२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

मण्डनदेउपुर नगरपालिकाको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट


७४६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित २ साल अघि
  • मण्डनदेउपुर नगरपालिकाको सातौं नगरसभामा नगर प्रमुख टोकबहादुर वाइबाद्वारा प्रस्तुत आ.व. २०७८ /०७९को नीति तथा कार्यक्रम र बजेट

    आवरणीय नगर सभाका सदस्यज्युहरु,
    १ यस नगरपालिकाको नगरसभामा उपस्थित आदरणीय नगरसभाका सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीज्यूहरु, नगर सल्लाहकार ज्यू, संचारकर्मी मित्रहरु, सुरक्षाकर्मी साथीहरु र उपस्थित सम्पूर्ण महानुभावहरुमा नगरपालिका तथा मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्न चाहान्छु।

    २ सर्वप्रथम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको स्थापानार्थ जनआन्दोलन, जनयुद्ध, मधेश आन्दोलन लगायतका संघर्षहरुमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर
    शहिदहरुप्रति सम्मान र हार्दिक श्रद्धान्जलि अर्पण गर्दछु।

    ३ विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका कारण सिर्जित विषम परिस्थितिमा नेपाल सरकारद्वारा घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) का कारण जनजीवनमा परेको प्रतिकूल असरका बाबजुद कोभिड-१९ (कोरोना भाइरस) नियन्त्रण र रोकथामका लागि नगरद्वारा चालिएका कदमहरुमा साथ र सहयोग पुयाउनुहुने सम्पूर्ण नगरबासीमा धन्यवाद व्यक्त गर्दछु। साथै कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा जीवन गुमाउनु हुने नेपाली लगाएत विश्वभरीका नागरिकहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना
    व्यक्त गर्दछु ।

    ४ कोरोना भाइरस प्रभावित सम्पूर्ण देश तथा विदेशमा रही उपचाररत नेपाली दिदी बहिनि तथा दाजुभाईहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड-१९ (कोरोना भाइरस) रोकथाम नियन्त्रण तथा उपचार कोषमा जिन्सी तथा नगद सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति सरकारी गैर सरकारी संस्था एवम् दाताहरु, प्रदेश तथा संघीय सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छ ।

    ५ विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले उत्पन्न गरेको मानवीय, आर्थिक, समाजिक र स्वास्थ्य संकटको विषम परिस्थिति जन्य चुनौती सामना गर्नका लागि भविष्यप्रति आधारयुक्त आशा जगाउने र नगरपालिकाको सर्वाङ्गिण विकासमार्फत समृद्धिको बाटोमा लैजाने विश्वासका साथ यो नीति तथा कार्यक्रम र बजेट तयार गरेको छु। कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम र नियन्त्रण गर्न मण्डनदेउपुर नगरपालिका सदैव प्रतिवद्ध रहेको छ ।

    ६ कोरोना भाइरसले आगामी दिनमा नागरिकको जीवन निर्वाहमा समेत थप कठिनाइ ल्याउन सक्ने देखिन्छ। यस कठिन परिस्थितिमा स्थानीय सरकारले तय गर्ने नीतिगत बाटो नगरवासीको स्वास्थ्य, उनीहरुको सुरिक्षित बासस्थान र उत्पादनिशल क्षेत्रमा केन्द्रित गरिएको छ। आगामी आर्थिक वर्षको अधिकांश लगानी यसै तर्फ उन्मुख गर्नुपर्ने अवस्थामा यस नगरपालिका रहेको
    छ ।

    ७ योजना छनौटका आधारहरुः
    १ उत्थानशील पूर्वाधारहरुको निर्माण र विद्यमान पूर्वाधारहरुको संरक्षण र सबलिकरण ।

    २ सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा तथा शिक्षाको सुनिश्चितता ।

    ३ दीगो कृषि प्रणाली प्रबर्द्धन तथा कृषिको उत्पादनमा विशिष्टिकरण र उपभोगमा विविधिकरण
    साथै खाद्य सुरक्षाको प्रत्याभुति ।

    ४ जैविक विविधता तथा सामाजिक सांस्कृतिक पहिचानमा आधारित पर्यटनको विकास ।

    ५ सबैका लागि स्वच्छ तथा सफा खानेपानी र सरसफाईको व्यवस्थापन ।

    ६ गरिबी निवारण, आर्थिक सामाजिक समानता सहितको न्यायपूर्ण समाज निर्माण, तीव्र दीगो र रोजगारमूलक आर्थिक वृद्धि।

    ७ वातावरण संरक्षण, विपद् व्यवस्थापन र दीगो विकास ।

    ८ स्थानीय तथा आन्तरिक स्रोत, साधन र क्षमताको उपयोग मार्फत उत्पादन र उत्पादकत्व अभिवृद्धि, लक्षित वर्गको आर्थिक विकास, सुशासनको प्रत्याभूति तथा सहज र सुलभ सेवा प्रवाह

    ९ प्राकृतिक स्रोतको संरक्षण, परिचालन तथा उत्थानशीलताको विकास ।

    १० नगरपालिका अन्तर्गत संचालनमा रहेका ठूला आयोजनाहरु तथा नगरवासीको अपेक्षा, सुझाव र माग ।

    चुनौती तथा अवसर
    ८ काभ्रेपलाञ्चोक जिल्लको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा रहेको यस नगरपालिकाको अधिकांश भूभाग ग्रामिण क्षेत्र भएको हुँदा कम लागतमा विकास निर्माणको कार्य सञ्चालन गर्नु, प्राकृतिक स्रोत साधनलाई बहुपक्षिय उपयोगमा ल्याउनु, खेती योग्य भूमीमा अधिकतम प्रतिफल दिने कृषि कार्य गर्नु र उचित बजारीकरण तथा मूल्य स्थापित गर्नु साथै आइपर्न सक्ने सम्भाव्य विपद् व्यवस्थापन गर्नु चुनौतीको रुपमा रहेको छ । नगर भित्र सम्भावना रहेको वित्तीय स्रोतको पहिचान गरि महत्तम परिचालन मार्फत नागरवासीको अपेक्षाको उचित सम्बोधन गर्दै सुशासन, समतामूलक विकास र गुणस्तरीय सेवा प्रवाह गर्न समयमै योजना तथा कार्यक्रम संचालन गरी कृषि, पशुपालन, पर्यटन तथा प्राकृतिक स्रोत जस्ता यहाँको सबल पक्षहरुको सही उपयोग गरी तिव्र विकास मार्फत नगरवासीको अपेक्षा पुरा गर्ने अवसर रहेको छ । हाल विश्वभर फैलिएको कोरोना भाईरस का कारण समयमै योजना तथा विकास कार्यक्रम संचालन र उल्लेखित लक्ष्यहरु हासिल गर्नु चुनौतीपूर्ण रहेपनि यसलाई स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास तथा सूचना प्रविधिको प्रयोग गरी विपद्को अवस्थामा पनि सेवा प्रवाह गर्ने अवसरको रुपमा
    समेत लिन सकिन्छ।

    ९ सोच, लक्ष्य र उद्देश्यः समृद्ध, सुखी र सबल नगरपालिका स्थापनाको लागि आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेटले निम्न सोच लक्ष्य र उदेश्य लिएको छ ।

    सोचः ‘देउपुर र मण्डनः कृषि र पर्यटन’ भन्ने नारामा आधारित सबल, सक्षम र समृद्ध नगर प्रद्धत कार्यक्रम र सहकार्य

    लक्ष्यः समृद्ध र सुखी नगरपालिका स्थापनाका लागि भौतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र मानवीय पक्षहरुको दीगो गुणात्मक र समष्टिगत विकास ।

    उदेश्यः

     दीगो भौतिक पूर्वाधार निर्माण तथा समावेशी, सुरक्षित र उत्थानशील संरचना

    • जैविक विविधता तथा वातावरणीय सन्तुलन र संरक्षण

    • उपलब्ध स्रोत, साधन र क्षमताको दिगो तथा समुचित प्रयोग र लाभको समतामूलक वितरण

    • उत्पादनमा विशिष्टीकरण र उपभोगमा विविधिकरण सहितको कृषि प्रणाली र
    औद्योकीकरण मार्फत प्रबर्द्धन

    • पर्यापर्यटन र सामाजिक सांस्कृतिक पर्यटनको विकास

    • व्यावसायिक कृषिमा आधारित उत्पादनमूलक साना तथा मझौला उद्योगको विस्तार

    • सबल, निष्पक्ष र जवाफदेही सार्वजनिक सेवा र सरकारी खर्चको कुशल, मितव्ययी र
    नतिजामुखी व्यवस्थापन

    • सामाजिक आर्थिक रुपान्तरण तथा नागरिकलाई मर्यादित र परिष्कृत जीवनयापनको
    अनुभूति

    • सार्वजनिक सेवामा सबैको समतामूलक पहुँच तथा सेवा प्रवाहमा सुदृढिकरण समुन्नत र समृद्ध नगर स्थापना गर्न नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक, मानवीय तथा सांस्कृतिक विकासका लागि समष्टिगत तथा क्षेत्रगत लक्ष्यहरु तय गरी उक्त लक्ष्यहरु हासिल गर्नु नगरको मुख्य उदेश्य हुनेछ ।

    यस नगरपालिकाले माथि उल्लेख भएबमोजिमका उद्देश्यहरु हासिल गर्न आर्थिक वर्ष २०७७/०७८ को बजेट विनियोजन गर्दा सडक, स्वास्थ्य, खानेपानी, शिक्षा, कृषि, पर्यटन, वातावरण र लक्षित वर्गलाई प्राथमिकिकरण गरी योजना तर्जुमा गरिएको छ। योजनाहरु संचालनका लागि जनमुखी नीति तथा दीगो, वातावरण मैत्री र उत्पादनमुखी परिणाममुखी कार्यान्वयनमा विशेष ध्यान दिइनेछ ।

    आवरणीय नगरसभाका सदस्य ज्यूहरु,

    १० अब म चालु आ.व २०७६ ।०७७ मा नगरपालिकाले सम्पन्न गरेका कार्यक्रमहरुको संक्षिप्त
    समिक्षा प्रस्तुत गर्न गईरहेको छु ।

    ११ कृषि विकासमा १०९ वटा हाते ट्याक्टर, २१ वटा पावर थेसर वितरण गरिएको छ । ३५ वटा प्लास्टिक टनेल, १२५ वटा थोपा सिंचाई सेट वितरण भएको, माटो परिक्षण सेवा शुरु भएको छ। साथै थप कृषि औजारको खरीद गरि ५० प्रतिशत साझेदारीमा वितरण गरिएकोछ ।

    १२. यस नगरपालिकामा हालसम्म एक घर एक धारा कार्यक्रम अन्तरगत वडा नं १ मा ४८६ वटा, वडा नं २ मा २५ वटा, वडा नं ३ मा ३३१ वटा, वडा नं ४ मा २९२ वटा, वडा नं ५ मा ३०० वटा, वडा नं ६ मा १६५ वटा, वडा नं ७ मा ३४५ वटा, वडा नं ८ मा ७५ वटा, वडा नं ९ मा ९८ वटा, वडा नं १० मा १०५९ वटा, वडा नं ११ मा ५२३ वटा, वडा नं १२ मा ४६१ वटा धारा गरी कुल ४१६० वटा धारा जडान गरिएको,जसमध्ये ६६० वटा धारा यस आ.व.मा जडान गरिएको हो ।

    १३. २७८६० मिटर पाईप बिछ्याइएको, १२ वटा इन्टेक र ९ वटा ट्याङ्की निर्माण गरिएको, २ वटा डिप बोरिङ निर्माण, ६ वटा पम्प खरिद गरिएको, ६ वटा इनार र कुवा निर्माण गरिएको र ५१ थान तारवार तथा ग्यावीन भरि पानीका मुहान संरक्षण गरिएको छ।

    १४. सडक निर्माण तर्फ हालसम्म मापदण्ड बमोजिम ९ मि को सडक ४९ कि. मि., ८ मि को सडक १० कि मि, ७ मि. को सडक ५२.१३ कि मि, ६ मि.को सडक १५ कि मि निर्माण गरिकुल १२६.१३ कि.मि सडक चौडा पारिएको छ।

    १५. ५१४ मि रिटेनिङ वाल तयार पारिएको, ३००० मि पक्की नाली निर्माण गरिएको, ५१.१ कि मि कच्ची नाली निर्माण गरिएको, ४ वटा कल्भर्ट, २ वटा कज वे निर्माण गरिएको, वर्षात पछि ८६ कि.मि सडकको मर्मत सम्भार तथा १६.१५ कि मि ग्रावेल र २२.८ कि मिनयाँ ट्रयाक सम्पन्न भएको छ ।

    १६. साथै नगरपालिकामा २४५ मि सडक आरसिसि ढलान, १९७ थान हुयुम पाईप व्यवस्थापन गरि सडकको स्तरोन्नती गरिएको, १२१.५ मी ढुगाको सोलिङ गरेको, २६२ थान ग्यावीन जाली प्रयोग भएको तथा हिगुवापाटी गैह्रीविसौना सडकमा १ कि. मि . नगरकोट नयाँगाँउ क्षेत्रमा ३ कि. मि र कुन्ताबेसी रातोपैरो ४ कि.मि. सडक कालोपत्रे गर्नका लागि कार्य शुरु गरिएको छ ।

    १७. चालु आ.व मा सिचाई तर्फ हालसम्म २६८.२ मीटर बाँध निर्माण, १२४.६ घ मि आरसिसि ढलान, ६३६ मि आर सि सि. कुलो निर्माण, ५ वटा भल्व बक्स च्याम्बर निर्माण, ३ वटा मेसिन खरिद, ३०० मि. जिआई पाईप खरिद ,३ वटा आरसिसि टयांकी निर्माण र १४९४ मि. एच डि.पि. पाईप बिछ्याइएको छ।

    १८. हालसम्म नगरपालिकाले अपाङ्गता भएका ७५ जनालाई रातो कार्ड, १६१ नीलो कार्ड, ९२ जनालाई पहेंलो कार्ड र ५० जनालाई सेतो कार्ड गरी जम्मा ३७८ जनालाई परिचयपत्र वितरण गरिएको छ।

    १९ यस नगरपालिका बाट हालसम्म ३८० जना महिला, ४२२ जना पुरुष गरि जम्मा ८०२ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ।

    २०. हालसम्म यस नगरपालिकामा ११ वटा टोल विकास संस्था तथा उपभोक्ता समिति दर्ता, १८० वटा व्यवसाय पसल दर्ता, ५२ वटा सहकारी सूचीकृत, २४ वटा संघ संस्था सूचीकृत र ६९ वटा कृषि समूह, फर्म, वन समूह दर्ता भएका छन् ।

    आवरणीय नगरसभाका सवस्य ज्यूहरु,

    २१ अब म हालसम्म नगरपालिकाले हासिल गरेका उल्लेखनीय कार्यहरुको संक्षिप्त विवरण पेश
    गर्न गरिरहेको छु ।

    • खुल्ला दिशामुक्त नगरपालिका घोषणा गरिएको

    • पूर्ण साक्षर नगरपालिका घोषणा गरिएको

    • नगर सभाले ४५ वटा ऐन, नियमावली तथा कार्यविधि निर्माण गरि लागु गरिएको ।

    • शिक्षा क्षेत्रमा दरबन्दी मिलान तथा बिद्यालय समायोजन गरिएको ।

    • वडावडामा शिबिर सञ्चालन गरी अपांगता परिक्षण तथा परिचय पत्र वितरण गरिएको

    • नगरस्तरीय सडकहरु मापदण्डका आधारमा सिमांकन गरिएको ।

    • स्वेच्छिक अवकास लिने शिक्षकहरुलाई रु.१ लाख नगद सहित सम्मान गरिएको ।

    • दरबन्दी कम भएका ९ ओटा विद्यालयलाई अनुदान उपलब्ध गराइएको ।

    •ECD कक्षालाई Play Group सहित २ तहको बनाइएको ।

    • विद्यालयहरुमा विज्ञान प्रयोगशाला, पुस्तकालय, कम्युटर ल्याव, प्रोजेक्टर, घेराबार जस्ता  कार्यक्रमहरु सञ्चालन गरिएको।

    •ECD देखि कक्षा १० सम्मका विद्यार्थीहरुलाई शैक्षिक सत्र २०७६ मा विद्यालय पोशाक वितरण
    गरिएको।

    • नगरपालिका अन्तरगतका विद्यालयहरुमा इन्टरनेट जडान र मल्टीमिडिया सामग्रीहरु वितरणको कार्य अघि बढाइएको ।

    • सम्पति कर संकलन तथा व्यवस्थापन प्रत्येक वडा कार्यालयबाटै सूचारु गर्न सफ्टवेयर खरिद गरीएको।
    • विभिन्न कम्प्युटर सफ्टवेयरहरुको प्रयोग गरी नगरपालिकाले दिने सेवाहरु छिटो छरीतो रुपमा सम्पादन गरिएको।
    • नगरकार्यपालिकाको भवन, नगरकोट, कुन्तावेशी चोक, ढाडखोलामा डिजिटल नोटीस बोड (विद्युतीय सूचना पाटी) र सि.सि.टि.भि. जडान गरिएको ।
    • नगरपालिका तथा न.पा. अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयहरुको सम्पूर्ण कार्यगत विवरणहरु न.पा को सर्भरमा एकीकृत गर्ने व्यवस्था मिलाइएको।

     

    आवरणीय नगर सभाका सदस्यज्यूहरु,

    २२ अव म गत आर्थिक वर्ष २०७५/०७६ र चालु २०७६/०७७ मा विनियोजित बजेट र प्रगतीको संक्षिप्त समिक्षा गर्न चाहन्छु ।

    आ.व. २०७५/०७६ को यथार्थ आय तथा व्ययको विवरण

    २३. २०७३ फागुन २७ मा स्थापित यस नगरपालिकाको आर्थिक वर्ष २०७५/०७६ मा अ. ल्या मार्फत रु ९ करोड ९ लाख ८८ हजार ७२९, आन्तरिक राजस्व बाट रु १३ करोड ९३ लाख ३१ हजार ७३ र ६ पैसा, संघीय सरकार शशर्त अनुदान १७ करोड ८८ लाख ५ हजार, संघीय सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान रु १० करोड ३२ लाख, प्रदेश शशर्त अनुदान रु ३ करोड ९८ लाख ९० हजार, प्रदेश समानिकरण अनुदान रु ७९ लाख ७२ हजार, प्रदेश समपुरक अनुदान रु ९९ लाख ९४ हजार, संघ राजस्व बाँडफाँड रु ५ करोड ५३ लाख ७७ हजार ७०३ र ६३ पैसा, प्रदेश राजस्व बाँडफाँड रु १ करोड ६१ लाख २ हजार ४३७ र २६ पैसा, मालपोल रु १ करोड ४० लाख ७ हजार २१९ र पैसा ३० पैसा, दहत्तर बहत्तर बाट ७ करोड ७ लाख २३ हजार ९१५, पर्यटन सेवा शुल्क रु ९४ लाख ८ हजार २५०, यातायात क्षेत्रको आय रु ४ करोड ८ लाख ३० हजार ६८४ र २३ पैसा, सडक बोर्डबाट प्राप्त रु २४ लाख १५ हजार ७७१. सहकारीबाट रु २ लाख प्रदेश सरकारबाट १ लाख ६२ हजार वैकल्पिक उर्जाबाट रु १३ लाख ६७ हजार ८८०, धरौटीबाट रु ५८ लाख ८४ हजार ९७ र १५ पैसा, मर्मत कोष ४८ लाख ३ हजार ४१० विपद व्यवस्थापन कोष रु १० लाख विर्वाः खातामा भएको रकम रु २ लाख ६९ हजार ७१० र अन्य विविध आय रु ५८ लाख ८४ हजार ९७ र १५ पैसा गरी कुल ७३ करोड ७९ लाख ९५ हजार २७१ र ४० पैसा आय रहेको र कुल खर्च ५५ करोड ६१ लाख २९ हजार ४९० र ४० पैसा खर्च भई प्रदेश र संघ सरकारको शशर्त अनुदान फिर्ता गरी रकम रु १६ करोड ६२ लाख ५ हजार २५५ वाँकी रहेको थियो ।

    २४ चालु .व. २०७६।०७७ को संशोधित अनुमान चालु आ.व. २०७६/०७७ मा आय तर्फ गत वर्षको अल्या रु १६ करोड ६० लाख ६३ हजार ९५५ अनुमान गरिएकोमा १६ करोड ६० लाख ६३ हजार ९५५ नै अल्या भएको, अनुमानित आन्तरिक आय रु १६ करोड ३९ लाख ७ हजार ६४८ गरिएकोमा संशोधित अनुमान रु ८ करोड ९० लाख, अनुमानित संघीय राजस्व बाँडफाँड रु ८ करोड २५ लाख गरिएकोमा संशोधित अनुमान रु ७ करोड, अनुमानित प्रदेश राजस्व बाँडफाँड १ करोड ७३ लाख ८९ हजार गरिएकोमा संशोधित अनुमान रु १ करोड, संघीय शशर्त अनुमान रु १७ करोड ६ लाख अनुमान गरिएकोमा संशोधित अनुमान २० करोड ४१ लाख ९ हजार भएको, प्रदेश शशर्त अनुदान २ करोड २२ लाख ८८ हजार अनुमान गरिएकोमा संशोधित अनुमान रु ३ करोड ३२ लाख ८८ हजार भएको र संघ तथा प्रदेशको वित्तिय समानिकरण अनुदान क्रमश ११ करोड ५९ लाख र १ करोड १ लाख ५६ हजार अनुमान गरिएकोमा यथावत हुने अनुमान गरिएको छ। प्रदेश तथा संघ सरकारबाट समपुरक तथा विशेष अनुदान बजेट लगायत अन्तरसरकारी अख्तियारी बजेट हस्तान्तरण भई कुल संशोधित बजेट रु ८८ करोड ६० लाख ७३ हजार १९७ अनुमान गरिएको छ । यस आ.व. मा कोरोना रोग संक्रमणका कारण बन्दाबन्दी समयावधी परेकाले विकास निर्माणका कार्यमा केहि अवरोध सृजना हुँदा आ.व. को अन्त्य सम्ममा चालु खर्च ७५ प्रतिशत र पूँजीगत ६० प्रतिशत मात्र हुन सक्ने गरिएको छ।

    आदरणीय नगर सभाका सदस्यज्यूहरु,

    ३४२४. मण्डनदेउपुर नगरपालिकाको “देउपुर र मण्डन- कृषि र पर्यटन” भन्ने नारालाई आत्मसात गर्दै सुखी र समृद्ध नगरपालिकाको निर्माण गर्न सहभागितामुलक योजना तर्जुमा पद्वतिबाट तयार पारिएको आ.व. २०७७/०७८ को नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

    २५ स्थानीय सरकार सञ्चालन ऐन, २०७४, यस नगरका ऐन, नियमावली, निर्देशिका तथा कार्यविधि र प्रदेश तथा संघीय अर्थ मन्त्रालयबाट प्राप्त वजेट सिलिङको अधिनमा रहि यस न.पा. को आ.व. २०७७/०७८ वार्षिक योजना नगरले लिएको मुल नीति र विकासका मुख्य क्षेत्रहरुलाई प्राथामिकता दिँदै वडा बस्तिबाट आम नागरिकको सक्रिय सहभागिता गराउँदै वडा भेलाको प्रस्तावलाई वडा समितिको बैठक राखि नगरपालिकामा सिफारिस भै-आए पश्चात विषयगत समितिमा छलफल गराई बजेट तथा कार्यक्रम तर्जुमा समितिले तय गरे बमोजिम प्राथमिकिकरण गरी योजनाहरु प्रस्तुत गरिएको छ।

    पूर्वाधार विकास तर्फ

    २६ सडक पूर्वाधारको सबलिकरणका लागि यस नगरपालिका क्षेत्र भित्रका सडकहरुलाई नगरपालिकाको मापदण्ड बमोजिम ८ मीटर तथा ९ मीटर चौडा पार्दै लगिनेछ।

    २७. नगर क्षेत्र भित्र निर्माण भएका सडकहरुलाई बर्षैभरि संचालनयोग्य बनाई सहज र सरल पहुँच र आवतजावत सुनिश्चित गर्न ग्रावेल गर्ने, पक्की नालि निर्माण गर्ने, रिटेनिङ्ग वाल जस्ता संरचना तयार गर्ने र आवश्यक स्थानमा ढलान समेत गर्ने कार्यलाई निरन्तरता दिइनेछ। साथै प्राथमिकतामा आधारमा कालोपत्रे गर्ने प्रकृया समेत अघि बढाइनेछ।

    २८ यस नगरपालिकाको प्रशासकीय भवन निर्माणका लागि वडा नं. ७ स्थित मनमति डाँडा क्षेत्रलाई तोकी जग्गा खरिद प्रकृया समेत सम्पन्न भई सकेको र सो स्थानमा भवन निर्माणका लागि स्वीकृत परियोजना प्रतिवेदन समेत तयार भएकोले प्रशासकीय भवन निर्माण, प्रवेश मार्ग तथा खानेपानीको लागि बजेट विनियोजन गरी कार्य प्रारम्भ गरिनेछ। सो कार्यको पुँजी व्यवस्थापनका लागि संघीय सरकारसँग अनुदान सहायता र नपुग रकम नगर विकास कोषसँग ऋण सहायता माग गरिनेछ। साथै सोहि स्थानमा थप जग्गा प्राप्तिको प्रकृया समेत अघि बढाइनेछ। थप जग्गा प्राप्तिको लागि समेत बजेट विनियोजन गरेको छु

    २९ वडा कार्यालय भवन नभएका वडा हरुमा वडा कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाइनेछ।

    ३० नगरपालिकाका गौरवका तथा ठूला आयोजनाहरु नगरपालिका, प्रदेश र संघीय सरकारसँगको साझेदारीमा ठूला पूर्वाधारका योजनाहरुलाई अघि बढाइने नीति लिइनेछ ।

    ३१ यस आ.व. २०७७/०७८ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अनतर्गत यस नगरपालिका अनतर्गत सूचीकृत भएका बेरोजगार जनशक्ति परिचालन गरी विकास निर्माणको योजनाहरु अघि बढाइने नीति लिइनेछ ।

    आर्थिक विकास तर्फ
    ३२. कृषि क्षेत्रमा नविनतम प्रविधिको प्रयोगका साथै कृषि क्षेत्रमा आधुनिकिकरण, व्यवसायीकरण र विविधिकरण मार्फत प्रतिस्पर्धात्मक बनाई मर्यादित पेशाको रुपमा स्थापित गराउने नीति अवलम्बन गरिनेछ। कृषिलाई उत्पादनशिल बनाउँदै लागिनेछ र औद्योगीकरण मार्फत रोजगारीको सिर्जना गरी आय आर्जनको विश्वासिलो माध्यमको रुपमा विकास गरिनेछ ।

    ३३. कृषिमा आबद्ध कृषकहरुको आय आर्जन वृद्धिका लागि उत्पादन क्षेत्रका आधारमा बेमौषमी तरकारी खेतीलाई प्रोत्साहन गरिनेछ। सो का लागि आवश्यक सिंचाई पूर्वाधारको विकास तथा विस्तार गरिनेछ ।

    ३४. कृषि क्षेत्रका लागि अत्यावश्यक मलखाद, विषाधी, चुन तथा तरकारी, अन्नबाली तथा फलफूलको विउ वेर्ना, कृषि चुन इत्यादी को व्यवस्था गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।

    ३४. कृषि पेशामा लागेका कृषकहरुलाई प्राविधिक तथा विषयगत सल्लाह र सुझावहरु खेत बारी मै उपलब्ध गराउन कृषि क्याम्पसहरुको साझेदारीमा विद्यार्थी प्रयोगात्मक कार्यक्रम परिचालन गरि कृषि सेवा प्रदान गर्ने नीति लिईनेछ ।

    ३६. कृषि उपजहरुको उत्पादन पश्चात संकलन तथा बजारिकरण कार्यका लागि नगरपालिकामा कृषि उपज संकलन तथा बजार केन्द्र र कोल्ड स्टोर को निर्माण गरिनेछ। साथै कोदो र मकैको बिउ बैंक, बालीहरुमा लाग्ने रोगहरुको परिक्षणका लागि रोग परीक्षण ल्याव (Plant Clinic) को व्यवस्था मिलाइनेछ ।

    ३७. कृषिमा आइपर्ने जोखिम न्यूनिकरण गरी कृषकलाई राहत प्रदान गर्न र कृषि बालीमा पर्न सक्ने सम्भाव्य क्षतिको न्यूनिकरणका लागि कृषि वाली बीमाको कार्यक्रम आगामि आर्थिक बर्षबाट अघि बढाइनेछ ।

    ३८ कृषि पेशालाई परम्परागत र जीवन निर्वाहमूखी बाट व्यवसायिकण तर्फ उन्मुख गर्न नगरपालिका क्षेत्र भित्र ५०:५० प्रतिशत लागत साझेदारीमा कृषि प्रबर्द्धनका नवप्रवर्तनकारी कार्यक्रम संचालन गर्ने नीति लिइनेछ ।

    ३९. नगरभित्र पशुपालनलाई व्यवसायीकरण गरी मासु तथा दुग्ध उत्पादनमा बृद्धि गर्न तथा विभिन्न रोगहरुबाट हुनसक्ने सम्भाव्य पशुधन क्षती न्यूनिकरणका लागि पशु बीमा कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    ४०. नगरपालिका अन्तर्गतका सबै वडाहरुमा पशु सेवा प्राविधिक मार्फत सेवा उपलब्ध गराइनेछ। पशु स्वास्थ्य जाँच घुम्ति शिविर सञ्चालन गरि गोबर तथा रगत जाँच गर्ने कार्यलाई निरन्तरता दिइनेछ । साथै आवश्यक औषधी तथा सामग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ ।

    ४१. कृतिम गर्भाधानको लागि बिज सेक्स सेलेक्ट सिमन तथा नाइट्रोजनको आपूर्तीको सुनिश्चितता
    गरी नक्षा सुधार, बोका वितरण कार्यक्रम र महामारी विरुद्ध खोप कार्यक्रम संचालनलाई निरन्तरता दिनइनेछ ।

    पर्यटन

    ४२ नगर भित्र रहेका विभिन्न जातजाती, भाषाभाषी तथा धर्म संस्कृतको समुदायहरुको जातीय, भाषिक तथा धार्मिक सांस्कृतिक सम्पदाहरुको पहिचान गरी प्रवर्द्धन गर्ने नीति अंगिकार गरिनेछ।

    ४३ नगरपालिकाको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न तथा पर्यटन प्रबर्द्धन गर्न नगर स्तरीय पर्यटन गुरु योजना तयार गरी प्रचार प्रसार गरिनेछ ।

    ४४ आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नगर भित्रका नगरकोट, ठुलीचौर, थामीडाँडा, बुद्धपार्क लगायतका प्रमुख पर्यटकीय गन्तब्यहरुको पूर्वाधार विकास गर्ने नीति लिईएको छ ।

    ४५ पर्यटन प्रवर्द्धनको लागि नगर क्षेत्र भित्र थप पर्यटकीय पदमार्ग निर्माण गरिनेछ । ठुलोचौर तथा थामीडाँडामा भ्यू टावर निर्माणको विस्तृत परियोजना प्रतिवेदन कार्य सुरु भएकोमा आ.व. २०७७/०७८ मा निर्माण कार्य अघि बढाईनेछ ।

    सामाजिक विकास तर्फ खानेपानी

    ४६ यस नगरपालिकालाई एक घर एक धारायुक्त बनाउने नीति बमोजिम हालसम्म ४१६० घरधुरीमा एक घर एक धारा निर्माण सम्पन्न भएकोमा आगामी आर्थिक वर्षमा करिव ३००० घरधुरीलाई एक घर एक धारायुक्त बनाइनेछ ।

    स्वास्थ्य 
    ४७ स्वस्थ नगर, स्वस्थ नगरबासी, स्वस्थ जीवन र स्वस्थ समाजका लागि स्वस्थ उत्पादन र स्वस्थ
    उपभोगमा जोड दिइनेछ। स्वास्थ्य संस्थाहरूको पूर्वाधार र जनशक्ति विकासमा जोड दिई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ। आधारभूत र आकस्मिक स्वास्थ्य सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्दै लगिनेछ।

    ४८. यस नगरपालिकाले नगर भित्रका मुटु रोग, क्यान्सर तथा मृगौला रोग सम्बन्धी शल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई शल्यक्रिया गर्ने समयमा एक पटकको लागि प्रदान गर्दै आएको आर्थिक
    सहयोग कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    ४९ यस नगरपालिकाले संचालन गर्दै आएको खोप तथा गर्भ जाँच सेवालाई सुरक्षित र व्यवस्थित गर्न प्रत्येक वडामा स्वास्थ्य सेवा केन्द्र तथा खोप केन्द्र निर्माण कार्य शुरु भैसकेको हुँदा आवश्यक बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गरिने छ ।

    ५० गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नका लागि नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाको भौतिक सुधार तथा थप हुने संस्थाहरुको भौतिक पूर्वाधारहरुको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ ।

    ५१. महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान स्वरुप प्रदान गरिदै आएको प्रोत्साहन भत्ता कार्यक्रमलाई निरन्तरता दिईनेछ । सूचीकृत स्वास्थ्य संस्थामा प्रसुति सेवा लिने दलित तथा सीमान्तकृत महिलाहरुलाई थप प्रोत्साहन भत्ता दिने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    ५२ कोरोना भाइरस संक्रमणबाट पर्न सक्ने सम्भावित मानवीय क्षतीलाई मध्यनजर गर्दै सत्तरी वर्ष
    माथिका ज्येष्ठ नागरिक र अपाङ्गगता भएका व्यक्तिहरुको कोरोना बीमा गरिने व्यवस्था गरिने
    छ ।

    ५३ निशुल्क वितरण गरिने औषधि अभाव हुन नदिन पर्याप्त बजेटको व्यवस्था मिलाईने छ ।

    ५४ नगर अस्पताल निर्माणको काम यसै वर्ष शुरु भएकोमा आ.व. २०७७/०७८ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

    ५५ नगरपालिका भित्र काम गर्ने गैर सरकारी सस्थाहरुसँग समन्वय गरी स्वास्थ्य सम्वन्धी कार्यक्रमहरु संचालन गरिने छ ।

    ५६ आ.व. २०७७/०७८ मा थप संचालन हुने स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने ल्याव टेक्नीसियन, अक्जुलरी हेल्थ वर्कर, असिस्टेन्ट नर्स मिडवाइफि, कार्यालय सहयोगी लागायतका जनशक्तिको व्यवस्थापन गरिने छ ।

    खेलकुद

    ५७ यस नगरपालिकाको वडा नं. ७ स्थित महादेवस्थानको गेरुवा, नौबिसेमा नगरस्तरीय खेल ग्राम निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरिएकोमा खेल मैदान निर्माणका लागि प्रदेश सरकारसँगको साझेदारीमा आ.व. २०७७/०७८ मा निर्माण कार्य अगाडी बढाइनेछ छ ।

    ५८ यस नगर अन्तर्गतका विद्यालय तथा क्लबहरु बीच खेलकुद प्रतियोगिता संचालन गर्ने, नगर बाहिर हुने खेलकुद प्रतियोगितामा नगरको प्रतिनिधित्व हुने गरी प्रतियोगरीहरु सहभागी हुने व्यवस्था मिलाइने तथा क्लवहरुलाई खेलकुद सामग्री उपलब्ध गराइने छ ।

    ५९ स्वस्थ जीवनका लागि खेलकुद भन्ने नारा सहित विद्यालय स्तरमा खेलकुद प्रवर्द्धनका लागि मेयर कप खेलकुद प्रतियोगिता संचालन गरिनेछ ।

    शिक्षा

    ६० परिष्कृत एवं मर्यादित जीवन र सम्मानित रोजगारी तथा उद्यम विकासको महत्वपूर्ण माध्यमका रुपमा रहेको शिक्षा क्षेत्रलाई वैज्ञानिक, प्राविधिक, व्यवसायिक, सीपमूलक तथा रोजगारमूलक बनाउन गुणस्तरीय शिक्षामा जोड दिइ प्रविधियुक्त सिकाइ प्रकृया लागु गर्दै लगिनेछ ।

    61. विद्यालय समायोजन तथा एकीकरणको कार्य लाई निरन्तरता दिइनेछ।

    62. कोरोना भाईरसको कारण शिक्षा क्षेत्रमा परेको असर न्यूनिकरणका लागि बैकल्पिक शिक्षाका कार्यक्रमहरु संचालन गर्ने नीति लिईनेछ।

    63. जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने कार्यक्रमका साथ शिक्षक व्यवस्थापन तथा दरवन्दी मिलान कार्यलाई निरन्तरता दिइनेछ।

    64. सामुदायिक विद्यालयका बालकक्षा (१ र २) मा अध्ययन गर्ने विद्यार्थीहरुलाई दिवा खाजाको व्यवस्थालाई निरन्तरता गरिनेछ ।

    65. नगरपालिकाको सामुदायिक विद्यालयहरुमा बालकक्षा देखी अंग्रेजी माध्यममा अध्यापन गराउने नीति अनुरुप अंग्रेजी पाठ्यपुस्तक उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइनेछ ।

    66. नगरपालिका भित्रका विद्यालयहरुको कक्षा ३, ५, ८ र १० को परीक्षामा एकरुपता कायम गर्न उक्त कक्षाहरुको परीक्षा नगरपालिकाबाट संचालन गर्ने व्यवस्थालाई निरन्तरता दिँदै कक्षा ४, ६, ७ र ९ को वार्षिक परीक्षा पनि नगरपालिकाबाट संचालन गरिनेछ । साथै नगरपालिका भित्रका विद्यालयहरुको संचालनमा एकरुपता ल्याउन शैक्षिक क्यालेण्डर प्रकाशन गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    ६७ नगरपालिकाबाट संगीत तथा कला (Music and Ant) प्रशिक्षक, र कम्प्युटर प्रशिक्षकको नियुक्ति गरि सामुदायिक विद्यालयहरुमा हप्तामा पालो पालो गरी विभिन्न विद्यालयमा गई शिक्षक तथा विद्यार्थिहरुलाई तालिम दिने व्यवस्था मिलाइने छ । साथै विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालनमा जोड दिइनेछ ।

    ६८ नगरपालिकाभित्रको सामुदायिक विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थी छनौट गरी नगरस्तरीय छात्रवृति प्रदान गरिनेछ ।

    69. नगरपालिका क्षेत्र भित्रको कम्तिमा एउटा सामुदायिक विद्यालयलाई अपाङ्ग मैत्री तथा नमूना विद्यालयको रुपमा आगामी आ.व. २०७७/०७८ भित्रै विकास गरिनेछ ।

    70. विद्यालयमा नयाँ जनशक्ति भित्र्याउने उद्देश्यले आगामी आर्थिक वर्षमा पनि २० वर्ष स्थायी सेवा अवधि पुरा गरी ५० वर्ष उमेर ननाघेको र अनिवार्य अवकाश हुन १ वर्ष वाँकी रहको शिक्षकले अवकाश लिन चाहेमा शिक्षकलाई रु १ लाख नगद र प्रशंसापत्र सहित सम्मान गरिनेछ ।

    71. विद्यालयमा कार्यरत विद्यालय सहयोगी, बालविकास केन्द्रका सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको समय सापेक्ष न्यूनतम पारिश्रमित पुग्ने गरी वृद्धि गरिनेछ । ।

    72. सामुदायिक विद्यालयमा तहगत प्रधानाध्यापक नियुक्ति गरी नगरपालिकासँग सेवा करारको आधारमा प्रधानाध्यापक भत्तामा पनि वृद्धि गरिनेछ ।

    73. सामुदायिक विद्यालयका प्रत्येक शिक्षकको हातमा शिक्षक डायरी र विद्यार्थीको हातमा गृहकार्य डायरीको व्यवस्था गरिनेछ ।

    74. सामुदायिक विद्यालय मा.वि. र नि.मा.वि. मा शिक्षा नियमावलीले तोके बमोजिम न्यूनतम शिक्षक दरबन्दीको व्यवस्थापन गरिनेछ ।

    75. विद्यार्थी संख्या कम भएका र नजिकका विद्यालयलाई समायोजन तथा एकीकरण गरी ठूला विद्यालय (Big School) संचालनमा ल्याइनेछ ।

    76. विद्यालयमा आवश्यक पर्ने भवन, कक्षाकोठा, खानेपानी, शौचालय, घेराबार, बगैंचा निर्माण, विज्ञान प्रयोगशाला, पुस्तकालय र कम्प्यूटर ल्याबको क्रमशः निर्माण गरिनेछ ।

    77. आधारभूत तहमा स्थानीय पाठ्यक्रम लागू गरी मातृ भाषाको माध्यमबाट आ.व. २०७७/०७८ देखि पठनपाठन शुरु गरिनेछ ।

    78. विद्यालयको पठनपाठलाई वैकल्पिक पद्धती र विधिका साथै अनलाइन माध्यमबाट संचालन गर्न सबै सामुदायिक विद्यालयमा इन्टरनेटको व्यवस्था गरिनेछ ।

    79. विद्यालयको पठनपाठनलाई सूचारु गर्न कोरोना महामारी निरन्त्रण सम्बन्धी कार्यक्रम संचालन गरिनेछ ।

    80. उत्कृष्ट विद्यालय तथा शिक्षकलाई सम्मानको व्यवस्थालाई निरन्तरता दिइनेछ ।

    81. नगरपालिकाको वडा नं ९ स्थित श्री डेडीथुम्का माध्यमिक विद्यालयमा कृषि तथा प्राविधिक शिक्षालय स्थापना गरी पठन पाठन शुरु गरिनेछ।

    82. यस नगरपालिका भित्र उच्च शिक्षा अध्ययन गर्न चाहने महिलाहरुको लागि छोरी बुहारी शिक्षा
    कार्यक्रम मार्फत छात्रवृत्ति प्रदान गरिनेछ।

    वातावरण व्यवस्थापन तर्फ 
    ८३. नगरपालिकाका विभिन्न वडाहरुमा रहेका प्रमुख कृषि बाली हुने आशिखोला, कुन्ताफाँट, ढाइटारफाँट, चाखोलाफाँट, ढाईटार, सिपाघाट, जोगीटार, ज्वानेटार, हल्देटार, कामीटार, आँपघारी, रायोवारी, राम्चेवेशी, गैह्रीखेत, डुंडे, बोक्से, माझीटार, मजुवा भिमटार, सान्डी, ठुल्डी, जैसिथोक लगायत तीन बाली लाग्ने फाँटमा ईटा उद्योग स्थापना गर्न नदिने नीतिलाई निरन्तरता दिइनेछ ।

    ८४. फोहर व्यवस्थापनको लागी कुहिने फोहर उत्सर्जन स्थलमा नै व्यवस्थापन गर्न जनचेतमा अभिबुद्धि गर्ने र नकुहिने फोहर व्यवस्थापन गर्न ल्याण्डफील्ड साइट निर्माणका लागि प्रारम्भिक वातावरणीय अध्ययन र विस्तृत परियोजना प्रतिवेदन निर्माणका प्रक्रिया अघि बढिसकेकोले ल्याण्डफिल साईटको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ । नगरकार्यपालिकाको कार्यालयमा वातावरण तथा विपद् व्यवस्थापन शाखाको स्थापना गरी वातावरण सम्बन्धि कार्यहरुको संयोजन गरिनेछ।

    ८६ नगरपालिकाका लागि आगजनी सँग सम्बन्धित विपद् न्यूनिकरणका लागि यस नगरपालिकालाई आवश्यक दमकल संघीय सरकार सँग माग गर्ने प्रक्रिया अघि बढाइनेछ।

    ८७ फोहोरमैला उत्पादन देखी व्यवस्थापन स्थल सम्म सुरक्षित ढुवानी का लागि क्लोज्ड ट्रीपर र
    क्लोज्ड ट्याक्टर खरिद गर्नका लागि बजेट स्रोत व्यवस्थापन गर्दै लगिनेछ।

    ८८ नगरपालिकाको भौगोलिक अवस्थिति अनुरुपको विपद्का प्रकृतिका आधारमा नगरस्तरीय हेजार्ड म्यापिङ्ग गरिनेछ।

    राजस्व परिचालन तर्फ

    ८९ आवश्यकताको आधारमा करका दायरालाई फराकिलो बनाइ करका दरलाई समायानुकुल बनाइनेछ । करदाताको कर सचेतना अभिबृद्धि मार्फत कर संकलन बढाउन सचेतनामूलक कार्यक्रम संचालन गरिनेछ । कर प्रशासनलाई मितव्ययी र चुस्त बनाइनेछ । नगरपालिकाले लगाउने करहरु वडा तहबाट संकलन गर्ने व्यवस्था मिलाइनेछ ।

    ९० नगरपालिका भित्र संचालनमा रहेका उद्योग, व्यवसाय र होटलहरुलाई अनिवार्य रुपमा दर्ता/सूचीकृत गराई करको दायरामा ल्याउने कार्य निरन्तरत रुपमा गरिनेछ ।

    ९१ कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि घोषणा गरिएको बन्दाबन्दीको अवधिलाई मध्यनजर गर्दै चालु आ.व. २०७६/०७७ को चैत्र देखि असार मसान्तसम्म (अन्तिम चौमासीक) व्यवसाय कर छुट दिइनेछ। पसले, उद्योगी व्यवसायीहरुलाई केहि राहत हुने अपेक्षा गर्दछु।

    आवरणीय नगर सभाका सदस्यज्यूहरु,
    ९२ लैंगिक समानता र महिला सशक्तिकरणको लागि लैंगिक विभेदको अन्त्य गरी समान हक स्थापना गर्ने र लैंगिक क्षमता, श्रम, सीप र श्रृजनालाई विकासमा मूलप्रवाहिकरण गरी सामाजिक समानता सुनिश्चित गर्ने नीति अवलम्बन गरिनेछ ।

    93. बालबालिका संरक्षण, बालविकास र बाल सहभागिता मार्फत बालबालिका विरुद्ध हुने सबै प्रकारका विभेद शोषण दुर्व्यवहार र हिंसाको अन्त्य गरी बालबालिकाको सर्वाण विकासका लागि बाल मैत्री परिमाणात्मक लक्ष्यको नीति लिइनेछ ।

    94. जेष्ठ नागरिकको जीवन सहज, सुरक्षित र संरक्षित बनाइ सामाजिक संरक्षण र सुरक्षाको प्रत्याभूती गर्न सामाजिक न्यायको नीति अबलम्बन गरिनेछ ।

    95. अपाङ्गता भएका व्यक्तिहरुको सबै खाले अधिकारको प्रत्याभूत गर्दै समष्टिगत विकासका लागि सहभागितामूलक नीति र अपाङ्ग मैत्री भौतिक पूर्वाधार विकासमा जोड दिइनेछ। नगरस्तरीय अपाङ्गता पुनःस्थापना तथा स्वरोजगार केन्द्र स्थापना गरिनेछ।

    96. सामाजिक सुरक्षा व्यवस्थापन तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई प्रविधिमैत्री र सरल बनाउनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको समन्वयमा संचालित अनलाइन प्रणालीलाई निरन्तरता दिनइनेछ । सामाजिक सुरक्षा भत्ता बैंकिङ्ग प्रणाली मार्फत वितरण गर्ने नीतिलाई अनिवार्य गरिनेछ ।

    97. हरेक वडाबाट मृत्युदर्ता लगायतका पञ्जीकरण विवरण प्रत्येक महिना नगरपालिकाको सामाजिक विकाश शाखामा पठाउनुपर्ने व्यवस्था गरिनेछ । प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरु र मृत्यु भएका व्यक्तिहरुको नामावलि सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिनेछ ।

    98. नगरपालिका भित्रको धार्मिक तथा ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति र सांस्कृतिक पक्षहरुको संरक्षण र सम्बर्द्धन गरिनेछ ।

    99. नगरपालिकाद्धारा संचालन गरिएका कार्यक्रम तथा योजनाको संचालनमा पारदर्शिता कायम गर्न वडा तथा नगर तहमा सार्वजनिक सुनुवाइ खर्च सार्वजनीकरण तथा सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिइनेछ ।

    १०० प्रत्येक वडामा टोल विकास संस्थाहरुको गठन गरी टोल विकास संस्था मार्फत विकास निर्माण का कार्यहरु संचालन गर्ने निति लिइनेछ।

    १०१ नगरपालिका भित्र संचालन हुने योजनाहरुमा दोहोरोपना आउन दिइने छैन । योजना संचालन गर्दा ४ प्रतिशत कन्टेन्जेन्सी र ५ प्रतिशत मर्मत सम्भार कोष कट्टिको व्यवस्था गरिनेछ ।

    १०२ नगर, वडा तथा स्वास्थ्य संस्थाका उत्कृष्ट कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा राम्रो काम गर्ने उपभोक्ता समितिलाई सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

    १०३ यस नगरपालिका भित्र कार्यरत तथा कार्यक्रम सञ्चालनको लागि स्वीकृती माग गर्न आउने विभिन्न गैर सरकारी संस्था, सहकारी, निजी तथा अन्य संघसंस्थाको कार्यक्रमलाई निर्धारित मापदण्डको आधारमा स्वीकृती प्रदान गरी कार्यक्रम सञ्चालन गर्न दिने तथा त्यस्ता संघ सस्थासंग विकासका काममा सहकार्य गर्ने नीति लिइनेछ । यस्ता संघ संस्थाहरुले यस नगरपालिका भित्र संचालन गर्ने बार्षिक कार्यक्रमहरु अनिवार्य रुपमा यस नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश गराउनु पर्ने नीति लिइनेछ।

    १०४ नगर विकास कोषसँग भौतिकपूर्वाधार निर्माण को लागि श्राण लिइ स्रोत व्यवस्थापन गर्ने निति लिईनेछ।

    १०५ मुस्कान सहितको सेवा भन्ने भावलाई आत्मसात गरी नपा तथा अन्तरगतका कार्यालयहरु मार्फत सार्वजनिक सेवा प्रवाह गरिनेछ।

    १०६ नगरपालिका अन्तरगतका कर्मचारीहरुका लागि सूचना प्रविधि क्षमता अभिवृद्धि कार्यक्रम
    संचालन व्यवस्था गरिनेछ।

    आदरणीय नगर सभाका सदस्यज्यूहरु,

    १०७ अब म, नगरपालिकाको सोंच, लक्ष्य, उद्देश्य, नीति तथा कार्यक्रम कार्यान्वनका लागि आर्थिक वर्ष २०७७/०७८ को आय, व्यय, बजेट विनियोजन र श्रोतको व्यवस्थाको योजना प्रस्तुत गर्दछु ।

    १०८ आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न रु ९२ करोड २५
    लाख ७९ हजार ७५१ विनियोजन गरेको छु । कूल विनियोजित बजेट मध्ये चालू तर्फ रु ४७ करोड ८८ लाख १८ हजार ८९१ ( ५१.९ प्रतिशत) र पूँजीगत तर्फ रु ४४ करोड ३७ लाख ६० हजार ८६० (४८.१ प्रतिशत) रहेको छ।

    १०९ आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय समानीकरण अनुदानबाट रु ११ करोड ४८ लाख, प्रदेश समानीकरण अनुदानबाट रु १ करोड १ लाख ३८ हजार, संघीय सशर्त अनुदानबाट रु २२ करोड ९० लाख, प्रदेश सशर्त अनुदानबाट रु ९ करोड ६७ हजार, आन्तरिक राजस्व अनुमान रु ११ करोड ३० लाख २ हजार ७९१, जिल्ला राजस्व बाँडफाँड अन्तर्गत घर जग्गा रजिष्ट्रेशन शुल्क रु. १ करोड, संघीय विभाज्य कोषबाट राजस्व बाँडफाँड अन्तर्गत प्राप्त हुने रु ७ करोड ७९ लाख ६१ हजार ९६०, नगर विकास कोषबाट ऋण सहायता रु. ३ करोड ५० लाख तथा गत आर्थिक वर्षको नगद मौज्दात रु १८ करोड रहेको छ ।

    ११० आ. व. २०७७/०७८ को लागि अनुमानित आम्दानी, चालू तथा पूँजीगत खर्चबाट विनियोजित
    खर्च, कार्यक्रम तथा योजनाहरुलाई अनुसूचीमा राखी सोही बमोजिम स्वीकृत गर्न प्रस्ताव गरेको
    छु ।

    आदरणीय नगर सभाका सदस्यज्यूहरु,

    १११ नगरपालिकाको मुख्य प्रशासकीय भवन निर्माण को लागि रु २ करोड विनियोजन गरेको छु। नगरपालिका निर्माण स्थलमा थप जग्गा प्राप्तिको लागि रु ६० लाख विनियोजन गरेको छ। त्यसैगरी नगरपालिका भवन निर्माण स्थल सम्म पहुँच मार्ग स्तरोन्नतीका लागि रु ५० लाख र खानेपानी व्यवस्थापनका लागि रु ४० लाख बजेट विनियोजन गरेको छु।

    ११२ नगरपालिकाको बोक्से क्षेत्रमा ल्याण्ड फिल्ड साईट निर्माणका लागि रु ५० लाख विनियोजन
    गरेको छु ।

    ११३ नगरपालिका भित्र खानेपानीको सुनिश्चितता गर्नका लागि एक घर एक धारा कार्यक्रमका लागि रु १ करोड रकम विनियोजन गरेको छु ।

    ११४ नगरपालिकामा कृषि बजार तथा कृषि उपज संकलन केन्द्र, शित भण्डार गृह निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरेको छु ।

    ११५ नगरपालिकाको वडा नं. ७ स्थित कुन्तावेशी चोक पार्क निर्माणका लागि रु ५० लाख रकम विनियोजन गरेको छु।

    ११६ सत्तरी बर्ष माथिका नगरबासीहरुलाई कोरोना जिवन विमा गर्न सहयोग गर्ने गरी रु १२ लाख रकम विनियोजन गरेको छु ।

    ११७ संघीय सरकार र प्रदेश सरकारसँगको सहकार्यमा भूमि बैङ्क तथा श्रम बैङ्क स्थापना गरी बाँझो जमिनमा व्यावसायीक कृषि तथा पशुपालन कार्यक्रम संचालन गर्ने र वनको संरक्षण गरी वन पैदावर उपज र वन पर्यटन प्रबर्द्धन गरी वृहत्तर रोजगारी सृजनाका लागि रु ५० लाख विनियोजन गरेको छु ।

    ११८ पूर्वाधार विकास अन्तरगत सडक सञ्जाल स्तरोन्नतिका लागि रु २ करोड विनियोजन गरेको छु ।

    ११९ एक थान रोलर तथा एक थान ट्रिपर खरिदका लागि रु १ करोड २० लाख रकम विनियोजन
    गरेको छु ।

    १२० अपाङ्ग पुनर्स्थापना तथा स्वरोजगार केन्द्र स्थापनाका लागि रु ५० लाख रकम विनियोजन
    गरेको छु ।

    १२१ यस नगरपालिकाको डेडीथुम्का मा वि मा कृषि प्राविधिक शिक्षालय संचालनको लागि लागि रु. ५० लाख रकम विनियोजन गरेको छु ।

    १२२ वैकल्पिक शिक्षा कार्यक्रम, शिक्षा विकास, विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापनका लागि रु. ३ करोड ८० लाख रकम विनियोजन गरेको छु ।

    १२३ स्वास्थ्य क्षेत्रको विकासको लागि नगर अस्पताल निर्माण तथा संचालन र ल्याब संचालन समेतको लागि रु. १ करोड रकम विनियोजन गरेको छु ।

    १२४ सडक लगत कट्टाको लागि रु. २० लाख रकम विनियोजन गरेको छु ।

    १२५ सडक किनारमा रहेका विद्युत तथा टेलिफोनका पोल स्थानान्तरणका लागि रु २० लाख विनियोजन गरेको छु ।

    १२६ कृषि विकास तथा कृषि विकास साझेदारी कार्यक्रमका लागि रु. १ करोड रकम विनियोजन
    गरेको छु ।

    १२७ कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि रु. ८८ लाख रकम विनियोजन गरेको छु

    १२८ यस नगरपालिकाको डिजिटल नगर प्रोफाईल निर्माण का लागि रु.२० लाख रकम विनियोजन गरेको छु। कोभिड १९ बाट थला परेको पर्यटन व्यवसायलाई पुनर्जागृत दिगो बनाउन पर्यटन गुरुयोजना निर्माण गर्न रु २० लाख विनियोजन गरेको छु।

    १२९ नगर न्यायीक समिति संचालनका लागि लागि रु. २० लाख रकम विनियोजन गरेको छु ।

    १३० महिला, बालबालिका, अपाङ्ग, दलित, ज्येष्ठ नागरिक, अल्पसंख्यक नागरिक लगायतका लक्षित
    वर्गको कार्यक्रम संचालनका लागि रु. ५० लाख विनियोजन गरेको छु ।

    १३१ विद्यमान विपद् व्यवस्थापन कोषमा रु. ३० लाख रकम थप गर्ने प्रस्ताव गरेको छु।

    १३२ चालु तथा प्रशासनीक खर्च राजश्व वाँडफाँड दायित्व मा अघिल्लो आ. व. को दायित्व रु १४
    करोड, कर दायित्व रु ४ करोड र समपूरक कोषमा रु ४ करोड रकम विनियोजन गरेको छु

    आवरणीय नगरसभाका सदस्यज्युहरु,

    १३३. नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानिय कर, शुल्क, दस्तुर र महशुल संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक ब्यबस्था गर्न नेपालको सविधानको धारा २२८ को उपधारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभा समक्ष आर्थिक ऐनको मस्यौदा र सो को अनुसूचीहरु स्वीकृतीका लागि पेश गरेको छु ।

    १३४ मण्डनदेउपुर नगरपालिकाको आर्थिक बर्ष २०७७/०७८ को सेवा र कार्यहरुको लागि सञ्चित
    कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम मण्डनदेउपुर नगरपालिकाको नगर सभा समक्ष विनियोजन
    ऐनको मस्यौदा र सो को अनुसूची स्वीकृतिका लागि पेश गरेको छु । ।

    १३५ आर्थिक वर्ष २०७७/०७८ को नीति, बजेट तथा कार्यक्रमको अभिन्न अंगको रुपमा रहेको आय व्यय, राजस्व तथा अनुदान प्राप्तिको अनुमान, कार्यक्षेत्रगत व्यय अनुमान, वार्षिक विकास कार्यक्रम, सशर्त अनुदानको कार्यक्रम, वार्षिक कार्यक्रम कार्यान्वयन योजनालाई अनुसूचीमा राखी पेश गरेको छु।

    १३६ यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा सहयोग गर्ने सम्बन्धित मन्त्रालय, विभाग तथा अन्य निकायहरु, प्रमुख प्रशासकीय अधिकृत, नगर सल्लाहकार, सम्पूर्ण वडा अध्यक्षज्यूहरु, नगर कार्यपालिकाका सदस्य, नगर सभाका सदस्यहरु र नगरपालिकाका सम्पूर्ण कर्मचारीहरु प्रति आभार प्रकट गर्दै सफल कार्यान्वयनमा सबैको पूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।
    धन्यवाद।

    टोक बहादुर तामाङ (वाईवा)
    नगर प्रमुख

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार