दावा फेन्चु लामा
नेपाली कांग्रेस देशको पुरानो र गौरवशाली इतिहास बोकेको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतले पत्याएको नेपालको एकमात्र पार्टी हो । यसभित्र आस्थावान र पार्टीका सिद्धान्तप्रतिको निष्ठाले उद्देलीत युवा पंक्तिको जमात ठुलो छ । पछिल्लो समय युवा पुस्ताले कांग्रेसभित्र आफ्नो भविष्य र राष्ट्रको चम्किलो मुहारको सपना देखेर पार्टी र सिद्धान्तप्रति लालायित भएको देखिन्छ । तर पार्टी भित्रको गुटगत स्वार्थको किचलो र आन्तरिक द्वन्द्वका कारण ती युवा जमातको आशा र सपनाहरु निराशामा परिणत हुदैगएको तितो यथार्थ हामीमाझ छ ।
नेपाली कांग्रेस अहिले चौधौं महाधिवेशनको पुर्वसन्ध्यामा छ । हालसालै बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार आउदो फागुनमा महाधिवेशन हुने पक्कापक्की जस्तै छ । किनकि अहिले तोकेको समयमा महाधिवेशन हुन सकेनभने विधानत र संवैधानिक कानुनी ब्याबधान र जटिलता सिर्जना हुनेछ । त्यसकारणले पनि अहिले लकडाउनका बाबजुद पनि नेताकार्यकर्ताको भेटघाट बाक्लो हुँदै गएको छ । र आम जनचासोको विषय पनि बनेको छ । नेपाली कांग्रेसको महाधिवेशनलाई पार्टी कार्यकर्ताले मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतले समेत नियालिरहेको स्थिति छ । सबैको चासोको विषय बनेको छ। कसैलाई नेतृत्व कसले बाजी मार्ला भन्ने चासो छ भने कसैलाई महाधिवेशन पछि नेपाली कांग्रेसको भावी निति के आउँछ भन्नेमा जनचासो बढ्दो छ । पार्टीभित्रका नेता कार्यकर्तालाई भने महाधिवेशन पछि आफ्नो स्थान कहाँ पर्छ भन्नेमा चिन्ता छ । अाफ्नो स्थान यथावत रहिरहन र पोजिसन बढाएर सुरक्षित रहन नेताको घरदैलो चहार्ने काम पनि बढ्दो छ । यो प्रवृत्ति पार्टीभित्र संस्थागत भइसकेको अवस्था छ । यस्तो परिपाटीले पार्टी भित्रका तमाम इमान्दार र कर्तव्यनिष्ठ कार्यकर्तालाई जिम्मेवारी पाउनबाट बञ्चित गराउछ र चाप्लुसीवाद, कृपावाद, डनवाद, र रुपैयाँवादले स्थान पाउनेछ ।
यो प्रवृत्तिले कुनै अमुक नेता र गुटको लागि फाइदा गरेपनि यसले समग्र पार्टी र स्वच्छ लोकतान्त्रिक विधी र मुल्य मान्यतालाई चुनौती दिएको छ । तर पनि हामी यसैलाई निरन्तरता दिँदै आएका छौँ । अब सोच्ने बेला आएको छ । नेपाली कांग्रेसमा आस्था राख्ने तमाम इमानदार साथीहरु जाग्ने बेला आएको छ । नेपाली कांग्रेसको हरेक संगठनमा आबद्ध रही पार्टीको नीति र सिद्धान्त प्रति बफादार भएर पार्टीको लागि अमुल्य योगदान पुर्याउदै आएका प्रत्येक इमानदार साथीले सोच्ने बेला आएको छ । यो संस्कारले तपाईंलाई ठाउँ दिनेछैन । यो संस्कारमा नेताले तपाईंलाई कार्यकर्ता ठान्ने छैन । तपाईंलाई एउटा भर्याङ मात्रै सम्झिनेछ । किनकि यो संस्कारले चिल्ला गाडी हुनेहरूलाई मात्रै कार्यकर्ता सम्झिन्छन, दुईचार जना केटाहरु बोकेर हिड्नेहरुलाई कार्यकर्ता सम्झिन्छन् , ठूलो होटल र सानदार रेस्टुरेन्टमा गएर दुईचार हजार खर्च गर्न सक्नेलाई कार्यकर्ता सम्झिन्छन् , नेताको चाकडीगिरी र चाप्लुसी गर्ने अनि नेतालाई गलत सुचना दिएर आफू अब्बल देखाउने र सुराकी गर्ने कला भएकालाई कार्यकर्ता ठान्नेछन् । एकसमय विपी भनेको कुरा सम्झना आउछ । विपी ले भनेका थिए “पार्टीभित्र मोटाघाटा, सुकिलामुकिला र चिल्ला गाडी चढ्नेहरुको हाबी हुनेछ । त्यसको विरुद्ध एकचोटि आम इमान्दार कार्यकर्ताले फेरि विद्रोह गर्नुपर्नेछ ।” विपीले सायद यसै प्रवृत्ति र संस्कारलाई कल्पना गरेर भनेका हुन् । यहि हो बेला विद्रोह गर्ने । अब पनि पार्टी सुदृढीकरण र पुनर्ताजगीको लागि संघर्ष गरेन भने पार्टी भडखालोमा जाने निश्चित छ ।
नेपाली कांग्रेस पार्टीले स्थापनाकालदेखि विभिन्न आरोह अवरोह झेल्दै यहाँ सम्म आइपुगेको छ । तर नेपाली कांग्रेसलाई जोगाएको महाधिवेशनको समयमा नेताको ढोका चहार्नेहरुले होइन गाउँका तल्लो तहमा रहेका गुट नछुट्टिएका निष्ठावान कार्यकर्ताले जोगाएका छन । तर ती ईमान्दार र पार्टीका असली कार्यकर्तालाई नेताले कार्यकर्ता ठान्दैनन् । किनकि उनीहरु नेताको चाप्लुसी गर्न जान्दैन्, किनकि उनीहरुलाई गुटको होइन नेपाली कांग्रेसको चिन्ता छ । वास्तवमा असली कांग्रेस र बफादार कार्यकर्ता त ती हुन् जो निरन्तर अाम निर्वाचनमा पार्टी जिताउनको लागि महत्त्वपूर्ण भुमिका खेलेका हुन्छन । गाउँतहमा बसेर पार्टी संगठन मजबुतीको लागि एक्यवद्ध छ । पार्टीको सिद्धान्त र निष्ठाप्रति बफादार छ । वास्तवमै उनीहरुलाई कार्यकर्ता नठान्ने र उनीहरुलाई भोटर बैंकको रुपमा मात्रै लिने गलत संस्कारले पार्टी संगठन कमजोर हुदै गएका हुन् । जब सम्म यो गलत संस्कार र प्रवृत्तिलाई सच्याइदैन पार्टी संगठन मजबुत हुदैन । अरुबेला काठमाडौं केन्द्रित रहने र पार्टी या नेताको नाममा फाइदा लुट्ने र महाधिवेशनको समयमा नेतालाई चिल्लो गाडीमा बोकेर हिड्नेहरुले नै पद पाउने यो संस्कारले पार्टी कहिल्यै उभोँ लाग्दैन । महाधिवेशनको मुखमा मात्रै नेताको दैलो चहार्ने समूह कार्यकर्ता होइनन् गिरोह हुन । नेतृत्वले यो कुरा बुझेनन् भने पार्टी भड्खालोमा जाने कुरा निश्चित छ । विलम्ब नगरोस ।
यो समय गुटको रक्षा समय होइन पार्टीको रक्षा गर्ने बेला हो । आउदो महाधिवेशनले गुटको अन्त्य गरि पार्टीलाई एकताबद्ध गराउनुपर्छ भन्ने अाम कार्यकर्ताको एउटै चाहना छ । तर नेतृत्वमा रहेका पंक्तिले पार्टीका इमान्दार र निष्ठावान कार्यकर्ताको पुस्तौँदेखिको यो चाहना अब पूरा गर्नुपर्नेछ । यो बेला मौका हो । चुनौती र अवसर बराबर छ । यो बेलामा नेतृत्वले पार्टीको लागि नसोचेर आफू र आफ्नो गुटको लागि मात्रै स्थान खोज्ने हो भने पार्टी मात्रै होइन समग्र लोकतान्त्रिक पद्धति नै धारासायी बन्नेमा दुइमत छैन ।
प्रतिक्रिया दिनुहोस