२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

क्लेप्टोमेनियाः चोरी नगरी रहनै नसक्ने समस्या


३८३४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २२, बिहिबार मा प्रकाशित ५ साल अघि
  • हाम्रो परिवार तथा समाजमा घटना घट्छ । सामान हराउँछ । हराएका सामान मूल्यवान् नहुन पनि सक्छन् । तैपनि हराउँछ ।अब हामी आरोप लगाउँछौँ, ‘फलानाकी छोरी घरमा आएकी थिई, फलानाको छोरो आएको थियो । त्यसैले चोरेको हुनपर्छ । त्यसलाई त अब कुनै हालतमा पनि घरभित्र छिराउनु हुँदैन ।’

    यति मात्र हैन, हामीले त्यस्ता व्यक्तिको बारेमा एउटा धारणा नै बनाइसकेका हुन्छौँ- फलानो त चोर नै हो ।तर, यसैबीच हामीले एउटा कुरा सोच्न भने बिर्सन्छौँ, आखिर किन ?  केका लागि ? घरहरूमा हुने ठूला चोरीमा चोरहरूको उद्देश्य पैसा कमाउनु हुन्छ । तर, पेन्सिल, कापी, चम्चाजस्ता सामान्य वस्तु  चोरी गर्दा के फाइदा होला ? नगण्य ।

    के यसमा पनि पैसाको भूमिका हुनसक्ला ?
    कदापि हुँदैन । यसमा पैसाको कुनै भूमिका हुँदैन ।

    चिकित्सा विज्ञानमा एउटा शब्द छ, ‘क्लेप्टोमेनिया’ अर्थात् चोरी गर्ने रोग । यस्तो समस्या भएका मानिसहरू चोरी नगरी रहनै नसक्ने हुन्छन् अर्थात् चोरी गर्न बाध्य हुन्छन् ।

    के हो क्लेप्टोमेनिया ?
    क्लेप्टोमेनिया भनेको एक किसिमको मनोवैज्ञानिक समस्या हो तर ठूलो मानसिक रोग भने होइन ।

    यो रोग लागेका व्यक्तिले पैसाका लागि वा व्यक्तिगत प्रयोजनका लागि नभई आˆनो मनलाई नियन्त्रण गर्न नसक्ने भएका कारण सामान चोर्ने गर्छन् । चोरेका सामान धेरैजसो फाल्ने गर्छन् ।

    पैसा नभएर वा सामान चाहिएर होइन, मनलाई नियन्त्रण गर्न नसकेर ।

    क्लेप्टोमेनिया भएका व्यक्तिमा एउटा कुरा लिने इच्छा उत्पन्न भएपछि त्यो पूरा नहुन्जेलसम्म उक्त कुरा उसको दिमागमा आइरहन्छ । यो सोचाइलाई उसले नियन्त्रण गर्न तथा रोक्न सक्दैन । यो रोग नै यस्तो हो कि चाहेर पनि उसले आफूलाई नियन्त्रण गर्न सक्दैन । त्यो चीज नपाएसम्म उसलाई निरन्तर तनाव तथा बेचैनी महसुस हुने गर्छ, पाएपछि मात्र ऊ ढुक्क हुने गर्छ ।

    बाल्यकालमा सुरु भएको यस्तो समस्याको समयमै उपचार नगरे यसले पछिसम्म दुख दिइरहन्छ । पुरुषको तुलनामा महिलामा बढी हुने यो रोग हजारजना व्यक्तिमध्ये ३० जनालाई हुने गरेको तथ्यांक छ ।

    त्यसैले, यस्तो रोगको लक्षण देखिए चिकित्सकहरू तुरुन्तै उपचार गर्न सुझाव दिने गर्दछन् ।

    क्लेप्टोमेनियाका लक्षण ?

    -आफ्नो मनमा उब्जिएको चोरी गर्न मन लाग्ने आवेग रोक्न नसक्नु

    -चोरी गर्नुअघि बेचैनी हुनु वा तनाव उत्पन्न हुनु

    -चोरी गर्दा आनन्द, राहत तथा आत्मसन्तुष्टि हुनु

    -चोरी गरेपछि पश्चात्ताप हुनु तथा डर लाग्नु

    -चोरी गरेको सामान फिर्ता गर्नु वा फ्याँक्नु

    क्लेप्टोमेनियाका कारण

    क्लेप्टोमनिया हुनुको वास्तविक कारण यही हो भन्ने ठ्याक्कै आधार छैन । यद्यपि इटिङ डिसअर्डर, एन्जाइटी डिसअर्डर, अब्सेसिभ कम्पलसिभ डिसअर्डरजस्ता निश्चित मानसिक समस्याका कारण पनि यस्तो समस्या उत्पन्न हुनसक्छ ।

    त्यस्तै मस्तिष्कमा सेरोटोनिन तथा डोपामिन नामक तत्वको गडबडीका कारण पनि मानिस क्लेप्टोमेनिया रोगबाट ग्रसित हुनसक्छ । सेरोटोनिनले मानिसको मुड तथा भावना नियन्त्रित गर्न मद्दत गर्छ । मस्तिष्कमा यस्तो तत्वको कमी भएमा चोर्ने विचार उत्पन्न हुन्छ ।

    परिवार वा समाजमा कुनै व्यक्तिलाई यस्तो समस्या भए तुरुन्त चिकित्सककहँा लैजानु पर्छ  ।

    उपचार विधि

    मनोचिकित्सकको परामर्श तथा निश्चित समयसम्म औषधी सेवन गरेर यो रोग सजिलै निको पार्न सकिन्छ ।

    विद्यमान परिस्थिति

    नेपालमा धेरैलाई क्लेप्टोमेनिया रोगबारे जानकारी छैन । जानकारी नभएकै कारण यस रोगबाट ग्रसित व्यक्तिका परिवारका सदस्यले यसलाई रोगका रूपमा लिएको पाइँदैन । अस्पतालमै पनि यस्ता समस्या लिएर बिरामीहरू आउँदैनन् । कोही विरामी नै छ भने पनि समाजले बरु उक्त विरामीलाई चोरको संज्ञा दिन्छ, तर मनोपरामर्श लिने सुझाव दिँदैन । परिणामस्वरूप समस्या ज्युँ का त्युँ रहन्छ ।

    विद्यमान परिस्थितिमा हाम्रो घरपरिवार तथा समाजमा समेत यस रोगबारे जनचेतना जगाउन त आवश्यक छ नै, माथि उल्लेखित कुनै पनि लक्षण देखिए वा महसुस भए तुरुन्तै चिकित्सकको परामर्श लिनु आवश्यक हुन्छ ।

    (वरिष्ठ मनोचिकित्सक, प्रमुख, मानसिक स्वास्थ्य विभाग, त्रि. वि शिक्षण अस्पताल, महाराजगञ्ज)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार