२०८१ बैशाख २४, सोमबार | Mon, 06, May, 2024

पारिवारिक वियोगको युद्ध कथा


५७१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • –दिनेशराज खरेल

    दश वर्षे जनयुद्धका सन्दर्भमा धेरै पुस्तकहरु लेखिई सकेका छन् । युद्धका नयाँ सन्दर्भ र विषयमा खोज गरी लेखिने क्रम जारी छ । यसै क्रमलाई निरन्तरता दिँदै “देशले हारेको युद्ध” उपन्यास मार्फत साहित्य जगतमा उदाएका छन् नवप्रतिभा हर्क खडायत । “देशले हारेको युद्ध” उपन्यामा लेखकले देशले भोगेको वास्तविकतालाई उतार्ने भरपुर प्रयास गरेका छन् । सुदुर पश्चिमको बाजुरा देखि उच्च शिक्षाको लागि काठमाडौं सम्मको यात्रा तय गरेका लेखकले उपन्यासमा आफ्नो शैक्षिक वास्तविकतालाई कथामा समेट्दै देश, समाज, परिवार र व्यक्तिले भोग्नु परेका प्रत्येक क्षण, परिवेश, पिडा र वस्तुस्थितीलाई बाहिर ल्याएका छन् ।

    युद्धको कथा काठमाडौंको शैक्षिक वातावरण देखि आफ्नो गाउँ बाजुरा सम्मको घटना र तत्कालिन परिवेशलाई सरल भाषा, सर्सती बगेको कथावस्तु, उचित पात्र र स्थानको चयनमा लेखक सफल देखिन्छन् । सामाजिक यर्थाथपरक युद्धको कथाले लेखकलाई लेखनशैली र शिल्पमा अब्बल तुल्याएको देखिन्छ ।

    कथाको पात्र अमर एउटा शैक्षिक पारिवारिक पृष्ठभुमीबाट आएको छ । उ शिक्षाबाट नै क्रान्ति र विकासको सम्भावना देख्छ । तर देशमा चलिरहेको सशस्त्र युद्धले शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रमा पनि सामान्य जनजीवन सारै प्रभावित र कष्टकर बनेको छ । जताततै भय र आतंकको वातावरण सृजना भएको छ । अमर उच्च शिक्षाको महत्वकांक्षा बोकेर राजधानी आउँछ तर क्याम्पसमा राजनीति र बन्द हड्तालले पढाइ राम्रो हुँदैन ।

    तैपनि ऊ दिन गुर्जान सिवाय केहि छैन भन्दै काठमाडौंमा नै बस्छ । युद्ध झन् चर्कंदै जान्छ । दिन प्रतिदिन मान्छे मरेका, अपहरणमा परेका, चन्दा, आतंक र बन्दक बनाइएका जस्ता समाचारहरुले संचार माध्यममा प्राथमिकता पाउँछन् । गाउँमा बस्न सक्ने स्थिती छैन, घरमा बसे माओवादीले लडाईमा लैजाने डर, सेनाले भेटे माओवादी भनी दुःख दिने डर, महिला र केटाकेटीलाई माओवादी र सेना दुबैले मानव ढाल बनाउने भयावह अवस्था छ । यस्तो स्थितीमा गाउँका प्राय मानिसले गाउँ छोडेर कि सदरमुकाम छिरेका छन् कि मुग्लान वा काठमाडौं । गाउँको स्थिती जर्जर बन्दै गएपछि अमरलाई गाउँ नआउन भनिन्थ्यो । उसका बा र भाइ पनि आमा र बहिनीलाई लिएर काठमाडौं आउने योजनामा छन् ।

    अमरलाई अचान पिडाबोध हुने खवर आउँछ । ऊ गाउँ जान्छ, उसका बालाई सेनाले माओवादीको आरोपमा बेपत्ता पारेका हुन्छन् । भाइको हत्या गरिएको हुन्छ । बहिनीलाई बलत्कार पछि निर्मम हत्या गरिन्छ । यस्तो पारिवारिक नरसंहार, बिछोड र बेदनाले उसकी आमा अर्ध पागल हुन्छे । अमरकी आमा युद्धले दिएको पारिवारिक विछोडको क्रुरता, निर्ममता र त्रासको बीचमा बाँच्न बाध्य हुन्छिन् । युद्धले जन्माएको पिडाले पागल भएकी आमाको कर्तव्य पुरा गर्न प्रतिशोधको भावना लिई अमर युद्धबाटै खुनको गुन लगाउन युद्धमा सामेल हुन्छ । उसले देशका विभिन्न भागमा आक्रमण र युद्ध गर्छ । ऊ आफैँ युद्धमा घाइते हुन्छ र अपांग भई घर फर्कन्छ । कसै गरे पनि उसले आमालाई सन्तुलित परिस्थितिमा ल्याउन सक्दैन । अन्तमा अर्धपागल उसकी आमाले आत्महत्या गर्छिन् । त्यसपछि उसले युद्धको कारण आफ्नो सम्पूर्ण पारिवारीक सदस्य गुमाउँछ ।

    लेखकले ०६२-६३ पछिको जनआन्दोलन र राजनीतिक परिस्थितिलाई पनि पर्गेल्ने प्रयास गरेका छन् । पात्रलाई सवल रुपमा प्रस्तुत गरी आशामुखी बनाएका छन् । पात्र अपाङ्ग भएपछि उपचार र केहि राहत पाउने आशमा मन्त्री क्वाटर देखि सिंह दरबारसम्म धाएका छन्् । तर ‘काम गर्ने कालु मकै खाने भालु’ उखानको चरितार्थ भएको पाइन्छ ।

    कथा सुरुदेखि अन्त्यसम्म एकनाशले बगेको छ । लेखकले पात्रलाई परिस्थितिबस युद्धमा मात्र धकेल्न खोजेको देखिन्छ । पारिवारिक पात्रहरु सबैको विलय गराउनु लेखकको कमजोरी हो । एउटा शैक्षिक र योग्य पात्र अमरलाई यति कमजोर र आशामुखी मात्र बनाउनु नपर्ने थियो । पारिवारीक सदस्यको विछोडले आत्महत्या गर्न पुगेृकी आमालाई सफल नारीको रुपमा प्रस्तुत गरी सहनशील र धर्यताको प्रतिक बनाउनु पर्ने थियो । के नारी सबै कमजोर नै हुन्छन् त ? फेरी उसका साथीहरु नारी पात्रलाई पनि कथामा कमजोर नै बनाइएको छ । कमजोर पात्रको एक अंश योगशले बोल्यो ‘अमर जिन्दगी रहेसम्म जतिपनि कमाउन सकिँदो रहेछ । जे होस् लुकेर भएपनि जिवन बचाइयो । यो भन्दा ठुलो मलाई अरु कमाउनु छैन ।’

    म यहाँ प्राध्यापक डा. गोविन्दराज भट्टराईले पुस्तकमा लेख्नु भएको कुरालाई साभार गर्दछु । ‘देशले हारेको युद्ध हामी सबैको भोगाई हो । आज देश हत्या, हिंसा, आतंक, बन्द, हड्ताल, लुटपाट, महँगीमा जेलिँदै गएको छ । यो अवस्थामा कसैको मनमा शान्ति छाउन सक्छ र ? कसैको आत्ममाले खुशीको अनुभुत गर्न सक्छ र ? देशले हारेको युद्ध हेर्न रुकम, रोल्पा र कालिकोटको गाउँबस्ती छिर्नु पर्दैन । देशले हारेको युद्ध थाहा पाउन बाँदरमुडे र कोटवाडा पुग्नु पर्दैन । बेल बहादुर श्रेष्ठ र देवी सुनुवारको कथा सुन्नु पर्दैन । हाम्रो अगाडि छर्लङ्ग छ विगत र वर्तमान । गाउँ देखि सहरका गल्ली सम्म शान्तिको पाठ जप्दै हत्याको खेती भईरहेको छ । देशले हारेको खेल मन्द रुपले हामी सबै ओकली रहेका छौँ । यहाँ देशले युद्ध जसरी हारेको छ । त्यसै गरी अमरले पनि जीन्दगीमा हार खाएको छ । उसलाई सशक्त पात्रको रुपमा उभ्याउन सक्नुपर्ने थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार