२०८१ जेष्ठ ३, बिहिबार | Thu, 16, May, 2024

 काभ्रेमा भूमाफियाको चकचकी‚ सार्वजनिक जग्गा व्यक्तिको नाउमा—भिडियो सहित 


८२०५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ भाद्र २८, मंगलबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लामा भूमाफियाको चकचकी मच्चिएको छ । बिभिन्न समयमा भूमाफियाले गर्दा जग्गा सम्बन्धी विवादमा मुछिने जिल्लाको रुपमा चिनिने काभे्रमा एक पछि अर्को गर्दै निरन्तर रुपमा चलखेल हुदै आएको छ ।
    हाल आएर पाँचखाल नगरपालिका वडा नं ३ र ६ अरनिको राजमार्ग खण्डको ४२ किलो डिही कुवापानी मा पर्ने ३१ रोपनी १३ आना सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको छ । स्थानियको पानी घाट साथै मृत्यु संस्कारको रुपमा रहेको उक्त सार्वजनिक जग्गा व्यक्तिको नाउमा दर्ता भएकोले स्थानियहरुले अख्तियारको ढोका ढक्ढक्याउन बाध्य भएका छन् ।

    स्थानीयले ११५ जनाको हस्ताक्षर सहित अख्तियारमा उजुरी गरेपछि अख्तियारले पाँचखाल नगरपालिकाको नाउमा पत्र काट्दै मालपोत कार्यालय काभ्रेका प्रतिनिधि‚ नापी कार्यालय काभ्रेका प्रतिनिधि नगरका जनप्रतिनिधिहरू साथै स्थानीय भद्रभलादमी समेतको संलग्नतामा मुचुल्का तयार गरि पठाउनु भन्ने पत्र प्राप्त भएपछि नगरपालिकाको तफर्बाट मुचुल्का तयार भएको थियो । पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमायाँ दनुवार‚ जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता अप्सरा ढुंगाना (सिपखान)‚पाँचखाल वडा नं ३ का वडा अध्यक्ष सुन्दर अधिकारी‚ पाँचखाल वडा नं ४ का वडा अध्यक्ष सुन्दर तामाङ‚ पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल‚  पाँचखाल नगर कार्यपालिका सदस्य कल्पना ढुंगाना‚ कार्यपालिका सदस्य सुरेश भुजेल‚ कार्यपालिका सदस्य सृजना परियार‚ वडा नं ६ का वडा सदस्य मछिन्द्र श्रेष्ठ‚ वडा नं ३ का वडा सदस्य जीवन थापा‚ वडा नं ४ का वडा सदस्य संजिता दनुवार लगायतको उपस्थितिमा भएको मुचुल्कामा उपस्थित सबैले सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेकोले सो जग्गा सार्वजनिककै हुनुपर्ने माग गरिएको थियो ।

    पाँचखाल नगरका अधिकृत कल्याण सुवेदीको नेतृत्वमा नगरका कानुनी सल्लाहकार राजकुमार उप्रेती‚ प्राविधिक गणेश सापकोटा समेतको कर्मचारी टोली सर्जमिन मुचुल्काको लागि विवादित जग्गामा उपस्थिति हुनुभएको थियो । नापि कार्यालय काभ्‌रेबाट सर्भेक्षक रामेश्वर ढुँगानाको उपस्थिति रहेको थियो । मालपोत कार्यालयबाट प्रतिनिधिको रुपमा खरिदार विनोद मुग्रती र खरिदार ललित जिएमको उपस्थिति रहेपनि रोहबरमा बस्न असर्मथन जनाइएपछि स्थानीय आक्रोशित भएका थिए । सर्जमिन मुचुल्काको लागि सयौँको सङ्ख्यामा स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।
    ५० करोड भन्दा माथि मूल्य पर्ने उक्त जग्गा २०४८ साल सम्म सार्वजनिक नै रहेको मालपोत कार्यालयले जनाएको छ । ०३१ सालमा नापी हुँदा फिल्डबुकमा ऐलानी‚ पर्ती उल्लेख भएको नापी कार्यालयले जानकारी गराएको छ । तर उक्त जग्गा एकाएक २०४८ साल कार्तिक १० गते गुण्डाराज अधिकारीको नाउमा दर्ता भएको थियो । अधिकारीको नाउमा पुर्जा तयार भएपछि सो जग्गा विभिन्न व्यक्तिका नाउमा नामसारी भएको मालपोत कार्यालय काभ्रेले जानकारी गराएको छ । तत्कालीन काभ्रे मालपोत अधिकृत रामप्रसाद शुक्ला जोशी र रामप्रसाद अमात्यले  सो सार्वजनिक जग्गा व्यक्तिको नाउमा दर्ता गरि पुर्जा उपलब्ध गराएको थियो । के प्रमाणको आधारमा साथै कुन निकायबाट कसले जग्गा दर्ताको लागि सिफारिस भएको भन्ने आधिकारिक खुल्न आएको छैन ।

    सार्वजनिक पानी घाटको रुपमा पुस्तौँदेखि रहंदै आएको उक्त जग्गामा सुकुमबासीले बसोवास गर्दै आएका थिए । ३१ रोपनि १३ आना मध्य १६ रोपनी जग्गा ५ जनाको नाउमा नामसारी भएको थियो । त्यसमध्ये किनं २८८३ नं क्षेत्रफल ४ रोपनी १४ आना २ पैसा जग्गा प्रजिन्तराज जोशीले सिलसिला ट्रेडर्सको नाउबाट सिन्धु विकास बैक माफर्त कर्जा लिइएको थियो । बैंकमा कर्जा भुक्तानी नभएपछि लिलामको लागि सूचना निकालिएको थियो । बैकले लिलामीको लागि निकालिएको सूचनामा कसैले लिलाम नकारेपछि बैंक आफैले लिलाम सकारेको थियो । बैंकले लिलामा सकारेर भोगचलनको प्रकृया थालेपछि स्थानीयले जानकारी पाई अवरोध खडा गरेको थियो ।

    स्थानीयले सार्वजनिक जग्गा व्यक्तिले हडप्न नपाइने भन्दै भोगचलन कार्यमा अवरोध पुर्याएपछि सिन्धुविकास बैंकले पाटन उच्च अदालतमा स्थानीय ज्ञानबहादुर थापा‚ सन्तोष बानियाँ‚ मन्जिल थापा‚ सनिप बानियाँ‚ पाँचखाल नगरपालिका कार्यालय‚ नापि कार्यालय‚ पाँचखाल वडा नं ६ समेतलाई उजुरी दर्ता गराइएको थियो । सो उजुरीको म्याद तामेली भएसँगै प्रतिवादीहरूले प्रतिउत्तर लगाउने कार्य समेत भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार