२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

काठमाडौ—पाँचखाल विद्युतीय रेलमार्ग


२७६९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ माघ २०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • सिताराम सिपखान


    पछिल्लो समयमा आएर नेपालमा विकासका लागि शब्दचित्र कोर्ने काम हुदैछ । विकासको नयाँ तौर तरिकाको बिषयलाई संञ्चार माध्यमले उचित स्थान दिएको छ । केरुङबाट रसुवागडी र त्रिशुली उपत्यकाको विदुर हुंदै शिवपुरीको फेदीमा सुरुङ खोपेर टोखामा निस्कने चिनियाँ रेल कोरिसकेको चित्र हो । मेची—महांकाली, रक्सौल—काठमाडौ, जनकपुर—बर्दीवास समेत कोरीसकेका चित्र हुन् । अन्य विकास निर्माणको लागि चित्र कोरीदै जालान् तर काठमाडैबाट पुर्वमा पर्ने काठमाडौ—पाँचखालको रेलमार्गको बिषयमा केही लेख्ने जमार्को गरेको छु ।

    केन्द्र केन्द्रकै रुपमा विकसित भइरहन आफुवरिपरिका क्षेत्र र उपक्षेत्र जोड्नुपर्छ । त्यो पनि द्रुत बेगका सवारी–साधन मार्फत । स्थलमार्गमा रेलनै छिटोछरितो साधन हो । सुनिन्छ, जापान र चिनमाल एक घण्टामा चार सय कि.मि गतिको बुलेट ट्रेन दौडन्छन् । काठमाण्डौंले आफ्ना वरिपरिका चार ढोका खोल्न ढिला भइसकेको छ । ती ढोका उत्तरमा नुवाकोटको त्रिशुली, पश्चिममा धादिङका बेरेनी, दक्षिणमा मकवानपुरको हेटौंडा र पूर्वमा काभ्रेको पाँचखाल हुन् । जनसांख्यिक चाप, माग र आपूर्तिको सन्तुलनका लागि माथिका चार बिन्दुहरु रेलमार्गले जोडिन आवश्यक छ ।

    समुन्द«ी सतहबाट १३ सय मिटर उचाइमा रहेको काठमाण्डौं उपत्यका, १३५० मिटर उचाईमा रहेको बनेपा उपत्यका र ८८५ मिटर उचाइमा रहेको पाँचखाल उपत्यकालाई जोड्ने यो रेलमार्ग काठमाण्डौं उपत्यकाको लागि पूर्वको ढोका हो । काठमाण्डौं देशको राजधानी हो भने काभ्रे दूध र तरकारीको राजधानी हो । टोखाबाट सुरु हुने यो रेलमार्ग बौद्घ, जोरपाटी, मध्यपरर ठिमी, भक्तपुर र बनेपा सहरको उत्तरी भेग हुंदै चण्डेश्वरी मन्दिरको आसपासबाट ओरालो सुरुङमार्ग हुँदै पूर्वपट्टि रविगाँउ निस्कनेछ ।

    सुरुङ करिब एक किलोमिटरको हुनेछ । रविगाँउबाट झरेको रेलमार्ग दोभानापाटीमा अग्लो पुल हाली अनेकोट टाँकेडिही तर्नेछ । त्यसपछि तीनकुने, तामाघाट र श्रीरामपाटीको उत्तरी भेग हुँदै पाखैपाखा आँपघारी आसपास पुग्नेछ । यसरी टोखादेखि पाँचखाल आँपघारी सम्मको दुरी करिब ४० कि.मि हुनेछ ।
    यस रेलमार्गको बनेपाबाट एउटा शाखा धुलिखेल हुँदै दक्षिणतिर पनौती र खोपासीसम्म लम्बिनेछ ।

    अर्को शाखा पाँचखालबाट कुन्ता, सिपाघाट हुँदै मेलम्चीसम्म पुग्नेछ । इन्द«ावतीको दक्षिणी किनारमा सडक मार्ग छ भने उत्तरी किनारा हुँदै रेलमार्ग जानेछ । भविष्यमा पाँचखाखलको रेल्वे स्टेसनबाट दुईवटा रणनीतिक महत्वपूर्ण रेलमार्ग, दुई दिशातर्फ लाग्नेछन् । एउटा मार्ग उत्तरपूर्व दिशातिर सिन्धुपाल्चोकको चौतारा आसपास हुँदै तातोपानी नाका पुग्नेछ ।

    पहाड आउँदा सुरुङभित्र पस्नु र नदी आउँदा किनाराबाट हिड्नु रेलमार्गको भौगोलिक बाध्यता हो । यो रेलमार्ग केरुङ–काठमाण्डौं रेलमार्गको विकल्प पनि हो । यदि उचाइ र गहिराइको भूधरातल नमिलेर सो रेलमार्ग नबन्ने भयो भने बनाउनैपर्ने रेलमार्ग यहि हो । यो रेलमार्ग ८८५ मिटरको उचाइबबाट करिब १०० मिटर गहिराइमा झर्नेछ । सुनकोसी नदिको एकापट्टीको किनारबाट बिपी राजमार्ग गएको छ भने अर्कोपट्टिबाट यो रेलमार्ग बनाउन सकिन्छ । यो रेलमार्ग पाँचखाल उपत्यकाको दक्षिणपूर्व हुँदै अगाडि बढ्नेछ । भकुण्डे, रोसी किनार, सुनकोसी किनार हुँदै अगाडि बढ्ने यस मार्गमा महाभारत पर्वत र चुरेमा भने सुरुङ खोपिनेछ । सिन्धुलीको खुर्कोटबाट रामेछापको मन्थलीसम्म भने अर्को शाखा बन्नेछ । पूर्वीतराई र मध्यतराईलाई पाँचखाल उपत्यका हुँदै काठमाण्डौं जोड्ने हुँदा यो रेलमार्ग आर्थिक र सामाजिक विकासका लागि कोशेढुंगा सावित हुनेछ । काठमाण्डौं–पाँचखाल रेलमार्ग सञ्चालनपछि पाँचखालको आँपघारी रेलस्टेसन आसपासबाट माथि पलाञ्चोक डाँडासम्म केबलकार निर्माण गर्न सकिन्छ ।

    त्यस्तै दोलालघाटबाट पलाञ्चोकसम्म पनि केबलकार निर्माण गर्न सकिन्छ । यसरी पलाञ्चोक भगवती क्षेत्रलाई धार्मिक पर्यटकीय हब बनाउन सकिन्छ । यसरी यस रेलमार्गका शाखा–प्रशाखा सञ्चालनपछि काठमाण्डौं, खोपासी, मेलम्ची, तातोपानी, बर्दिबाससम्मको यात्रु पलाञ्चोक भगवतीको दर्शन गर्न सजिलै आइपुग्नेछन् । पलाञ्चोक क्षेत्रका होक्से, साठीघर, खरेलथोक र कोसीदेखामा होमस्टे र होटलको विकास हुनेछ । जलविहारमा रुची राख्नेहरु भने भगवतीको दर्शनपछि केबलकारमार्फत दोलालघाट झर्नेछन् । दोलालघाटबाट सुनकोसी नदीमा जलविहार गर्दै बोहोरेदोभान वा खुर्कोटसम्म पुग्नेछन् ।

    जापानले जमानामा रेलमार्ग निर्माण गर्दा जर्मनीको सहायता लिएको थियो । टोकियोबाट करिब २५ किमि टाढासम्म निर्माण गरिएको सो रेलमार्ग निर्माणमा आधा जर्मनी र आधा जापानी मानव संसाधन प्रयोग गरिएको थियो । यसरी जापानले पनि रेलमार्ग निर्माणसम्बन्धी अनुभव काम गर्दै सिकेको थियो । नेपालले पनि करिब ४० किमिको यो रेलमार्ग निर्माण गर्दा आधा विदेशी र आधा नेपाली संसाधन प्रयोग गरि सिक्न सकिन्छ । रेलमार्गको राम्रो अनुभव भएका मित्रराष्ट्र जर्मनी, जापान वा चीनको सहायता लिन सकिन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार