२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

नाग पञ्चमीमा नागको पुजा गर्दा मिल्ने फल यस्ता छन्


३८९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण १०, शनिबार मा प्रकाशित ३ साल अघि
  • प्रत्येक वर्षको श्रावण शुक्ल पञ्चमीको दिन हिन्दु धर्मावलम्बीहरुले भव्यताका साथ नाग पञ्चमी मनाउने गर्दछन् । यस दिन हिन्दुहरु विहानै उठी स्नान गरेर दिप, कलश, गणेश पूजा गरी गोबरको नाग बनाउने र नागको मानचित्रमा दहि, दुध, सिन्दुर, चन्दन आदिले पूजा गरि ढोकामा टाँस्ने गरिन्छ । विहान पूजापाठ गरेका सम्पूर्ण मानिसहरुले दिनभर व्रत बसि सूर्यास्त भएपछि नाग देवताको मूर्तिमा विभिन्न सामानहरु जस्तै फुल, प्रसाद तथा फलले पूजा गरि प्रसाद बाढ्ने र आफुले पनि लिने गर्छन् ।
    विभिन्न नागहरुको चित्र घरमा टाँस्ने, नागको पुजाआजा गर्ने गर्नाले मनोकाङ्क्षा पुरा हुने विश्वास गरिन्छ । साथै नागको पूजा गर्ने, नागको फोटो घरमा राख्नाले घरमा चट्यान पर्ने, आगो तथा सर्पको भय नहुने धार्मिक विश्वास र आस्था पनि रहेको पाइन्छ । सोहि आस्था र विश्वासमा आधारित भएर नाग पुजालाई हिन्दु धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने गरेको पाइन्छ ।

    हिन्दु धर्म अनुसार परापुर्वकाल देखिनै विभिन्न पूराण, धर्मग्रन्थ आदिमा नाग देवताको विशेष महत्व रहेको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थहरुलाई पल्टाएर वा नियालेर हेर्ने हो भने कँहि भगवान शंकरको आभुषणको रुपमा त कँहि भगवान विष्णुको शय्याको रुपमा नागलाई उच्च स्थान वा भगवानको स्थानमा राखिएको देखिन्छ । त्यसैले परापुर्वकालबाट नै नागलाई पनि देवताको रुपमा विशेष महत्वका साथ पुजा आरधना गर्ने र सम्मान गर्ने गरिन्छ ।

    नाग पुजा अर्थात नाग पञ्चमीको सुरुवात कसरी भयो भन्ने कुरा विभिन्न धर्मग्रन्थहरुले विभिन्न तरिकाले उल्था गरेको पाइन्छ । हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा परीक्षितका छोरा जनमेजयले गरेको सर्पसत्र यज्ञ रोक्नलाई तक्षक नागको भानिज आस्तिक र मनसादेवी सुपुत्रले अनुरोध गरेपछि सर्पयज्ञ रोकिएको थियो र सम्पूर्ण नागहरुको उद्धार भएको थियो । त्यस दिन श्रावण शुक्ल पञ्चमी परेकोले उक्त दिनबाट श्रावण शुक्ल पञ्चमीलाई नाग पञ्चमी पर्वको रुपमा मनाउन थालिएको पाइएको छ ।

    त्यसैगरि नाग पञ्चमी पर्वको सुरुवातको बारेमा भविष्योत्तर पुराणमा पनि केहि व्याख्या गरेको पाइएको छ । उक्त पुराणका अनुसार कुनै समयमा एक किसानले खेत जोत्दा नागको तीनवटा बच्चाहरु मरेका रहेछन् । आफ्ना बच्चाहरुलाई मारेको देखेपछि नाग रिसाएर किसानको घरमा गई उसका सम्पूर्ण परिवारलाई डसेर मारेछन् तर किसानकी छोरी भने उक्त समयमा घरमा नभएकीले बाँचेकी रहिछ तर किसानको त्यस छोरीलाई पनि डसेर मार्न भनि नाग किसानको घरमा भोलिपल्ट पनि गए । तर भोलिपल्ट नाग किसानको घरमा पुग्दा किसानकी छोरीले नागलाई देवता मानि पूजा गरी दूध, दहि चढाई । किसानको छोरीको त्यस्तो क्रियाकलाप देखेपछि नाग प्रशन्न भए र किसानको मृत्यु भएका सम्पूर्ण सदस्यहरुलाई नै बचाए । किसानको परिवारलाई नाग देवताले बचाएको उक्त दिनबाट मानिसहरुले नागको पुजा गरि नाग पञ्चमी मनाउन थालिएको हो ।

    हाम्रो हिन्दु धर्म अनुसार हिन्दु धर्मावलम्बिहरुले कुनै पनि शुभ कार्य गर्नु पूर्व शुभसाहित हेराउने र साइतमा मात्र गर्ने परम्परा रहेको छ । तर श्रावण शुक्ल पञ्चमी अर्थात नाग पञ्चमीको दिन भने कुनै पनि शुभ कार्यका लागी साहित हेराउनु जरुरी नभएको धार्मिक तथा जोतिष शास्त्रिय मान्यता रहेको छ । त्यसैगरि कुनै पनि मानिसले घर वा आफ्नो लागी बासस्थान निर्माण कार्य सुरु गर्नु पूर्व उक्त भुमिमा नागको बास छ छैन भनि परिक्षण गराउँछन्, यदि उक्त भुमिमा नागको बास भए विधिवत रुपमा पूजा गरि नागलाई पन्छाएर नाग देवताको दोषबाट छुटकारा लिने धार्मिक आस्था रहिआएको छ ।

    हिन्दु धर्मावलम्बीहरुले नागलाई देवताको रुपमा विशेष महत्व दिन्छन् । नाग देवता धर्तीमा बस्छन् भन्ने मान्यताले गर्दा धर्ती खनजोत गर्दा नाग देवतालाई चोट पुग्ने भएकाले नाग पञ्चमीको दिन धर्तीमा खनजोत समेत गरिन्दैन् ।
    नाग र मानिसको सम्बन्ध परापुर्वकाल देखि नै कुनै न कुनै रुप र स्वरुपमा रहिआएको पाइन्छ । नागलाई देवता मान्ने धर्मावलम्बीहरुले धार्मिक आस्था र विश्वासको रुपमा यस पर्वलाई भव्यताका साथ मनाउने गरेको पाईन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार