२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

सकारात्मक प्रयासको सम्मान गरौँ


४९१५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन १६, बुधबार मा प्रकाशित १ महिना अघि
  • विकास निर्माण कार्यमा भएको ढिला सुस्ती ‚ चुहावट एवं गुणस्तरहीन निर्माण कार्यले गर्दा मुलुकलाई उँधो गतितिर धकेली रहेको छ । विकास निर्माण कार्यको लागि जिम्मेवारी पाएका निर्माण व्यवसायीले निर्धारित समयमा कार्य सम्पन्न नगर्दा आम उपभोक्ताहरू मर्कामा परेका छन् । निर्माण कार्य गर्ने सहमति साथै सम्झौतामा उल्लेख भएका बुंदाहरु का विषयमा वास्तै छैन । सम्झौता अनुसारको कार्य नभई रहँदा सम्बन्धित निकाय मौन बस्दा थप समस्या हुन पुगेको हो । सडक निर्माण कार्यको लागि निर्माण व्यवसायले डिभिजन सडक कार्यालयमा उपस्थित रहेर सम्झौता गरेका हुन्छन भने अन्य विकास निर्माण सम्बन्धी निकायमा तर सम्झौता लागू नहुनुमा रहस्य लुकेको अनुमान गर्न सकिन्छ ।

    विकास निर्माण कार्यमा हुनेगरेको ढिला सुस्ती एवं लापरबाहि मध्यको एक उदाहरण अरनिको राजमार्ग खण्डको धुलिखेल खावा सडक । २०७९ जेठ २० गते २० करोड‚ १९ लाख‚ ४६ हजार‚ ५०१.२१ मा चार किलोमिटर सडक २०८० चैत्र १९ सम्ममा १४ मिटर चौडा सडक पुन निर्माण गरी ११ मिटरको कालो पत्रै गरिसक्ने सम्झौता भएको थियो । तर समय सकिन १ महिना मात्रै बाँकी हुँदापनि २५ प्रतिशत काम सम्पन्न भएको छैन । काम भयो त केवल ढुङ्गा निकाल्ने र माटो खन्ने र सो सामाग्री अन्यत्र लगेर बिक्री गर्ने । निर्माण व्यवसायीको चरम लापरबाहीले गर्दा राजमार्गमा यात्रा गर्ने यात्रुहरूले जोखिम मल्नु परेको छ भने दैनिक रुपमा दर्जनौँ दुई पाङ्ग्रे सवारी साधनहरू दुर्घटनामा पर्ने गरेका छन् ।

    सडकको दयनीय अवस्थाको मध्यनजर गर्दै जिल्ला समन्वय समिति काभ्रे प्रमुख दीपक गौतमको पहलमा प्रमुख जिल्ला अधिकारी ‚ सुरक्षा निकायका प्रमुखहरू समेतको टोलीको पहलमा दयनीय सडक सुधारको खालडा पुर्ने धुलो बाट बच्नको लागि नियमित रुपमा पानी हाल्नुपर्ने र छिटो निर्माण कार्य सम्पन्न गर्ने विषयमा सम्झौता भएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको सम्झौता अनुसार कार्य नभएपछि जिसस प्रमुखको नेतृत्वको टोली सडकमै बसेर मर्मत सम्भार गर्ने कार्य भएको थियो तर निरन्तरता हुन सकेन । सो समस्या समाधानको लागि जिसस प्रमुख दीपक गौतमले प्रधानमन्त्री समक्ष समेत अनुरोध गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सो सडकको समस्या समाधान गर्न सम्बन्धित निकायलाई मंसिर २७ गते पाँचखालको एक कार्यक्रमबाट निर्देशन दिनुभयो ।

    प्रधानमन्त्रीको निर्देशनले सडक बन्ने आशामा रहेका काभ्रेली साथै यात्रुहरू दुई महिना विति नसक्दापनि सडक नबनेपछि निरास भए । नेपालको खरिद ऐनले निर्माण व्यवसायीलाई बलियो बनाएको छ जसको कारण प्रधानमन्त्रीको निर्देशन लागू भएन । यात्रुहरूको निराशा साथै जिल्ला बासिहरूको एक पछि अर्को गर्दै गुनासो चाङ लागेपछि सडक बनाउनको लागि जीवनको आहुति दिन तयार हुनुभयो जिसस प्रमुख गौतम । सम्बन्धित मन्त्रालय हुँदै प्रधानमन्त्री सम्म पुग्दा पनि सडक नबनेपछि विकल्पको रुपमा सोही धुले राजमार्गमा अमरण अनशनको माध्यम अपनाइयो । जिसस गौतमले जनताको लागि आफ्नो ज्यान बलिदानी दिन तयार रहेको उद्घोष गर्दै सडकमा सुतेपछि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समेत निकै चर्चा चल्यो विकासको लागि जनप्रतिनिधि सडकमा अनशन भनेर ।

    दीपक गौतमको आमरण अनशनले चर्चा मात्रै पाएन प्रधानमन्त्रीको निर्देशन समेत नमान्ने निर्माण व्यवसायीले घुँडा टेक्न बाध्य भए । अनशन सुरु हुनासाथ अत्तालिएका निर्माण व्यवसायी अनशन सुरुभएको १५ घण्टा नपुग्दै काभ्रे आए । डिभिजन सडक‚ जिल्ला प्रशासन कार्यालय काभ्रे साथै सुरक्षा निकायको साथमा आएका निर्माण व्यवसायीले निर्धारित समयभित्र २ किलोमिटर कालो पत्रे गर्ने सहमति गरे र सो सहमतिको आधारमा थप जनशक्ति परिचालन गरी निर्माण कार्य सुरु गरेको छ । जनप्रतिनिधिले विकास निर्माणमा गरेको यति महत्वपूर्ण प्रयासलाई आत्मासाथ गर्दै सकारात्मक कार्यलाई सम्मान गर्दै अन्य जनप्रतिनिधिले पनि पाठको रुपमा लिन जरुरी छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार