२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

पनौतीमा माटो परिक्षण‚ ५० कृषकले अनुदान पाउने


५१२९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ पौष १३, बुधबार मा प्रकाशित १ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेको उर्वरा भूमिको रुपमा परिचित पनौती नगरमा वृहत माटो परिक्षण शिविर आज बुधवार सम्पन्न भएको छ ।

    पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखा र माटो तथा मल परिक्षण प्रयोगशाला हेटौँडाको आयोजनामा भएको ४ दिने माटो परीक्षणको क्रममा ४७३ माटोको नमुना परिक्षण गरिएको हो ।

    माटो तथा मल परिक्षण प्रयोगशाला हेटौडा बाट बरिष्ठ माटो विज्ञ डा.जनार्जन खड्काको नेतृत्वमा आएका (४ जना प्राविधिक टोली २ जना प्रयोगशाला सहयोगी १ जना चालक) ७ जनाको टोलीले माटो परिक्षण गरेका थिए ।
    माटोको नमुना उपलब्ध गराउने कृषकहरू मध्यबाट पनौती नगर कृषि शाखाले छनोट गरेका उत्कृष्ट ५० जना कृषकलाई १५ हजार अनुदानको व्यवस्था समेत भएको जानकारी प्राप्त भएको छ ।

    पनौती नगर कृषि शाखा प्रमुख प्राविधिक अधिकृत लिलानाथ सापकोटाको अनुसार कृषि उर्वरा भूमिमा माटो बिग्रन नदिनको लागि माटो परिक्षण गरी सुधारको योजना गरिएको बताउनु भयो । नगरमा रहेका कृषकहरूको आम्दानीको प्रमुख स्रोत खेती भएकोले मनग्य उत्पादनको लागि माटो सुधारको अभियान चलाउने नगरको योजना अनुसार अगाडि बढेको बताउनु भयो ।

    माटो परिक्षण टोलीको नेतृत्व गर्दै पनौती आउनुभएका बरिष्ठ माटो विज्ञ अधिकृत १० औं तह जनार्दन खड्काले भन्नुभयो—नगरको कृषि शाखाले छनोट गरेका ५० कृषकहरूलाई भकारो सुधारको लागि माटो तथा मल परिक्षण प्रयोगशाला हेटौँडाको तफर्बाट प्रति कृषक १० हजार र जैविक मल प्रयोग गरेबापत प्रति कृषक ५ हजार गरी १५ हजार उपलब्ध गराउने छौं ।

    डा.खड्काले थप्नुभयो—छनोट भएका उत्कृष्ट कृषकहरूलाई जैविक मल बनाउने तरिका सिकाउने‚ गहुत र गोबरको बारेमा जानकारी गराउने छौं । माटो सुधारको लागि २१ मेट्रिक टन कृषि चुन निशुल्क उपलब्ध गराएर माटो सुधारको पहल गर्ने छौं । माटोको उपचार पश्चात माटोको के कति सुधार भयो भनी पुन माटो परिक्षण गर्ने छौं डा. खड्काले भन्नुभयो ।

    बागमती प्रदेशमा रहेको ११९ पालिकाहरू मध्य हालको लागि ५ पालिका काभ्रेको पनौती नगर‚ चितवनको खैरेनी नगर‚ काठमाडौँको दक्षिणकाली नगर‚ ललितपुरको महाङ्काल गाउँपालिका र भक्तपुरको चाँगुनारायण नगर) मा मात्रै यस्तो खालको योजना लागू भएको छ ।

    बागमती प्रदेशको तफर्बाट व्यवसायी ढंगले खेती गर्ने पालिका र प्रविधिमा पछि परेका पालिकाहरू गरी छनोट भएका ५ पालिका मध्य काभ्राको पनौती नगरको माटो परिक्षण गरी सुधार गरेपछि कृषकहरू आत्मनिर्भर रहने भएका छन् । रासायनिक मलको भरमा मात्रै खेती गर्दै आएका कृषकहरूले रासायनिक मल कम प्रयोग गरी जैविक मल प्रयोग गर्दा उत्पादनमा कमी नआउने भन्ने विषयमा जानकारी प्राप्त गर्ने अवसर जुट्ने भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार