२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

कच्चा रैछ मेलम्ची थुनेको बाँध फुट्यो


५४६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • धेरै कविहरुबाट मेलम्चीका बारेमा ह्यदय बिदारक स्मरण

    आहा ! कति सुन्दर बस्ती थियो
    मेलम्चीले सिन्धु छाती चिरियो ।

    मध्यरातमा मेलम्ची काल बनेर आयो
    प्रकृतिले सयौँ घरमा बिजोग बनायो ।

    बेलुका जो हाँसीखुसी सुतेका थिए
    गए कहाँ कतिका सपना सकिए ।

    कसैले सुनेन पीडाको करुण चित्कार
    बिहान उठ्दा सबैतिर छायो समाचार ।

    केही दिन धरामा वर्षा बस्र्यो लगातार
    बेकाल भए धेरै जन बाढीको सिकार ।

    कच्चा रैछ मेलम्ची थुनेको बाँध फुट्यो
    हरे त्यै पानीले सबैको जिन्दगी लुट्यो ।

    बिनापाप पनि कस्तो निर्दयी काल आयो
    करौँडौ पर्ने ती महल बगर बनायो ।

    कठै ! ती बालकहरूले अथाहा पानी पिए
    सपना सबै बगरको माटोमुनि पुरिए ।

    कोरोनाको कहर छ सबका नसानसामा
    डुबेको छ पूरै देश आज यो कस्तो दशामा ?

    देश रोएको बेलामा सरकार खोज्दै थिएँ
    सुनेँ भागबन्डामा छ अनि सोध्नै छोडिदिएँ ।

    – श्रीकृष्ण शर्मा, पोखरा

    खानु न पिनु पुर्पुरो को चिनु,
    आफैं त माग्ने म कस्लाई दिनु।

    आफुलाई भन्दा नि छ चिन्ता देशको,
    जोगाउनु छ कला सँस्कृति भेषको।

    कोरोनाको कहरमा पनि,
    लागेछु म देशभक्ति बनि।

    चाँदि जस्तै टल्केको यो हाम्रो हिमाललाई,
    नेपाली बनेर जोगाउँछु नेपाललाई ।

    प्रेमको भ्रम छरी जगतमा,
    बाँच्ने छैन मलाई फगतमा।

    ईन्द्र कमल फुल झैँ वासना छरि,
    मग्मगाउनु छ जन्मेको धर्ति भरि।

    चन्द्र सुर्य रहुन्जेल बाँचेर।
    बित्छ जीवन मेरो त हाँसेर।

    मुठि रोपेर मुरि फलाउन,
    आउ साथी असार मनाउन।

    बिहानीको लाली बनि छाएर,
    खुशी छाउनु छ शान्ति ल्याएर।

    नखानु है कसैले नि चोरेर,
    खानु बरु धर्तिलाई कोरेर।

    – पुर्ण बहादुर श्रेष्ठ “हृदयङकृत“
    –पनौती,–३काभ्रे

    गिट्टी,बालुवा,ढुङ्गा उत्खनन् राम्रो हैन,
    सबैभन्दा उत्तम उपाय अरू छैन।

    विपत्तिमा परेकालाई गरौँ सहयोग,
    सुखको बेला त आफै गर्छ नि सुख भोग।

    करोडपति सडक पुगे बाढीको कारण,
    खोला चाहिन्थ्यो रामजस्तो बनिदियो रावण।

    पीडित स्थानीयबासीलाई पेट पाल्न गार्हो,
    कोरोना महामारीमा झन् शोक,भोकले साह्रो।

    हेलम्बु प्रभावित क्षेत्र मेलम्ची र पाँचपोखरी,
    डामाडोल बन्यो गाउँले जीवन होस् या त सहरी।

    बालुवा चाल्यो,ढुङ्गा बेच्यो सबै नदी छेउछाउमा,
    रुख चढ्ने बाँदरको लिस्नु राखिदिएझैँ पाउमा।

    जलवायु परिवर्तनले जे हुन सक्छ जहिले,
    विषयविज्ञ बोलाई सल्लाह माग्नु पर्छ अहिले।

    एउटा रुख काट्दा दुईवटा बिरुवा रोप्दा राम्रो,
    पानी स्वच्छ अक्सिजन पाउँछौ दीर्घायु बन्छ हाम्रो।

    क्षति करोडको धनसम्पत्ति,अन्नपात,वस्तुभाउ,
    इतिहास बन्यो सिन्धुपालचोकको नमेटिने घाउ।

    भन्थे बुढापाकाहरू ‘दशा बाजा बजाएर आउँदैन’,
    दीर्घकालीन सुरक्षित बाटोमा दिमागले भ्याउँदैन।

    – म्यामराज राई
    हतुवागढी–६,होम्ताङ्,भोजपुर
    हालः–जापान

    सदा उत्सवले पूर्णछन् यिनै घर माण्डव,
    हुन्छन् यहाँ धुलोछर्दै वितण्डा नाच ताण्डव ।

    मैलावस्त्र सधैमैले धारण गर्दथें जब,
    सारावस्त्र हुँदा सफ्फा भएँछु म खुसी तब ।

    यो जीवन मरुभूमि जस्तै उजाड भयो,
    तिम्रा पछाडि लागेर बेकार जिन्दगी गयो ।

    दाम्लोले बाँधिए मान्छे पशु समान भन्दछन्,
    परोपकारले मान्छे देव समान बन्दछन् ।

    आमानै जननी माता देवकी देव हुन् जहाँ,
    आमा तिमी बिना धर्ती उज्यालो हुन्ननी यहाँ ।

    बर्षामा बाँसका तामा चुचुरोछुन जोसिए,
    जाडोमा रातका न्याना बर्का ती किन खोसिए ।

    आमाको प्रेमभन्दा प्यारो अरु के कहाँ छर,
    स्नेहहुन्छ आमको काख लाग्दैन अरुका भर ।

    सृष्टि देख्दछ आँखाले आवाज सुन्दछ कानले,
    छन् यी अज्ञान मानिस जगाउ ज्ञान सानले ।

    हुन्छन् मानिसमा बुद्धि आशा उदाउने भर,
    फेरियो युगनै जालो छ यो केनै नयाँ छर ।

    खोजेको मनले हो त्यो सच्चा मान्छे उदाउने,
    भए आज यिनै मान्छे स्वयं जुध्ने जुधाउने ।

    – ऋषिराम खनाल
    मध्यबिन्दु ६ चोरमारा, नवलपुर ।

    भनिदेउ न ए जून! मेरी मायालु कहाँ होलिन् ,
    सिउँधो अब रहेन भन्दा तड्पेर कति रोलिन् ।

    खुसीसाथ उनीसँग जुनि काट्ने आस रहेन्,
    पर्खु भने त्यतिन्जेल खै त पुग्ने सास बहेन् ।

    प्रकृति नै हाम्रो विच बाधक बनी खडा भयो,
    त्यति धेरै सपनाहरू धुवाँ बनी उडि गयो ।

    हाम्रो भाग्य यस्तै रहेछ फुट्यो आखिर सिसासरि,
    प्रभातमै ग्रहण लाग्यो अन्धकार भो वरिपरि ।

    भेट भए कुनै दिन धर्ती छोडी उनी आउँदा,
    पक्कै उनी खुसी होलिन् मेरो माया पुनः पाउँदा ।

    जहाँ छ्यौ खुसी हुनु रुनु पर्ने छैन कारण,
    आँसु नै कहाँ होर हरकुराको निवारण ।

    शत्रु हो मेरो तैपनि आफ्नो धर्म निभाउछ,
    चियोचर्चा गर्छ मेरो उसै दिन कटाउछ ।

    दया लाग्छ देख्दा उसलाई साथै लाग्छ ठिठ पनि,
    विना तनखा कति खट्दछ मेरै निम्ति मूर्ख भनि ।

    आफन्त भन्दा शत्रु नै ठिक जे बोल्छ सत्य बोल्दछ,
    कतिको त मलमले पनि आगो राप झै पोल्दछ ।

    मित्र बनेर आउँछ जो अनि आघात गर्दछ,
    कपटी छलि शकुनिलाई खै के भन्नुपर्दछ ?

    – वसन्त अनुभव, घोराही –१४, दाङ

    उमेरको भित्ते पात्रो फाल्दै अग्रीम पाइला टेकें,
    जिन्दगी भोगाइमा प्रवृत्तिका अनेक रूप देखें।

    राजनीतिलाई दुर्गन्धित बनाउनेको चाल,
    चुनावी नाटक मन्चन कुर्सी हत्याउने जाल ।

    देश रूँदा बालुवाटारमा भोजभतेर र सुरा,
    जनताको छटपटी र आर्तनाद को सुन्छ कुरा ?

    गरीमायुक्त पदहरू गनाए सिनोभन्दा अति,
    देख्नेलाई भो लाज बरू घिन कहाँ बिर्सियौ मति?

    अल्पायुमै गयौ तिमी सबै नाता तोड़ी
    मृत्यु कति निष्ठुरी भो रोएँ डाँको छोड़ी।

    पत्याउनै मुस्किल भयो मुहार झलझली
    यही फुटेको मुटुबाट हार्दिक श्रद्धान्जली!

    जिन्दगीको मिर्मिरेमै तिमीलाई भेटेको
    तिमी मेरी चाँदनी हौ सपना देखेको।

    समयमै उडिसक्यो यो जिन्दगीको जेट
    तिनै दिन याद आउँछ आज हुँदा भेट।

    तिमीसँग कुरा गर्दा प्रेम बास्ना आउँछ
    उदास यो जिन्दगीमा हरियाली छाउँछ।

    मनोभाव तिम्रा सामु पोखिएनन् कहिले
    फर्की जाने चाहना छ अतीतमा अहिले।

    – भूषण जंग, अष्ट्रेलिया

    जिवन यात्राका क्रममा पथिकहरू थुप्रै भेटिन्छन् ,
    हिँड्दै जाँदा पाइलाका डोबहरु स्वतः आफै भेटिन्छन् ।

    भ्रमको खेती गरेर बाँचिरहेछु म एउटा जिन्दगी ,
    मनको फूलबारीमा थुप्रिएका छन् लाखौँ लाख गन्दगी ।

    सभ्य प्राणी ती अहन्ताले चुलिएका ,
    ढङ्गे दिल ती मानवता भुलिएका ।

    मोतीका दाना आँखामा कसरी म लुकाऊँ ,
    मनभित्रको घाउ यो कसरी म सुकाऊँ ।

    सुनाऊँ कसलाई मैले मनभित्रका पीरहरू ,
    गाडिएर बसेकाछन् जहरसितका तीरहरू ।

    वसन्तमा फुलेका हे फूलहरू ,
    उन्मादी भई नगर भूलहरू ।

    तिम्रो त्यो नजरको तीरले मार्नु मरयौ,
    मेरो मुटुलाई अफ्ठ्यारोमा पार्नु पारयौ ।

    मोहनी मुहार लिएर उनी मुसुक्क मुस्काउँछिन् ,
    कोही बेला अनाहकमा उनी ठुसुक्क ठुस्काउँछिन् ।

    पहिलो त्यो भेटमा तिमी खूब लजायौ ,
    बिहेपछि तिमीले मेरो बाह्र बजायौ ।

    भन्छ टाढाको देवता नजिकको भूत ,
    आधुनिक जमानामा पनि छुवाछुत ।

    – राजेन्द्र प्रधान पासा, दार्जिलिङ्ग

    आऊ बुद्ध पुनः यो नेपालमा शान्ति छर,
    हामी सबै नेपालीको मनमा बास गर!

    प्रजातन्त्र हटाई गणतन्त्र आयो,
    हाम्रो देशमा झनै अशान्तिले छायो!

    तिमी जस्तो कोही छैन सुन्दरताको धनि,
    तिमीले सधैं बुझ्नुपर्थ्यो माया गर्छे भनि!

    तिमी बिनाको जिन्दगी छ आधा अधुरो
    यो मन उज्यालो छैन तिमी बिना मधुरो!

    धुजा धुजा भाको मुटु कति दिन टालौँ,
    मनका सारा व्यथा कहाँ लगेर फालौँ।

    कुदृष्टिले जसले हेर्छ नारी,
    भोलि उसैलाई पर्ने छ भारी!

    फुल बुट्टे चोलीको दुबैतिर तुना,
    तिम्रो मिठो बोली राख्छु दिलको थुना!

    तिमी पनि आधा म पनि आधा,
    तिमी मेरो कृष्ण म तिम्री राधा!

    निश्चल मेरो माया अनि चोखो यो मन,
    धोका मात्र पाउने कस्तो मेरो जीवन!

    लगायौ तिमीले मुटुमा निशानी
    व्यर्थैमा हृदय जलायौ नजानी!

    – हिउँकला हासी खतिवडा कैलाली

    मेरो रचना कस्तो छ हेर्दै गर्नु साथी,
    टुक्का लेख्दा शुद्ध अशुद्ध छान है माथी।

    सुन्दर फुल बगैचामा कुन फुल तिमी रोज्छौं,
    अतितका पानाहरु तिमीले सपनिमा खोज्छौ।

    जन्म दियौ आमा तिमीले नौं महिना राखेर,
    गुलियो अमिलो र पिरो खान्थ्यौ होला चाखेर।

    दुःख कष्ट गाली वचन सुन्यौ होला अनगन्ती,
    भोक लाग्दा रिसाउदै घुम्थे होलानि फनफन्ती।

    धेरै ठुला सपनाहरु सजायौ नि आँखामा,
    नानी लै लै बाबू लै लै गुनगुनायौ भाकामा।

    भविष्यका उज्वल मुहार यिनै हाम्रा बालिका,
    यिनकै भाषा भुषणमा बनाए मैले तालिका।

    हुर्कायौ बढायौ पढायौं आधा पेट खाएर,
    दुःख दिदैनौं हामीले वचन अति लाएर।

    यति सम्म गरेका थियौं घरवार भएपछी,
    आँसु भल बगाउँथ्यौ हामी बाहिर गएपछि ।

    घरमा आउँदा सबै काम सकिनसकी गरिरहन्थ्यौं,
    छोरा बुहारीबाट डराएर यता उता सरिरहन्थ्यौं।

    बूढो शरीर भएपछि सबलाई धेरै भयो यहाँ,
    कान बैरो र आँखा अन्धो अन्तिम क्षणमा जाऊँ कहाँ।

    – कमला पाण्डे पराजुली, झापा

    प्रकृति तिमी कस्ति छौ भन,
    न रुप रंग, छ आफ्नै पन ।

    डाहा ईर्ष्या कसैलाई हानि,
    गर्दिनौ तिमी मायाकी खानी ।

    प्रकृतिसंग रम्ने रमाउने ,
    दु ःख र पिडा सबै भुलाउने ।

    कसरी खप्छौ प्रकृति घाम ,
    तिमी भए त बिर्सन्छु काम ।

    झरि परेनी सहन्छौ तिमी ,
    तिम्रै काखमा हुर्केका हामी ।

    कौतुहल्ता धेरै मनमा छाएको
    तिमि प्रति माया निकै छ लाएको ।

    प्रकृतिमा संसार अडिएको देखे ,
    विश्वको नै मुहार फेरिएको भेटे ।

    गुणगान तिम्रो कसरी गाऊ,
    पर्छु नि सधै म तिम्रो नै पाऊ ।

    प्रकृति तिम्रो त आफ्नै छ सान ,
    निडर भै बाँच्ने सिकायौ ज्ञान ।

    रमणिय स्वर्ग प्रकृतिमा पाउँँछु ,
    अन्तिम सास तिम्रै काखमा आउँछु ।

    – रिता खराल, रुपन्देही

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार