२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

मण्डनदेउपुरको जनप्रतिनिधिहरु नगरको लागि भविष्य हुन्


४१४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १५, मंगलबार मा प्रकाशित २ साल अघि
  • प्रणराज न्यौपाने
    प्रमुख प्रशासकीय अधिकृत (मण्डनदेउपुर नगरपालिका)

    साबिक भोजपुर रानिबास गा.वि.स वडा नं १ हालको हतुवागढी
    गाँउंपालिका वडा नं १ को अती रमणिय स्थलमा पिता डिल्ली प्रसाद न्यौपाने तथा माता चन्द्र कुमारी न्यौपानेको कोखबाट २०२५ साल साउन २० गते जन्मनु भएका प्रणराज न्यौपाने हाल भक्तपुर स्थित मध्यपुर थिमी वडा नं १ लोकन्थलीमा बसोबास गर्दै आउनु भएको न्यौपाने मिलनसार सालिन साथै भद्र हुनुहुन्छ । मण्डनदेउपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेर कार्य गर्दै आउनु भएका न्यौपाने प्रशासनिक खर्चलाई अत्यन्त कम गरी विकास निर्माणको लागि खर्च गर्ने मनसायका साथ अगाडी बढ्नु भएको छ ।

    विविध खर्चहरुलाई कम गर्दै दिर्घकालिन ढंगको विकास निर्माणमै लगाई नगरको विकासको लागी निरन्तर रुपमा अगाडी बढ्नुभएका प्रशासकीय अधिकृत न्यौपानेले एम. ए, एम.एड सम्म अध्ययन गर्नु भएको छ । ०५३ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भई मोरङ जिल्ला शिक्षा कार्यालयबाट सेवाको सुरुवात गर्दै अगाडी बढ्नु भएका न्यौपानेले सोलुखुम्बु जिल्ला शिक्षा कार्यालय, भोजपुर जिल्ला शिक्षा कार्यालय, उदयपुर जिल्ला शिक्षा कार्यालय, सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै जाने क्रममा २०७० साउन महिनामा उपसचिव भएपछि जिल्ला शिक्षा कार्यालय भोजपुरमा जिल्ला शिक्षा अधिकारीको समेत जिम्मेवारी सम्हाल्नु भएको थियो ।
    उपसचिव भएपछि स्थानिय तहमा पहिलो पटक २०७५ साल चैत्र ८ गते काभे्र जिल्लाको मण्डनदेउपुर नगरपालिकामा शिक्षा शाखा प्रमुखको रुपमा आउनु भएका न्यौपानेले २०७६ बैशाख ११ गतेबाट प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै हुनुहुन्छ । सेवाग्राहीहरुलाई सेवा दिन सहज रहोस भनि कोरोनाको जटिल अवस्थामा समेत कार्यालयमा नियमित उपस्थित रहंदै सेवाग्राहीको साथमा रहेर सेवा दिदै आउनु भएका न्यौपानेसंग समसामयिक विषयमा ईश्वरी राजकुमार मैनाली (आइ.आर.क.मैनालीं) ले गरेको कुराकनी अंश‘..

    मण्डनदेउपुर नगरपालिकाको विकास निर्माण साथै नगरवासीहरुको हितको खातिर के कसरी अगाडी बढेको छ नगर ?

    हाम्रो नगरमा कृषिको प्रचुर मात्रामा सम्भावना रहेको छ । तर प्राप्त साधन र स्रोतको आधारमा जुन किसिमले कृषिलाई प्राथमिकता दिनुपर्ने थियो त्यो केही मात्रामा कमै भएको छ । बजेट वितरण गर्दा कृषककै हितलाई प्राथमिकता दिइएको छ । सडक, खानेपानी, आधुनिक कृषि, उन्नत जातका विउविजन, पशुपालन यस्ता कार्यले नगरमा रहेका कृषकहरुको हित हुन्छ जस्ले गर्दा कृषकहरुको आम्दानी बृद्धि हुन्छ । त्यस्ता विषयमा नगर अगाडी बढेको छ । त्यसैगरी नयाँ नगरपालिका भएको नाताले मुख्यत पुर्वाधारलाई पनि जोडदिनु पर्ने अवस्था रहेको छ । पुर्वाधार बिकास संगसगै मण्डनदेउपुर नगरले २—३ वटा पक्षमा बढी जोड दिएको छ । नगरको प्रमुख नारा नै कृषि क्षेत्रको विकास र पर्यटनको विकास रहेको छ । सो नाराको साथमा मानविय विकासलाइ पनि महत्वपुर्ण जोड दिएर शिक्षा र स्वास्थ्यलाई महत्वपुर्ण एजेण्डाको रुपमा नगरपालिकाले अगाडी सारेको छ । साथै भौतिक पुर्वाधारलाई नियमित रुपमा सत्तचालन गर्दै आएको छ ।

    यो समय बजेटको समय हो, विकास निर्माणको कार्यमा प्रमुख प्राथमिकता कुनलाई दिईएको छ ?

    मण्डनदेउपुर नगरपालिकाले विनियोजन गरेको बजेटलाइ हेर्दा भौतीक पुर्वाधारलाई नै वढी बजेट व्यवस्था गरेको छ । तर विषयगत रुपमा कृषि, शिक्षा र स्वास्थ्यलाई बढी महत्व दिएको छ । नयाँ नगरपालिका भएको नाताले पुर्वाधारको कार्य समेत गर्नु पर्ने भएकोले धेरै बजेट खर्च हुनु स्वभाबिकै हो । पुर्वाधार मध्यपनि सडक संञ्जाल संगसंगै नगरवासिहरुको घरघरमा (एक घर एक धारा) खानेपानी योजनालाई क्रमश अगाडि बढाइएको छ । जुन ठाउंमा खानेपानीको योजना सञ्चालन गरिन्छ सो स्थानमा एक घर एक धाराको व्यवस्थ गर्ने तयारी रहेको छ । नगरपालिका सुरु भएपछि हालसम्म ५ हजार २ सय घरधुरीमा एक घर एक धाराको अवधारणा अनुसार कार्य भएको छ ।

    मण्डनदेउपुर नगरमा बृहत खानेपानी आयोजना सुरु भएको छ, सो योजनाको अवस्था के—कस्तो अवस्थामा रहेको छ ?

    मण्डन उपत्यका बृहत खानेपानी आयोजना यही आर्थिक वर्षदेखि सुरु हुदैछ । १ अरब १ करोड बजेटबाट सञ्चालित आयोजना हो । यो अत्यन्त ठूलो र महत्वपूर्ण योजना रहेको छ । यो योजनाले नगरपालिकाको ५ नं वडा र ६ नं वडा, ४ नं वडाको तल्लो केही भू—भागहरु देखि लिएर १२ वडा सम्मलाई समेट्ने कार्यक्षेत्र रहेको छ । सो कार्यक्षेत्रलाई समेटेर समिति बनेको छ र हाल टेण्डरको प्रकृयामा रहेको छ । उपभोक्ताको तर्फबाट व्यहोर्नु पर्ने ५१ लाख नगरपालिकाले विनियोजन गरेर समितिको खातामा अनुदान स्वरुप रकम उपलब्ध गरिसकेको छ ।

    कोभिड नियन्त्रणको लागि नगरले के—कस्तो योजना अघि सारेको छ ?

    पहिलो कुरो त कोभिड नियन्त्रणको लागि उच्च प्राथमिकतामा राखेर कार्य गर्दै आएका छौं । नगरपालिकामा ५ वेडको अस्थाई कोभिड अस्पताल र त्यो संगसंगै आइसोलेसन समेत थपेर १५ बेडको आइसोलेसन पनि सञ्चालन गरिएको छ । अस्पताल सञ्चालन गर्न १ जना डाक्टर र २ जना स्टाफ नर्स सहितको स्वास्थ्यकर्मीहरुको टोली खटिइरहेको छ ।

    त्यो संगसंगै अर्को पनि आइसोलेसन सेन्टर तयार गरिएको छ, त्यसलाई ५० बेडको बनाउने नगरको लक्ष्य हो, तत्कालको लागि ३० बेडको व्यवस्था गरेका छौं । होम आइसोलेसनमा बस्न नसक्ने र बस्न नमिल्नेहरुकालागि सो स्थानमा राख्ने गरिएको छ । साथै कोरोना परिक्षणको दायरा फराकिलो बनाएर नगरपालिकाको केन्द्रमा मात्रै नभएर वडा वडामा गएर समेत परिक्षण गर्ने कार्य गरेका छौं । कोरोनलाई नियन्त्रण गर्नको लागि जनचेतनामुलक कार्य गर्दे प्रचार प्रसारलाई निरन्तरता दिईएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले तोकेको निषेधाज्ञा संगसंगै नगरवासिहरुमा कोरोना फैलन नदिनको लागि नगरलाइ सिल गरेर पनि कोरोना नियन्त्रण गरेको छ । जस्ले गर्दा पुर्णरुपमा नियन्त्रण भइ नसकेको भए पनि नियन्त्रण हुने क्रममा रहेको छ ।

    चालु आर्थिक वर्षमा विकास निर्माणको अवस्था कस्तो रह्यो नगरमा ?

    कोरोनाको कारण विकास निर्माण कार्यलाई केही असर गरेको छ, जस्का कारण ठेक्कामा लागेका योजनाहरु सुचारु हुन सकेको छैन । उपभोक्ता समितिहरुले बेलामा सम्झौता गर्न पाएका छैनन् । तर पनि ढिलै भएपनि सम्झौता गरेर विकास निर्माणको कार्यहरु अगाडी बढेको छ । पूर्ण रुपमा विकास निर्माणका कार्यहरु सम्पन्न हुन नसक्ने अवस्था रहेपनि केही न केही उपलब्धीहरु हासिल हुन्छ । यहि विचमा कोभिडकै अवस्थामा पनि हामीले त्यो कामलाई स्वास्थ्य मापदण्ड अपनाएर पनि विकास निर्माणको कार्यलाई अगाडी बढाइ राखेका छौं ।

    चालु आर्थिक वर्षको विकास निर्माण कार्यमा अधुरो योजनाहरु कति रहेको छ ?

    चालु आर्थिक वर्षमा विकास निर्माण कार्यको लागि छुट्याइएको बजेटबाट हुदै गरेको कार्यमा खासै धेरै योजनाहरु अधुरो छैन । गत वर्ष ठेक्का लागेको योजनाहरु सुचारु रहेका छन् । वर्षात तथा केही प्राविधिक कारणले गर्दा एक दुईवटा योजनाहरु सम्पन्न हुन बाँकी रहेका छन् । ठेक्कामा रहेका केही योजना सम्पन्न हुन बाँकी रहेकोले ताकेता गर्ने कार्य भएको छ । धेरै अधुरा योजनाहरु बाँकी छैनन्, जुन चाही क्रमागत रुपमा चलिरहेको छ, ति चलिराख्ने योजनाहरु मात्रै सञ्चालित रहेको छ ।

    चालु आर्थिक वर्षमा कति बजेट फ्रिज हुने अवस्थामा रहेको छ ?

    केही योजनाहरुको बजेट फ्रिज हुने अवस्था रहेको छ, जस्तो प्रदेश, संघ, समपुरक, विशेष योजनाको बजेटहरुबाट केही मात्रामा फ्रिज हुने अवस्था भएपनि पूर्ण रुपमा फ्रिज हुने भन्ने अवस्था भने छैन । प्राप्त बजेट मध्य केही न केही काम भएको छ, कोभिडको कारणले गर्दा केही असर पुर्याउदा केही समस्या भएको हो ।

    हालै सम्पन्न भएको नगरसभाबाट ०७८—०७९ मा विकास निर्माणको लागि कस्तो ढंगको बजेट बनेको छ ?

    नगरको नवौं नगरसभा सम्पन्न भएको छ , असार १० गते नगरसभा सम्पन्न भएको छ । नगर सभाले भौतिक पूर्वाधारको साथ साथै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटनको विकास लगाएतलाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैगरी कोभिड नियन्त्रण र रोकथामलाई पनि उच्च प्राथमिकता दिएको छ । तीनै योजनाहरुलाई अगाडी बढाउने र सम्पन्न गर्न सकिने खालका योजनाहरु, विगतका वर्षहरुमा सुरु भएको क्रमागत योजनाहरु अधुरो (पूणर््ारुपमा सम्पन्न हुन बाँकी) रहेका योजनाहरु यस वर्ष पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । यो वर्ष समयमै कार्यहरु सुरु गरेर समयमै सक्ने प्रमुख लक्ष्यका साथ अगाडी बढ्ने योजना रहेको छ । कृषि, पशुस्वास्थ्यको क्षेत्रमा कामहरु अगाडी बढाइने भएको छ ।

    नगरमा रहेका जनप्रतिनिधीहरुबाट के—कस्तो सहयोग पाउनु भएको छ ? कि जनताको काम गर्ने क्रममा अवरोध पुगेको छ ?

    मण्डनदेउपुर नगरमा रहेका जनप्रतिनिधी र कर्मचारीहरु विचको सम्बन्ध अत्यन्त सुमधुर रहेको छ । जसका कारण नगरको विकास निर्माणको कार्य गुणस्तरीय साथै सौहार्द निर्विवादित ढंगबाट सम्पन्न भएको छ, साथै नगरवासीहरुले सहज र सरल ढंगबाट सेवा पाउनु भएको छ । जनप्रतिनिधीहरुको हौसलाका कारण नगरका सम्पुर्ण कर्मचारीहरु उच्च मनोवलका साथमा लागिरहनु भएको छ । कतिपय स्थानिय तहहरुमा कर्मचारीहरु र जनप्रतिनिधीहरु विचको बेमेलका कारणले विकास निर्माणका कार्यहरु अगाडी नबढेको भन्ने सुन्नमा आएको छ । तर हाम्रो नगरमा भने समन्वय साथै समझदारीको आधारमा कार्यहरु अगाडी बढेको छ ।

    सोधेपछि यथार्थ कुरा राख्नै पर्छ, मण्डनदेउपुरले (नगर, प्रदेश, संघ) जे जति जनप्रतिनिधी पाएका छन् त्यो मण्डनको भविष्य निर्माता जस्तो लाग्छ, त्योे मण्डनको भाग्य हो । मेरा कतीपय स्थानिय तहमा कार्यरत साथीहरु जनप्रतिनिधीकै कारण स्थानिय तह छोड्न आतुर छन् । कहिले काँही मलाई फोन मार्फत गुनासो गर्छन् तर मलाई नौलो लाग्छ । साथीहरुकको भनाई सुन्दा म आफु पनि भााग्यमानी ठान्दछु । नगरको हितको लागि गरिने कुनै पनि कार्यमा विवाद देख्दिन । कुनै पनि मिटिङ्गमा विवाद भएको देख्दिन सबैको एउटै धारणा रहेको छ । खर्चलाई कम गर्ने, विकास निर्माण गुणस्तरीय गर्ने यो नै सकारात्मक पक्ष हो जनप्रतिनिधीहरुको ।

    अन्तमा नगरवासीहरुलाई केही सुझाव दिन चाहनु हुन्छ की ?

    धन्यवाद, नगरवासीहरुलाई सुझाव दिने मौका प्रदान गर्नु भएकोमा । चालु आर्थिक वर्षको अन्तमा पुगेका छौं, योजना सञ्चालन गर्दै गरेका टोल विकास संस्था, उपभोक्ता समिति साथै निर्माण व्यवसायी समेतलाई समयमै आफुलाई तोकिएको र दिएको जिम्मेवारी पुरा गरेर असारको २२ गते भित्र भुक्तानी लिइदिनुहुन अनुरोध गर्दछु । जस्ले गर्दा हाम्रो उपलब्धी हासिल हुन र भुक्तानीमा सहजता आउछ । कोभिड पूर्ण रुपमा नियन्त्रण भई नसकेकोले स्वास्थ्य मापदण्डहरु अपनाएर सम्पुर्ण नगरवासी नागरिकहरुले आफु र अरुलाई पनि सुरक्षित राख्ने ढंगबाट अगाडी बढ्न अनुरोध गर्दछु । नागरिकहरुको जिवन रक्षाका लागि नगरपालिका दत्तचित्त भएर लागिरहेको अवस्थामा सवै नागरीकहरु पनि सचेत भएर साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु ।
    म आफु कार्यरत नगरको जनप्रतिनिधीको कारण मलाई पनि नगरमा केही नयाँ ढंगको कार्य गर्ने जोस जाँगर बढेको हो । नगरवसीहरुले पनि आफ्नो नगरको सुनौलो भविष्यको लागि निर्विवादित ढंगबाट अगाडी बढ्नुभएको छ , यस्ता राम्रा कार्यलाई निरन्तरता दिन जरुरी रहन्छ । सकारात्मक सोच, घनिघुत ढंगको छलफलबाट निस्किएको निचोडले नगर र नगरवासिहरुको हित हुनेमा विश्वस्त छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार