२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

स्वास्थ्यकर्मीलाई सुबिधा देऊ


३८२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • विश्वमा महाँमारीको रुपमा फैलिएको कोरोना भाईरससंग फ्रन्टलाइनमा रहेर निरन्तर रुपमा कार्य गर्दै आएका स्वाथ्यकर्मीहरुको मनोवल उच्च राख्नेको लागि सरकारले प्रयास नगरेको होईन । स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता दिने निर्णय गरेर मनोबल उच्च राख्नाको साथै हौसला प्रदान गर्ने रणनीति बनायो । तर कतिपय नीजि तथा सामुदायिक अस्पतालहरुले हौसला प्रदान गर्नुको बदलामा हतोत्साह पार्ने कार्य गरेका छन् । सरकारको नीति नियमलाई उलंघन गर्दै जोखिम भत्ताको बदलामा खाईपाइ आएको तलब समेत घटाउने कार्य गरेका छन् । महाँमारीको नाउमा अस्पताल संञ्चालकहरुले स्वास्थ्यकर्मीहरुको श्रम शोषण गर्ने गरेका छन् ।

    भत्ता त दिएनन् नै, तलब समेत पुरा नदिएर आधा सम्म काट्ने गरेको पाईएको छ । अस्पतालहरुमा बिरामीको संख्या कम भएको बाहाना बनाउंदै डिउटी कम गराउने र सोही आधारमा तलव दिने गरेका छन् । आफैं सुरक्षा सामग्री किनेर लगाउनुपरेको, घर जान सवारी नपाएको, संक्रमित भइसकेपछि पनि बस्ने ठाउँ नदिएको भन्दै अस्पतालका चिकित्सकले आवाज उठाइरहेका छन् । स्वास्थ्यकर्मीहरुले प्रशासनमा गएर धेरैपटक सुबिधाको बारेमा आवाजहरु उठाएका छन् तर सुनुवाई हुन सकेको छैन ।

    प्राय गरेर धेरै स्वास्थ्य कर्मीहरु हरेक दिन सार्वजनिक सवारीको माध्यमबाट डिउटी जान्छन तर लकडाउनको समयमा सार्वजनिक सवारी साधन नहुंदा डिउटी जान समेत समस्या परेको छ । यस्तो समस्याको बिषयमा अस्पताल सञ्चालकहरुको कुनै ध्यान जान सकेको छैन । अस्पतालले सवारीको व्यवस्था नगरिदिँदा जोखिम मोलेर यात्रा गर्नुपरेको छ । संक्रमण नसरोस् भनेर पीपीई, मास्क, पन्जाजस्ता सुरक्षात्मक सामग्री आफैं किन्न बाध्य भएका छन् । ‘सरकारले सर्वसाधारणलाई संक्रमणबाट बच्न सावधानी अपनाउनुपर्छ भनेको छ, तर हामीले दैनिक असुरक्षित भएका छन् स्वास्थ्यकर्मीहरु ।

    फ्रन्टलाइनमा बसेर बिरामी हेर्नुपर्ने जिम्मेवारी भए पनि हालसम्म कोरोना जोखिम भत्ता पाएका छैनन् । सुरक्षात्मक सामग्री नहुँदा मास्कको भरमा बिरामी जाँचिरहेका छन् । अस्पतालमा कार्यरत चिकित्सक असुरक्षाका बीच कामको पेलानमा परिरहेका छन् । स्वास्थ्य मन्त्रालयले गत वैशाखमा जारी गरेको संक्रमणको उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन निर्देशिकाअनुसार फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशालाकर्मी, सफाइकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने भनिएको छ । तर, अस्पतालकै जनशक्तिले हालसम्म जोखिम भत्ता पाएका छैनन् ।

    स्वास्थ्यकर्मीसमेत संक्रमित हुनुले सुरक्षाको व्यवस्थापन कमजोर भएको छ । चिकित्सक संक्रमित हुनु या जोखिममा पर्नु भनेको अस्पताल नै जोखिममा पर्नु हो । क्वारेन्टाइनमा राख्नुपर्ने स्थितिले भोलि स्वास्थ्यमा भयावह स्थिति आउन सक्ने हुन्छ । स्वास्थ्यकर्मी बचाउन उच्चतम सतर्कता अपनाउनुपर्ने भनिए तापनि नेपालमा बेवास्ता गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार