२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

म्यादीको तलब ५० हजार १६० रुपैयाँ


३६५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २१, मंगलबार मा प्रकाशित १ साल अघि
  • काठमाडौँ — आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीले तलब/भत्ता, रासन, खाजाखर्च लगायतमा एकमुष्ट ५० हजार रुपैयाँभन्दा बढी रकम पाउने भएका छन् ।

    २०७९ मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिने म्यादी प्रहरीका लागि ‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७९’ स्वीकृत गर्दै गृह मन्त्रालयले ४० दिनको कार्यअवधि तोकेर म्यादी प्रहरीलाई तलब/भत्ता, यातायात खर्च, खाजा, पोशाक, रासन लगायत शीर्षकमा प्रतिव्यक्ति एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ उपलव्ध गराउने भएको हो । केन्द्रीय सुरक्षा समितिले निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने निर्णय गरिसकेको छ .

    मापदण्डमा म्यादी प्रहरीले प्रहरी जवानको आधारभूत तलबमान अनुसार प्रतिव्यक्ति दैनिक ८ सय ६९ रुपैयाँका दरले ४० दिनको ३४ हजार ७ सय ६०, रासन भत्ता बापत ७ हजार २ सय, पोशाक भत्तालाई ६ हजार, यातायात खर्चबापत एक पटकका लागि १ हजार र खाजा खर्चलाई दैनिक ३ सय रुपैयाँका दरले ४ दिनको १ हजार २ सय गरी एकमुष्ट ५० हजार १ सय ६० रुपैयाँ र हिमाली भेगमा खटिनेलाई ज्याकेट किन्न थप १ हजार रुपैयाँ उपलब्ध गराइने उल्लेख छ ।तोकिएको तलबमध्ये म्यादीमा नियुक्ति भएको ३० दिनपछि ५० प्रतिशत र बाँकी रकम अवकासमा जानुअघि भुक्तानी दिइने उल्लेख छ ।

    त्यस्तै रासन बापत पाउने भत्ता नियुक्ति बुझेको १० दिनभित्र २० दिनको र बाँकी २० दिनको अवकासमा जानुअघि उपलब्ध गराइने मापदण्डमा उल्लेख छ । म्यादी प्रहरीका लागि अर्थ मन्त्रालयले ५ अर्ब ८६ करोड ३९ लाख ५० हजार रुपैयाँ बजेटक व्यवस्था गरेको छ .

    प्रहरी प्रधान कार्यालयले म्यादी भर्ना प्रक्रिया दसैंअघि नै सक्ने गरी तालीका निर्धारण गरिसकेको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार भदौ २६ मा म्यादी भर्नाको सम्बन्धी सूचना प्रकाशन, भदौ ३० देखि असोज ६ सम्म म्यादी भर्ना आवेदन, भदौ ७ मा सम्पर्क मिति, असोज ९ देखि १४ सम्म छनोट गरेर असोज २५ मा नतीजा प्रकाशन गर्ने कार्य तालिका छ ।

    त्यसपछि छनोट भएका म्यादी प्रहरीलाई असोज २७ र २८ मा नियुक्तिपत्र वितरण गर्ने, असोज ३० बाट कात्तिक ८ सम्म तालिम सम्पन्न गरी त्यसको भोलिपल्ट कात्तिक ९ बाट नेपाल प्रहरी मातहत निर्वाचन सुरक्षा खटाइने उल्लेख छ । म्यादी प्रहरीले कार्यअवधिभर प्रहरी नियम/कानुन अनुसार निर्देशित हुनु पर्नेछ । म्यादीलाई निर्वाचन सकिएको ४ दिनपछि मंसिर ८ मा प्रमाणपत्र दिएर बिदाइ गरिने योजना तय भएको प्रहरी प्रवक्ता राईले बताए ।

    निर्वाचन आयोगमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि देशभर १० हजार ८ सय ८८ मतदान स्थल तोकेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा कायम मतदानस्थलभन्दा १ सय ३२ बढी हो । गएको स्थानीय चुनावमा १० हजार ७ सय ५६ मतदान स्थल तोकिएको थियो ।

    आगामी निर्वाचनमा २२ हजार ५ सयदेखि २३ हजारसम्म मतदान केन्द्र रहने आयोगको आंकलन छ । मतदाताको अन्तिम टुंगो लागेपछि मात्रै मतदान केन्द्रको टुंगो लगाइने आयोगले जनाएको छ । निर्वाचनमा मतदान स्थल र केन्द्रको सुरक्षामा प्रहरी र म्यादी तथा बाहिरी सुरक्षा सेना र सशस्त्र प्रहरी बल (एपीएफ)ले गर्ने गरी सुरक्षा योजना बनेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार