२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

यस्तो छ बनेपामा अवस्थित चण्डेस्वरीको सन्दर्भ


६७३० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ बैशाख ५, सोमबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ उपत्यकाको पूर्वतर्फ, काभ्रे जिल्लाको बनेपा नगर कोदारी राजमार्गदेखि उत्तरतर्फको एक खोलाको सेरोफेरोमा भगवती चण्डेश्वरीको मन्दिर अवस्थित छ । प्रस्तुत मन्दिरको नजिकै बायाँपट्टि एउटा सानो जङ्गल रहेको छ भने- समीपमा स्थित स-साना जलपूर्ण पोखरीहरूले गर्दा मन्दिर परिसर प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको देखिन्छ। मन्दिर प्रवेश गर्ने द्वारसम्म ठाडा उकाला सिंढीहरूबाट भएर जानु पर्छ । यहाँ मन्दिरको ढोकामा सिंहका राम्रा प्रस्तर मूर्तिहरूले पहरा दिएका देखिन्छन् ।

    मन्दिर परिसर पर्खालले घेरिएको छ र यहाँ रहेको सुन्दर बगैचाबाट अलिकति तल रहेको नदी किनारको घाटसम्म जान ढुङ्गाका सिँढीहरू बनाइएका छन्। पर्खालभित्र इँटाले छापेको विशाल आँगनमा रहेको चौतारोमा नेपाली शैलीको तीनतले श्रीचण्डेश्वरी भगवतीको सुन्दर मन्दिर रहेको छ । मन्दिरका टुँडाल र तोरणहरूमा देवी-देवता एवं अष्टमातृका र अष्टभैरवका सुन्दर मूर्तिहरू दृष्टिगोचर हुन्छन् । भित्र मन्दिर गर्भगृहमा गरगहनाबाट सुसज्जित कुँदिएका र चित्रित गरिएका नित्य पूजा हुन्छ । पूजाका लागि गुठीको व्यवस्था छ । बाहिर रहेका दुई चण्डेश्वरी देवीको राम्रो मूर्ति विराजमान गरिएको छ । यहाँ भगवतीको स्तम्भमा क्रमश: सिंह र मयूरका प्रस्तर मूर्तिहरू रहेका छन् । यहाँ केही शीतला र अन्य देवी-देवताका मूर्तिहरू छन् । सत्रौं शताब्दीतिर बनेको यो सुन्दर सत्तल र पाटीहरू पनि रहेका देखिन्छन् । चण्डेश्वरी मन्दिरको बेलावखत मर्मत र सम्भार पनि भएकै छ । मन्दिर परिसरमा मन्दिरका पश्चिमी भित्तामा विविध किसिमका रङ्गहरू प्रयोग गरी बनाएको भैरवको सुन्दर भित्तिचित्र देखिन्छ । चण्डेश्वरीको मन्दिर नजिकै अलिकति पर चण्डेश्वर महादेवको ग्रन्थकूट शैलीको एक सानो मन्दिर रहेको छ । यो अठारौं शताब्दीमा बनेको देवल हो। मन्दिरको काठे तोरणमा नृत्येश्वर भगवान्‌को चित्र कुदिएको छ । मन्दिरभित्र शिवलिङ्ग छन् । मन्दिर बाहिर स्तम्भमा शिवका वाहन नन्दी रहेका देखिन्छन् ।

    जनश्रुतिअनुसार एक देवताहरूका नायक भगवान् विष्णु दोलाद्रि ( मनहरा नदीको मुहान) पर्वतमा गई लामो समयसम्म बस्नुभयो । यसै मौकामा चण्ड नाम गरेको एक राक्षसले देवताहरूलाई दुःख दिने र सताउने गर्न लागेकाले यस राक्षसबाट त्राण पाउन सम्पूर्ण देवताहरू ब्रह्माजीको शरणमा पुगेछन् । ब्रह्माजीले ‘बनेपास्थित रक्तचन्दन (श्रीखण्ड) का रूखहरू भएको जङ्गलमा जाऊ र त्यहाँ गएर भगवतीको स्तुति गर, अनि तिमीहरूलाई देवी भगवतीबाट रक्षा हुनेछ’ भनेकाले देवताहरू त्यहाँ गई भगवतीको स्तुति गरेपछि देवी प्रकट भई आफ्नो त्रिशूलले राक्षस चण्डासुरको वैशाख पूर्णिमाका दिन वध गरेकी हुनाले यस ठाउंमा भगवतीको ‘पीठ’ स्थापित हुन गएको हो । पछि यस ठाउँको ‘चण्डेश्वरी’ देवीका नामबाट ख्याति बढ्दै गएको हो भन्ने कथा रहेको पाइन्छ । यसै घटनाको स्मृतिस्वरूप प्रत्येक वर्ष वैशाख पूर्णिमाका दिन बनेपाकी चण्डेश्वरी भगवती मेला (जात्रा) लाग्ने गर्छ । त्यस समयमा ठूलो जनसमूहले चण्डेश्वरी भगवतीको पूजा-दर्शन गर्ने गर्छन् । यसरी देवी चण्डेश्वरीको ठूलो महिमा रहेको छ र जनताको भगवतीप्रति अगाध आस्था र विश्वास रहेको पाइन्छ ।

    यात्रामार्ग – काठमाडौंबाट अरनिको राजमार्ग हुँदै बनेपा बजार पुगेपछि उत्तरतर्फ अलिकति पर जाँदा खोला (नदी) को किनारमा भगवती चण्डेश्वरीको मन्दिर पुगिन्छ ।  युवराज शर्मा गौतमको तीर्थपर्यटन पुस्तकबाट हुबहु उतार गरिएको ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार