२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

होली मेलामा झडप हुँदा २ जनाको मृत्यु,१० जनाभन्दा बढी बेपत्ता


२०५२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ चैत्र १६, सोमबार मा प्रकाशित ३ साल अघि
  • १६ चैत, बलेवा । बागलुङको बडिगाड गाउँपालिका-१० दर्लिङ र प्युठान जिल्लाको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा केही व्यक्तिको हताहती भएको बताइएको छ ।

    दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं. ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले बताए । गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए ।

    मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

    घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो ।

    आइतबार दिउँसो बडिगाड-१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका-७ र बडिगाड-१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

    घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार