्न चाहानु हुन्छ की ?

    सर्वप्रथम त काभे्र जिल्लाको पहिलो सार्वजनिक गुठि द्वारा संञ्चालन भएको नवप्रतिभाको बारेमा आफ्नो भनाई राख्ने मौका दिनु भयो यसको लागि मेरो व्यक्तिगत र विद्यालयको तर्फबाट आभार व्यक्त गर्दछु । दोस्रो जुन उद्देस्यका साथ स्थानिय शिक्षासेवीहरुको पहलमा विद्यालय संचालनमा ल्याएको थियो सोही उद्देस्यलाई अक्षरस पालन गर्दै अगाडी बढेका छौं र बढ्छौं ।

    त्यसैगरी विद्यालयको हितको लागि हामीलाई सहयोग गर्ने बिभिन्न संघ संस्था प्रती समेत आभार व्यक्त गर्दछौं । आधुनिक शिक्षा प्रदान गर्दै अगाडी बढ्ने उद्देस्यलिएर अगाडी बढेका संस्थापकहरु साथै समयसमयमा विद्यालयलाई आवस्यक पर्ने आर्थिक तथा श्रम सहयोग गर्नुहुने स्थानिय साथै पाँचखाल भन्दा बाहिर रहेका चन्दा दाताको सहयोगलाई आत्मासाथ गर्दै गुणस्तरीय आधुनिक शिक्षा प्रदान गर्ने बिषयमा जस्तो सुकै चुनौतीको सामना गर्न पनि तयार रहेका छौं । हामीले ल्याएको आधुनिक शिक्षाको बिषयमा हामी अगाडी बढिरहेको अवस्थामा हामीलाई सहयोग साथै साथ दिदै आउनु भएका आम अभिभावक र विद्यार्थीहरुको चाहना अनुसारको शिक्षा प्रदान गर्ने कार्यलाई निरन्तर रुपमा अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार