२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

राेशी गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम


३४६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित २ साल अघि
  • अध्यक्षा दलबहादुर माेक्तन (डिबी) द्वारा प्रस्तुत राेशी गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम

    सभाका आदरणीय सदस्यज्यूहरु तथा अतिथि महानुभावहरु, अहिले हामी कोभिड-१९ को भयानक महामारीको सामना गरिरहेका छौँ । यो काम जटिल र चुनौतिपूर्ण भएतापनि यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुको विकल्प हामीसँग छैन । संविधान प्रदत्त हक अधिकार सहित गठित यस गाउँपालिकाको जननिर्वाचित अध्यक्षको हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न उभिएको छु । यस गौरवपूर्ण अवसरमा सर्वप्रथम नेपाली नागरिकहरुको सम्मान, स्वतन्त्रता तथा अमनचैन जस्ता नागरिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो प्राण आहुति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइते र वेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दछु । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    कोडिभ १९ को संक्रमण न्यूनीकरणमा अग्रपङ्तीमा अहोरात्र खटिनु भएका स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालकहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, राजनैतिक दलहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, संघसंस्थाहरु, नागरिक समाजका अगुवाइ गर्ने महानुभावहरु सवैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै राजनैतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु । हामी निर्वाचित भएर यस गाउँपालिकाको विकास र समृद्धिमा लागेको तीन वर्ष वितिसकेको छ । यो तीन वर्षको अनुभव तथा भोगाइको क्रममा विकास र समृद्धिको लागि हामीसँग प्रशस्त अवसरहरु भएपनि विविध समस्या तथा चुनौतीहरु पनि त्यतिकै रहेको हामीले अनुभव गरेका छौं । हामीसँग उपलब्ध सीमित साधन र श्रोतका बावजुद पनि यस क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने तर्फ हाम्रो सम्पूर्ण रोशी परिवार चिन्तित थियौं, छ र हुने नै छ।

    संघीय लोकतान्त्रिक गणतन्त्रसँगै बढेका जनताका आकांक्षा, चाहना र भावनालाई सम्वोधन गर्ने दृढ संकल्पका साथ आ.व. ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम यस सम्मानित सभा मार्फत समग्र रोशी गाउँपालिकाका नागरिकहरु समक्ष राख्न पाउँदा म आफूलाई गौरवान्दित भएको महशुस गरेको छु । यस अवसरमा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिका बासीहरु, निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, राजनैतिक दलका साथीहरु, नागरिक समाजका अभियन्ताहरु, अहोरात्र खटिने कर्मचारीहरु, शिक्षक, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरु प्रति आभार व्यक्त गर्दछु ।

    नेपालको मध्यक्षेत्रमा अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको यस रोशी गाउँपालिका प्राकृतिक श्रोत, कृषि र पर्यटनमा प्रचुर सम्भवना बोकेको गाउँपालिका हो । संघीय राजधानीको प्रवेशद्धारको रुपमा रहेको वि.पि. लोकमार्गसगै अविरल बग्ने धार्मिक महत्वको रोशी खोला संरक्षण गर्दै साँस्कृतिक डम्फू जीवन्त सङ्ग्रहालय निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । राजधानी नजिक भएको तथा बि.पी राजमार्गमा हुने आवागमनले विभिन्न संक्रामक रोगहरु भित्रिने समेत चुनौती रहेको छ । बेसी देखि पहाड सम्मको सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस क्षेत्रमा कृषि र पर्यटनलाई नमुनाको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याइ गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना रहेको हुँदा समग्र गाउँपालिकाको आवधिक विकास योजना बनाई आगामी दिनमा अगाडि बढाइनेछ।

    गाउँ सभाका सदस्य तथा अतिथि महानुभावहरु, अब, म यस गाउँपालिकाको आगामी आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु ।

    नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व यस गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यको बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्दछु ।

    सोच
    सुशिक्षित नागरिक, स्वच्छ वातावरण, समृद्ध रोशी, भ्रष्टाचार मुक्त समाज।

    लक्ष्य

    रोशी गाउँपालिकाका प्रत्येक नागरिकको जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने।

    उदेश्य

    १. रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पुर्याउने ।

    २. आधुनिक र व्यावसायिक कृषि प्रणाली तथा उद्योग तथा पर्या पर्यटन मार्फत उद्यमशिलता र रोजगारीको अवसर सिर्जना गरी जनताको आयस्तरमा वृद्धि गर्ने ।

    ३. संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।

    ४. शिक्षामा सबै बालबालिकाको समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने ।

    ५ रोशी गाउँपालिकामा जोखिममा रहेका वर्ग र सामाजिक विभेद र उत्पिडनमा परेका नागरिकहरुको दूर्व्यवहार, भेदभाव र  हिंसाको अन्त्यसँगै समतामूलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने ।

    ६. गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहुँच पुर्याउने।

    ७ वन तथा भू संरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप जोखिम न्यूनीकरण  तथा विपद् व्यवस्थापनमा उत्थानशिल र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने ।

    ८. गाउँपालिकाद्धारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता, जवाफदेहीता र नागरिकमा सन्तुष्टी कायम गर्ने । ९. स्थानीय श्रोत साधनहरुको परिचालन गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्ने ।

    अब म गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ को विषय क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

    विषय क्षेत्रगत नीतिहरुः पूर्वाधार विकास (सडक, सिंचाई, उर्जा, संचार)

    १. रोशी गाउँपालिकाको भवन निर्माण गर्ने कार्य आगामी आर्थिक वर्षमा नै प्रारम्भ गर्ने गरी तयारी गरिनेछ।

    २. गाउँपालिका सवै वडाहरु र थप तीन वटा स्वास्थ्य चौकी तथा इकाइ निर्माण एवम् स्थापना कार्य सम्पन्न गरी आफ्नै स्वामित्वमा रहेको आसिसि भवनमा आगामी आर्थिक बर्षको मध्यावधिभित्र नै कार्यालय सार्ने गरी प्रबन्ध गरिनेछ।

    ३. केन्द्र तथा प्रदेश सरकारसँगको समपूरक एवम् विशेष अनुदाको साझेदारीमा कम्तीमा ६ वठा ठूला आयोजनाहरु सञ्चालन गर्ने जसले गर्दा गाउँपालिकाभित्र देखिने गरी काम हुने र छरिएका र टुक्रे आयोजनाहरुको संख्या न्यूनीकरण भइ आयोजनाको रकमको आकार सानो बनाउने मानसिकताबाट मुक्त हुने अपेक्षा समेत गरिएको छ।

    ४ स्थानीय सडकहरुको निर्माण तथा उपयोग गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिई खास गरी पानीको मुहान, खोला, खोल्सी, वनको संरक्षणलाई प्राथमिकता दिइनेछ ।

    ५ डोजर जस्ता ठूला मेसिनहरुको जथाभावी प्रयोगलाई नियन्त्रण र निरुत्साहित गरिनेछ। खेती योग्य जमीनमा सिंचाईको सम्भाव्यता अध्ययन गरी खोला तथा थोपा सिंचाई विस्तार योजना मार्फत उत्पादन वृद्धिमा जोड दिइनेछ।

    ६ गाउँपालिका भित्रका नागरिकलाई सूचनाको हक दिलाउन रेडियो र साप्ताहिक पत्रिका मार्फत सूचना प्रवाह गरिने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

    ७ पुनःनिर्माण अन्तर्गतको निजी आवास निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग प्रभावकारी समन्वय गर्ने र गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुरुप नक्सा पास गरेर मात्र भवन निर्माण कार्य  गरिनेछ।

    ८. पूर्वाधार अन्तर्गतका सबै निर्माण कार्य उत्पादनमुखी, वातावरण मैत्री, अपांगतामैत्री, बालमैत्री,जेष्ठ नागरिकमैत्री र प्रकोप  प्रतिरोधी बनाइने छ।

    ९ गाउँपालिकाका सबै वस्तीहरु सडक सञ्जालबाट जोडिनको लागि बजेट विनियोजनमा प्राथमिकता दिइनेछ र वडाका  केन्द्रहरु जोड्ने सडकको स्तरोन्नति गरिनेछ।

    १०. स्थानीय सडक गुरुयोजना बनाई सडकहरुलाई पर्यटकीय, ऐतिहासिक र हरित लगायतमा वर्गीकरण गर्ने र सोही अनुरुप प्राथमिकताक्रम अनुसार मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ।

    ११. भुकम्प पछिको पुनःनिर्माणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन गरी स्थानीय सामग्रीको प्रयोगलाई बढावा दिइनेछ।

    आर्थिक विकास (कृषि, उद्योग, वाणिज्य, पर्यटन, सहकारी, वित्तिय)

    १. “रोशीको दृष्टी पर्यटन र कृषि” भन्ने मूल नारालाई सापेक्ष तुल्याउन कृषि उत्पादन वृद्धिको लागि विभिन्न कार्यक्रम तथा पर्यटकीय क्षेत्रको रुपमा रहेका विभिन्न धरोहरहरुको संरक्षण गर्ने नीति लिइनेछ।

    २. प्राकृतिक स्रोत व्यवस्थापन तथा आर्थिक विकासका अभियानमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गरिनेछ

    ३. कृषक र उद्यमीहरुका लागि प्रत्येक वडामा लगानीका लागि ब्याज अनुदानको व्यवस्था मार्फत उद्यमशीलता वृद्धिमा जोड दिइनेछ।

    ४ पशु तथा बालीहरुमा लाग्ने रोगको पहिचान तथा उपचारको लागि रोग निदान तथा डिस्पेन्सरी कार्यक्रम सञ्चालन गरिनेछ

    ५. व्यावसायिक शिक्षा अन्तर्गगत कृषि विषय पठनपाठन हुने विद्यालयसँग साझेदारी र समन्वय गरी कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पुर्याइनेछ।

    ६ हिउँदे तथा वर्षे फलफुल खेतीलाई प्रोत्साहन दिँदै विभिन्न कृषि उपज उत्पादनको पकेट क्षेत्र घोषणा गरी उत्पादन वृद्धिमा  सहयोग पुर्याइनेछ।

    ७. स्थानीय तहमा उपलब्ध खानी तथा खनिज पदार्थको तथ्याङ्क संकलन, अभिलेख र व्यवस्थापन कार्य गरिनेछ।

    ८ खानी  तथा खनिज पदार्थको संरक्षण र उपयोग सम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ।

    ९ आन्तरिक पर्यटन प्रवर्धनको लागि डम्फू जीवन्त सङ्ग्रहालय निर्माण गरिनेछ र निलाम्बरी फूलको संरक्षित क्षेत्र र तीन धारे झरना लगायतका पर्यटकीय गन्तव्यहरुको खोजी गरिनेछ।  केन्द्र र प्रदेश सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम निर्माण प्रारम्भ गरिनेछ।

    १०. खेती योग्य जग्गामा बालीनाली र खेती अयोग्य तथा कमसल जग्गामा पशुपालन सञ्चालन गर्ने, खेर गएको भीर पाखामा चिउरी , तेजपात र अन्य बहुवर्षीय घाँस र डालेघाँस लगाउन कृषकहरुलाई प्रेरित गरिनेछ।

    ११. दातृ संस्था, गैरसरकारी संस्था, प्रदेश र केन्द्र सरकारसँग समन्वय र सहकार्यमा आर्थिक विकाससँग सम्बन्धित कार्यक्रम  सञ्चालन गरिनेछ।

    १२. पर्यटन प्रवर्धनको लागि घ्याङडाँडा देखि ताराखसे लेक सम्मको पर्यटकीय पदमार्ग सञ्चालनको लागि पूर्वाधार निर्माणमा जोड दिइनेछ।

    १३. महाभारत लेक लगायत उच्च पहाडी क्षेत्रमा उच्च मूल्यका फलफुल वाली, ड्रागन फ्रुट, किवि, कागती, बदाम, अलैची, ओखर जस्ता बालीहरुलाई पकेटको रुपमा विस्तार गरिनेछ।

    १४. कृषि फर्म, कृषि सहकारीसँग व्यावसायिक कृषि उत्पादन तथा पशुपालन लागि साझेदारी कार्यक्रम अगाडी बढाइने छ।

    १५. तरकारी पकेट क्षेत्रमा यस अघि बनाईएका व्यावसायिक तरकारी डेमो(नमुना) फर्महरुमा युवाहरुलाई समेटी रोजगारीमा आबद्ध गरिने छ।

    १६. व्यावसायिक पशुपालन ( बाख्रा, भैसी, गाई) गर्नेहरुको निम्ति जसको मन उसैलाई संरक्षण कार्यक्रम गरी पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।

    १७. गैरकृषिजन्य क्रियाकलापमा भूमिको प्रयोगलाई निरुत्साहित गरी कृषि प्रणालीलाई व्यवस्थित गर्न
    भू-उपयोग योजना निर्माण गरिनेछ।

    १८. “कृषिमा उद्यमशीलता – आजको आवश्यकता” भन्ने नाराका साथ कृषिको आधुनिकीकरण तथा  औद्योगिकीकरणका लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरिनेछ र साना तथा घरेलु उद्योगहरु सञ्चालनको लागि सहजीकरण गरिनेछ।

    १९. कृषि-जैविक विविधताको महत्व भएका बाली तथा वस्तुहरुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम संचालन गरिनेछ।

    २०. कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।  कृषक पाठशाला, नयाँ प्रविधिको प्रयोग, लगायतका सिर्जनात्मक कार्य गरिनेछ । पशुपालनलाई आय आर्जनको  आधारको रुपमा स्थापित गरिनेछ । जसका लागि नश्ल सुधार, कृत्रिम गर्भधारण, चरण क्षेत्र विकासमा जोड दिइनेछ।

    २१. रोशी खोलाको शुद्धिकरण गर्दै आय आर्जन र पर्यटकीय गन्तव्य निर्माणको आधार तयार गरिनेछ।

    २२. वनजंगलमा पाइने जडिवुटि उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाको लागि लगानीकर्तालाई आमन्त्रण गरिनेछ।

     सामाजिक विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, संस्कृति, समावेशीकरण)

    १) कोभिड-१९को संक्रमणको सन्त्रास (Lockdown/बन्दाबन्दी)बाट अवरोध भएको विद्यालय शिक्षाको शिक्षण सिकाइ तथा पठनपाठनलाई सुचारु गर्न एफ एम रेडियोसँगको सहकार्यमा रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

    २) विद्यालय शिक्षाको पाठ्यक्रममा आधारित गाउँपालिकास्तरीय श्रव्य तथा दृश्य (Audio-visual) सामग्री निर्माण  तथा प्रयोगमा जोड दिइनेछ।

    ३) विद्यालय तहमा कोभिड-१९ को सन्त्रासलाई न्यूनीकरण गर्न शिक्षक, विद्यार्थी, अभिभावकमा मनोसामाजिक परामर्श (Psycho-social counselling) कार्यक्रम सञ्चालन गरिनेछ।

    ४) आधारभूत तथा माध्यमिक तहका सवै विषयका पठनपाठन प्रभावकारी बनाउन मौजुदा संयन्त्रलाई प्रभावकारी परिचालन गरिनेछ।

    ५) स्वास्थ्य संस्थाहरुको सहयोगमा विद्यालयमा हेल्थ प्रोटोकल पालना गर्न तथा विद्यालयमा स्वास्थ्य र सरसफाइ प्रवर्द्धन गर्न विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

    ६) पालिकास्तरीय तहगत तथा विषयगत सिकाइ समूह गठन र परिचालन मार्फत् विद्यालय शिक्षाको गुणस्तर सुधारमा टेवा पुर्याइनेछ।

    ७) विद्यालय शिक्षाको प्रवर्द्धन गर्न “विद्यार्थीसँग जनप्रतिनिधि” कार्यक्रम सञ्चालन गरिनेछ।

    ८) विद्यार्थीको कक्षागत, तहगत र विषयगत सिकाइ उपलब्धीका आधारमा उत्कृष्ठ विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

    ९) सूचना प्रविधिमैत्री कक्षा व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम प्रदेश सरकार र संघीय सरकारको समन्वय र सहकार्यमा अगाडी बढाइनेछ।

    १०) तीनै तहका सरकारहरुको सहकार्य र समन्वयमा विद्यालय शिक्षाको कन्टेजिन्सी प्लान निर्माण र कार्यान्वयन गरिनेछ ।

    ११) विद्यालय तहको शैक्षिक गुणस्तर प्रवर्द्धन गर्न विद्यालयस्तरको रेडियो quiz कार्यक्रम सञ्चालन गरिनेछ।

    १२) विद्यालयको संस्थागत निर्णयमा विद्यार्थीको पहुँच सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति लगायत अन्य संयन्त्रमा सहभागी हुने नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिनेछ।

    १३) विद्यालय शिक्षाको सिकाइमा टेवा पुर्याउन शिक्षण पेशालाई सम्मानित एवम् मर्यादित बनाउन शिक्षकलाई अधिकत्तम शैक्षिक तथा पेसागत गतिविधिमा संलग्न गराउने नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार