२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

यस्तो छ चौंरीदेउराली सरकारको आ.व. २०७९/०८० को नीति तथा कार्यक्रम


७४२७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र १२, आईतबार मा प्रकाशित १ साल अघि
  • चौँरीदेउराली गाउँपालिकाका अध्यक्ष श्री रेणुका चौंलागाईं ज्यूले १० औँ गाउँसभामा प्रस्तुत गर्नुभएको को आ.व. २०७९/ 0८० को वार्षिक नीति तथा कार्यक्रम

    हाम्रो गाउँपालिकाको यस गरिमामय १० औँ गाउँसभामा हाम्रो निमन्त्रणालाई स्वीकार गरी यस गाउँसभामा उपस्थित यस सभाका प्रमुख अतिथि बागमती प्रदेश, यूवा तथा खेलकुद मन्त्री मा. रत्न ढकालज्यू, सभाका विशेष अतिथि जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख दिपक गौतमज्यू, गाउँपालिका उपाध्यक्षज्यू, पूर्व अध्यक्षज्यू, उपाध्यक्षज्यू, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, गाउँसभा सदस्यज्यूहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु, सुरक्षाकर्मी, पत्रकार लगायतका सबै महानुभावहरुमा गाउँपालिकाको तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछु। यो महत्वपूर्ण क्षणमा देश र जनताका आमूल परिवर्तनका निम्ति जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न कालखण्डमा भएका विभिन्न आन्दोलन, संघर्ष र विद्रोहहरुमा उच्च बलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै बेपत्ता योद्धाहरूप्रति उच्च सम्मानका साथ घाइते अपाङ्‍गहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। जनयुद्ध, जनआन्दोलन र जनसंघर्षमा जनताले पुर्‍याएको योगदान र बलिदानको गौरवपूर्ण इतिहासले हामिलाई सँधै मार्गनिर्देश गरिरहनेछ।

    आदरणीय गाउँसभा सदस्यज्यूहरु

    नेपालको संविधान बमोजिम दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भई हाम्रो कार्यकालको प्रारम्भ भएको पहिलो वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुतिको चरणमा छौँ। हामी अहिले हरेक किसिमले महत्वपूर्ण संक्रमणकालमा गुज्रिरहेका छौँ। निर्वाचनको हिसाबले पहिलो आवधिक निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल समाप्त भइ दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकालको शुरुवाती चरणमा विगतका जनप्रतिनिधिले बिसाएका विकासका काम कारवाहीलाई नयाँ जनप्रतिनिधिले निरन्तरता र अझ सुधारिएको रुपमा उच्चस्तरले विकास गर्दै आजको बदलिएको परिवेशका जनताको आकांक्षा र मागलाई सम्बोधन गर्दै जानुपर्ने महत्वपूर्ण संघारमा उभिएका छौँ। यस बीचमा हाम्रा सामु चुनौती  र अवसर एवम् सम्भावना देखापरेको छ। विगतको जनप्रतिनिधिले गरेका राम्रा कामको अनुशरण गर्दै बाँकी अधुरा कामहरु पूरा गर्नुपर्ने, जनताको माग र अपेक्षा दिनानुदिन बढीरहेको छ त्यसलाई सम्बोधन गर्नुपर्ने, सूचना प्रविधिको विकासले गर्दा विकासको नयाँ नयाँ आयामहरु थप भैरहेको सन्दर्भमा त्यस अनुरुप अगाडि बढ्नु पर्ने, विगतका जनप्रतिनिधिले गरेका कार्यसम्पादनको स्तरलाई कायम राखी अझ थप स्तरीय कार्यसम्पादन गरेर देखाउनु पर्ने तर स्रोत साधनको हिसाबले विगतको भन्दा कुनै बढोत्तरी नभएको अवस्थाले गर्दा थप चुनौती बढेको छ भने अर्कोतिर अवसर र सम्भावनाको ढोका पनि खुलेको छ।

    आ.व. ०७८।०७९को संक्षिप्त समिक्षा

    आदरणीय सभासदस्यज्यूहरू,

    भौगोलिक रुपमा हामी सुगम जिल्लाका दुर्गम भेगमा रहेका छौँ। विगतदेखि नै पिछडिएको क्षेत्र भनेर चिनिने कोशिपारी हाम्रो गाउँपालिका उत्तर पूर्वी भागमा रामेछाप, सिन्धुपाल्चोक, दोलखासँग जोडिन पुगेको छ। गाउँपालिकाको  हिसाबले  हेर्ने हो भने हाम्रा ९ वटा वडाहरु मध्ये वडा नं १, २ र ३ माथिल्लो भेग, वडा नं ४, ५, ९ मध्य भेग र वडा नं ६, ७, ८ तल्लो भेग भनेर वर्गिकरण गर्न सकिन्छ। यी तीनै भेगमा ३ प्रकारको भौगोलिक अवस्थिति र त्यसले पार्ने प्रभावहरू छुट्टै खालका छन्, यसरी माथिल्लो भेगलाई लेक, तल्लो भेगलाई वेंशी पनि भन्न सकिन्छ जहाँ हावा पानी, उत्पादन आदि पनि फरक किसिमका छन्। तुलनात्मक हिसाबले माथिल्लो भेग विकट क्षेत्रभित्र पर्दछ र उत्पादनका हिसाबले पनि तीनै भेगहरु फरकफरक छन्। विकास निर्माणका हिसाबले पनि फरक नै रहेका छन्। चालु आ.व. ०७८/७९ का लागि गत वर्ष छनौट गरिएका विभिन्न योजनाहरुको विस्तृत समिक्षा गर्न त अहिले सम्भव छैन यद्यपि केहि कार्यान्वयनमा गएका र भएका योजनाहरुको बारेमा संक्षिप्तमा समिक्षा गर्ने कोशिस गरेको छु।

    आर्थिक विकास तर्फः

    चालु आ.व.मा छनौट भई सञ्चालनमा आएका योजनाहरुमा कृषितर्फ बीऊ-बिजन वितरण गर्ने, बिऊ उत्पादनका कार्यहरुमा हिउँदे तथा वर्षे घाँसका बिऊहरू वितरण, गाई भैंसी सुत्केरी भत्ता, सुँगुर बंगुरका पाठापाठी वितरण, कृतिम गर्भाधान आदी योजनाहरुले र निम्न आय भएका जनसमुदायमा कृषि औजारहरू अनुदानमा वितरण गर्ने कार्यले कृषकहरुमा उत्साह देखिएको छ र हाम्रो भूगोलमा कृषिलाई आधुनिकीकरणतर्फ लैजाने कुराको शुरुवात भएता पनि आम रुपमा कृषकहरुलाई व्यवसायिक उत्पादनतर्फ आकर्षण गर्ने कुराको पहल गर्नुपर्ने देखिन्छ।यो सँगै ठाउँ-ठाउँमा सिँचाई पोखरी तथा कुलो निर्माण कार्यले किसानहरुले थोरै भने पनि राहत महशुस गरेका छन् र सिँचाई कुलो तथा पोखरी निर्माण गर्ने कार्यलाई किसानका मागअनुसार तिव्रता दिनुपर्ने देखिन्छ।पशुपालन तर्फ व्यवसायिक बाख्रा तथा बंगुरका फर्महरु विस्तार गर्ने कार्य धिमा गतिमा अगाडी बढिरहेका छन्।त्यस्तै पर्यटन विकास तर्फ पदमार्ग, भ्युटावर, छ्योर्तेन, गुम्बा, मन्दिर, सहिदपार्क तथा शालिकहरु राख्ने कार्यले तिव्रता पाएको छ। कतिपय योजनाहरू ठेक्कामा जाँदा निर्माण व्यवसायीको ढिलासुस्तीले गर्दा समयमै सम्पन्न हुन नसकेता पनि सम्पन्नताको चरणमै रहेका छन्।

    ग्रामिण भेगमा रहेका विभिन्न प्रकारका सहकारीहरुमध्ये बचत तथा ऋण सहकारीहरु, कृषि सहकारी र बहुउद्देश्यीय सहकारीहरु सञ्चालनमा रहेका छन्,  तर एकाध बाहेक प्राय सहकारीहरू व्यवस्थित किसिमले सञ्चालन हुन सकिरहेका छैनन्। गाउँपालिकाले कृषि मल ढुवानीको लागि विगत वर्षदेखि नै भाडा अनुदान दिंदै आएकोमा यस वर्ष मल आपूर्ति गर्ने कुरामा राष्ट्रिय रुपमा नै समस्या देखा परेको हुँदा सहकारीहरुले समयमै मल आपूर्ति गर्न सकेका छैनन्। यस्तो अवस्थामा कालोबजारीको मारमा परी वर्षे वाली उत्पादनमा निकै नै ह्रास हुने देखिन्छ।

    सामाजिक विकास तर्फः

    शिक्षाः

    गाउँपालिकामा हाल १२ वटा मा.वि., एउटा क्याम्पस, २७ वटा आधारभुत विद्यालयहरु सञ्चालनमा रहेका छन्। भौतिक पूर्वाधारका हिसाबले प्राय सबै विद्यालयहरुमा पक्की भवनहरु निर्माण भईसकेका छन् भने दिन-प्रतिदिन विद्यार्थीसंख्या घट्दै जानाले विद्यालयहरू मर्ज गर्नुपर्ने स्थिती देखा परिरहेको छ। ४ वटा माविहरूमा प्राविधिक शिक्षा सञ्चालन भईरहेका छन्। गाउँपालिकाले छात्रवृत्ती लगाएतका अनुदानहरु नियमित दिँदै आएको भएता पनि स्थानीय विद्यार्थीहरु पर्याप्त मात्रामा त्यसतर्फ आकर्षित हुन सकेका छैनन् भने बाहिरी जिल्ला तथा गाउँपालिकाबाट प्राय विद्यार्थीहरु आउने गरेका छन्। स्थानीय गाउँपालिका भित्रका विद्यार्थीहरुले भन्दा बाहिरका विद्यार्थीहरुले नै गाउँपालिकाद्वारा प्रदान गरिएको छात्रवृत्ति तथा अनुदानको बढी उपयोग गरिरहेको अवस्था छ।गाउँबाट शहरतिर अध्ययन गर्न जाने विद्यार्थीहरुलाई गाउँमा फर्काउने चुनौती हामीले सामना गरिरहेको स्थितिमा गाउँगाउँमै रोजगारी सिर्जना गरी गुणस्तरीय शिक्षा प्रदान गर्नु अहिलेको मुख्य चुनौती हो। शिक्षा क्षेत्रमा गाउँपालिकाद्वारा गरिएको लगानीको प्रतिफल जति हुनुपर्ने हो त्यती हुन सकिरहेको छैन।

    स्वास्थ्यः

    गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाहरुलाई नेपाल सरकारद्वारा निशुल्क घोषणा गरिएका औषधीहरू गाउँपालिकाले व्यवस्था गर्दै आएको छ। प्राय सबै स्वास्थ्य संस्थाहरुको आफ्नै भवनहरु रहेको र नियमित सेवा प्रवाह भईरहेको छ। गाउँपालिका स्तरीय १५ शैयाको अस्पतालमा दक्ष जनशक्तिको व्यवस्थासहित सेवाप्रवाह भईरहेको छ। अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भईसकेको तर खानेपानीको लागि निर्माण व्यवसायीले समयमै खानेपानीको कार्य सम्पन्न नगरिदिँदा नयाँ भवनबाट सेवा प्रवाह गर्न सकिएको छैन। यद्यपि यस वर्ष भित्र काम सम्पन्न भई नयाँ भवनबाट सेवाप्रवाह हुने देखिन्छ। कोभिडको महामारी बीच जनस्तरबाट शुरु गरिएको अक्सिजन प्लाण्ट जडान कार्य सम्पन्न भएको छ।

    खानेपानीः

    गाउँपालिकाले अघि सारेको एक घर एक धाराको रणनैतिक योजना सम्पन्नताको अन्तिम चरणमा रहेको छ। विभिन्न कारणले खानेपानी समस्यामुक्त गाउँपालिका घोषणा गर्ने कार्य सम्पन्न हुन सकिरहेको छैन। यद्यपि ९ वडामध्ये एउटा वडाले एक घर एक धारा कार्यक्रम संपन्न गरिसकेको छ भने बाँकी वडाहरुमा मुहानका अभावले त्यो हुन सकिरहेको छैन। राष्ट्रिय स्तरको वृहत खानेपानीको योजना चौँरीखोला ढोकेडाँडा खानेपानी आयोजना सम्पन्न हुनासाथ सबै वडाहरुमा खानेपानी समस्या समाधान हुने देखिन्छ। उक्त आयोजनको कार्य झण्डै ८० प्रतिशत सम्पन्न भईसकेको छ।

    पूर्वाधार विकास तर्फः

    गाउँपालिकाका सबै टोल र सम्भव भएसम्म घरघरमा बाटो लैजाने कार्य प्राय पूरा भएको छ। हिउँद वर्षा भरी ती सडकहरुलाई चल्न सक्ने बनाउने र स्तरोन्नति गर्ने कार्य निरन्तर गर्नुपर्नेछ। गाउँपालिका केन्द्र जोड्ने एउटा मात्र सडक कालोपत्रे भईसकेको र अन्य रणनैतिक महत्वका सडकहरुलाई कालोपत्रे गरी ९ वटै वडालाई जोड्ने कुराले प्राथमिकता पाउनुपर्ने देखिन्छ। यसका लागि संघीय सरकार, प्रदेश सरकार लगायतका विभिन्न विकास साझेदारहरुसँग पहल बढाउनुपर्ने आवश्यकता देखिन्छ।संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त सशर्त, समपुरक योजनाहरू हाल कार्यान्वयनमा आईरहेका र कतिपय विषयगत कार्यालयहरुबाट प्राप्त योजनाहरुको कार्यान्वयनको थालनी सम्बन्धित निकायबाट अन्तिम अवस्थातिर शुरु गर्ने भएकोले समयमै सम्पन्न गर्ने कुरामा समस्या पारेका छन्।

     शुसासनतर्फः

    गाउँपालिका लगायतका सार्वजनिक सेवाग्राहीहरुलाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्ने कामकुराको थोरै अभाव देखिएको छ। कतिपय दरबन्दीहरुमा सम्बन्धित निकायले समयमै पदपुर्ती नगरिदिने, करारमा राख्न नमिल्ने र आएका कर्मचारीहरु छिटो सरुवा भई जाने कारणले केही समस्याहरु देखिएका छन्। उपभोक्ताहरुद्वारा कार्यान्वयनमा गएका योजनाहरु अन्तिम समयमा सम्पन्न गर्ने र भुक्तानीका लागि प्राय जसो अन्तिममा आउने भएकाले आवश्यक कागजात नपुग्ने र भुक्तानी गर्न झन्झटिलो हुने समस्याहरुलाई समाधान गर्न सम्बन्धित सबैको ध्यानाकर्षण हुन जरुरी छ। गाउँपालिकाको व्यवस्थित प्रशासनिक भवन नभएको र अस्थाई प्रकारको भवनबाट सेवा प्रवाह भईरहेकोले पनि कतिपय शाखा र विषयगत क्षेत्रलाई केही कठिनाई देखिएको छ। वडा नं १ र २ को  वडा कार्यालय भवन निर्माण अत्यन्त जरूरी देखिएको छ।

    राजश्व संकलनतर्फः

    आन्तरिक स्रोतका हिसाबले हामी असाध्यै कम स्रोत भएको गाउँपालिकामा पर्दछौं। हामीसँग भएका बालुवा गिट्टीहरुमा ठेक्का नलाग्ने, अन्य प्रकारका खानी, उद्योगहरू नभएका, वनजंगलको पनि व्यवस्थित उपयोग नहुने समस्याका कारण वडाहरुबाट प्राप्त मालपोत र विभिन्न सिफारिस दस्तुरहरु नै हाम्रो मुख्य आन्तरिक स्रोत रहेको हुँदा आन्तरिक राजश्व संकलन निकै न्यून रहेको छ।

    चालू वर्षको विकास योजनाहरुको विस्तृत समिक्षा यहाँ राख्न सकिएन। निर्वाचनको दौरानमा अधिकांश जनप्रतिनिधि, कर्मचारीहरू, उपभोक्ता समितिमा रहेका सदस्यहरु र आम जनसमुदायहरु झण्डै २ महिनासम्म व्यस्त रहनाले कतिपय योजनाहरुलाई समयमै सम्पन्न गर्न नसकिएको र हाल तिब्र गतिमा सम्पन्नताको अन्तिम चरणमा रहेका छन्। अब म यस गरिममामय सभामा आगामी आ.व. २०७९/०८० को वार्षिक नीति तथा  कार्यक्रम प्रस्तुत गर्न चहान्छु।

    आदरणीय गाउँसभा सदस्यज्यूहरु,

    संघीय सरकार, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त अनुदान, वित्तीय समानीकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान, राजश्च बाँडफाँडबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत नै हाम्रो बजेट निर्माणका मुख्य आधार हुन्। हामीलाई प्राप्त भएको स्रोत र हाम्रा आवश्यकताहरूको बिचमा निकै लामो दूरी रहेको छ । हाम्रा सबै आवश्यकताहरू हामीसँग हुने सिमित स्रोत र साधनबाट पूरा गर्न सम्भव छैन। यसर्थ आवश्यकताको पहिचान र त्यसलाई प्राथमिकीकरण गरी जति सक्दो आवश्यकता पूरा गर्नु हाम्रो दायित्व हुन आउँछ । जनसंख्या भुगोल र क्षेत्रका आधारमा वडा समितिहरुले वडाभरीका योजनाहरुलाई प्राथमिकीकरण गरेर विनियोजन गर्नका लागि निम्नानुसार बजेट व्यवस्था गरिएको छ भने बाँकी विकास बजेटलाई आवश्यकताका आधारमा विनियोजन गरि गाउँसभामा पेश गरिनेछ।

     वडा नं. १, २ र ९- प्रति वडा ४० लाख

    वडा नं. ४, ७ र ८- प्रति वडा ४५ लाख

    वडा नं. ३, ५ र ६- प्रति वडा ५० लाख

    आर्थिक विकास

    • हाम्रो गाउँपालिकाको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सकिने मूल आधारको रुपमा रहेको कृषि क्षेत्रमा रहेको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गरी व्यवसायीक तथा उत्पादनमुखी कृषि तर्फ किसानहरुलाई आकर्षित गर्न विगत वर्षदेखि शुरु गरिएको किसानसँग गाउँपालिका कार्यक्रमलाई अझै व्यवस्थित गरि निरन्तरता दिईनेछ।
    • भौगोलिक अवस्था, हावा पानी, माटोको अबस्था आदीको आधारमा विज्ञहरुको परामर्शबाट कुन कुन वडामा के के कृषि उत्पादनको सम्भावना छ भन्ने अध्ययन गरी कृषि पकेट क्षेत्र निर्धारण गरिनेछ।
    • कृषिका पकेट क्षेत्रहरुको विस्तार गरी उन्नत बिऊ उत्पादनका कार्यलाई वैज्ञानिक ढंगले अगाडी बढाइनेछ र रैथाने बालीहरुको संरक्षण र उत्पादनलाई प्रोत्साहन दिइनेछ।
    • समय समयमा आवश्यकताअनुसार किसानहरुको माटो परिक्षण गर्ने र बाली बिरुवामा लाग्ने  रोगहरुको उपचारको लागि आवश्यक व्यवस्था गरिनेछ।
    • किसानहरुद्वारा उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्‍याउनका लागि ओसारपसार गर्ने ढुवानी साधनको व्यवस्था गरिनेछ।
    • प्रत्येक वडामा कृषि संकलन केन्द्र स्थापना गर्ने र मुख्य संकलन केन्द्रसम्म ल्याई बजारसम्म लैजानका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
    • पालिकस्तरमा कृषि कोल्ड स्टोर निर्माण गर्न यसै वर्षबाट आवश्यक पहल गरिनेछ।
    • उत्पादनमुखि बिऊ उत्पादन गर्ने कृषकसमूहहरुको लागि आवश्यक मल, बिऊ, औषधिहरुको व्यवस्था गरिनेछ।
    • सहकारीहरुमार्फत किसानहरुलाई वितरण गरिने मलको लागि सदरमुकामदेखि प्रत्येक वडासम्म ढुवानी भाडा गाउँपालिकाले व्यहोर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ।
    • कृषकहरुलाई आवश्यक कृषि औजार तथा बाली बिऊहरु वितरण गरी कृषिलाई आधुनिकिकरण र व्यवसायिक उत्पादन प्रणालिमा लैजान पहल गरिनेछ।
    • कृषि, पशुपालनमा सिर्जनशिल, नमूना कार्य गरि स्थापित उत्कृष्ट उद्यमी किसानहरुलाई पहिचान गरि पुरस्कृत गरिनेछ।
    • गाउँपालिका भित्र कृषि, पशुपालनमार्फत उद्यम विकास गर्ने यूवाहरु लक्षित विशेष यूवा स्वरोजगार कार्यक्रम सञ्चालन गरिनेछ।
    • बेमौसमी तरकारी तथा नगदेबाली उत्पादन गर्ने किसानहरुलाई आवश्यक सहयोग र प्रोत्साहन गरिनेछ।
    • उन्नत बिऊ उत्पादन कार्यक्रम अन्तर्गत उत्पादित उन्नत जातका बिऊहरुको ल्याब परिक्षण गरी गाउँपालिकाभरिका किसानहरुलाई वितरण गर्नका लागि गाउँपालिकाले किसानहरुसँग खरिद गरि ५०% अनुदानमा किसानहरुलाई बिऊ वितरण गरिनेछ।
    • सिँचाई सुबिधा नभएका उर्वर तथा उत्पादनशिल जमिनहरुको सिँचाईको व्यवस्था गरिनेछ।
    • आवश्यक स्थानहरुमा सिँचाई पोखरी र कुलोहरु निर्माण गरिनेछ।
    • गत वर्षदेखि निर्माणाधिन अवस्थामा रहेका मादन कुडारी लिफ्ट सिँचाई तथा खानेपानी आयोजना, पोखरी राम्चे लिफ्ट सिँचाई योजना, भालूखोला सिँचाई आयोजना, मूलवेशी सिँचाई आयोजना लगायतको योजनाहरुलाई छिट्टै सम्पन्न गर्न आवश्यक पहल गरिनेछ।
    • पशूधन विमा कार्यक्रमलाई विगतदेखि नै गाउँपालिकाले ५०% अनुदान दिने व्यवस्था गर्दै आएको तर प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकिरहेको हुँदा यसलाई प्रबावकारी रुपमा सञ्चालन गर्न जोड गरिनेछ।
    • बाख्रापालनलाई थप उत्पादनमुखी बनाउनका लागि बाख्रा पकेट क्षेत्रलाई विस्तार गर्ने र उन्नत जातका बोका पाठीहरू उत्पादन गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ।
    • बंगुरका पाठापाठी उत्पादन तथा वितरण गर्ने कार्यलाई वृद्धी गरी व्यवसायिकरण गर्नका लागि आवश्यक अनुदानमा वितरण गर्ने कार्यलाई प्रभाकारी बनाईनेछ।
    • गाई तथा भैंसीपालक किसानहरुलाई प्रोत्साहन गर्न तोकिएको दुग्ध संकलन केन्द्रमा लगि दुध विक्री गर्ने किसानलाई प्रतिलिटर दुधमा रु. २ का दरले थप गरि किसानलाई उपलब्ध गराईनेछ।
    • सुत्केरी गाई भैंसीलाई यस अघि दिइदै आएको सुत्केरी भत्तामा रु. ५०० थप गरी रु. २०००।- पुर्‍याइनेछ।
    • गाउँपालिका भरी कृषि उत्पादन र पशुपालनलाई आवश्यक प्राविधिक सेवा उपलब्ध गराउन प्रत्येक वडामा कृषि/पशु प्राविधिकको व्यवस्था गरि सेवा प्रवाह व्यवस्थित गरिनेछ।
    • पशु सम्बन्धि विभिन्न किसिमका रोग तथा महामारी, रेबिज नियन्त्नणका लागि आवश्यक औषधि तथा खोपको व्यवस्था गर्ने प्रक्रियालाई थप प्रभावकारी बनाइनेछ।
    • समय समयमा पशुधन सुरक्षाको लागि आवश्यकताअनुसार पशु स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ।
    • यस गाउँपालिका भित्र दर्ता भई सञ्चालनमा रहेका सहकारीहरुलाई थप प्रभावकारी रुपमा सञ्चालनन गर्न आवश्यक कार्यक्रम बनाईनेछ भने निष्कृय रहेका सहकारीहरुलाई आवश्यकता अनुसार नियमन गरिनेछ।
    • प्रत्येक वडाहरुमा फलफूल लगायतका बोटबिरुवा विकासका लागि नर्सरी स्थापना गरी कृषिमा व्यवसायीकरणमा जोड दिईनेछ।
    • गाउँपालिका भित्र रहेका ऐतिहासिक महत्वका मठ मन्दिर, गुम्बा, पदमार्ग र पोखरीहरुको संरक्षण र जिर्णोद्वार गरि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरिनेछ।
    • भ्यूटावर, युद्ध पर्यटन पदमार्गसँग जोडिएका स्थानहरुमा होम स्टे सञ्चालन गर्न युवा तथा उद्यमीहरुलाई प्रोत्साहन गरिनेछ।
    • पर्यटन प्रवर्द्धनका लागि गाउँपालिका भरिका सहिद तथा वेपत्ता योद्धाहरुको स्मरणमा एउटा केन्द्रिकृत सहिद तथा वेपत्ता पार्क निर्माणका लागि आवश्यक पहल गरिनेछ।
    • प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडी बढाईनेछ।
    • महिला, दलित तथा अपाङ्गहरुलाई स्वरोजगार बनाउनका लागि आवश्यक तालिम व्यवस्था गरिनेछ।
    • वेरोजगार युवाहरुलाई श्रम सँग जोडी आएआर्जनका लागि श्रम सहकारी निर्माण गरी आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।

    सामाजिक विकास

    • विद्यार्थी संख्या, भुगोल र आवश्यकताको आधारमा विद्यालयलाई मर्ज गरी शिक्षक दर्वन्दी मिलान गरिनेछ भने खाली भएका विद्यालयका भौतिक संरचनाहरुलाई सार्वजनिक महत्वका प्रयोजनका लागि प्रयोग गरिनेछ।
    • विद्यालयको पठनपाठन तथा सञ्चालन कार्य प्राभावकारी र नतिजामुखि बनाउनको लागि अनुगमन कार्यलाई कडाईपुर्ब लागू गरिनेछ।
    • गुणस्तरीय शिक्षा आजको आवश्यकताको मूल मर्मलाई आत्मसात गर्दै गाउँपालिकाभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षकहरुका लागि तालिम लगायत आवश्यक शैक्षिक सामाग्रीहरु, शिक्षण विधिहरुको उचित व्यवस्थापन गर्न जोड गरिनेछ।
    • स्थानीय भाषा, संस्कृति, कला, साहित्य, भौगोलिक विवरण, प्राकृतिक श्रोतसाधन आदी विवरण समेटिने गरी यस गाउँपालिकाको प्राथमिक तहको लागि स्थानीय पाठ्यक्रम निर्माण गरी पठनपाठनमा जोड दिईनेछ।
    • सबै तहका परीक्षालाई व्यवस्थित मर्यादित र परिणाममूखि बनाउन पालिकास्तरीय परीक्षा समितीलाई थप सुदृढीकरण गरी मूल्याङ्कन बिधि थप प्रभावकारी बनाईनेछ।
    • गाउँपालिकाभित्र संचालित प्राविधिक शिक्षालयमा र विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुलाई दिईदै आएको छात्रवृत्ती यथावत कायम गरिनेछ।
    • सामुदायिक विद्यालयमा अध्ययनरत उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने कार्यलाई यथावत राखिनेछ।
    • बालकोटाका शिक्षकहरुलाई विगतमा थप गरिएको मासिक रु. १५००।- मा रु. ५००।-  थप गरि रु. २०००।- पुर्‍याइनेछ।
    • सबै वडामा रहेका स्वास्थ्य चौकीहरु, सामुदायिक स्वास्थ्य ईकाइहरुमा आवश्यक स्वास्थ्य उपकरण, ल्याब, मेसिन, जनशक्तिको व्यवस्था गरी प्रभावकारी ढंगले स्वास्थ्य सेवा प्रदान गरिनेछ।
    • चौँरीदेउरालीमा संचालित अस्पतालको स्तरोन्नती गरी ICU र भेन्टिलेटर सहितको सेवा प्रवाह गर्नका लागि आवश्यक पहलकदमी लिईनेछ।
    • आवश्यकताको पहिचान गरी विभिन्न स्वास्थ्य समस्याहरु समाधान गर्न विभिन्न संघ संस्थासंग सहकार्य गरी निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरिनेछ।
    • गाउँपालिकाका ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुका लागि गाउँपालिका भित्र अबस्थित अस्पतालमा निःशुल्क स्वास्थ्य परिक्षण र औषधी उपचारको व्यवस्था गरिनेछ।
    • गाउँपालिकाको बर्थिङ सेन्टर र अस्पतालमा सुत्करी हुने यस गाउँपालिका भित्रका महिलाको लागि एम्बुलेन्स सेवा निःशुल्क गरिनुका साथै गाउँपालिकाका स्वास्थ्य चौकी र अस्पतालबाट गर्भवती महिलाहरुलाई निःशुल्क क्याल्सियम चक्की उपलब्ध गराइनेछ।
    • यस गाउँपालिकाभित्र भवितब्य परि मृत्यू भएका यस गाउँपालिकाका गरीब तथा विपन्न नागारिकको पोष्टमार्टम गर्न अस्पतालमा लैजाने शवबाहन खर्च गाउँपालिकाले उपलब्ध गराउनेछ।
    • प्रत्येक वडामा १ खेलमैदान निर्माण गरिनेछ र सम्भव भएसम्म प्रत्येक विद्यालयमा एउटा खेल मैदान निर्माणको लागि आवश्यक पहल गरिनेछ।
    • विभिन्न खेल र प्रतिभा भएका यूवाहरुको क्षमता अभिवृद्धी गरि विकास गर्न र आवश्यक प्रोत्साहन गर्न नियमित प्रतियोगिता सञ्चालन गरिनेछ।
    • गाउँपालिकाले विगतदेखि प्राथमिकतामा राखेको एक घर एक धारा कार्यक्रम सम्पन्न गर्न विशेष पहल गरिनेछ।
    • परम्परागत र सानातिना खानेपानीको मुहान तथा श्रोत संरक्षण गरि उपपयोग गर्ने कार्यलाई अझै व्यवस्थित गरिनेछ।
    • जनयुद्ध जनआन्दोलनमा राज्य पक्ष र विद्रोही पक्षबाट हत्या गरिएका र वेपत्ता पारिएका परिवारहरुलाई मासिक रुपमा दिँदै आएको दुई हजारलाई एक हजारले वृद्धि गरि मासिक तीन हजार कायम गरिनेछ।
    • महिलाद्वारा संचालित उद्यमहरूलाई विशेष प्रोत्साहन गरिनेछ।
    • बालमैत्री स्थानिय शासन राणनीति २०६८ ले बालमैत्री स्थानीय शासनका लागि तोकेको सूचकहरुलाई न्यूनतम सूचक मानि पुरा हुन बाँकी रहेका सूचकहरु पुरा गर्नको लागि आवश्यक पहल गरिनेछ।
    • गाउँपालिकावाट तयार गरिएको बालसंरक्षण नीतिलाई पूर्ण रुपमा लागु गरि सो को अनुगमन समेत गरिनेछ।
    • गाउँपालिकालाई बाल विवाह तथा महिला हिंसामुक्त मुक्त गाउँपालिका बनाउनको लागि आवश्यक पहल कदमीको शुरुवात गरिनेछ।
    • व्यक्तिगत घटना दर्तामा सबै वडाहरुबाट अनलाइन सूचारु गर्नका लागि आवश्यक बजेटको व्यस्थापन गरिनेछ।
    • सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाट बैंक मार्फत वितरण गर्नका निमित्त आवश्यक व्यवस्था गरिनेछ।
    • यस गाउँपालिका भित्र रहेका कला, संस्कृति, भाषा, साहित्य आदी संरक्षण र प्रवर्द्धनका लागि आवश्यक संस्थागत संरचना विकास गरी आवश्यक कार्यक्रम गरिनेछ।

     

    • सडक तथा भौतिक पूर्वाधार
    • गाउँपालिकाका अधिकांश टोलमा कच्ची बाटो निर्माण भईसकेकोले अत्यावश्यक बाहेक नयाँ ट्र्याक खोल्ने कार्यलाई निरुत्साहित गरि पुराना सडकहरू बाह्रै महिना सञ्चालनमा ल्याउने गरी स्तरोन्नतीको लागि विशेष जोड गरिनेछ।
    • सबै वडाबाट गाउँपालिका केन्द्र जोड्ने मुख्य एक/एक वटा सडकलाई ग्राभेल/कालोपत्रे गर्न एक वर्षिय, बहुवर्षिय, क्रमागत योजनामा समावेश गर्न विशेष जोड गरिनेछ।
    • मध्य पहाडी लोकमार्गसँग जोड्न बाँकी रहेका वडा नं ३ र २ लाई चौंरीखोला कोरिडोर सडक खण्डले जोड्ने गरी यसै वर्षदेखि कामको शुरुवात गरिएको छ।यसलाई लामाबगर नाका हुँदै चिनसँग जोड्न लामाबगर मध्यपहाडी लोकमार्ग सडकलाई सम्पन्न गर्न सिन्धुपाल्चोक र दोलाखा जिल्लासँग समन्वय गरि कार्य अगाडी बढाईनेछ।
    • सामुदायिक विद्युतीकरण भएका वडाहरुमा काठका पोलहरु विस्थापित गरि स्टील पोल राख्न सम्बन्धित निकायसँग समन्वय गरी कार्य गरिनेछ भने मिति गुज्रेका सामुदायिक विद्युतीकरण भएका वडालाई राष्ट्रिय प्रसारण लाईनबाट विद्युतीकरणमा जोड दिईनेछ।
    • उपभोक्ता समितिको काम कारवाहीलाई थप व्यवस्थित बनाउन आवश्यक कानुनमा सुधार गरिनेछ ।
    • ठेक्का प्रकृयालाई थप व्यवस्थित गरी समयमानै कार्य सम्पन्न गर्न आवश्यक पहल गरिनेछ ।
    • विभिन्न सरकारी एवम् गैरसरकारी निकायसँग लागत साझेदारीमा हुने कार्यक्रमहरु सञ्चालन गरिनेछ।
    • नाग्रेमा भएको एकिकृत वस्ती विकास कार्यक्रमलाई यथासिघ्र कार्यान्वयनको लागि विशेष पहल गरिनेछ।
    • वडा नं १ र २ का वडा कार्यालय भवन र उपयुक्त स्थानमा गाउँपालिकाको प्रशासनिक भवन निर्माणको लागि आवश्यक कदम चालिनेछ।
    • विभिन्न सूचना र खबर प्रवाहलाई जनतामाझ पुर्‍याउनको लागि स्थानीय तहमा FM सञ्चालनको लागि आवश्यक पहल गरिनेछ।

     

    • वन वातावरण तथा विपद व्यवस्थापनः
    • सामुदायिक वनहरुलाई नियमन गर्न र सल्लो प्रजातीका उमेर पुगका रुखहरुलाई क्रमशः विस्थापित गरी अन्य बहुउपयोगि बिरुवाहरू वृक्षारोपण गर्न आवश्यक तयारी गरी कार्यान्वयन गर्न पहल गरिनेछ।
    • सामुदायिक वनको दिगो तथा वैज्ञानिक उपयोग तथा व्यवस्थापन गर्न आवश्यक ऐन तथा नियमावलीहरु बनाई कार्यान्वयन गरिनेछ।
    • सुधारिएको चूलो, वायोग्याँस सोलार जस्ता वातावरणमैरत्री नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगलाई प्रोत्साहन गरिनेछ।
    • भैपरि आउने विपद व्यवस्थापनका लागि स्थापना गरिएको विपद व्यवस्थापन कोषलाई  आवश्यक बजेट व्यवस्था गरिनेछ।
    • स्थानीय स्तरमा जलवायू परिवर्तनको बढ्दो असरलाई न्यूनीकरण गर्न जलवायू परिवर्तन न्यूनिकरण र अनुकुलनको लागि आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ।

     

    • सुशासन तथा संस्थागत विकास
    • गाउँपालिका र मातहतका कार्यालयहरुमा दरबन्दी अनुसार कर्मचारीहरुको व्यवस्थापन गर्न आवश्यक पहलकदमी लिइनेछ।
    • गाउँपालिका र मातहतका कार्यालयहरुमार्फत प्रवाह गरिने सेवा प्रभावकारी र सर्वसुलभ ‍हुने कुराको सुनिश्चितता गरिनेछ।
    • जनप्रतिनिधि र कर्मचारिको कानुनी, प्रशासनिक तथा प्राविधिक क्षमता विकासको लागि आवश्यक तालिम र प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ।
    • अप्टिकल फाइवरबाट सबै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य चौकीहरुमा गुणस्तरिय इन्टरनेट सेवा प्रदान गर्ने कार्यको लागि ठेक्का प्रक्रिया सुरु भई अन्तिम चरणमा पुगेकोले यथासम्भव कार्य सम्पन्न गरिनेछ।
    • जिल्ला नापी कार्यालयसँग आवश्यक समन्वय गरी गाउँपालिकामा भूमिसम्बन्धी नापजाँच सेवा सर्वसुलभ बनाउन पहल गरिनेछ।
    • कार्यालय सेवा प्रभावकारी बनाउनको लागि सूचना प्रविधिको अधिकतम प्रयोग गरिनेछ।
    • अति आवश्यक भैपरी आउने र विपद् व्यवस्थापन जस्ता योजना तथा कार्यहरु गर्न तत्काल वैठक बसी निर्णय गर्ने अबस्था नभएमा पछि बैठकमा अनुमोदन गर्ने गरी तोक आदेशबाट कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ।

     

    अन्तमा, यस नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण सभासदस्यहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी मित्रहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र सम्पूर्णलाई हार्दिक धन्यबाद दिँदै यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक आभार व्यक्त गर्दछु।चौँरीदेउरालीको विकास लागि संघ र प्रदेश सरकारबाट आवश्यक बजेट व्यवस्था गरी निरन्तर गाउँपालिकासँग हातेमालो गर्ने यस क्षेत्रका संघीय सांसद, प्रदेश सांसद विभिन्न राजनैतिक दलका नेता लगायतका सम्पूर्ण महानुभावहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।

    धन्यबाद!!

    मितिः-  २०७९।०३।१०

    रेणुका चौंलागाई

        अध्यक्ष

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार