२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

कार्ल माक्र्सको त्यो घर


२९९० पाठक संख्या

विजय सापकोटा म पुग्दा अबेर सुतेको लन्डन राम्रोसित ब्युँझिएको पनि थिएन । बिहानको साँढे एघार

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन १५, बुधबार मा प्रकाशित ५ साल अघि
  • विजय सापकोटा

    म पुग्दा अबेर सुतेको लन्डन राम्रोसित ब्युँझिएको पनि थिएन । बिहानको साँढे एघार बजिसकेको थियो । डिसेम्बरको आइतबार । चिसो अनि धुम्मिएको ग्रे कलरको बिहानीमा म भने जोसिएर हिँडिरहेको थिएँ ।

    त्यसो त यहाँ आइपुग्दा मैले कताकती बाटो बिराउँदै, फेरि पहिल्याउँदै आएको थिएँ । धेरैपटक आसपासबाट हिँडेर पनि कहिल्यै नछिरेको सोहो स्क्वायर हुँदै म यहाँसम्म आउन चाहन्थेँ तर भइदियो के भने मोबाइलमा नेट नचलेपछि गुगल गाइडलाई मैले बिदा गर्नुपरेको थियो । त्यसैकारण यहाँसम्म आइपुग्न मैले धेरैवटा मझौला र साना सडक अनि गल्लीका शाखा प्रशाखा छिचोल्नुपरेको थियो ।

    ट्रेन स्टेशनबाट सीधा बाटो हिँड्दा यस्तै सात आठ मिनेटमा आइपुगिने त्यो ठाउँमा मैले झन्डै पैँतालीस मिनेट लगाइसकेको थिएँ । खालि उही सोहो स्क्वायरलाई घरि यता त घरि उताबाट परिक्रममा गर्दै अल्झिरहेको पो रहेछु । अन्त्यमा पिसाबको कडा गन्ध आउने एउटा फोहोर गल्लीमा म फस्न पुगेँ, जहाँ नाक फुट्ने गरी पिसाब र बियरको मिश्रित दुर्गन्ध आइरहेको थियो । लण्डनमा पनि यस्तो गल्ली !? मैले कल्पनासम्म पनि गरेको थिइनँ । पिसाबका टाटै टाटा लागेको सडकमा नाक थुन्दै सिकसिको मान्दै म चोकमा निस्किएँ । सायद यो कुनै नाइटक्लब थियो, जहाँ राति अबेरसम्म मातिएकाहरुले बाहिरै तुक्र्याइदिएका थिए । चोकबाट दाहिने घुमेपछि बल्ल म यहाँ अर्थात् डिन स्ट्रि«ट आइपुगेँ । त्यसपछि चाहिँ बल्ल म ढुक्क भएको थिएँ । अब मेरो ध्यान पुरै घरहरुतिर थियो । मलाई खोज्नुथियो २६– २८, अर्थात्, कार्ल माक्र्सको ट्रयाजिक घर । अलिक अगाडि पुगेपछि भेटियो ‘क्व भाडिस’ रेष्टुरेन्ट जसको माथिल्लो तलाका दुई साँघुरा कोठामा कार्ल माक्र्सले सपरिवार आफ्नो जीवनका कहरलाग्दा पाँच वर्ष र साँढे तीन महिना जति समय बिताएका थिए ।

    माक्र्सको भुइँतलाको रेष्टुरेन्ट भने ब्युँझिसकेको थियो, बाहिर कफी पिइरहेकाहरु देखिए । वरिपरिका सटर बन्द थिए । पारिपट्टि लहरै कार पार्क गरिएका थिए । खाली सडक काटेर म पारि पुगेँ र पेटीमा उभिएर एकोहोरो घरतिर हेर्न थालेँ । जर्जियन कालमा सन् १७३४ मा बनेको यो बिल्डिङ ऐतिहासिक महत्वको रुपमा सूचिकृत पनि गरिएको छ । माक्र्सको नामको नीलो प्लेट (लन्डन कन्ट्री काउन्सिलले इतिहासप्रसिद्ध व्यक्ति र घटनासँग सम्बन्धित स्थानहरुमा यस्ता नीला प्लेटहरु राख्ने गर्दछ ।) लाई बीचमा पारेर तेस्रो तल्लाका दुवै कुनामा ठूला बेलायती झण्डा फहराइएको छ ! नीलो प्लेटमा कार्ल माक्र्स यहाँ १८५१ देखि १८५६ सम्म बस्ने गरेको कुरा उल्लेख गरिएको छ । तर यो मितिमा विवाद छ । माक्र्सका जीवनीकारहरु भन्छन् माक्र्स डिसेम्बर १८५० मै यहाँ आएका थिए । यसअघि करिब सात महिना माक्र्सको परिवार यतै नजिकै ६४ डिन स्ट्रि«टमा बसेको थियो जहाँबाट एक वर्षकी छोरी गुइडोको मृत्युपछि घरभाडा तिर्न नसकेर उनीहरु निकालिएका थिए ।

    यद्यपि यो घर कुनै संग्राहलय पनि होइन न त पुस्तकालय नै । यो नितान्त निजी घर हो । कार्ल माक्र्स बसेको प्रमाण ठोकिएको नीलो प्लेटबाहेक यहाँ माक्र्सको नामको कुनै पनि कुरा छैन । तैपनि यो घरको माथिल्लो तलाको अघिल्तिरको यो देखिने कोठा र यसको पछिल्तिर रहेको अर्को कोठासँग कार्ल माक्र्सको जीवनका सबैभन्दा तनावपूर्ण र विवादित वर्षहरु गाँसिएका छन् । प्रभावशाली व्यक्तित्व र उसित सम्बन्धित कुनै पनि भौतिक चीजबीज अस्तित्वमा नरहे पनि उसको मनोवैज्ञानिक प्रभाव भने परिरहँदो रहेछ साक्षात् भौतिकरुपमा भएझैँ । माक्र्सको कोठाको झ्यालतिर एकोहोरो तन्किरहँदा मेरो मनमा भने बाक्लो कपाल र दारीभित्र उज्यालो अनुहार लगाएका माक्र्सको चित्र आइरहेथ्यो ।

    मेरो बाल्यकालमा औपचारिक शिक्षाले सबैभन्दा बढी रटाएका महामानव थिए गौतम बुद्ध, त्यसपछि क्रमशः गान्धी र अब्राहम लिंकन आए । त्यसो त सामाजिक किताबमा वर्णन गरिएका विभिन्न नामधारी ‘शाहदेव’र तिनको छत्रछायामा लडेका बहादुर सेनापतिका तस्विरहरुले पनि दिमागमा राम्रैसित घर बनाएका थिए । अनि साथमा सातसालका चार शहीद पनि । एकदिन बुबा, दाइहरुको किताबको संग्रहको चाङबाट कसो हो कसो पहेँलो कार्डबोर्डको गाता भएको एउटा पातलो किताब फुत्त झर्यो – ‘कम्युनिष्ट पार्टीको घोषणा पत्र’ नाउँको । पञ्चायतको अन्तिम समय थियो त्यो । घरमा भेटिएका झिसमिसे, उत्साह, संकल्पजस्ता पत्रिकाहरुमा कम्युनिष्ट शब्द धेरै सुनेको पनि थिएँ, ‘मारकस’ (माक्र्स उच्चारण गर्न मैले धेरैपछि मात्रै जानेको हुँ), लेनिन, माओ जस्ता नामहरु धेरै देखेको पनि हो । तर कथाबाहेक केही पढ्ने गरिएको थिएन । त्यही पहेँलो गातामा मुस्किलले नराम्रो छपाइ भएको रेखाचित्रमा पहिलो देखेदेखि मारकस उर्फ माक्र्सको औपचारिक अनुहार पनि मेरो दिमागमा बसेको हो, आजपर्यन्त छ । तिनै माक्र्ससित जोडिएको घरअगाडि उभिँदा मेरो मनमा भने माक्र्सको वैचारिक पाटो, चिन्तन अथवा दार्शनिक योगदानको बारेमा कुनै भावुकता जागृत भइरहेको थिएन । मेरो मनमा खालि माक्र्स र उनको परिवारले यो घरमा गुजारेका कष्टसाध्य दिनहरुका बारेमा सुनेका र पढेका कुराहरु खेलिरहेका थिए ।

    युग युगसम्म बाँच्ने एउटा व्यक्तित्वको निर्माण त्यतिकै हुँदैन । आज मानिसहरुले अत्यन्तै आदरपूर्वक र अत्यन्तै घृणापूर्वक दुवै किसिमले बराबर सम्झिइने व्यक्तित्वमा शायद माक्र्स नै पहिलो नम्बरमा पर्न आउँछन् जसको विचारले बीसौँ शताब्दीको मानव इतिहासलाई नै परिवर्तन गर्नसक्ने सामथ्र्य राख्यो । तर त्यही व्यक्तित्व आफ्नो समयमा यो घरमा कति लाचार अनि विवश जीवन बाँचिरहेको मात्रै थिएन आफ्नो दार्शनिक महत्वाकांक्षाका लागि सिंगो परिवारलाई ‘शहीद’ समेत बनाइरहेको थियो ।

    सन् १८४९ को समरमा लण्डन छिरेदेखि नै कार्ल माक्र्सको जीवन झन्झटले भरिएको थियो । जर्मनको ट्रिअरका प्रभावशाली घरानाका माक्र्सले आफूलाई राजनीतिमा होम्ने निर्णय गरेदेखि नै दुःख उनको साथी बनिसकेको थियो । फ्रान्स र बेल्जियमको निर्वासनबाट पनि अझ यता लण्डनतिर हुत्याइँदा दुःखहरु झनै थपिँदै गएका थिए ।

    माक्र्सकालीन लण्डन चाल्र्स डिकेन्सका उपन्यासमा वर्णन गरिएभन्दा अझ क्रूर र अँध्यारो थियो । त्यसमाथि आप्रवासीहरुको बाहुल्यता भएको यो सोहो क्षेत्रको हालत अझै डरलाग्दो थियो । युरोपका विभिन्न देशबाट गहलत्याइएका, भागेका अथवा निर्वासित भएकाहरुको बाहुल्यता भएकाले यो बहुभाषिक र बहुसांस्कृतिक त छँदै थियो सँगसँगै बहुल बिकृतिहरुले युक्त पनि थियो । चोरी, बेश्यावृत्ति, गरिबी, हुल्लडबाजी यहाँका पहिचान बनिसकेका थिए । पछि बीसौँ शताब्दीमा गएर त यो लण्डनको प्रमुख यौन बजार बनिसकेको थियो । यद्यपि पछि यसलाई रोकथाम र व्यवस्थित गरियो । तर अझै पनि साँझको बेला यदि यहाँका साँघुरा गल्ली र फुटपाथमा यदि तपाईँ अलमलिँदै हिँड्नुभयो भने कुनै वेश्या, स्ट्रिप क्लबका दलाल या ड्रग बेच्नेहरुको कुशल व्यवसायिक आँखाको ‘इन्काउन्टर’ मा पर्नसक्ने प्रबल सम्भावना रहन्छ ।

    माक्र्स पत्नी जेनीको शब्दमा यो ‘एभिल’ कोठा असाध्यै डरलाग्दो थियो । माक्र्सलाई भेट्न पुग्नेहरुले वर्णन गरेको आधारमा सहयोगी लेन्चन र तीन बच्चासहित ६ जनाको परिवारका निम्ति त्यो साँघुरो त छँदैथियो, यो त्यत्तिकै फोहोर पनि थियो । त्यहाँ कुनै पनि सग्ला फर्निचर थिएनन् । घरका सामानको हालत ‘सेकेन्ड ह्यान्ड सामान बेच्ने व्यापारीले पनि लाज मान्ने’ अवस्थामा थियो । यतिखेर माक्र्स ब्रिटिश म्युजियमको रिडिङ रुममा नियमित रुपमा अध्ययन गर्न जान्थे । उनको ध्यान अर्थशास्त्रको व्यापक अध्ययनमा थियो । जतिबेला बेलायती महारानी भिक्टोरिया संसारको ठूलो भूभागमा कब्जा जमाएको बेलायती साम्राज्यले संसारलाई नयाँ स्वरुपमा एकीकरण गरेको उद्घोष गर्दै थिइन् त्यही साम्राज्यको केन्द्रमा बसेर माक्र्स भने यी र यस्ता शोषण र दमनका अनेक जडहरुलाई उन्मूलन गर्ने उपायहरुको खोजीमा दिमाग खियाइरहेका थिए । रित्तो पेटमाथि सुन्दर सपना भरिएको दिमाग बोकेका माक्र्सको लागि यो चिन्तन गर्नु सहज थिएन । किनभने सपना त उनको दिमागमा पो थियो तर उनको अगाडि भोको र रोगी सिंगै परिवार थियो । पत्रिकामा लेख छपाएको भरमा परिवारको भरणपोषण गर्नु त्यति सहज थिएन ।

    माक्र्स निर्वादरुपमा आफ्नो अध्ययनमा जुट्न पाइरहेका थिएनन् । एकपछि अर्को बिरामीका कारण घर अस्पतालजस्तो भइरहेको थियो । नियमित कमाइ थिएन, रिन बढ्दै बढ्दै गइरहेको थियो । म्यान्चेष्टरमा रहेका एंगेल्सले पठाइदिने गरेको २ पाउण्ड या ५ पाउण्डले परिवारको दुःखलाई केही कम त गरेको थियो तर समस्याबाट मुक्त बनाउन सक्ने सम्भावना थिएन । पोषणयुक्त खानाको अभावमा केटाकेटी रोगी, ख्याउटे थिए । यहाँ आएपछि जेनीले अर्की छोरीलाई जन्म दिइन । त्यही समयमा परिवारमा अर्को अनावश्यक दुःख निम्तिने काम भयो सहयोगी लेन्चनबाट बाबुको पहिचान नभएको बच्चा जन्मियो । खासमा त्यो बच्चाका बाबु माक्र्स थिए । माक्र्सको जीवनको यो सबैभन्दा भयानक गल्ती थियो । दुःखमाथि यो दुःख त छँदै थियो, यो जेनीप्रतिको माक्र्सको सबैभन्दा ठूलो विश्वासघात थियो । यसले परिवारमा अत्यन्तै ठूलो मानसिक तनाव उत्पन्न गरायो । लोकल पवहरुमा माक्र्स सबैभन्दा हास्यका पात्र बने । तर योभन्दा गम्भीर कुरा माक्र्सको पारिवारिक जीवनका साथमा उनले आजसम्म गरेको सबैभन्दा ठूलो लगानी डुब्ने पक्का तयारीमा थियो ।

    तर माक्र्सलाई यो दुःखबाट पार गराउने पनि कोही थियो । ती थिए एंगेल्स, जेनीको भाषामा ‘ग्रेट कटन लर्ड’ । उनले लेन्चनको गर्भको जिम्मा आफूले लिएर माक्र्सलाई बचाइदिए । लेन्चनबाट छोराको जन्म भयो र उसलाई पूर्वी लन्डनमा ‘फोस्टर प्यारेन्ट’ को जिम्मा लगाएपछि यो च्याप्टरको अन्त्य भयो ।

    यो घरमा रहँदा माक्र्सले अभावका अत्यन्तै डरलाग्दा कहर काटेका छन् । परिवारलाई खाना जुटाउनका लागि आफ्नो ओभरकोट बन्दकी राखेका छन्, जेनीको गहना बन्दकी राख्न जाँदा अपमानपूर्वक पुलिस लगाई थुनाइएका छन् । अवस्था यस्तो आइसकेको थियो कि वरपर सापटी लिन बाँकी कोही नरहेजस्तो । मासु पसले, बेकर र डाक्टरहरुको बाँकी तिर्न नसकेर लुकी लुकी हिँड्नुपर्ने अवस्थाका माक्र्स यति गरिब भए कि १८५२ मा १ वर्षकी छोरी फ्रान्जिस्काको मृत्युपछि कफिन किन्ने पैसा समेत परिवारले जुटाउन सकेन । कोठाको एक छेउमा कागजको कफिनमा लडाइएकी छोरीको लाश नजिक बसेर परिवारका सदस्यहरुले कसरी रातदिन काटे होलान्, कल्पना गरिहेर्दा पनि आङ सिरिङ्ग गर्छ ।

    पढेसुनेका यस्ता कति दुःखद प्रसङ्गहरु याद आउँछन्, दुखान्त उपन्यास पढेजस्तो । सस्तो सिगार र चुरोटको धुवाँमा रात रातभर चिन्तनमग्न हुँदाहुँदै पनि कुनै बेलाकी सहरकै सबैभन्दा धनी, सबैभन्दा राम्री आफूले असाध्यै माया गरेकी ‘सुन्दर हरिया आँखा’ र ‘सुनौला कपाल’ भएकी’ त्यो आइमाई (जेनी माक्र्स) लाई कुनै पनि क्षण सुख दिन नसकेको लाचार र विवश प्रेमी र पति अनि छोराछोरीलाई न्यूनतम पालनपोषण समेत दिन नसकेको दुःखी बाबुको रुपमा माक्र्स राती यो सुनसान सडकतिर टोलाउँथे होलान् कि ? आफ्नो दार्शनिकबिलास सबै त्यागेर अर्थोपार्जन गरी परिवारका लालनपोषण गर्छु भन्ने विचार कुनै दिन आयो कि आएन होला ? जेनी र परिवारप्रतिको उनको कन्फेस एंगेल्सलाई लेखेका कतिपय पत्रहरुमा व्यक्तिएका पनि छन्, तैपनि मनमा कताकतबाट कुरा खेल्यो ।

    तर माक्र्सको सौभाग्य भनुँ उनको जीवनको सबैभन्दा सबलता नै जेनी थिइन् । तिनले आजीबन माक्र्सलाई माया र सहयोग गरिरहिन्, उत्प्रेरणा दिइरहिन् । तिनले माक्र्सकी प्रेमिका, पत्नी, छोराछोरीकी आमा, कामरेडका साथमा ‘खराब अक्षरका धनी’ माक्र्स (माक्र्सका अक्षर यति नराम्रा थिए कि जीवनको पछिल्लो समयमा रेलवे मा क्लर्क जागिर खान कोसिस गर्दा तिनै नराम्र्रा अक्षरका कारणले अस्वीकृत भएका थिए ) की बेतलबी सेक्रेटरी सबैको भूमिका उत्तिकै सहनशीलताका साथ निर्वाह गरिरहिन् । दुःख अभावमै पनि सोहोसित उनीहरुको अपनत्व बढ्दै गयो । बच्चाहरु पनि घुलमिल हुँदै गए । छोरा एड्गर त पूरै समय छिमेकी गरिब आइरिस केटाहरुका साथमा सोहोको सडकको भीडमा हराउन थाल्यो । उनीहरुको संगतमा उसले आइरिस गीत मात्रै सिकेन चोरी गर्ने काइदा पनि सिक्न थाल्यो । तर एड्गर माक्र्स परिवारको प्राण नै थियो । ऊ परिवारको मानसिक तनावलाई आफ्ना हर्कतले केही समयका लागि दूर गराइदिने सामथ्र्य राख्न सक्थ्यो । उसले परिवारको अवस्था अनुसारको बठ्याइँ देखाउन जानिसकेको थियो । यस्तो एड्गरले १८५५ मा जेनीले आफ्नी कान्छी छोरीको जन्म दिएको केही महिनापछि आन्द्राको टिबी भएर आठ वर्षकै उमेरमा आँखा चिम्लियो । अन्तिम अवस्थामा ऊ पूरै समय माक्र्सको साथमा थियो । जेनी भने उसको अवस्थालाई हेर्न नसकी पर पर भागिरहेकी थिइन् । आफ्नी आमाको त्यो अवस्था देखेर आफ्ना दिदीहरुसित उसले भनेको थियो रे ‘आमा मेरो ओछ्यानमा आउने बेलामा मेरा हात छोपिदिनु है ताकि यी झिना हात आमाले नदेखून् ।’ जेनीको अनुभूतिमा उसको मृत्यु उनले त्यसअघि भोगेका दुःख, पीडाहरुभन्दा अझ गहिरो थियो ।

    म लगभग १५ मिनेटदेखि सडकको पेटीमा उभिइसकेको थिएँ । मेरा आँखा त्यही बिल्डिङको झ्यालका सीसाबाट माक्र्सले त्यो साँघुरो कोठाभित्र भोगेको त्रासदीलाई कल्पिँदै थिए । म चित्रमा देखिएका माक्र्स दम्पत्तिका अनुहारका आधारमा उनीहरुका सिङ्गा आकृति बनाउने असफल प्रयत्न पनि घरिघरि गरिरहेकै थिएँ । माक्र्सका जीवनका यी र अझै यस्ता थुप्रै प्रसङ्गहरु यहाँ आज आएर सुने पढेको पनि थिइनँ, तैपनि आज मेरो दिमागमा ती अनौठोसित ‘रिमाइन्ड’ भइरहेका थिए । सोच्दासोच्दै यतिसम्म सोच्न भ्याएँ, जेनीको लन्डन बसाइमा सायद सबैभन्दा आनन्दको दिनचाहिँ अक्टोबर १८५५ को त्यो दिन भयो होला जुन दिन यो डरलाग्दो ‘एभिल’ घर छाडेर उनीहरु अलिक टाढाको ग्राफ्टन ट्रयाकतिर उकालिए ।

    पातलो घाम फिसिक्क हाँस्यो, लोडसेडिङपछि बिनासूचना बत्ती आएजसरी । सडक अलि अलि व्यस्त हुन थालिसकेको थियो । मेरो नजिकै क्यामेरा झुन्ड्याइरहेकी युवती र काँधमा बच्चा बोकीरहेको मोटे युवक आएर उभिए र बिल्डिङतिरै हेर्न थाले । मैले पुलुक्क तिनीहरुलाई हेरेँ । युवती त्यो बिल्डिङतिर मग्न भएर हेरिरहेकी थिई । तर बाँकी दुई (शायद बाउछोरा होलान्) लाई भने पटक्कै त्यतातिर रुचि भएजस्तो देखिएन । तिनीहरु चल्नमै व्यस्त थिए । तिनीहरुबाट आँखा मोडिन खोज्दाखोज्दै मेरा आँखा एक्कासि बिल्डिङकै लहरमा जोडिएको बैजनी रङको सटरमा आँखा पुगे । त्यहाँ नग्न युवतीको छायाचित्रको मुनितिर लेखिएको थियो –सनसेट स्ट्रिप । हत्तेरी यतिसम्म विरोधाभास त नभइदिएको भए… …। अनि हठात्, माक्र्सको ‘यौन काण्ड’ को प्रसङ्ग याद आयो । आखिर जुनसुकै जीवनमा पनि चाहेर नचाहेर यस्ता ‘विरोधाभास’ हुँदारहेछन् भनेर चित्त बुझाएँ ।

    फर्किँदा फेरि बिल्डिङतिरै आएँ । भर्खरै एकहूल टुरिष्ट लिएर आएको एउटा गाइड घाँटी सुक्ने गरी कराइरहेको थियो । नेपाली बानी न हो, यसले के भन्दो रहेछ सुन्दिहालौँ न त भन्ने भयो । त्यसले सुरु गर्दै थियो माक्र्सबाट होइन त्यो रेष्टुरेन्टको नामबाट । ‘तपाईहरुलाई थाहा छ यो क्व भाडिसको अर्थ के हुन्छ ? ल्याटिनमा यसको अर्थ हुन्छ– तिमी कता गइरहेका छौ ? युगलाई नयाँ गति दिने माक्र्सको नामसित जोडिएको स्थानमा खोलिएको यो रेस्टुरेन्टको नाम सुहाउँदो छैन त ।’ रेष्टुरेन्टको नाम र माक्र्सको सिद्धान्तका बीच सम्बन्ध के छ यो त त्यही गाइड जानोस् । तर सुन्दाचाहिँ यो तर्क कलात्मक लाग्यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार