२०८१ बैशाख २६, बुधबार | Wed, 08, May, 2024

सडकबाट सत्ता टिकाउने खेल कहिलेसम्म ?


३९७२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ अषाढ २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • प्रल्हाद शर्मा हुमागाई
    पछिल्लो समय नेपालको राजनीति एकाएक अस्थिर मोडमा उभिन पुगेको छ । पञ्चायती शासन व्यवस्थापछि नेपालमा राजनीतिक अस्थिरता व्याप्त रुपमा मौलाएको छ । बहुमतको सरकार ढालेर अल्पमतको सरकार बनाउने खेलमा पुगेका गिरिजाप्रसाद कोइरालादेखि यो रोग भुसको आगोझैं आजको दिनसम्म आइपुगेको अध्ययनले देखाएको छ । यस किसिमको क्रियाकलापले बहुदलीय व्यवस्थामाथि नै प्रश्न चिन्ह मात्र खडा गरेको छैन, ०६२÷०६३ को जनआन्दोलनबाट प्राप्त संघीय गणतन्त्र समेत गुम्ने अवस्थामा पुगेको राजनीतिक विश्लेषकहरुको ठहर छ ।

    अहिले नेकपाभित्र भित्रिएको शक्ति संघर्षले सम्पूर्ण आस्थाका धरोहरप्रति गहिरो चोट पु¥याएको यो पंक्तिकारसँगको भेटमा वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन दुवालको गुनासो थियो । तत्कालिन अवस्थामा पूर्व एमाले र माओवादी केन्द्र एक हुँदाको ताका शिर्ष नेताहरुको अभिव्यक्तिलाई लिने हो भने “ठूला जहाजमा दुई जना पाइलट हुन्छन्” भन्नुभएको स्मरण गर्नुहुँदै वामपन्थी विश्लेषक केशव थापाको तर्क छ– नेतृत्वभित्र अहम्तावाद मौलाएको छ ।

    जुन एकताले विश्व राजनीतिको ध्यान तानेको थियो तर आज त्यो चमक गुम्यो भन्दा पनि फरक पर्दैन । हुन त त्यतिबेलै पनि एकता दीर्घायु नहुने तर्क विश्लेषकहरुले नगरेका होइनन् । राजनीतिक दलभित्र होस् वा बाहिर बाँडिचुँडी सहमति खोज्ने र मिलेको देखाउने प्रवृत्तिकै परिणाम हो अहिलेको नेकपाभित्रको संकट भन्न सकिन्छ भन्नुहुन्छ विश्लेषक थापा । जसको सांकेतिक प्रस्तुती निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ता गरेर देखाइएको छ । यो नौटंकीले स्थायित्व दिन्छ भन्ने लाग्दैन । आफ्नो कुर्सी जोगाउनका लागि जनताका छोराहरुलाई सडकमा उरालेर नाटक मञ्चन गर्नुले नेकपाभित्रको विश्वसनीयता माथि नै प्रश्न चिन्ह खडा गरेको देखिन्छ ।

    अहिले कोभिड–१९ ले थला परेका मुलुक र नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर उपाय अवलम्बन गरेर अगाडि जानुपर्ने बेलामा सत्तासिंग दलभित्रको यो रस्साकस्सीलाई नेपाली जनताले हिसाबकिताब राख्ने नै छन् भन्ने बुझिन्छ । नेपाली जनताले अस्थिरतालाई अन्त गर्दै स्थिर सरकार र स्थिर राजनीतिको परिकल्पना गरेर दिएको मतको दुरुपयोग गर्नुले अब फेरि कुन अनुहार लिएर ति मतदाता सामु जाने होला ? सोचनीय विषय बनेको छ एकातिर भने अर्काेतर्फ पार्टी पद्धतिभन्दा माथि उठेर सरकार सञ्चालन गर्न पुगेका प्रधानमन्त्री ओलिका गतिविधिले राष्ट्र नै संकटमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै समेत प्रश्न चिन्ह खडा गरिदिएको तथ्य दिनको घाम जस्तै छर्लङ्ग देखिएको यो परिवेशमा पार्टीलाई चुनौती दिँदै विधि र विधान विपरित सडकबाट सत्ता टिकाउने खेलमा लाग्नु कतिको बुद्धिमानी होला ! पार्टीको बफादा सिपाही पार्टीप्रति नै जिम्मेवार हुनुपर्ने होइन ? तर प्रधानमन्त्रीले आफ्ना अनुयायीहरुको प्रयोग गरेर सडकमा जुन किसिमको नाटक मञ्चन गर्न पुग्नुभयो, त्यसले प्रधानमन्त्रीको बौद्धिकतामाथि नै विश्वसनीयता नरहेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।

    सयौं अनियमितता छोप्ने अश्रका रुपमा लिम्पियाधुरा, कालापानी, लिपुलेक हुन नसक्ने राजनीतिक विश्लेषकहरुको चुनौती छ । राष्ट्रियताका नाममा अनियमितता गर्ने छुट कसैलाई छैन । कात्रोमाथिको भ्रष्टाचार देखि एमसीसी सम्मका कर्तुतहरु पचाउन नेपाली जनताले दुई तिहाइको सरकार बनाउन दिएका होइनन् । संघीय संसदमा मात्र होइन, प्रदेश र स्थानीय तहका सरकारमा समेत नेकपाको पूर्ण बहुमत छ । नेपाली जनताको चाहना स्थायी सरकार हो । त्यो जिम्मेवारी नेपाली जनताले मत हालेर पूरा गरेका छन् । यो अवस्थामा नेतृत्वमा अहम्ता मौलाउनु नेकपाका लागि शुभ सन्देश पक्कै होइन । तसर्थ, जे जति समस्याहरु छन्, पार्टीभित्रै बहस गरेर समाधान खोज्नु नै बुद्धिमानी हुनेछ ।

    कसैको गोटी बनेर नेपाली जनतामाथि आघात पु¥याउने हैसियत राख्नु दुर्भाग्य हुनेछ । अहिले जुन किसिमको चलखेल अखडा नेपाल बनेको छ, यो नेपालको इतिहासमा कहिल्यै नमेटिने कालो दागको रुपमा रहनेछ । हिजो एउटा शक्तिले मात्रै कठ्पुतली बनाउने कोसिस गरेको आभाष देखिन्थ्यो तर आज यो मुलुक तीनतिरबाट तीन वटा शक्तिले कठ्पुतली बनाउने संकेत गरेको यो संगीन अवस्थामा यो पंक्तिकार नेकपा नेतृत्वसँग आग्रह गर्न चाहन्छ, सत्ता संघर्षको खेलबाट माथि उठी पार्टीको बफादार सिपाहीको रुपमा पार्टीको नीति नियमभित्र रहेर नेपाली जनतासामु आफूलाई उभ्याउन आग्रह गर्दछ । अन्यथा, यस परिस्थितिमा सिर्जना हुने कुनै पनि अप्रिय घटनाहरुको जिम्मेवार स्वयं नेतृत्वहरुले स्वीकार्नुको विकल्प छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार