२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

पाँचखाल नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम


४८६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १, शुक्रबार मा प्रकाशित २ साल अघि
  • नगर प्रमुख महेश खरेलद्वारा प्रस्तुत पाँचखाल नगरपालिकाको आर्थिक बर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम

    नगरसभाका सदस्यज्यूहरु,

    पाँचखाल नगरपालिकाकाको सम्मानित नगर सभा समक्ष नगरप्रमुखको हैसियतले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मैले अपार हर्ष र गौरबको अनुभुति गरिरहेको छु। पाँचखाल नगरपालिकाकालाई आत्मनिर्भर, समाजवाद उन्मुख, सुन्दर, समृद्ध, सुरक्षित र नमुना कृषि नगर बनाउने नगरबासीको आकांक्षा अनुसार यो नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिरहेको छु ।

    पाँचखाल नगरपालिकाकाको नवौं नगरसभाको यस महत्वपूर्ण अवसरमा म सर्वप्रथम मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा विगतमा भएका सामाजिक न्याय तथा जनताको अधिकार प्राप्तिका आन्दोलनहरुमा आफ्नो जीवन वलिदान दिने अमर शहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु । यसका साथै घाइते, अपाङ्ग लगायतका आन्दोलनमा होमिने सबैप्रति उच्च सम्मान प्रकट गर्दछु । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को  संक्रमणको जोखिमयुक्त अवस्थामा पनि आम नगरबासीलाई सुरक्षित राख्नका लागि पहिलो पंक्तिमा रहेर अहोरात्र खट्नु हुने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, स्वयम्सेवक, राजनीतिक तथा सामाजिक संघसंस्थाहरु लगायत कोरोना विपद् कोषमा सहयोग गर्नुहुने सबैप्रति हार्दिक सम्मान प्रकट गर्दछु । साथै कोरोना संक्रमणबाट ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धान्जली अर्पण गर्दै यस रोगबाट संक्रमित हुनु भएका सबैमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    आज सारा विश्व नै कोभिड -१९ को  संक्रमणका कारण कठिन अवस्थाबाट गुज्रिरहेको छ । सबैको सहयोग र सहकार्यबाट मात्रै हामी यो विश्वव्यापी महा संकटबाट जोगिन सक्छौ ।जस्तोसुकै कठिन अवस्थाबाट भएपनि सबै एकजुट भएर कोभिड १९ विरुद्धको लडाइमा अगाडि वढ्नुपर्ने अहिलेको प्राथमिकता हो ।

    जनताको संघिय लोकतान्त्रीक गणतन्त्रात्मक शासन व्यवस्थाको फल प्राप्तगर्ने अधिकार तथा समावेशी सहभागिता र समुन्नत जीवनयापनको आकांक्षा सम्वोधन गर्न सक्ने ठानी हामीलाई अमूल्य मत दिएर विजयी बनाउनु हुने पाँचखाल नगरपालिकाकाका सम्पूर्ण जनसमुदायप्रति यस अवसरमा म पुनः उच्च सम्मान प्रकट गर्न चाहन्छु । जनताले दिएको अभिमत तथा हामीले जनता समक्ष गरेको प्रतिबद्धता तथा जनताका आवश्यकतालाई मुल एजेण्डा बनाएर हामीले काम गर्न थालेको पनि ४ वर्ष पुरा भएको छ । यो नवौ नगरसभासम्म आइपुग्दा जनताका अपेक्षा र हाम्रो प्रतिवद्धतालाई सम्बोधन गर्ने दिशामा हामी सफलताका साथ अगाडि वढिरहेकोमा मलाई गर्वको महसुस भएको छ । संघीयता कार्यान्वयन भन्दा पहिले सामान्य विकासे अड्डाका रुपमा मात्रै रहेको पाँचखाल नगरपालिकाकालाई घरदैलोको सरकारको रुपमा विकास गरेर जनतालाई सरकारको अनुभुति दिलाउन सफल भएका छौ ।

    संघात्मक शासन प्रणाली हाम्रो मुलुकका लागि नयाँ अभ्यास हो ।यस प्रणालीमा हामीले  सिक्दै, सिकेका कुरा प्रयोग गर्दै सफलताहरुलाई अनुकरण गर्दै कमजोरीहरु सुधार गर्दै अगाडी वढिरहेका छौ । संविधानले निर्दिष्ट गरेका अधिकारहरु तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले गरेको व्यवस्थालाई पालना गर्दै पाँचखाल नगरपालिकाकाले जनमुखी सेवा प्रवाह गरिरहेको कुरा सर्वविदितै छ ।

    जनतालाई छिटो छरितो, सर्वसुलभ र गुणस्तरिय सेवा दिने, जनताले चाहेको विकास प्रक्रियालाई शिरमा राख्दै, जनभावनालाई उच्च सम्मान गर्दै सुरक्षित जीवनयापनको अनभुति गराउने मुल ध्येय बाहेक हाम्रो अर्को कुनै शर्त छैन । यसका लागि दैनिक प्रशासन सञ्चालन, कानुन, नीति निर्माण तथा योजना तर्जुमा र कार्यान्वयनलाई उच्च प्राथमिकताका साथ सम्पादन गरिरहेका छौ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको तथा नगरकार्यपालिकाबाट सामान्य परिमार्जन सहित स्वीकृत गरीएको स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५ (परिमार्जित) अनुसार असार ३० गते सम्ममा बजेट स्वीकृत गरि सक्नु पर्ने कानुनी व्यवस्था भए बमोजिम बजेट पेश गर्नु पूर्व नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने कानूनी व्यवस्थालाई आत्मसाथ गर्दै आ.व २०७८।०७९ को लागि पाँचखाल नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।

    सभाध्यक्ष ज्यू,

    आदरणीय, नगर कार्यपालिकाका सदस्यज्यूहरु,

    नगरसभा सदस्यज्यूहरु,

    अब म विषयक्षेत्रगत रुपमा आ.व २०७८।०७९ मा पाँचखाल नगरपालिकाको समृद्धिको लागि देहाय बमोजिमका नीति तथा कार्यक्रमहरु तय गरेको छु ।

    क) आर्थिक विकास

    अ) कृषि

    समग्र कृषि क्षेत्रलाई सम्मानजनक, मर्यादित, आकर्षक पेशाको रुपमा विकास गरी प्रतिस्पर्धात्मक वनाउन आवश्यक पहलकदमी लिनुका साथै सहयोगी कार्यक्रमहरुमा जोड दिने । साथै कृषिको व्यवसायीकरण तथा विविधिकरणमा जोडदिई आय आर्जन तथा रोजगारका थप अवसरहरू सृजना गरिनेछन् ।

    • कृषि भुमिलाई गैर कृषि प्रयोगमा ल्याउन निरुत्साहित गरिने नीति अनुरुप यस न.पा.का कृषि योग्य भूमिको चारकिल्ला घोषणा गरी हरित क्षेत्र घोषणा गरिएको छ र सो क्षेत्रमा आवासीय घर, व्यवसायीक घर, संरचना वनाउन पूर्णत निषेध गरिनेछ ।
    • कृषि उत्पादन बढाउन ग्रामिण विद्युतिकरणलाई बढावा दिईने छ ।
    • कम तौल, वढि मुल्य र छोटो समयमा उत्पादन हुने कषि वस्तुलाई प्राथमिकता दिइनेछ ।
    • कृषिवस्तुको पकेट विकासमा विशेष प्राथमिकता दिइनेछ ।
    • कृषि उत्पादकत्व बृद्धि गर्न सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरिने छ ।
    • कृषि उत्पादकत्व बृद्धि गर्नका लागि संघीय, प्रदेश र अन्य स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी ८ ठुला परियोजनाहरु सञ्चालन गर्ने ।
    • कृषि उत्पादन तथा व्यवसाय प्रवर्द्धनमा आवश्यक कृषि ऋण प्रवाहलाई उत्पादन तथा व्यवसायको प्रतिफलसँग आवद्ध गरी सुनिश्चित गरिनेछ । कृषि उपज संकलन प्रशोधन तथा विक्रि केन्द्र निर्माणका लागि नगर विकास कोषले डि.पि.आर तयार गरेकोमा मसलावाली विकास केन्द्रको परिसरको केही रोपनी जग्गा प्राप्तिको लागि पहल गरिनेछ ।
    • अतिवृष्टि, अनावृष्टि, रोग, कीरा एवं अन्य दैवी प्रकोपहरूको आंकलन र कृषि राहत परिचालनका लागि सर्भे सर्भिलेन्स प्रणाली स्थापित गरी क्रियाशील राखिनेछ ।
    • पाँच रोपनी भन्दा कम जमीन हुने कम स्रोत साधन भएका कृषकहरूको पहिचान र वर्गीकरण गरी तोकिएका सुविधाहरू उपलब्ध गराइनेछ ।
    • भूमि बैंकको स्थापना गरी स्थानीय निकायको सहभागितामा कृषि कार्यका लागि जग्गा किन्ने बेच्नेहरुलाई खेतियोग्य जग्गाको उपलब्धताबारे सूचना सेवा र आवश्यक पर्नेहरुका लागि ऋण सुविधा उपलब्ध गराइनेछ । किसानको पहिचान स्थापित गरिने छ ।
    • उच्च मुल्य वस्तु तथा सम्भावना बोकेका कृषि वस्तुहरुको पहिचान गरी तुलनात्मक लाभ लागतका आधारमा क्षेत्र विस्तार एवं व्यवसायीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मुख गराईने छ।
    • स्थानिय वातावरण हावापानी लगायत जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसँग घुलमिल हुन सक्ने तथा त्यसबाट पर्न सक्ने सम्भाव्य असर न्युनिकरण गर्न सक्ने प्रविधि एवं क्षमताको विकास गरिने छ ।
    • कृषि उत्पादनलाई स्तरिकरण र वर्गीकरण गरी बजारीकरण गरिने छ ।
    • कृषकको आवश्यकता पहिचान गरी क्षमता अभिबृद्धिका योजनाहरु निर्माण गरिने छ ।
    • स्थानीय रैथाने कृषि विउको पहिचान गरी संरक्षण र प्रवर्द्धन गर्नका लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
    • विषादी न्युनिकरण नीति निर्माण गरि कार्यान्वयन गरिने छ ।
    • पशुबीमाको विस्तार गरिनुका साथै छानिएका बालीको बीउ र बढी मोल जाने कृषि वस्तुहरूको क्रमिक रूपमा बीमा गरिनेछ ।
    • प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिनेछ । प्राङ्गारिक खेती गरी कृषि वस्तु निकासी गर्ने उत्पादन क्षेत्रमा उत्पादित कृषि वस्तुहरूको गुणस्तर प्रमाणीकरणको लागि टेवा पुन्याइनेछ।
    • शिक्षित बेरोजगार युवाहरूलाई कृषि पेसामा आकृष्ट गर्न कृषि व्यवसाय स्थापना तथा सञ्चालन तालीमको व्यवस्था गरिनेछ ।
    • सहकारीमा आधारित कृषि उद्योग एवं व्यवसायको प्रवर्द्धनमा प्राथमिकता दिइनेछ ।
    • बजार सूचना प्रणालीको विकास, विस्तार र प्रवाह गर्ने कार्य निजी एवं सहकारी क्षेत्र तथा स्थानीय निकायहरूसँग साझेदारीमा समेत सञ्चालन गरिनेछ।
    • खाद्य सम्प्रभुतता र सुरक्षा कृषिको उत्पादकत्व बढाउन तथा जमिनको खण्डीकरण हुनबाट रोक्न भू उपयोग ऐन नीति तथा योजना बनाई लागु गरिनेछ ।
    • कुन माटोमा के खेति हुन्छ भन्ने एकिन गर्न अनिवार्य माटो परीक्षणको व्यवस्था मिलाईने छ । गत बर्षदेखि ल्याबनै सञ्चालन गरेर माटो परीक्षण गरेका छौं । चुन वितरण गरी माटोको अम्लिय पना कम गराउने कार्यलाई यस बर्ष पनि त्यसलाई निरन्तरता दिईने छ ।
    • कृषकहरुसँग प्रत्यक्ष जोडिई उहाँहरुको समस्या पहिचान गरी समाधानको लागि यस बर्ष देखि ‘कृषकसँग मेयर,मेयर सँग कृषक’ कार्यक्रम सञ्चालन गरिनेछ ।
    • पाँचखालको तरकारीलाई सेमि अर्गानिक हुँदै अर्गानिक बनाउँदै लैजाने कार्यमा नगरपालिका लाग्नेछ ।
    • कृषिलाई आधुनिकीकरण सँग जोड्न गत बर्षदेखि हाते ट्याक्टर बितरण शुरु भएको छ । त्यसलाई यो बर्ष पनि निरन्तरता दिईने छ ।
    • हरेक उत्पादनलाई आम्दानी सँग जोड्ने नीति ल्याईने छ ।
    • एक वडा एक कृषि प्राविधिकको व्यवस्था गरिनेछ ।
    • नगरपालीकामा कृषिलाई आधुनिकीकरण र प्रविधियूक्त व्यपसायीक बनाउन नगरपालिका कृषि प्राविधिकहरुको उपलब्धता बढार्इनेछ ।

     आ) पशुपंछी

    • पशुपंक्षीहरुको स्वास्थ्य संरक्षणको लागी पशुपंक्षीहरुको विभिन्न रोगको उपचार लगायत पशुपंक्षीहरुको रोग निधान सर्भिलेन्स प्रयोगशाला सेवा पशु स्वास्थ्य शीविर र महामारीजन्य रोग नियन्त्रणको अभियान र पशु विमा कार्यक्रम सञ्चालन गरिने छ । साथै सहयोगी संस्थाहरुको सहकार्यमा उद्योगी ब्याबसायीक तथा निजी पशु प्राविधिकहरुलाई क्षमता विकाशको तालिम दिईने छ ।
    • गरिबि न्युनिकरणको लागि प्रत्यक्ष सहयोग पुराउने खालका ब्यबसायहरु जस्तै कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, खरायो पालन, उन्नत घाँस तथा डाले घाँस नर्सरी स्थापना, बीउ उत्पादन श्रोत केन्द्र स्थापना जस्ता ब्यबसायलाई सहयोग पुराउने कार्यक्रम सन्चालन गरिने छ ।
    • पशु नश्ल सुधारका लागी गाई,भैंसी,बाख्रामा कृत्रिम गर्भाधान लगायत बाख्रामा जातिय सुधारलाई बढी प्रभावकारी गराउन प्राकृतिक गर्भाधानको लागी बोयर जातको बोका वितरण गर्न प्रोत्साहित  गरिने छ । पाँचखाल नगरपालिकालाई दुध, अण्डा तथा मासुमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम संचालन गरिने छ ।
    • सफा, स्वच्छ दुध र मासु उपभोक्ता सम्म पु-याउन मासुको लागि निजी क्षेत्रलाई कर छुट एवं सहुलियत दिई ब्यबस्थित पशु बधशाला र कोल्ड स्टोरेज निर्माण गरि बिक्री बितरण गर्ने ब्यबस्था मिलाईने छ र त्यस्तै स्वच्छ दुध उत्पादनको लागी कृषकहरुलाई तालिम र उपकरणहरु वितरण गरिने छ ।
    • मानव समुदायमा रेबीज रोग न्यूनिकरणको लागी सामुदायिक कुकुरहरुमा बन्ध्याकरण शिबिर, रेबिज दिवस मनाउने जस्ता कार्यक्रम सन्चालन गरिने छ ।
    • नगर क्षेत्र भित्र पशुपंक्षीको स्वास्थ्य परिक्षणको लागी सार्वजनिक निजी साझेदारीमा एक प्रयोगशालाको निर्माण गरिने छ ।
    • माछा पालन ब्यबसायमा सम्भाब्यता हेरि आवश्यक कार्यक्रम संचालन गरिने छ ।
    • पशु पालनमा उत्पादन लागत घटाउन घाँसमा आधारित पशु पालन कार्यलाई प्रोत्साहित गरिने कार्यक्रम गरिने छ ।
    • सडकमा अलपत्र परेका बाच्छाहरुलाई संरक्षण गर्ने कार्यक्रम संचालन गरिनेछ ।

     इ) उद्योग तथा वाणिज्य

    • नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै ब्यवसायहरुलाई दर्ता प्रकृयामा ल्याई नगरपालिकाको आन्तरिक स्रोतमा व्यवसाय करको योगदान बढाउने नीति अवलम्बन गरिनेछ ।
    • नगर कार्यालय र वडा स्तरमा सम्पत्ति कर बुझाउने व्यवस्था भएकोमा सोको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
    • जाम बनाउने, अचार बनाउने, माडा तथा तितौरा बनाउने, पापड अगरवत्ती बनाउने जस्ता स्थानीय कृषि तथा पशुजन्य उत्पादन प्रयोग हुने घरेलु तथा साना उद्योगहरु सञ्चालनलाई प्रोत्साहन गरिनेछ ।
    • शहरी सुशासनको लागि स्थानीय प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ लगायतका संस्थाको सहयोगमा बजार अनुगमन कार्यक्रम सञ्चालन गरिनेछ । व्यवसाय दर्ता सम्बन्धी घरदैलो अभियानमा नगर उद्योग बाणिज्य संघको सहभागिता गरी त्यसरी उठेको रकमको केही प्रतिशत व्यवसाय दर्ता एवं नवीकरण शुल्क उक्त संघलाई प्रदान गर्ने व्यवस्था गरिनेछ ।
    • नगरमा विशेष आर्थिक क्षेत्र, महिला औद्योगिक ग्राम बन्दै छन् । यसको निर्माण चरण शुरु भईसकेको छ । यसलाई रोजगारी सँग जोडेर कोभिड -१९ बाट प्रभावित बेरोजगार युवायुवतीहरुलाई व्यवस्थापन गरिने छ ।
    • पशुपंक्षीजन्य रोग परिक्षण प्रयोगशाला स्थापनाको लागि पहल गरिनेछ ।
    • नगरपालिका कार्यालयमा उद्मम विकास शाखाको स्थापना गरि उद्यम विकास रणनितीक योजना तयार गरिनेछ ।

    ई) संस्कृति तथा पर्यटन

    • पाँचखालको समृद्धिको आधारको रुपमा रहेको बहुआयामिक पर्यटन क्षेत्रलाई विकासको आधारशिला बनाउन आवश्यक रणनीतिहरु तयार गर्न पर्यटनसँग सम्बन्धित विज्ञहरुको सल्लाह र सुझाव लिई पर्यटकीय क्षेत्रहरु विविधीकरण गर्न आवश्यक पर्यटकीय गुरु योजना तयार गरिनेछ ।
    • नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गाहरुलाई संरक्षण/सम्बर्धन गर्ने तथा पर्यटन विकासका लागि संभावित सामुदायिक वन क्षेत्रका जग्गाहरु पर्यटन प्रवर्धन गर्नका लागि उपयोग गर्न कानूनी प्रक्रिया अघि बढाइनेछ ।
    • पलाञ्चोक भगवती तथा धनलक्ष्मी डाँडालाई केन्द्र बनाई प्याराग्लाईडिङको संभाव्यता अध्ययन गर्नको लागि निजी क्षेत्रसँग आवश्यक सहकार्य गरिनेछ ।
    • बाह्य तथा आन्तरिक पर्यटन प्रवर्धनका लागि जानकारी तथा प्रचार प्रसार स्वरुप राष्ट्रिय स्तरको संचार माध्यमहरुको सहकार्यमा पाँचखाल नगरपालिकाको पर्यटकीय, धार्मिक, सामाजिक, साँस्कृतिक तथा मौलिक परम्परा झल्कने श्रब्यदृष्य पार्श्वचित्र बनाई सोको प्रचार प्रसारमा थप बजेटको व्यवस्था गरिनेछ ।
    • सय वर्ष भन्दा बढी पुराना मठ मन्दिरहरु जस्तै पलाञ्चोक भगवती, दुग्धेश्वर मन्दिर, धनलक्ष्मी, सुवर्णेश्वर महादेव मन्दिर,थानादेवि मन्दिर, गुप्तेश्वर महादेव गुफा तथा कोटदेवी लगायतका पुरातात्विक धार्मिक स्थल, गुम्बा संरक्षणलाई प्राथमिकता दिनुका साथै दुग्धेश्वर मन्दिर परिसरमा पिकनिक स्पोट स्तरोन्नती गरी पर्यटकलाई आकर्षण गरिनेछ । नगरभित्र रहेका नयाँ पुरातात्विक सम्पदाको खोज र संरक्षणका कार्यक्रमहरु निरन्तरता दिइनेछ ।
    • ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न विशेष पहल गरिनेछ । पलाञ्चोक भगवती क्षेत्र विकास गुरुयोजना तयार गरिनेछ ।
    • अनैकोटमा रहेको भ्यू टावरसम्मको पहुँच मार्ग स्तरोन्नती भइरहेकोमा त्यसलाई निरन्तरता दिई त्यस क्षेत्रमा पर्यटकीय पार्कको विकासका लागि संघ /प्रदेश सरकारसँग साझेदारी गरिनेछ ।
    • पाँचखाल नगरपालिका र यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुलाई समेट्ने गरी पर्यटन विकास रणनीति तयार गरी सोही अनुसार कार्यान्वयनमा लगिनेछ ।
    • ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरु फेला परेको वडा नं. ७ को श्रीरामपाटीलाई साँस्कृतिक संग्रहालयको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ ।
    • दनुवार र पहरी गुरुङ वस्तीहरुमा होम स्टेको लागि अध्ययन गरी अगाडी बढाईनेछ ।खावामा रहेको होमस्टेलाई बिस्तार गर्न आवश्यक सहयोग गरिनेछ ।
    • एक वडा एक पर्यटकीय गन्तब्य पहिचान गरी ग्रामिण पर्यटनक्षेत्रलाई बढवा दिईने छ ।
    • कोरोनाको महामारीको कारण पर्यटन क्षेत्र समस्यामा रहेको छ । यस्तो अवस्थामा आन्तरिक पर्यटनमा जोड दिने गरी पर्यटन नीति बनाई पर्यटन प्रवर्धनको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने छ ।
    • नगरभित्र मनाईने साँस्कृतिक जात्रा एवं पर्वको संरक्षण एवं प्रवर्धनमा जोड दिईनेछ ।
    • खावा, अनैकोट, भमरकोट, पलाञ्चोक लगायतका स्थानका समुदायमा आधारित होम–स्टे सञ्चालनको लागि प्रोत्साहन गरिनेछ ।
    • पाँचखाल पर्यटन विकास केन्द्र स्थापना गरी पर्यटन प्रवर्धनका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिईनेछ ।
    • नगर भित्रको विभिन्न भाषा,संस्कृतिको संरक्षणको लागि मातृभाषामा शैक्षिक पाठ्यक्रमहरु बनार्इ विद्यालयस्तरमा सो को पठन पाठनको व्यवस्थाको सुरुवात गरिनेछ र सो लार्इ क्रमश बढवा दिइनेछ ।
    • पलाञ्चोक भगवति मन्दिरमा चढाइने भेटि तथा अन्य सामाग्रीको व्यवस्थापन गर्न गुठि संस्थान एवं तालुक निकायसँग समन्वय गरिनेछ ।
    • पलाञ्चचोक भगवति मन्दिरका गुठियारहरु (पहरी ,दमाई ,कसाई ,कुसुले) लगायत अन्य गुठियारहरुले भोगचलन गर्दै आएको जग्गाहरु मोहियानी कायम गर्न पहल गरिनेछ ।
    • पलाञ्चोक भगवती क्षेत्र विकास गुरुयोजना तयार भई जग्गा खरिद प्रकृया अगडि बढाइनेछ ।
    • पलाञ्चोक भगवति कालिका मन्दिर संग्राहलय ( साठ्ठिघर गुठीयार संग्राहलय) को भवनलाई सञ्चालनमा ल्याइनेछ ।
    • साठ्ठिघर वस्तिमा होमस्टे सञ्चालन गरिने छ ।

    उ. श्रम तथा रोजगार

    • कोभिड १९ बाट उत्पन्न औपचारिक र अनौपचारिक क्षेत्रमा बढ्दो बेरोजगारीको समस्याले अनिकाल र भोकमरी निम्तन सक्ने हुँदा सबै वडाका बेरोजगारहरुको लगत तयार गरी श्रम बैंक स्थापना गरेर कामसँग खाद्यान्न कार्यक्रम र प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरिने छ ।
    • वेरोजगारहरुलाई स्थानीय स्तरका आयोजनाका श्रममूलक कार्यमा लगाई स्थानीय जनशक्तिलाई प्राथमिकताका साथ रोजगारीको अवसर प्रदान गरिनेछ ।
    • कोभिड–१९ का कारण रोजगारी गुमाएर विदेश एवं स्वदेशबाट घर फर्कने नगरवासीका लागि उद्ययमशीलताका लागि लिने ऋणको व्याजमा निश्चित प्रतिशत नगरपालिकाबाट अनुदान दिनका लागि बैङ्क एवं वित्तीय संस्थासँग समन्वय गरिनेछ ।

    .  वित्तिय सेवा र सहकारी

    • किसान तथा साना व्यवसायीहरुलाइ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरिनेछ । सहकारी मार्फत चक्ला बन्दी खेती प्रणालीको अवधारणा अगाडि बढाईने छ ।
    • सहकारी क्षेत्रको प्रवर्धन, विकास तथा नियमनलाई व्यवस्थित गर्न डिजिटल सहकारीको नीतिलाई निरन्तरता दिईनेछ र हाल आवद्ध भएको सहकारी सदस्य संख्या र पूँजिलाई बृद्धि गरिनेछ । कोपोमिसको कार्यान्वयन गरिनेछ ।
    • सहकारी संस्थाको अनुगमन तथा प्रवर्धन कार्यमा नगरस्तरीय सहकारी सञ्जाल तथा सहकारी संघहरुसँग समन्वय गरी कार्य गरिनेछ ।
    • एक व्यक्ति एक सहकारी सदस्यको कानूनी व्यवस्थालाई कार्यान्वयन गरिनेछ । एक वडामा एक नमुना विषयगत सहकारीको अवधारणा अगाडी बढाईनेछ । साना र समान उद्देश्य भएका सहकारीलाई आवश्यकता अनुसार मर्जरको प्रक्रियामा लगिनेछ ।
    • शिक्षा, स्वास्थ्य, यातायात र सुपथ मुल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरी नगरपालिकाबाट सहजीकरण गरिनेछ ।
    • गत आ.ब. बाट नै नगरपालिकामा हुने नगद कारोबारलाई अन्त्य गरी पूर्ण रुपमा बैकिङ प्रणाली लागु गरिसकेको हुँदा यसलाई अझै व्यवस्थित बनाइनेछ ।
    • बेरुजु फछर्योट गर्ने कार्यलाई प्रभावकारी बनाउन उपयुक्त नीति ल्याइने छ ।
    • यस नगरपालिकाभित्र रहेका सहकारी, बैक तथा वित्तिय संस्थाहरुका विचमा आवश्यक समन्वय गरेर कृषि, पर्यटन, उद्योग, व्यवसायमा लगानी प्रवर्धन गर्न आवश्यक कार्य गरिनेछ । सहकारी, बैक तथा वित्तिय संस्थाहरुको सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइ कार्य गरिनेछ । अनौपचारिक क्षेत्रको आर्थिक कारोबारलाई निरुत्साहित गर्दै औपचारिक ढंगले सहकारी, बैक र वित्तिय संस्थाबाट हुने कारोबारलाई प्रवर्धन गरिनेछ ।

    ख) सामाजिक विकास

    अ) युवाशिक्षाखेलकुद तथा मनोरञ्जन

    • साक्षरलाई सीप विकाससँग आवद्ध गरी श्रमप्रति सम्मान गर्ने एवं अधिकार र दायित्वप्रति सचेत नागरिक तयार गरिने छ ।
    • रोजगार र सीपमूलक शिक्षाको विकासका लागि विद्यालयमा प्राविधिक तथा व्यवसायिक धार सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिईने छ । वडा नं ७, १० र १२ मा मदन भण्डारी प्राविधिक विश्व विद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक सहजीकरण गरिने छ ।
    • विद्यार्थी संख्या र विषयगत रुपमा दरवन्दी मिलान तथा विद्यार्थी संख्या कम भएको विद्यालयलाई क्रमशः नजिकको विद्यालयमा मर्ज गर्ने कार्यलाई निरन्तरता दिई पठनपाठनलाई प्रभावकारी बनाईने छ ।
    • विद्यार्थीहरुको बहुआयामिक प्रतिभा विकासका लागि नगरस्तरीय मेयरकप खेलकुद प्रतियोगितालाई निरन्तरता दिइनेछ ।
    • नगर शिक्षा समितिको सक्रियतामा नगर स्तरीय शिक्षा योजनाको निर्माण र कार्यान्वयनलाई प्राथमिकता दिईने छ ।कक्षा १देखि ३ सम्म स्थानिय पाठयक्रम निर्माण गरी लागु गरिने छ ।
    • नगरको शैक्षिक स्तर गुणस्तरीय बनाउन नीजि शैक्षिक संस्था र सामुदायिक विद्यालयहरु बीच आपसी समन्वय गरी दुवैको राम्रा पक्षहरुलाई सवलीकरण गरिनेछ ।
    • “सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारालाई मुर्त रुप दिन खेलकुद सम्बन्धि कार्यक्रमहरुको प्रवर्धन गरिने छ ।
    • कोभिड १९ जस्ता महामारिबाट बालबालिकाहरुको पठनपाठनलाई प्रभावितहुन नदिन आवश्यक व्यवस्था मिलाईने छ ।
    • संस्थागत विद्यालयहरुलाई सार्वजनिक शैक्षिक गुठीको रुपमा सञ्चालन गर्न प्रोत्साहन गरिने छ । सार्वजनिक शैक्षक गुठीको रुपमा सञ्चालन भएका विद्यालयको व्यवस्थापनमा सुधार ल्याउन नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराईने छ ।
    • नगरपालिकाको पठनपाठनमा एकरुपता ल्याउन पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्यपुस्तक नगरपालिका शिक्षा शाखाको समन्वयमा विद्यालयमा लागु गरिने छ । संस्थागत विद्यालयमा कुनै एउटा पब्लिकेशनको पाठ्यपुस्तक लागु भैसकेपछि पाठ्यक्रम परिवर्तन नभएको अवस्थामा न्यूनतम ५ वर्ष सोही पाठ्यपुस्तक प्रयोग गर्ने नीति रहने छ ।
    • रेल सहितको बाल उद्यान स्थापना गरिनेछ ।
    • वडा नं २ मा काठमाण्डौ विश्वविद्यालयको कृषि तथा वन विज्ञान संकायको पठनपाठनका लागि आवश्यक प्रवन्ध गरिने छ ।
    • वडा नं १ मा तामाङ भाषा र वडा नं ९ मा पहरी भाषाको प्रवर्धन गर्न स्थानीय विद्यालयहरुलाई प्रोत्साहन गरिने छ ।
    • पाँचखाल ४ तामाघाटको प्रगति पुस्तकालयलाई ई-लाईव्रेरीको रुपमा विकास गरिनेछ ।

    आ) स्वास्थ्य

    • महिला स्वास्थ्य स्वंसेविकालाई उपलब्ध गराइएको यातायात खर्चलाई निरन्तरता दिइनेछ ।
    • कोभिड -१९ को नियन्त्रण र रोकथामको लागि समाजकल्याण प्रा.वि. मा हाल अस्थाई क्वारेन्टाइन तथा आइसोलेसन वार्डको स्थापना गरिएको र सो समाजकल्याण प्रा.वि.लाई अस्थाई अस्पतालको रुपमा विकसित गरि सेवा संचालन गरिनेछ ।
    • वडा नं ७ मा अस्पतालको डि.पि.आर. तयार गरि मन्त्रालयबाट विनियोजित रकमबाट अस्पताल संचालनमा ल्याइनेछ ।
    • यस नगरभित्रका मोतियाबिन्दुबाट पिडित जनसमुदायको निशुल्क शल्यक्रियाको व्यवस्था मिलाईनेछ साथै मानसीक रोगको निशुल्क विशेषज्ञ सेवालाई निरन्तरता दिईनेछ ।
    • यो आ.ब. मा स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकतामा राखि सम्पूर्ण नगरबासी समक्ष पु-याईनुको साथै अति विपन्न नागरिकलाई न.पा. बाट बिमा गराउन आर्थिक सहयोग गरीनेछ ।
    • नगरपालिकाको सबै वार्डहरुबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यसै आ.ब. देखि वडा नं ४ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याईने छ ।
    • शहरी स्वास्थ्य केन्द्र, बर्थिक सेन्टर ,ल्याब, एक्स रे, मनोविमर्श तथा का.स. को सेवा करारलाई निरन्तरता दिईनेछ ।
    • कर्मचारी पुरस्कृत गर्ने कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
    • प्रत्येक वार्डमा निशुल्क USG सेवा तथा क्याल्सियम, फोलिक एसिड निशुल्क रुपमा गर्भवती तथा सुत्केरीलाई वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिनुका साथै यस आ.ब. मा पोषण कार्यक्रमलाई विषेश प्राथमिकता दिइनेछ ।
    • यस नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाहरुको लागि बिजुली, पानी, इन्टरनेट महशुल, ल्याबको लागि आवश्यक पर्ने री-एजेन्टको वयवस्था गरिने तथा महामारी रोग नियन्त्रणको लागि बजेट व्यवस्थापन गरिनेछ ।
    • वडा नं १० को धुलिखेल अस्पतालका सामुदायिक स्वास्थ्य केन्द्रलाई धुलिखेल अस्पतालसँगको सहकार्यमा २५ शैयाको विशेषज्ञ सहितको सामुदायिक अस्पतालको रुपमा सञ्चालन गरिने छ ।
    • एक विद्यालय एक नर्स को कार्यक्रमलाई निरन्तरता दिइ थप विद्यालयमा व्यवस्था गर्नको लागी पहल गरिनेछ ।
    • पाँचखाल नगरपालिका वडा नं ६ को प्राथमिक स्वास्थ्य केन्द्रमा X-Ray सेवाको २४ घण्टे आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।
    • नगरपालिकाबाट ७० वर्ष भन्दा माथिका वृद्ध बृद्धाहरुको सम्मानका साथै निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्थालाई निरन्तरता दिइनेछ । कडा रोग लागेका व्यक्तिहरुलाई वडाबाट सिफारिस भई आएमा उपचार खर्चको व्यवस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ ।
    • विशेषज्ञ घुम्ती शिविर सेवा र कोभिड -१९ बिरामीका लागि घर-घरमा डाक्टर सेवाका लागि आवश्यक व्यवस्था मिलाईने छ ।
    • प्रत्येक स्वास्थ्य संस्थाबाट E-Reporting, E-Attendance गर्न टेलिफोन, ईन्टरनेटको एवं कम्प्युटरको व्यवस्था गरिनेछ ।
    • स्वास्थ्यजन्य सरुवा तथा महामारी नियन्त्रणका लागि आवश्यक औषधी तथा कोषको व्यवस्था गरिनेछ । यस्ता रोगहरुसंग लड्न प्रत्येक वडा स्तरमा रहेको स्वास्थ संस्थालाई सवलिकरण गरिने छ र यसको लागि आवश्यक पर्ने भौतिक संरचना निर्माणको योजना गरिने छ ।
    • शहरी तथा मानव स्वास्थ्य सुरक्षाको लागि उपयुक्त स्थानमा सर्टर हाउस निर्माण गरी सञ्चालनमा ल्याईने छ ।

    नगरपालिकामा COVID-19 को लागि आवश्यक क्वारेण्टाईन व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ टोलिमा खटिने कर्मचारिलाई तालिम, व्यक्तिगत सुरक्षा सामग्री (पिपिई, स्यानीटाईजर, पञ्जा, मास्क)को व्यवस्था, आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थाको साथै नागरिकमा सिर्जना भएको मनोवैज्ञानिक त्रासको व्यवस्थापनलाई मनोसामाजिक परामर्श दिईने छ ।

    • साट्ठिघर स्वास्थ्य चौकीको भवन हस्तान्तरण गरि नगरको स्वामित्वमा ल्याईने छ ।

    इ)  खानेपानी तथा सरसफाई

    • सवै घरमा खानेपानीको पहुँच पु¥याउन चालु आ.व.मा संचालित खानेपानीका आयोजनाहरुलाई आगामी आ.व.मा समेत निरन्तरता दिई पूर्णता दिइनेछ ।
    • नगर खुला दिशामुक्त क्षेत्र घोषणा भईसकेकोले पूर्ण सरसफाईंको लागि सो कार्यलाई निरन्तरता दिईनेछ ।
    • नगरको गौरवको रुपमा निर्माण हुन गईरहेको योगदानमा आधारित सुनकोशी खानेपानी आयोजनालाई गुणस्तरीय रुपमा सम्पन्न गराई घरघरमा खानेपानी वितरण गर्न नगरपालिकाको विशेष पहलकदमी रहने छ ।
    • प्रत्येक स्वास्थ्य संस्थामा महिनाको १ पटक विशेषज्ञ सहितको घुम्ति स्वास्थ्य सेवा सञ्चालन गरिनेछ ।
    • “मृगौला बचाउ अभियान” का लागि प्रत्येक नागरिकको निशुल्क परिक्षणको व्यवस्था गरिनेछ ।
    • पाँचखाल नगरपालिका क्षेत्रमा सरसफाईका लागि श्रोतमा नै फोहोरको वर्गिकरण गरी निजी क्षेत्रको साझेदारीमा फोहोर मैला व्यवस्थापनको आवश्यक व्यवस्था मिलाईनेछ ।
    • प्रत्येक घरमा सेफ्टी ट्याङकी अनिवार्य गरिनेछ ।

    ई) लैंगिक समानता तथा सामाजिक समावेशीकरण

    • बालमैत्री नगरपालिका बनाउनको लागि विभिन्न साझेदार संस्थाहरुको पहलमा उचित कार्यक्रमहरु संचालन गरिनेछ ।
    • निर्माणाधीन तथा भविष्यमा बन्ने सरकारी कार्यालयहरुलाई अपाङ्ग मैत्री बनाईनेछ ।
    • लिङ्ग, भाषा, धर्म, जात, क्षेत्र वा कुनै पनि विषयको आधारमा भेदभाव वा असमानता हुन दिईने छैन । साथै बालमजदुर मुक्त नगरपालिका घोषणाको लागि तयारी गरिनेछ ।
    • विभिन्न जात/ जातिको संस्कृति, रितिरिवाज, रहनसहनको संरक्षण तथा सम्बर्धन गर्नको लागि नगरस्तरमा दनुवार संग्राहालय स्थापना गरिनेछ ।
    • लैङ्गिक समानता र लैँङ्गिक हिंसाको विषयमा पुरुष समेत समावेश गरि समुदाय स्तरमा जनचेतना विस्तारका कार्यक्रमलाई प्राथमिकताका साथ प्रोत्साहन गरिनेछ ।

     उ) महिलाबालबालिका तथा जेष्ठ नागरिक र सामाजिक सुधार

    • समुदाय तथा संघ संस्थाहरुको सहयोगमा लागू औषध रोगथाम र नियन्त्रण तथा घरेलु हिंसाका गतिविधिहरुमा रोक लगाईनेछ ।
    • “नगरवासी जुटौं, बालविवाह रोकौं” जस्ता कार्यक्रम मार्फत बालविवाह रोकथाम कार्यक्रम सञ्चालन गरिनेछ ।
    • किशोरीहरुको आत्मसुरक्षा, मनोसामाजिक तथा अन्य परामर्श सेवा तथा अन्य जीवनोपयोगी तालिमहरुको लागि स्रोत व्यवस्था गरिने छ ।
    • द्धन्द एवं हिंसा पिडित महिला तथा बालबालिकाहरुका लागि सेभ हाउस (नगर सेवा केन्द्र) सञ्चालन गरिने छ ।
    • “बालबालिका भविष्यका कर्णधार र वर्तमानको साझेदार” भन्ने तथ्यलाई केन्द्रमा राखेर बालबालिकाको सर्वाङ्गीण विकास, संरक्षण र सहभागितामा जोड दिइनेछ ।
    • अवैध / घरेलु मदिरा सम्बन्धि ‌ऐनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
    • जेष्ठ नागरिक तथा बालबालिकाका लागि समेत समेट्ने संयुक्त पार्कको निर्माणलाई निरन्नतरता दिईनेछ ।
    • जन्म,, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता गर्ने ऐन, नियमावली अनुसार ३५ दिनभित्र घटना दर्ता गराउने कार्यक्रम एवं दर्ता शिवीर सन्चालनलाई निरन्तरता दिइनेछ ।
    • विपन्न तथा साहारा विहिन बालबालिकाहरुको शैक्षिक प्रवन्धको लागि आवश्यक व्यवस्था मिलाईने छ ।
    • उत्पीडनमा परेका महिला, बालबालिका, दलित, अपाङ्ग, जेष्ठ नागरिक, एकल महिला, तेस्रो लिंगी र हिंसा पिडितका लागि आपत्कालीन कोषको व्यवस्था गरि परिचालन गरिने छ । सो कोषबाट व्यवसाय गर्न ईच्छुक महिलाहरुलाई सहुलियत ऋण उपलब्ध गराईने छ ।
    • नगरका जेष्ठ नागरिकहरुको अन्तरक्रिया कार्यक्रमबाट परम्परागत ज्ञान र सीपको प्रवर्धन गरिने छ ।
    • नगरको सवै विद्यालयहरु र वडाहरुमा बालक्लव गठन, तालिम र क्रियाकलापको माध्यमबाट बालबालिकाहरुको क्षमता विकासका अवसरहरु सिर्जना गरिने छ ।
    • नगर स्तरीय कोसेली घर स्थापना गरी यहाँका नागरिकहरुले उत्पादन गरेका परम्परागत र विशेष वस्तुहरुको प्रदर्शनि र बिक्रि गर्ने प्रवन्ध मिलाईने छ ।
    • भुमिहिन एवं सुकुम्वासीको पहिचान गरी जीविकोपार्जनका लागि आयस्रोत बृद्धिका कार्यक्रम ल्याईनेछ ।
    • अपाङगता भएका व्यक्तिहरुलाई परिचय पत्र,स्वस्थ्य लगायतका सेवाहरु सर्वसुलभ बनाउन घुम्ति शिविर सन्चालन गरिनेछ ।
    • अपाङगता भएका व्यक्तिहरुलाई जिवीकोपार्जन सम्बन्धि तालिम दिने र उत्पादन भएका सामाग्रिको बजारीकरणको लागि सहयोग गरिनेछ।
    • अपाङगता भएका महिलाहरुको लागि यौन तथा स्वास्थ्य प्रजनन अधिकार, महिला हिंसा ,नेतृत्व विकास र ससक्तिकरण सम्बन्धि तालिमहरु सन्चालन गरिनेछ ।
    • अपाङगता भएका व्यक्तिहरुलाई आवश्यक सहयोगी सामाग्रीहरु निशुल्क (व्हील चियर, सेतो छडी ,श्रवण यन्त्र, वाकर वैशाखी ,अर्थोपेडिक विशेष किसिमको जुत्ता, अर्थेपेडिक सामाग्रीहरु) आदि उपलब्ध गराईनेछ ।
    • अपाङमैत्री सार्वजनिक भौतिक संरचना (सार्वजनिक शौचालय, विद्यालय, सरकारी कार्यालय, सार्वजनिक स्थल) आदिको व्यवस्था गरिनेछ ।
    • ज्येष्ठ नागरिकहरुलाई परिचय पत्र, स्वास्थ्य लगायतका सेवाहरु सर्व सुलभ बनाउन घुम्ति शिविर सञ्चालन गरिनेछ ।
    • स्थानिय पाठ्यक्रममा ज्येष्ठ नागरिक सम्बन्धि जानकारिमुलक पाठ्यसामाग्रिको व्यवस्था गरिनेछ ।
    • आर्थिक अवस्था कमजोर भएका ज्येष्ठ नागरिकलाई थप सेवा सुविधा प्रदान, निशुल्क स्वास्थ्य उपचार र ‌औषधिको व्यवस्थाका साथै आवश्यक सहयोगी सामाग्रीहरु निशुल्क उपलब्ध गराईनेछ ।
    • ज्येष्ठ नागरिक ‌ऐन अनुसार समन्वय समिति गठन गरी क्रियाशिल बनाईनेछ ।
    • ज्येष्ठ नागरिक र तिनीहरुको परिवारहरुलाई मनोपरामर्श सेवालाई प्रभावकारी रुपमा संचालन गरीनेछ ।
    • बाल मैत्रि शासनलाई अवलम्बन गरि कार्यान्वयनमा ल्याउन आवश्यक कार्यक्रम र बजेट कार्यान्वनमा ल्याईने छ ।
    • “पाँचखालको शान,बाल विवाह मुक्त हाम्रो अभियान” भन्ने मूल नाराको साथ अभियान संचालन गरिने छ ।
    • जोखिममा परेका बालबालिकाको निम्ति बाल कोष खडा गरिने छ ।
    • बालबालिका सँग सम्बन्धित विभिन्न कार्यविधि तयार पारि कार्यान्वनमा ल्याइने छ ।
    • विभिन्न प्रकारका अपाङगता (बैद्धिक, शारिरिक, मानसिक) भएका व्यक्तिहरु तथा अपाङगता संस्थामा आवद्ध भएका कर्मचारीहरुलाई सांकेतिक भाषा तालिम उपलब्ध गराइनेछ ।
    • यस पाँचखाल नगरपालिका भित्रका महिला, दलित, एकल महिला, लैंगिक हिंसा पिडितहरुलाई विभिन्न सिप सम्बन्धि स्वरोजगार तालिम, अनुदान र अनुगमनको व्यवस्था गरिनेछ ।
    • यस पाँचखाल नगरपालिकाभित्र “मातृशिशु पोषण कार्यक्रम”  सञ्चालनमा ल्याइनेछ ।

    ऊ) न्यायिक समिति

    • न्यायिक समितिलाई व्यवस्थित र साधन सम्पन्न बनाई छिटो न्याय प्रदान गरिनेछ ।
    • सामुदायिक मेलमिलापलाई प्राथमिकता दिँदै न्यायिक समितिमा परेका उजुरीहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने कार्यलाई प्रोत्साहन दिँदै आएकोमा यसलाई निरन्तरता दिईनेछ ।
    • सामुदायिक मेलमिलापकर्ताहरुलाई नगरपालिकाबाट मेलमिलापको लागि पठाईएका विवादहरुको समाधान गर्न बस्नुपर्ने बैठकलाई मध्यनजर राखि खाजा खर्चको व्यवस्था गरिनेछ ।
    • न्यायिक समितिबाट भएका निर्णय र मिलापत्रलाई प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ ।
    • घरेलु हिंसा र जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सम्बन्धी विवादलाई न्यायिक समितिले प्राथमिकताका साथ छिटो छरितो रुपमा निरुपण गरिँदै आएकोमा आगामी दिनमा यसलाई निरन्तरता दिईनेछ ।

    पुर्वाधार विकास

    • . व. २०७७/०७८ मा चालु रहेका योजना तथा कार्यक्रम :
    • यस पाँचखाल नगरपालिकाको आ. व. २०७७/०७८ मा विनियोजित योजना तथा कार्यक्रमहरुको सम्बन्धमा उपभोक्ता समिति मार्फत कार्यान्वयनमा ल्याइएका योजना तथा कार्यक्रम मध्ये सम्झौता भई कार्यान्वयनको चरणमा रहेका तर हाल विश्वभर फैलिरहेको कोभिड – १९ को महामारीको कारण निर्माण कार्यमा असहजता पैदा भई निर्माण कार्य सम्पन्न हुन नसकेका योजना तथा कार्यक्रमहरुको चालु आ. व. २०७७/०७८ को लागि तोकिएको अन्तिम समयसम्म सकिएको कामको फरफारक गरी बाकि रहेको कामको लागि आ. व. २०७८/०७९ मा समेत आवश्यक बजेट समेत विनियोजन गरी उक्त अधुरो कार्य सम्पन्न गर्नुपर्ने गरी आवश्यक प्रक्रिया अगाडि बढाइने छ | साथै ठेक्का मार्फत सुचारु निर्माण कार्यहरुको यस आ. व. मा सम्पन्न हुन नसक्ने कार्यहरुको दायित्व आ. व. २०७८/०७९ मा सार्ने गरी आवश्यक प्रक्रिया अगाडी बढाईने छ |

     सडक तथा पूल :

    • पाँचखाल नगरपालिकाको प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने बिगतदेखिकै लक्ष अनुरुप हाल कार्य भइराखेको सन्दर्भमा सोहि लक्ष हासिल गर्न आवश्यक योजना छनौट गरी बजेट तर्जुमा गरिने छ |
    • हालसम्म नगरपालिका क्षेत्र भित्र पर्ने  राजमार्ग, फीडर रोड तथा जिल्ला सडक बाहेक जम्मा ११.५ कि मि सडक कालोपत्रे भएकोमा यस चालु आ. व. मा मात्र ८.५ कि मि कालोपत्रे भएको छ | त्यसैगरी करीब ३० कि मि भन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको छ |
    • पाँचखाल गरपालिकाको प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने उद्येश्य अनुरुप यसै आ. व. मा वडा नं. ४,५,६,७,९,१०,११,१२ र १३ मा नगरपालिकाबाट पहिलो पटक कालोपत्रे गर्ने कार्य भएको तथा वडा नं. २,३ र ८ मा यस अघि नै कालोपत्रे सडक पुगेको तथा वडा नं.  १ मा  हालसम्म पनि कालोपत्रे सडक पुग्न नसकेको हुँदा उक्त वडामा अबको आ. व. मा कालोपत्रे सडक पुर्याउने तथा हाल कालोपत्रे सडक पुगेका वडाहरुमा थप गर्ने गरि बजेट तर्जुमा गरिनेछ ।
    • साथै नगर क्षेत्रभित्र रहेका बिद्यालय, मठ मन्दीर तथा सबै स्वास्थ्य संस्थाहरु सम्म पक्कि सडक पुर्याउने उद्येश्यले बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ |
    • नगरपालिकाभित्र रहेका बिभिन्न खोला तथा खोल्सोहरुमा बर्षातको समयमा पानीको बहाब बढन गई आवत जावतको समस्या हुने हुँदा पूल आवश्यक पर्ने स्थानमा सडक विभाग सँग समन्वय गरेर पूल निर्माणको प्रक्रिया अगाडी बढाइने छ | साथै धेरै स्थानहरुमा कल्भर्ट तथा ट्राइल ब्रिज नगरपालिका, प्रदेश तथा संघ सरकारको आर्थिक एवं प्राबिधिक सहयोगमा निर्माण एवं अधुरा योजना सम्पन्न गर्ने कार्य अघि बढाईने छ |
    • सबै वडा कार्यालयहरु, सबै विद्यालयहरु, सबै स्वास्थ्य संस्था एवं महत्वपूर्ण धार्मिक स्थलहरुमा पक्कि सडकको पहुँच पु-याइने छ ।
    • अरनिको हाइवेमा आकाशे पुल निर्माण गर्न पहल गरिने छ ।
    • झोलुङ्गे पूल :

    हाल खराने घाट तथा खहरे खोला दोभानमा झोलुंगे पूल निर्माण गर्ने कार्य भईराहेकोमा संघ सरकार संग समन्वय गरि अन्य आवश्यक स्थानमा समेत झोलुंगे पुल निर्माण गर्ने कार्य अघि बढाइनेछ |

    नगरपालिकाको बिभिन्न स्थानमा हाल निर्माणाधीन झोलुङ्गे पूलको निर्माण कार्य सम्पन्न गरी थप आवश्यक स्थानहरुको पहिचान गरी निर्माणको निम्ति प्रदेश तथा संघ सरकार सँग समेत समन्वय गरिने छ |

    • सिंचाई :
    • पाँचखाल नगरपालिकाको सिंचाइको लागि मुख्य श्रोतको रुपमा रहेको झिकु लगायत अन्य खोलाको विभिन्न स्थानमा साना/ठुला बाँध निर्माण गरी, राजकुलो लगायत अन्य प्रचलनमा रहेका सिंचाई कुलोहरुको स्तरोन्नति गरी सिंचाइको अवस्थालाई सुदृढ गरिनेछ |

    पाँचखाल नगरपालिकाको विभिन्न कुलो तथा बाँधहरु निर्माण तथा मर्मत गरि सिचाई सुबिधा पुर्याउने कार्य भईरहेको हुँदा सो कार्यलाई संघ तथा प्रदेश सरकारको समेत समन्वयमा निरन्तरता दिइनेछ |

    साथै यस नगरपालिका क्षेत्रभित्र डीप बोरिंग गरेर पानि आपूर्ति गरिएको हुँदा उक्त श्रोत अस्थाई भएकोले सो को recover होस् भन्ने हेतुले रिचार्जेबल पोखरी निर्माण गर्ने कार्यलाई निरन्तरता दिइनेछ |

    • ५ बर्षभित्र १०८ पोखरी निर्माण गर्ने लक्षलाई पुरा गर्न हाल नगरपालिका स्वयं तथा लि बर्ड सँगको सहकार्यमा कार्य भइरहेको सन्दर्भमा सो लक्ष पुरा गर्न साना ठुला पोखरी निर्माणको कार्य अन्य संस्थाहरु संग समेत समन्वय गरिने छ | इनार, लिफ्ट, डिपबोरिङको माध्यमबाट सिंचाईको व्यवस्थालाई सुदृढ तुल्याईने छ ।
    • भवन तथा शहरी बिकास :
    • वि. सं. २०७२ साल बैशाख १२ गतेको विनासकारी भूकम्प र तत्पश्चात आएका पराकम्पनहरुको कारण क्षति पुगेका पिडित घर परिवारलाई आवास निर्माण गर्दा लाग्ने दस्तूर मा दिइदै आएको सहुलियतलाइ निरन्तरता दिनुपर्नेछ  |

    हाल भवन लगायत भौतिक संरचना निर्माण गर्दा पालना गर्नुपर्ने मापदण्डहरुमा केहि  परिमार्जन गरि पालना गर्नु /गराउनु पर्ने भएकोले बिशेष गरि खोला तथा नदि किनारबाट छोड्नुपर्ने दुरी (setback) लगायत अन्य मापदण्डहरु परिमार्जन गरिने छ |

    तामाघाट बजार क्षेत्र लगायत प्रत्येक वडामा रहेका मुख्य मुख्य बजार तथा व्यापारिक केन्द्रहरुलाई व्यवस्थित गर्न तथा रातिको समयमा हुने गरेका चोरी लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न समेत मद्यत पुर्याउने उद्येश्यले नेपाल बिद्युत प्राधिकरण संग आवश्यक पहल गरि स्थानीय बासि तथा गैह्र सरकारी संस्थाहरु संग समन्वय गरिने छ |

    • हाल निर्माण भइसकेका बाटो, सडक, कुलो, खोला लगायत STRUCTURAL बाहेकका मापदण्ड पुरा गरेका भवन लगायत भौतिक संरचनाहरुलाई ३ महिनाको समय उपलब्ध गराई नक्सा नियमित गरिने छ |
    • SMART (SUSTAINABLE, MEASURABLE, ACHIEVABLE, REPLICABLE, TECHNICAL) CITY अवधारणा सहित व्यवस्थित शहरीकरणको बिकास गर्न काठमाडौं उपत्यका बिकास प्राधिकरण सँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडी बढाईने छ  |
    • उज्यालो पाँचखाल बनाईने छ ।
    • तामाघाट बजार क्षेत्र लगायत प्रत्येक वडामा रहेका मुख्य मुख्य बजार तथा व्यापारिक केन्द्रहरुलाई व्यवस्थित गर्न तथा रातिको समयमा हुने गरेका चोरी लगायतका आपराधिक क्रियाकलाप नियन्त्रण गर्न समेत मद्दत पु-याउने उद्देश्यले नेपाल विधुत प्राधिकरण सँग आवश्यक पहल गरी स्थानीय बासि तथा गैह्र सरकारी संस्थाहरु सँग समन्वय गरिने छ ।
    • उर्जा/ बैकल्पिक उर्जा :
    • वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र सँगको समन्वय तथा सहकार्यमा बैकल्पिक उर्जा प्रयोग सम्बधि अवधारणा अगाडि बढाईने छ |

    घ) वातावरण तथा विपद् व्यवस्थापन

    अ) वन तथा भूसंरक्षण

    • गत आर्थिक बर्षको एक वडा एक पोखरी निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिई तीन बर्ष भित्र एक सय आठ पोखरीको निर्माण सम्पन्न गरिनेछ । यसको लागि बजेटको व्यवस्था हुने छ ।
    • पाँचखाल नगरक्षेत्र भित्र पानी संचित गर्ने प्रजातिका रुखहरुको वृक्षारोपण गरी पानीका मुहान बढाउने कार्यक्रम संचालन गरिनेछ ।
    • हरित शहरको अवधारणालाई विकास गर्न सडक निमार्ण गर्दा बृक्षारोपण गर्नुपर्ने प्रावधान राखि प्रोत्साहन गर्नको लागि आवश्यक व्यवस्था मिलाईनेछ ।
    • खावा देखि जिरो किलोसम्मको अरनिको हाइवेको दायाँ वायाँ फूल फूल्ने रुख विरुवा रोप्ने कार्य गर्न सडक विभागसँग समन्वय गरि अगाडि बढाईने छ ।
    • अनिवार्य रुपमा एक घर दुई रुख रोप्नुपर्ने नीति अवलम्वन गरिनेछ र सार्वजनिक निर्माण गर्दा एक रुख काटिएमा पच्चिस रुख रोप्ने सरकारी नीतिको पूर्ण परिपालना गरिनेछ । व्यक्तिगत,निजी जग्गामा रुख कटान गर्दा समेत सट्टा विरुवा रोप्नुपर्ने व्यवस्था गरिनेछ । साथै सबै किसिमका प्रजातिहरु भएको नर्सरी निर्माण गरिने छ ।
    • डढेलो नियन्त्रण, सल्लाको खोटो संकलन, गोल तथा ब्रिकेट उत्पादन, सिस्नोको धुलो उत्पादन, सालको खोटो संकलन गरी तेल बनाउने जस्ता सीपमूलक तालिम तथा चेतना अभिवृद्धी गरी पर्यावरण संरक्षण तथा स्वरोजगारका अवसरहरु सिर्जना गरिने छ ।
    • नगरपालिका क्षेत्रमा भएका कबुलीयती वन, सामुदायिक वनहरुको यथार्थ विवरण झल्कने प्रोफाइल तयार गरी व्यवस्थित गरिने छ साथै सम्भावित क्षेत्र पहिचान गरी पर्यापर्यटन प्रणालीको विकास गरिने छ ।
    • नीजि तथा वन क्षेत्रमा परेका खाली जग्गाहरुको पहिचान गरी कृषि वन प्रणालीको विकास गरिने छ ।
    • नविकरणीय उर्जाको प्रयोग गर्न प्रोत्साहित गरिनेछ, तथा नविकरणीय उर्जा उत्पादनको लागि समेत आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
    • नगरभित्रका सामुदायिक तथा कबुलियत वनका पदाधिकारिहरुसँग अन्तरक्रिया गरिने छ । सामुदायिक वनको खाली ठाउँमा जिल्ला वन कार्यालयसँग समन्वय गरि वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने छ ।
    • सार्वजनिक जग्गा, नदी किनारका जग्गाहरु लगायत सडक तथा राजमार्ग छेउछाउका जग्गामा विभिन्न प्रजातिका फलफूल र विरुवा लगाउन प्रेरित गरिने छ ।
    • सरकारी पर्ती तथा सामुदायिक वनको रुख नभएको खाली ठाउँमा रुखबिरुवा लगाइनेछ ।
    • सामुदायिक वनमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न सव डिभिजन कार्यालय तथा जिल्ला वन कार्यालयसंग समन्वय गरिने छ ।
    • नगर स्तरीय वन उपभोक्ता महासंघ सँग समन्वय गरि काम अघि बढाइनेछ ।
    • देशमा बढ्दो विद्दुत उत्पादनलाई खपत गर्न ईन्डक्सन चुलोको प्रयोगलाई प्रोत्साहन गरिने छ ।ग्याँस सिलिन्डरसँग ईन्डक्सन चुलो साट्ने कार्यक्रम ल्याईनेछ ।
    • नगरको जोखिम संवेदनशील भूउपयोग नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याईनेछ ।
    • जग्गा विकास र खण्डिकरण नियन्त्रणका लागि साविकमा नापी भई खेतिका रुपमा नापजाँच भएको जग्गाको प्लटिङमा रोक लगाईनेछ ।
    • यस न.पा. को प्रत्येक वाडको घनावस्ती भएको ठाउँमा फोहोर हाल्नको लागी बाल्टीको व्यवस्था गरिने छ ।
    • सडक मापदण्ड पूरा गरी सम्पन्न भएका सडकको दाँया वाँया वातावरणमैत्री बोट बिरुवा लगाउने ।

    आ) फोहरमैला व्यवस्थापन

    • नगरपालिका क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि निजी क्षेत्रको साझेदारी गरिएको छ । सो कार्यलाई निरन्तरता दिँदै फोहोरलाई श्रोतमा नै वर्गिकरण गरी फोहोर व्यवस्थापन गर्ने उचित प्रबन्ध मिलाईनेछ । नगरबाट उत्पादित फोहरलाई प्रशोधन गरी मोहरमा रुपान्तरण गरिनेछ ।
    • फोहोर व्यवस्थापनका लागि नागरिक चेतना अभिवृद्धिका कार्यक्रम संचालन गरी आफ्नो फोहोर आफैले व्यवस्थापन गर्ने नीति अवलम्वन गरिने छ ।सरसफाई तथा फोहोर व्यवस्थापन योगदान दिने घरधनी तथा व्यक्तिहरुलाई प्रोत्साहन गरिने छ ।
    • यस नगरपालिका भित्र रहेका सबै कार्यालयहरुले फोहोर संकलन गरी कुहिने फोहोरबाट मल बनाई बोट बिरुवामा हाल्ने, नकुहिने फोहोरलाई संकलन गरी नगरपालिका मार्फत डिस्पोज गरिनेछ ।

    इ)  विपद् व्यवस्थापन

    • बाढी पहिरो जोखिम क्षेत्रहरुको पहिचान गरी विपद्को पूर्व सूचना प्रणालीको विकासलाई प्राथमिकता दिईनेछ ।
    • विपद्का जोखिम न्यूनिकरणका लागि पूर्वतयारी अन्तर्गतका कार्यहरु गरिनेछ ।
    • कोभिड १९ लगायत यस्तै अन्य विपद्को समयमा सहयोग गर्नको लागि विपद् व्यवस्थापन कोष खडा गरी विकास योजनाहरुको निश्चित प्रतिशत रकम सो कोषमा राखिनेछ ।

    ङ) संस्थागत विकाससेवा प्रवाह र सुशासन

    अ) सामान्य सेवा

    • उपभोक्ताहरुसँग समयमै योजना सम्झौता गरी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निश्चित समय तोकी टोल बस्तीहरुमा योजना सम्झौता सप्ताह अभियान संचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिईने छ ।
    • प्राकृतिक श्रोत साधनमा नगर क्षेत्र भित्रका सवै वडावासीहरुको समान उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरिनेछ ।
    • अदालतमा जाने मुद्दाहरुको संख्या घटाउन र समाजमा मेलमिलाप र सद्भाव कायम गर्न न्यायिक समितिको क्षमता अभिबृद्धि गरी समितिलाई साधनश्रोत सम्पन्न गराईने छ ।
    • नगरपालिकाको संगठन संरचना बमोजिमका शाखा प्रमुखहरुसँग कार्यसम्पादन करार गरी आवधिक प्रतिवेदन लिईनेछ ।

    आ) राजश्व परिचालन, स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन

    • आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा बिस्तार, कानुन बमोजिम तोकिएका कर राजश्व रोयल्टि, बिक्रि तथा निकासी र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ ।
    • कोभिड १९ को महामारीमा नगरपालिकाको विपद् कोषमा सहयोग गर्ने करदाता पहिचान गरि उचित सम्मानको व्यवस्था गरिनेछ ।
    • नगरपालिकाले प्रवाह गर्ने सेवासँग सम्पत्ति कर, बहाल कर, ब्यवसाय कर र विज्ञापन कर तथा अन्य करलाई एकीकृत रुपमा आबद्ध गरिनेछ ।
    • पाँचखाल नगरपालिकाको समग्र राजश्व संभाव्यता अध्ययन गर्नको लागि आवश्यक बजेटको ब्यवस्था गरिनेछ र सोही अध्ययन प्रतिवेदनलाई समेत आधार मानी करदाता शिक्षा सप्ताह मनाउने कार्यक्रमलाई निरन्तरता दिईने छ ।
    • पर्यटन व्यवसाय, कृषि व्यवसाय तथा कृषिसँग सम्बन्धीत कार्य गर्ने व्यक्ति, समुह तथा सहकारी संस्थाहरु साथै पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग, समुदाय र फरक क्षमता भएका मानिसहरुको सिफारिश शुल्क, दर्ता शुल्क तथा नवीकरण शुल्कमा केहि छुट गर्ने व्यवस्था मिलाईनेछ ।
    • प्रदुषणजन्य उद्योग तथा व्यवसायमा थप शुल्क लगाउने व्यवस्थालाई निरन्तरता दिइनेछ ।आधुनिक वातावरणमैत्री ईटा भट्टा लगायतका उद्योग तथा व्यवसाय स्थापना र सञ्चालनका लागि कर छुट दिने नीति लिईनेछ ।
    • करहरुलाई पारदर्शी र प्रभावकारी वनाउन आवश्यकता अनुसार कार्यविधि निर्देशिका वनाई व्यवस्थित गरिनेछ । कानूनबमोजिम गठित कम्पनी, उद्योग प्रतिष्ठान वा औद्योगिक संस्थाहरुसँग कानून बमोजिमको कर र बक्यौता असुलीलाई प्रभावकारी बनाईनेछ ।
    • वित्तीय श्रोत परिचालन र व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको सहभागिता र सहकार्यलाई बढाउँदै लगिनेछ । सम्पूर्ण करदातालाई स्वःस्फुर्त रुपमा करको दायरामा ल्याई आफूले तिरेको करको उचित उपयोग भएको छ भन्ने अनुभूति दिलाउन प्रगती विवरण प्रकाशन गरिनेछ । नियमित र बढी कर तिर्ने करदातालाई सम्मान गर्ने परम्परालाई अझ व्यवस्थित ढंगले अगाडि बढाईने छ ।
    • नगरपालिकाको स्वामित्वमा भोगाधिकार रहेको र नगरपालिकाले संरक्षण र परिचालन गर्नसक्ने भवन जग्गा जमिन, पार्क, तरकारी बजार तथा अन्य भौतिक सम्पत्तिको अभिलेख अध्यावधिक गरी राजश्व आम्दानी गर्ने माध्यमको रुपमा परिचालन गरिनेछ ।यस्ता श्रोतको परिचालन गर्दा प्रतिस्पर्धात्मक पद्धतिको अवलम्बन गर्न जोड दिइनेछ ।
    • यस नगरपालिकाको पार्श्वचित्रको नियमित रुपमा अध्यावधिक गर्नको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
    • आगामी आर्थिक बर्षमा एकिकृत शहरी विकास योजना (IUDP- Integrated Urban Development Plan) तयार गरी कार्यान्वयनमा लगिनेछ ।
    • गरिव घरपरिवार पहिचान कार्यक्रमका गणकहरु परिचालन गरी संकलित तथ्याङ्कको विश्लेषण गरी प्रयोगमा ल्याईनेछ ।

    इ) सूचना तथा सञ्चार प्रविधि

    • पाँचखाल नगरपालिकालाई प्रविधिमैत्री बनाउनको लागि आवश्यक बजेटको विनियोजन गरिनेछ ।
    • ई गर्भनेन्सको अवधारणलाई संस्थागत रुपमा अगाडी बढाउनको लागि ईन्टरनेट सेवा र आवश्यक तालिमको विस्तार गरिनेछ । प्रत्येक वडामा हालसम्म भएका व्यक्तिगत घटनालाई अनलाईनमा प्रविष्टि गरी अभिलेख व्यवस्थित गरिने छ ।
    • विद्यालयहरुमा ईन्टरनेटको पहुँच बढाई ईन्टरनेटको माध्ययमबाट पठनपाठनको व्यवस्था गरी विद्यार्थीहरुलाई सुचना प्रविधिमा आकर्षित गर्ने शिक्षा नीति बनाई लागु गरिनेछ । सबै सरकारी कार्यलयहरुमा ई–हाजिरीको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
    • विज्ञान प्रदर्शनी गर्नको लागि नगरपालिका स्तरमा कुनै एक विद्यालयको छनौट गरी उक्त विद्यालयलाई आर्थिक, भौतिक तथा व्यवस्थापकीय सहयोग नगरपालिकाद्धारा गरिनेछ ।
    • पाँचखालको पर्यटकीय महत्वको प्रचार प्रसारको लागि डिजिटल वोर्डको व्यवस्था गरिने छ ।
    • नगरपालिकाको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन यस नगरपालिकाको Apps लाई कार्यान्वयनमा ल्याईनेछ ।
    • सञ्चारको माध्यमबाट विकास तथा नगरका हरेक नीति योजना कार्यक्रमहरु जनताको घरदैलोमा पु-याई हरेक कामको बारेमा जनताहरुलाई सुसुचित बनाई उनीहरुको सुझाव सल्लाह लिईने छ ।
    • कोरोना महामारीले सिकाएको भर्चुअल कम्युनिकेशन लाई जोड दिई शैक्षिक संस्था तथा अन्य निकाय सँग जोडिनेछ । त्यसको लागि नगरले सस्तो सुलभ दरको गुणस्तरिय इन्टरनेटमा व्यवस्थापनमा जोड दिईने छ ।
    • नगर तथा वडामा जनप्रतिनीधिहरुले गरेका कार्यहरुको प्रचारप्रसार सम्पन्न योजनाका गतिविधि जनतामा पुर्याउन प्रतिनिधिहरुलाई प्रभावकारी सार्वजनिक भाषणकला, उद्घोषणकला तथा पत्रकारीताबारे अभिमुखीकरण गरिने छ ।
    • नगरको विकास कार्यक्रम तथा सेवा प्रवाहका बारेमा उत्कृष्ट समाचार सम्प्रेषण गरे बापत एक जना पत्रकारलाई पुरस्कृत गरिने छ ।
    • प्रत्येक वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाहरुमा २० Mbps को इन्टरनेट सेवा पु-याइनेछ ।

    ई) कर्मचारी प्रशासन

    • कोभिड १९ रोकथाम नियन्त्रण एवं उपचारमा प्रत्यक्ष रुपमा संलग्न हुने कर्मचारीहरुको लागि विमा, पुरस्कार एवं प्रोत्साहन भत्ताको प्रवन्ध गरिनेछ ।
    • कर्मचारीको सेवा प्रवाहलाई जनमुखी, प्रभावकारी तथा प्रविधिमैत्री वनाउन क्षमता विकास तालिम तथा अवलोकन भ्रमणको व्यवस्था गरिने छ ।
    • कर्मचारीहरु तथा नगरवासीहरुलाई अध्ययनशील बनाउन तथा ज्ञानसीपको पहुँच विस्तार गर्ने उद्देश्यका साथ नगरपालिकामा सुविधा सम्पन्न पुस्तकालयको व्यवस्था गरिने छ ।
    • यस नगरपालिका तथा वडाहरुमा विगत बर्षहरुदेखि अविच्छिन्न रुपमा अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरुको सेवा सन्तोषजनक रहेकोले निजहरुलाई यस बर्ष पनि निरन्तरता दिईनेछ ।
    • कर्मचारीहरुसँग कार्यसम्पादन करार गरिने छ र कार्यसम्पादनको आधारमा मनोवल उच्च गरी कार्यदक्षता अभिवृद्धि गर्न आवश्यक प्रोत्साहनको व्यवस्था गरिनेछ ।
    • नयाँ नियुक्ती भएका कर्मचारीहरुको लागि सेवाकालीन तालिमको व्यवस्था गरिनेछ ।
    • नगरपालिका कार्यरत सम्पुर्ण कर्मचारीहरुको व्यक्तिगत विवरण सहितको अभिलेखिकरण व्यवस्थित गरिनेछ ।
    • नगरपालिका कार्यरत महिला कर्मचारी तथा महिला जनप्रतिनिधिहरुलाई लक्षित गरि सवारी चालक एवं अन्य तालिमको व्यवस्था गरिने छ ।
    • जनप्रतिनिधिहरुको क्षमता विकास गर्न तालिम तथा प्रशिक्षण कार्यक्रमलाई प्रभावकारी बनाई सञ्चालन गरिनेछ ।
    • कर्मचारीहरुको व्यवस्थापन गर्नका लागि विशिष्टकृत कानूनका रुपमा कर्मचारीको सेवा सुविधाहरु उल्लेख गरी पाँचखाल नगरपालिकाका सेवा ऐन तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ ।
    • कर्मचारीको कामको मुल्यांकन गरी पुरस्कार र दण्डको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ । कर्मचारीको क्षमता विकास, अनुशासन र वृत्ती विकासमा जोड दिइ कर्मचारी प्रशासनलाई जवाफदेहिता प्रतिस्पर्धी र उत्प्रेरित बनाइने छ ।

    उ) सुशासन

    • पाँचखाल नगर क्षेत्रका विभिन्न बजार क्षेत्रमा सुरक्षा व्यवस्था कायम गर्न र पर्यटकहरुको तथा व्यवसाय कर असुलीमा सहयोग पु¥याउन नगर प्रहरीको व्यवस्थाको थालनी गरिनेछ ।
    • सामाजिक सुरक्षा भत्ता वितरणलाई सरल, सहज र पारदर्शि बनाई VERSP-MIS बाट Forward Feed/Reverse Feed मार्फत बैकिङ प्रणालीमा आवद्ध गरी वितरण गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाईनेछ ।
    • व्यक्तिगत घटनादर्ता कार्यक्रमलाई online प्रणालीमा आवद्ध गरिएकोमा छिटो छरितो रुपमा सेवा प्रदान गरिनेछ ।
    • नगरपालिकाको विभिन्न क्षेत्रहरुमा रहेको खाली, ऐलानी र पर्ती जग्गाको खोजी गरी नगरपालिकाको मातहतमा ल्याईने छ । सो प्रयोजनका लागि भूउपयोग योजना निर्माणको काम भईरहेकोमा त्यसलाई पूर्णता दिन आवश्यक बजेटको व्यवस्था गरिनेछ ।
    • पाँचखाल नगरपालिका क्षेत्रभित्र विना स्वीकृति निर्माण हुने÷भईरहेका घर टहराको अनुगमन गरी बनिसकेका संरचनालाई नगरपालिकाको स्वामित्वमा लिईने छ र निर्माणाधिन संरचनाहरुलाई रोकिनेछ । साथै यस्ता कार्यलाई निरुत्साहित गर्नको लागि अभियानका रुपमा कार्यक्रम संचालन गरिनेछ ।
    • आयोजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्दा समितिमा संख्यात्मक भन्दा दक्ष र अनुभवी व्यक्तिहरुलाई चयन गर्ने व्यवस्था मिलाईनेछ ।
    • उपभोक्ता समिति गठन गर्दा हरेक वडाले कम्तिमा एउटा महिलाहरु मात्र सम्मिलित उपभोक्ता समिति गठन गरी योजना संचालन गर्ने व्यवस्था मिलाईने छ ।
    • नगरपालिकामा पदाधिकारी तथा कार्यरत कर्मचारीहरुको समयानुकुल क्षमता विकास, विस्तार गर्न तालिमको व्यवस्था गरिनेछ ।
    • वर्षभरीको कार्यसम्पादनको आधारमा उत्कृष्ट काम गर्ने उपभोक्ता समिति, ठेकेदार, कर्मचारी, शिक्षक तथा सामाजिक व्यक्तित्वलाई नगरको वार्षिककोत्सवमा सम्मान गरिनेछ, साथै नगरपालिका भित्र रहेका विद्यालयहरुबाट एस.ई.ई र माध्यमिक तहमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिनेछ ।
    • नगरपालिकाको कामलाई मर्यादित र व्यवस्थित बनाउन नगरपालिका अन्तर्गतका कर्मचारीहरुको मनोवललाई उच्च राख्न स्थानीय स्रोत साधन तथा कर संकलनको अवस्थालाई दृष्टिगत गरी कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली, दण्ड पुरस्कारको व्यवस्था जस्ता पक्षहरुलाई आत्मसाथ गरिनेछ ।
    • निर्माण क्षेत्रमा संलग्न मजदुरहरुलाई कार्पेण्टिङ, प्लम्विङ, वायरिङ जस्ता तालिमको व्यवस्था गर्ने र प्राप्त तालिमको परिचयपत्रको व्यवस्था गरिनेछ ।
    • पाँचखाल नगरपालिकामा संचालित गैर सरकारी संस्थाहरुले अनिवार्य रुपमा नगरपालिकामा कार्यक्रम तथा बजेट पेश गरी चौमासिक खर्च सार्वजनिक गर्ने व्यवस्थाको अनिवार्य सुरुवात गरिनेछ । साथै नगरपालिकामा एन.जि.ओ डेक्सको व्यवस्था गरी सो मा दर्ता भए पश्चात मात्र नगरपालिका क्षेत्र भित्र कार्य गर्ने व्यवस्था गरिनेछ ।
    • सार्वजनिक रुपमा छोडिएका पशु चौपाया विशेष गरी गाईका बाच्छाहरुलाई संरक्षण गर्नको लागि गैरसरकारी एवं निजी संस्था सँगको सहकार्यमा संरक्षण स्थलको निर्माण गरिनेछ । व्यक्तिगत लाभको लागि घरबाट सार्वजनिक रुपमा छोडिने पशुचौपाया धनीको पहिचान गरि नियमानुसार कारवाहीको दायरामा ल्याइनेछ ।
    • योजनाहरुको गुणस्तरको अनुगमन गर्न जन प्रतिनिधिहरुको अनुगमन समिति गठन गर्ने र योजनाहरुको अन्तिम निकासा जाँच पास फरफारक गर्दा अनुगमन समितिको सिफारिस अनिवार्य गरिनेछ ।
    • यस पाँचखाल नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुको अवकाशपछि पाउने सेवा सुविधाको व्यवस्थापनको लागि स्थानीय सरकार संचालन ऐन, २०७४ अनुसार कर्मचारी अवकाश कोषको व्यवस्था गरिनेछ ।
    • नगरपालिकाको पहिचान झल्कने लोगोको विकास गरिने छ र सोही लोगोको आधारमा पाँचखाल मायाको चिनो स्वरुप स्थानीय हस्तकलाको विकास गरिने छ ।
    • पारदर्शिता तथा जवाफदेहिता प्रवर्धनका लागि नगरपालिकाबाट सम्पादन भएका कामहरुको अवस्था र प्रगति बारे सर्वसाधारणको चासोलाई सम्बोधन गर्न सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाई जस्ता कार्यक्रम सञ्चालन गरिनेछ ।
    • अपांगता भएका व्यक्तिहरुलाई मासिक रुपमा अपांगता परिचयपत्र नगरपालिका केन्द्रबाटै वितरण र नविकरण गर्ने व्यवस्था मिलाईनेछ ।
    • नगरपालिकाको संस्थागत विकास अन्तर्गत बाँकी वडामा वडा कार्यालयको निर्माण गर्न तथा वडा सचिव नभएका वडामा वडा सचिवको व्यवस्था गरी कामलाई सहज बनाईनेछ ।
    • यस बर्ष नगरपालिकामा सञ्चालित विकास निर्माणका कामहरुको चाप असार मसान्तमा ज्यादै परेकोले सोको अनुगमन तथा मुल्यांकनलाई प्रथम प्राथमिकता दिई सघन रुपमा गर्न र योजना बर्गिकरण गरी रु. २ लाखसम्मका योजनाहरुको अनुगमन वडाबाटै खटिएका प्राविधिक सहितको अनुगमन टोलीले गर्ने व्यवस्था मिलाईनेछ ।
    • सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी वनाउन उपयुक्त मापदण्डहरु निर्धारण गरिनेछ ।
    • आर्थिक प्रशासन, राजश्व प्रशासन र जिन्सी प्रशासनलाई एकिकृत गरी एउटै software बाट चलाउने व्यवस्था गरिनेछ तथा राजश्व संकलनको लक्ष्यलाई पुरा गरिनेछ ।
    • उपभोक्ताहरुसँग समयमै योजना संझौता गरी कार्यान्वयनलाई थप प्रभावकारी बनाउन निश्चित समय तोकी टोल बस्तीहरुमा योजना सम्झौता सप्ताह अभियान संचालन गरिनेछ ।
    • अदालतमा जाने मुद्दाहरुको संख्या घटाउन र समाजमा मेलमिलाप र सद्भाव कायम गर्न न्यायिक समितिको क्षमता अभिबृद्धि गरी समितिलाई साधन श्रोत सम्पन्न गराईनेछ ।
    • सबै वडा कार्यालयहरुलाई यसै बर्षदेखि अनलाईन प्रणलीमा आवद्ध गरी सेवा प्रदान गरिनेछ ।
    • घरेलु मदिरा नियन्त्रण ऐन बनाई घरेलु मदिरा निर्माण तथा बेचविखनको कार्यलाई न्यूनीकरण गर्दै लगिनेछ ।
    • सुशासन नीति तयार गरी सुशासन प्रवर्धनमा जोड दिइनेछ ।
    • नगरपालिकाले खुला सरकारको नीति अवलम्वन गर्नेछ ।

    जय पाँचखाल, धन्यवाद

    महेश खरेल

    नगर प्रमुख, पाँचखाल नगरपालिका

    पाँचखाल, काभ्रेपलाञ्चोक ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार