२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

राजाको आदेशमा स्थापना भएको विद्यालयका हेड मास्टर, ९१ वर्षमा वीस हजार पेन्सन थाप्नुहुन्छ 


३९०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ३, बुधबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल
    नौ दशक पुरा भईसक्दा पनि शारिरीक र मानसिक रुपले सामान्य व्यक्ति झैँ देखिनु आश्चर्यको कुरा हो । त्यसमध्य एक व्यक्तित्व हुनुहुन्छ – खड्गराज खरेल । जो कोहि व्यक्तिले ९१ वर्ष हुनु भयो भनी पत्याउन गाह्रो छ । उहाँको जन्म १९८६ सालमा काभ्रे जिल्लाको फलाटेमा भएको थियो । तर उहाँ शारिरीक र मानसिक रुपले झन बयस्क हुनुहुन्छ । साँझ विहान करेसाबारीमा काम गर्नुहुन्छ । गीता भागवत लगायतका धार्मिक पुस्तक पढ्न चस्मा लगाउनु पर्दैन । स्मरण शक्ति तगडा छ, मान्छेलाई चिनिहाल्नु हुन्छ ।

    २००१ सालमा विवाह हुँदा १५ वर्षको उमेर थियो । उहाँको विवाह आफू भन्दा ६ वर्ष कम उमेरकि कन्यासँग भएको थियो किनभने त्यतिवेलाको काल, समय नै त्यस्तै थियो । विवाह गरेको तीन बर्षपछि परदेशको यात्रा तय गर्नु भयो । परदेशिनु बाध्यता थियो भने जिवनको लक्ष्य पुरा गर्नु पनि थियो । तात्कालिन समयमा परदेश भन्नाले इण्डियालाई बुझिन्थ्यो ।

    अग्लो शरिर, पुष्ट गाला, लामा हात, पाखुरा सुहाउदो जिउडाल हुनु भएका खरेल साह्रै सरल हुनुहुन्छ । रातो रङ पोतिएको कोठाको सोफामा बस्दै आफू इण्डिया जानु परेको कथा बताउनु हुन्छ ‘‘ मेरो वुवा र हजुरवुवा चारधाम तिर्थाटनमा जानु भएको थियो रे । हजुरवुवा घर फर्कनु भयो तर वुवा फर्कनु भएन । वुवाको उतै दुखद निधन भयो । त्यति वेला मेरो उमेर तीन बर्षको थियो रे । त्यसपछि २ वटि वहिनी र म आमाको संरक्षणमा हुर्कियौं । जब म बुझ्ने भएँ र आफ्नो कर्तब्य वोध भएपछि पितृलाई तर्पण दिन इण्डिया गएँ । हिन्दु परम्परा अनुसार विद्धान पुत्रले आफ्नो पितृहरुको उद्धार गर्नु पर्छ भन्ने मान्यता छ । इण्डियाको गयामा पितृलाई तर्पणादि कार्य सकेपछि बनारस गएँ । बनारसमा मेरा फुपूको छोरा हुनुहुन्थ्यो । फूपुका छोरा त्यहाँ भएकाले खाना बस्न समस्या नभएको बताउनु भयो ।”

    केहि समय बनारस बसेपछि उहाँ पटना जानु भयो । पटनामा माडबारी सेवा समिती होटलको पर्चा बाँड्ने काम गर्नु भयो । पर्चा बाँड्दा त्यहि बस्न, खान पाइन्थ्यो । त्यहाँ महिनाको १५ रुपैया भारु तलव पाउनु हुन्थ्यो । दुई महिना काम गरेपछि मथुरा जानु भयो । मथुराको सोहनपुर रेल्वे स्टेशनमा डिटेस् (स्टेशनमा काम गर्ने कर्मचारीको पद) संग ६ महिना काम गर्नु भयो र अलिकति पैसा जम्मा गर्नु भयो । डिटेसले साहै्र माया गर्दथ्यो । पढन पनि बारम्बार प्रेरणा दिन्थ्यो ।

    रेल्वे स्टेशन कर्मचारीको प्रेरणा र आफ्नो पढ्ने चाहानालाई उहाँले रोक्न सक्नु भएन र पढ्न उमेरले छेक्दैन भन्ने उदाहरणिय व्यक्ति बन्नु भयो । उहाँ इण्डिया जाँदा १८ वर्षको हुनुहुन्थ्यो । गाँउघरमा रहदा वर्णमालाको स्वअध्यायन गर्नु भएको उहाँले पढ्ने चाहानालाई पुरा गरेर छोड्नु भयो । मथुराकै बि. एन. पोद्दार हायर सेकेण्डरी स्कुलको कक्षा चारमा भर्ना हुनु भयो । पढ्नको लागि साह्रै मेहनत र संघर्ष गर्नु परेको थियो । दिनमा सोहि स्कुलमा काम गर्ने र रात्री कक्षा पढ्ने गर्नु हुन्थ्यो । बि. एन. बाट मेट्रिक पास गर्नु भएको हो भने हालको बाह्र कक्षा सो–सरहको पढाई किशोरमण डिग्री कलेजवाट पुरा गर्नुभएको थियो ।

    उहाँको पढने इच्छा पुरा भएको थिएन । त्यो भन्दा माथीको डिग्री लिने धोको थियो तर दैवको लिला कसलाई थाहा हुन्छ र । उहाँले जीवनमा पारिवारिक वियोगको चोट सहनु प¥यो । विवाह गरि घरमा छोडेकि श्रीमतिको निधन भयो । यो घटनाले उहाँको पढाइमा बाधा पर्न गयो । घर फर्कदा १२ वर्ष वितिसकेको थियो । घरमा आमा र बहिनीहरु मात्र हुनुहुन्थ्यो । फेरी मथुरा गएर पढ्ने योजना थियो तर आमाले घर छोडेर नजान आग्रह गर्नु भयो । आमाको आग्रहलाई स्विकार्दै धरमै बस्नु भयो ।

    खरेलले २०१७÷१८ सालमा आइ.ए.स सम्मको अध्ययन गर्नु भएको थियो । घरमै बसेर अवशरवाट बञ्चित हुँदा आत्माग्लानी भएको थियो त अजिंगरको आहार दैवले जुराँउछ भने झैं गाँउकै विद्यालयमा सेवा गर्ने मौका पाउनु भयो । गाँउमा २००८ सालमा हालको श्री शारदा उच्च माध्यामिक विद्यालय स्थापना भएको थियो । सोे विद्यालय काभ्रे जिल्लामा स्थापना भएका मध्य दोस्रो पुरानो विद्यालय मानिन्छ । जनताको माग अनुसार राजाको ठाडो आदेशमा विद्यालय स्थापना भएको खरेल वताउनु हुन्छ । उहाँले २०१८ सालमा शिक्षण पेसा अगाल्नु भएको हो । सो विद्यालयमा ३१ वर्ष २०४९ सालसम्म प्रधानाध्यापक भएर सेवा गर्नु भएको थियो । सो समयमा उहाँको तलव एक सय रुपैँया थियो ।

    विद्यालयको आम्दानी विद्यार्थिवाट उठाईएको फिस मात्र थियो । अन्य स्रोत केहि थिएन । खरेल आफै प्रधानाध्यापक भएकोले अन्य शिक्षक तथा कर्मचारीलाई तलब दिनु पर्दथ्यो । कहिलेकाहि पैसा पुग्दैनथ्यो र आफूले तलबै लिन नपाइने तितो यथाथै पनि सुनाउनु भयो । वार्षिक १२००० तलब थाप्ने खरेल २०४९ सालमा रिटायर्ड हुँदा मासिक १३३२ रुपैँया पेन्सन थाप्न पाउनु भयो । हाल उहाँले मासिक १९८०० पेन्सन लिनु हुन्छ । मासिक एक सय रुपैँयावाट सुरु गरेको जागिर हाल आएर मासिक २०००० पेन्सन पाँउदा सेवा बापतको कदर भएकोमा खुशी हुनुहुन्छ ।

    शैक्षिक क्षेत्रमा सेवा गर्न पाँउदा अत्यन्त खुशी रहेको वताउनु हुन्छ । खरेलले हजारौ विद्यार्थिको जीवनमा घामको ज्योती छर्नु भएको छ । विद्यालय सुधार्न धेरै मेहनत गर्नु भएको छ । कुनै पनि विद्यार्थिको भविष्य अन्धकार नहोस भनि निरन्तर खटिरहनु हुन्थ्यो । २०२० सालमा उक्त विद्यालयवाट पहिलो पल्ट एस.एल.सी दिने विधार्थि उत्पादन भएका थिए । त्यतिवेला एस.एल.सी. परिक्षा दिन काठमाडौं जानु पर्दथ्यो । कतिपय विद्यार्थिहरुले त उहाँकै सहकर्मि भएर सहयोग गरेको पनि सुनाउनु भयो । उहाँले पढाएका विद्यार्थि डाक्टर, इन्जिनियर, वकिल, सचिव, पत्रकार, शिक्षक, सेना, प्रहरीमा रहेर सेवा गरिरहेका छन् । कतिले आफू जस्तै रिटायर्ड जीवन विताइरहेको वताउनु हुन्छ ।

    मथुरावाट नेपाल फर्किएपछि काठमाडौमा सिधै सुब्बाको जागिर प्रस्ताव आएको थियो तर समय र परिस्थितिले मौका गुमाउनु परेको थियो । पढाइलाई निरन्तरता दिन नपाउँदा दुःख लागेको बताउनु भयो । पहिलेको समय सत्यताको थियो । अहिले अन्याय, अत्याचार र असत्यले जरा गाडेकोमा दिग्दारी लागेको सुनाउनु भयो । पहिलेका मानिस विवेक र धर्म पालन गर्थे भने हाल त्यो विनाश भएको देख्न हुन्छ । अहिले पनि गीता भागवत बेद पुराणका पुस्तकहरु अध्ययन गर्नु हुन्छ । उहाँ भन्नुहुन्छ ‘‘मानिसले जति घमण्ड र अहमता प्रदर्शन गरे पनि अन्त्यमा अध्यात्मको वाटो राज्नुको विकल्प छैन ।”

    खरेलको दोस्रो विवाह २०१९ सालमा भएको थियो । पहिलो विवाहिता धर्मपत्नीवाट सन्तान भएका थिएनन् । दास्रो विवाह पश्चात पाँच सन्तान छन् । उहाँका चार छोरी विवाहिता छन् भने एक छोराको पनि विवाह भई दुई सन्तान छन् । हाल उहाँका छोरा प्रहरी नायब उपरिक्षक पदमा सेवारत हुनुहुन्छ । विगत दश बर्षदेखि बनेपा नगरपालिका वडा नं. ९ मा स्थायी बसोवास गर्दै आउनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार