२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

श्रृंगार र हातमा लगाउने मेहन्दी


४५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • दिनेश राज खरेल


    परापुर्वकाल देखि नै महिला र श्रृंगार एक आपसमा पर्यायवाची जस्तै लाग्छ । श्रृंगार विना महिलाको आधारभुत आवश्यकतामा कमी भएको महशुस गर्न सकिन्छ । महिलाको श्रृंगारले एक प्रकारको आकर्षण दिइरहेको हुन्छ । सौन्दर्ययुक्त महिलाले वरिपरीको वातावरणलाई नै सकारात्मक उर्जा प्रदान गरेको पाइन्छ । महिलाहरु अन्तर्मुखी र प्रकृतिप्रेमी पनि हुने गर्दछन् । श्रृंगार गरेर चिटिक्क परेकी महिलालाई हाम्रो शास्त्रले देवी सरस्वती, भगवतीको उपमा दिएको पाइन्छ । त्यसैले श्रंगार शब्द अध्यात्मसँग पनि जोडिएर आएको छ । श्रृंगार गर्नु आफैँमा सुन्दरता, शान्ति र सन्तुष्टि पनि हो । विशेषत महिलाहरु शान्ति र आनन्द नै रोज्ने गर्दछन् ।

    श्रृंगारले महिलालाई उच्च आदरार्थी त बनाउँछ तर आजको समाज फेशनको नाममा अलि भड्किलो र अश्लिल बन्दै गएको देख्न सकिन्छ । श्रृंगारलाई सौन्दर्यको प्रतिक मान्दै संयमित रुपले प्रयोग गर्नु आजको आवश्यकता देखिन्छ ।

    श्रृंगारमा रंगीचंगी कपडा, गरगहना एवं अन्य सामाग्रीहरु पर्दछन् । विशेषगरी श्रावण महिनामा महिला दिदीबहिनीहरुले रातो, पँहेलो, हरियो रंगको बढि प्रयोग गर्ने गर्छन् । आफ्नो इच्छा र चाहना अनुसार कुर्ता, सलवार, धोती, साडि, लेहेङ्गा लगाउने गर्छन् । यसका साथै नाडि भरी रातो, हरियो, पँहेलो रंगका चुरा लगाउँछन् । रिवन, धागो, टिका लगाएर चिटिक्क पर्छन् । गलाभरी थरीथरीका पोते र मालाहरु पहिरीने गर्दछन् । यसले महिलाहरुको मुहारमा चमक र उज्यालोपन ल्याउँछ । सिउँदोमा लगाइएको रातो सिन्दुरले महिलालाई झन् बढि आकर्षक देखिएको हुन्छ भने सौभाग्यको रुपमा पनि ग्रहण गर्ने गरेको पाइन्छ । रातो रंग प्रेम, शक्ति र साहसको प्रतिक मानिन्छ । पवित्रताको प्रतिक सेतो र हरियो अध्यात्म र प्रकृतिसँग सम्बन्धीत रहन्छ । यसरी रंगहरुको संयोजनले महिलाहरुको अध्यात्मीक र बौद्धिक क्षमतालाई अभिवृद्धि गर्दछ ।

    श्रृंगार विवाहित र अविवाहित दुबै नारीले गर्दछन् । गरगहना मेकप र पहिरनको साथमा श्रावण महिनामा मेहन्दीको अत्याधिक महत्व र माग बड्ने गरेको व्यवसायि तथा सौन्दर्यकर्मी अनिता पाठक दाहाल बताउनु हुन्छ ।उहाँ भन्नुहुन्छ ‘महिलाहरु श्रृंगारका पारखी हुन्छन् गरगहना लत्ताकपडा र परीपहिरनले सजिसजाउ भए पनि हात वा खुट्टामा मेहेन्दी बिना श्रृंगार अधुरो रहन्छ । महिलाको सोह्र श्रृंगार मध्ये मेहेन्दी एक हो । मेहेन्दीलाई शुभको प्रतिक मानिन्छ । यसले सु–स्वास्थ्य एवम् शुभ फल प्रदान गर्दछ भन्ने मान्यता रहि आएको छ । यसको अधिक प्रयोग भारतको राजस्थानमा हुने गरेको छ । यसको सुरुवात पनि यहिँबाट भएको हो र व्यापक रुपमा नेपालसम्म फैलिएको छ । यसमा पारस्पारिक हिन्दुधर्म र परम्पराले भुमिका खेलेको छ ।’

    श्रावण महिनामा रातो, पँहेलो, हरियो पहिरनका साथमा मेहेन्दी लगाइने भएकाले श्रावण महिनालाई ग्रीन मन्थ वा मेहेन्दीको महिना पनि भनिन्छ । मेहेन्दीलाई विभिन्न भागमा विभाजन गरिएको छ । जस्तै रिर्सव, कोहिनुर, माडवाडी, राजस्थानी आदि । हात तथा खुट्टामा कलात्मक तरिकाले सुन्दर बुट्टा बनाइने हुनाले सफा र आकर्षक देखिन्छ । त्यसैले थरीथरी रंगका मेहेन्दी लगाउने प्रयोगकर्तालाई पूर्ण सन्तुष्टि र प्रसन्नता प्राप्त हुने गर्दछ ।

    मेहेन्दी प्राकृतिक जडिबुटीबाट भन्ने भएकोले निकै गुणकारी पनि हुन्छ । यसको कुनै नकारात्मक असर देखिदैन । यसले सौन्दर्यको सामाग्री साथसाथै छालालाई नरम र त्वचा प्रदान गर्न मद्दत गर्दछ । यसरी हेर्दा आधुनिक समाजमा महिलाले प्रयोग गर्ने श्रृंगारहरु लत्ताकपडा, चुरा, धागो, टिका, पोते अन्य मेकपका साथै मेहेन्दीको पनि विशेष महत्व रहेको पाइन्छ । मेहेन्दीले श्रृंगारमा थप निखारता ल्याउँछ भन्ने कुरा सौन्दर्यकर्मीहरुले बताउने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार