२०८१ श्रावण ७, सोमबार | Mon, 22, Jul, 2024

सफा सुग्घरमा ध्यान दिऔं, झाडापखालाबाट बचौं


४०६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ फागुन १४, बुधबार मा प्रकाशित ४ साल अघि
  • आर.एल.श्रेष्ठ
    फागुन, चैतबाट नेपाली जनहरुमा विभिन्न किसिमका झाडापखालाहरुले सताउने गरेको तथ्य हाम्रासामु छर्लङ्गै छ । त्यसैले प्रत्येक घरपरिवारमा यदि स्वास्थ्य सम्बन्धी यथेष्ट जानकारी हुने हो भने यसले महामारीको रुप लिने थिएन । त्यसैले झाडापखाला कसरी लाग्छ ? के कारणले लाग्छ भन्ने बारेमा केही कोर्ने जमर्काे गरेको छु । अध्ययनअनुसार दुषित खाना तथा पानीका कारण लाग्ने रोग झाडापखाला बालमृत्युको प्रमुख कारक तत्वको रुपमा रहँदै आएको छ । नेपालमा पनि झाडापखालाजन्य रोगका कारण वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको तथ्यांकअनुसार कुल बाल मृत्युमध्ये एक चौथाइ झाडापखालाकै कारण मृत्यु हुने गरेको उल्लेख छ ।

    अब वर्षातको समय सुरु हुने तरखरमा छ । यो समय झाडापखालाले सबैभन्दा धेरै सताउने वा महामारीकै रुप लिने समय पनि हो नेपालको सन्दर्भमा । झाडापखाला सजिलैसँग उपचार गरेर निको पार्न सकिने रोग हो । समयमै यसका लक्षण पहिचान गर्न सकियो भने सामान्य औषधि तथा जिवनजलकै सेवनले समेत यो रोग निको हुने गर्छ । जटिल अवस्थामा स्लाइनपानी मार्फत पनि शरीरमा तरल पदार्थ तथा औषधि आपूर्ति गर्नुपर्छ । तर यदि झाडापखाला लाग्दा हेलचेक्राइ गरियो भने यसले ज्यानै लिन बेर लगाउँदैन । त्यसैले झाडापखाला रोगको बारेमा जान्नैपर्ने केही तथ्यहरु तपसिल बमोजिम छन् ।

    अध्ययन अनुसार वास्तवमा झाडापखाला आफैमा रोग होइन, लक्षण हो । विभिन्न रोगका कारणले झाडापखाला लाग्नसक्छ । सामान्य अवस्थामा भन्दा धेरै पटक दिसा भयो र दिसा पातलो भयो भने त्यसलाई झाडापखालाको रुपमा लिइन्छ । त्यसका साथै पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने तथा वान्ता आउने यसका लक्षण हुन् । त्यसैले झाडापखाला लागेपछि चिकित्सककोमा उपचारका लागि जानुपर्छ ।

    प्रायः जिवाणु, विषाणु तथा परिजिवी लगायतको संक्रमणले गर्दा झाडापखाला लाग्दछ । कतिपय अवस्थामा औषधि सेवन, खानाको एलर्जी, अन्य रोग तथा खानेकुराको अपचका कारण पनि झाडापखाला हुनसक्छ । खासगरी खानेकुरामा हुने ल्याक्टोज, चिल्लो तथा कार्बोहाइड्रेटको अपच हुँदा पनि झाडापखला लाग्न सक्छ भने कतिपय अवस्थामा केवल खानपिनको गडबडीले मात्र नभई तनावका कारण पनि पाचनक्रिया असन्तुलित भएर पखाला लाग्ने हुन्छ । झाडापखाला लाग्दा दिसा पातलो हुने वा धेरैपटक लाग्ने मात्र होइन, पिसाब निकै कम लाग्ने हुन्छ । पेट बटारिने, दुख्ने, वाकवाकी लाग्ने लगायतका समस्या पनि देखिन्छन् । यदि ४८ घण्टासम्म पनि झाडापखला निको भएन र ज्वरो पनि घटेन भने चिकित्सकसँग परामर्श लिनुपर्छ । यदि औषधि खाँदा पनि पखाला रोकिएको छैन भने घरेलु जडिबुटी लगायतको सेवन गर्ने तथा पर्याप्त पानी तथा झोलिलो पदार्थ खाएर पानीको कमी हुनबाट बच्नुपर्छ । तर यसो गर्दा चिकित्सकको परामर्शमै रहनुपर्छ । झाडापखालाको बेलामा शरीरमा जलवियोजन भयो भने मृगौला फेल हुने तथा शरीरमा इलेक्ट्रोलाइटहरुको असन्तुलन भएर विभिन्न खाले समस्या उत्पन्न हुने जोखिम रहन्छ ।

    झाडापखाला खाना तथा पानीबाट सर्ने रोग भएकोले स्वस्थ जिवनशैली तथा आनीवानी र स्वस्थ आहारविहारले यो रोग लाग्न तथा फैलिनबाट जोगिन सकिन्छ । खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ । त्यसैले अकालमै मृत्युवरणबाट जोगिनको लागि प्रत्येक परिवारका सदस्यहरुले सफा सुग्घरमा ध्यान दिन आवश्यक छ । यति मात्र गर्न सके पनि महामारीको रुप धारण गर्ने झाडापखालाबाट उन्मुक्ति लिन सकिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार