२०८१ जेष्ठ २, बुधबार | Wed, 15, May, 2024

मंसिर ४ मा हुने निर्वाचनको लागि काभ्रे–२ बन्यो चर्चाको विषय


५६३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ श्रावण २७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • आई.आर.के.मैनाली
    काभ्रेपलाञ्चोक । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरे लगतै जनस्तरमा चर्चा परिचर्चा सुरुभएको छ ।

    जिल्लाको २ नं क्षेत्रलाई जिल्लावासीले बिशेष नियाली रहेका छन् साथै सो क्षेत्र निकै चर्चाको विषय बन्न पुगेको छ । नेकपा एमालेको प्रभावशाली नेताको रुपमा चर्चित पूर्व मन्त्री गोकुल बाँस्कोटा‚ नेकपा समाजवादीका नेता एवं पूर्व सांसद द्वय कृष्ण प्रसाद सापकोटा र विदुर सापकोटा साथै प्रदेश साँम्सद एवं समाजवादीकै नेता लक्ष्मण लम्साल ‚ नेपालि काँग्रेस प्रभावसालि नेताहरु शिव प्रसाद हुमागाईँ‚ मधु आचार्य‚शुन्दरमणी आचार्य‚ कञ्चन बादे‚ नेकपा माओवादीका नेता एवं संविधानसभा सदस्य तेजबहादुर मिजार‚ माओवादी नेताहरू रुकु चौलागाईँ‚ डा.भरत लामिछाने‚ गोपी कृष्ण थपलिया‚ आइतसिंह तामाङ समेत रहेका क्षेत्र रहेकोले क्षेत्रको विकासको निम्ति सक्षम व्यक्तिलाई मत दिन आतुर देखिन्छन जनताहरु ।

    क्षेत्रको विकासको निम्ति केन्द्रिय पहुँच भएका नेता बाहेक सम्भव नभएको विगतका उदाहरणहरूले देखाएका छन् । मुलुकको जुन क्षेत्रमा केन्द्रिय पहुँच भएका नेताहरू निर्वाचित भएका छन् सो क्षेत्रको विकास निर्माणका कार्य राम्रो भएको पाइन्छ । काभ्रेको सन्दर्भमा पञ्चायत कालमा केन्द्रिय स्तरमा पहुँच भएका शैलेन्द्र कुमार उपाध्यायको कार्यकालमा विकास निर्माणको कार्यमा काभ्रेली सन्तुष्टि भएका थिए । बहुदल प्राप्त पश्चात जिल्लाबाट धेरैले सांसदको जिम्मेवारी पाए तर खासै दीर्घकालिक ढङ्गको विकास निर्माणमा उपलब्थी हुन सकेन । मुलुकमा गणतन्त्र प्राप्ति पश्चात संघीयता लागु भएपछिको पहिलो प्रतिनिधिसभाको निर्वाचनबाट काभ्रे क्षेत्र नं २ बाट गोकुल बाँस्कोटा निर्वाचित भएपश्चात जिल्लाको विकासमा राम्रै उपलब्धि भयो ।

    बाँस्कोटाको पहलमा सुरु भएका विकास निर्माणको कार्य (सुरुङमार्ग‚ मदन भण्डारी विश्वविद्यालय‚पाँचखाल र मण्डनमा वृहत सिन्चाइ साथै पिउने पानीको व्यवस्था‚ जिल्लाका विभिन्न स्थानमा रहेको धुले सडकमा कालो पत्रे‚ गुणस्तरीय शिक्षा र स्वास्थ्यमा गरिएको पहलकदमी लगायतका सहज ढंगबाट सम्पन्न गर्नको लागि कसलाई निर्वाचित गराउँदा जिल्लाको मुहार फेर्न सहज हुन्छ भन्ने विषयमा बौद्धिक व्यक्तित्वहरुले मसिनो ढंगबाट केलाई रहेका छन् । काभ्रे क्षेत्र नं २ मा बौद्धिक साथै विकास पे्रमि जनताहरूको बाहुल्यता रहेको छ । जुनखाले जनताहरूले दल (पार्टी) भन्दा क्षेत्रको विकास गर्न सक्ने क्षमतावान व्यक्तिको छनोट गर्न आतुर रहेको पाइन्छ ।

    हिन्दुहरूको महान पर्वको रुपमा मनाइने विजया दशमी सके लगतै उम्मेदवारी दर्ता गरी अर्को पर्व दिपावली सकेको २४ दिनमा निर्वाचन हुने भएको छ । मुलुकमा संघीयता लागू भएपछिको हुने दोस्रो निर्वाचन काभ्रे क्षेत्र नं २ निकै चर्चाको विषय बन्ने भएको छ । मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको लागि गठबन्धनका तर्फबाट उम्मेदवारी चयन गर्न निकै कठिन भएपनि नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाको उम्मेदवारको लागि खासै विवाद छैन । ०७४ को निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवारी दिई ठुलो मतान्तरको आधारमा निर्वाचित हुनु भएका पुर्व सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाको उम्मेदवारी सुनिश्चित जस्तै रहेको एमाले निकटका नेताहरुको भनाई रहेको छ ।

    उता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीले काभ्रे क्षेत्र नं २ को लागि दावि गर्दै विदुर सापकोटा वा कृष्ण प्रसाद सापकोटा मध्य एकलाई उम्मेदवारी बनाउने चर्चा चलेको छ । त्यसैगरी नेपाली काँगे्रसको तफर्बाट शिव प्रसाद हुमागाईँ ‚ मधु आचार्य‚ कञ्चन वादेको चर्चा रहेको छ । नेकपा माओवादीले भने पर्ख र हेरको नीति अवलम्बन गर्दै गठबन्धन प्रकृयालाई जोड दिदै छ । स्थानीय तहको निर्वाचनमा जुन ढंगबाट सत्तापक्ष बिच भएको गठबन्धनलाई निरन्तरता दिने प्रयासमा दलहरू रहेका छन् ।

    तर सम्भावना कम रहेको विश्लेषकहरूको भनाई रहेको छ । काभ्रेको सन्दर्भमा जिल्लामा प्रतिनिधिसभाको लागि दुई क्षेत्र र प्रदेशसभाको लागि ४ क्षेत्र रहेको छ । क्षेत्र नं १ नेपाली काँगे्रसका काभ्रे सभापति तिर्थ लामाले नछोड्ने देखिन्छ भने २ मा मधु आचार्य वा शिव हुमागाईँको अडान कायमै छ । उता समाजवादीले पनि क्षेत्र नं २ को लागि अडान काएमै छ ।
    प्रदेशसभा तर्फ जिल्लामा ४ क्षत्र रहेको छ । गठबन्धन पक्षधर मध्य नेपालि काँगे्रसले २ क्षेत्र लिएर १ माओवादीको लागि र १ समाजवादीलाई दिने तयारी गरेको स्रोतले बताएको छ । तर गठबन्धन पक्षधर मध्यका समाजवादीले २ क्षेत्रको लागि अडान कायम राखेका छन् । त्यसैगरी माओवादीले पनि २ क्षेत्रको लागि दावि गर्दै अगाडि बढेको छ । माओवादीले प्रदेश तर्फ दुई र प्रतिनिधिसभाको लागि १ दावी गर्ने र समाजवादीले पनि प्रतिनिधिसभा तर्फ १ र प्रदेश तर्फ २ को अडान कायम राख्नेहो भने सत्ता पक्षको गठबन्धन टुट्न सक्ने संकेत देखिएको छ ।

    नेकपा एमाले चुनावी रणनीति निर्माणमा जुटेका छन् भने सत्ता पक्षहरू गठबन्धनको लागि अलमलिएको छ । बलियो संगठन भएको दावी गर्दै आएको नेकपा एमालेसँग गठबन्धन भएमा पाँच दलीय गठबन्धनको भिडन्त रोचक हुने अनुमान गरिएको छ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा आगामी निर्वाचनमा यो क्षेत्रमा एमालेबाट एकल दाबेदारका रुपमा देखिन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको मन जित्न सफल बाँस्कोटा चुनाव लड्ने तयारीमा रहेको स्रोतले जानकारी गराएको छ । काभ्रे–२ लाई एमालेले आफ्नो पकड क्षेत्रको रुपमा लिने गरेका छन् । सो क्षेत्रमा गठबन्धनबाट काँग्रेस र नेकपा एकीकृत समाजवादीले आफ्नो प्रभाव रहेको दाबी गर्दै आएको छ । यद्यपि तुलनात्मक रुपमा एमाले नै बलियो देखिन्छ ।

    काभ्रे–२ बाट चुनाव लड्ने तयारी गरिरहेका एमालेका पूर्वमन्त्री बाँस्कोटालाई गठबन्धनको तफर्बाट एकीकृत समाजवादीका कृष्णप्रसाद सापकोटा वा कांग्रेसका शिव हुमागाईले टिकट भएभने चुनौती बन्ने देखिन्छ । बाँस्कोटाको मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेसका हुमागाईँलाई हेरिएको छ । सापकोटाले टिकट पाएमा बाँस्कोटाको लागि सहज हुने जानकारहरू बताउँछन् । २०५६ सालको आम निर्वाचनमा एमालेका केशव बडाललाई पराजित गरेर काभ्रेमा काँग्रेसको उदय गराउन सफल हुमागाईँ जनस्तरमा लोकप्रिय हुन सफल मानिन्छ ।

    मन्त्री पदमा रहँदा बाँस्कोटाको राजनीति समाप्त पार्न विभिन्न अभियोगहरू लगाइएपनि प्रमाणित हुन नसक्दा झुट सावित भएको छ । जिल्लाको विकास निर्माणको लागि ठुलो भूमिका निर्वाह गर्न सफल भएकोले जनता माझमा जान बाँस्कोटालाई सहज हुने भएको छ । स्पृष्ट वक्ता साथै खरो स्वभाव भएकै कारण बाँस्कोटाको राजनीति समाप्त पार्ने कार्यमा एमाले बाहेकका नेताहरू नजुटेपनि जनताको नजरमा बाँस्कोटा विकास प्रेमी मानिन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार